कविता अधिकारी 
काठमाडौं,१६ पुस –
अंग्रेजी महिना अनुसार आज २०१७ डिसेम्बर ३१ अर्थात यो बर्षको अन्तिम दिन । बर्षदिन भरी भएका राजनीतिक घटनाक्रमलाई घोत्लिएर हेर्ने हो भने यसबर्ष धेरै उपलब्धी भएका छन् । 

नेपालकै इतिहासमा शक्तिशाली सरकार बनेको बर्ष पनि यहि हो । २०७२ असोज ३ मा संविधान जारी भएपछि त्यसैको विधि र प्रक्रिया अनुसार प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा संघिय संरचनामा नेपाल कम्युनिष्ट पाटीले दुई तिहाई बहुमत प्राप्त गर्यो । 

एमाले र एकिकृत नेकपा माओवादीको एकता र तीन चरणका निर्वाचन गर्न सफल भए ।  जसमा ७ प्रदेश मध्ये ६ प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको बहुमत सहितको सरकार छ । ओलीको नेतृत्वमा सरकार सञ्चालन भएको १० महिना पुरा भयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सपना पुरा गराउने अठोट बोक्नुभएका प्रधानमन्त्री ओलीमा आफ्ना सोचको कार्यान्वयनमा केन्द्रित छन् । 

सरकारले प्रचार प्रसारभन्दा पनि कामलाई महत्व दिएको छ । महत्वपूर्ण उपलब्धी पनि हाँसिल भएका छन् तर बाहिर सरकारले कामै गर्न सकेन भन्ने एक खालको नकारात्मक प्रचार भइरहेका छन् । 
देश निर्माणका लागि र जनताका आवश्यकतामा आधारित नवीनतम सोचको निर्माण, त्यसमा आधारित योजना, कार्यान्वयन र त्यसको परिणाम वा उपलब्धिको सरकारको पहिलो शर्त हो ।

सन्तुलित छिमेकी सम्वन्ध 

सरकार बनेको छोटो समयमा प्रधानमन्त्रीले छिमेकी देशहरुसँग सन्तुलित सम्वन्धलाई अगाडि बढाउनु भएको छ । उहाँले दुवै छिमेकी देशको भ्रमण गरेर ती देशसँग नेपालकोे सम्वन्धलाई नयाँ उचाईंमा पु¥याउनु भएको छ । यो वा त्यो वहानामा नाकाबन्दीको कारण सिर्जित नेपाल र भारतवीचको असमझदारी समाप्त भएको छ । प्रधानमन्त्रीको चीन र भारत भ्रमण केवल भ्रमणका लागि मात्र थिएन । भ्रमणका क्रममा दुबै देशसँग भएका सम्झौता नेपालको विकासका लागि दुरगामी महत्वका छन् । 
त्यस्तै, नेपालले परराष्ट्र सम्वन्धमा अर्को एउटा ऐतिहासिक उपलब्धी हासिल भएको छ ।  प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो औपचारिक डकुमेन्टमा ‘नेइवरहुड’ छिमेकी नीति तय गर्नुभयो । यो नीतिको कार्यान्वयनसँगै नेपालले अब आफ्नो राष्ट्रिय स्वार्थलाइ केन्द्रमा राखि काम गर्छ र नेपाल आफ्नो मुद्दामा आफै निर्णय गर्न सक्ने भएको छ ।  त्यस्तै, प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा दिनुभएको अभिव्यक्तिको चौतर्फी चर्चा भयो । उहाँले नेपालको शान्ति प्रक्रिया मौलिक भएको भन्दै अन्तराष्ट्रिय ‘ब्राण्डिङ’ गर्नुभयो, १७ बर्ष पछाडि परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकाका समकक्षीसँगको भेटवार्ता वा भ्रमणबाट पनि राम्रो थालनी भयो ।
  
लोडसेडिङमा लिएको पहलकदमी 

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालका बेला मुलुक उर्जा समस्याबाट ग्रस्त थियो । हामी  दिनमा १२ घण्टासम्म लोड्सेडिङको मारमा थियौं । जसका कारण हाम्रा कलकरखाना र उत्पादनका क्षेत्र अस्तव्यस्त थिए । पहिलोपटक ओली प्रधानमन्त्री भएपछि उहाँले अबको एक वर्ष्भित्र नेपाललाई झिलिमिली पार्छु भन्दा उडाउनेहरुको कमी थिएन । ओलीको पहिलो कार्यकालमा लिइएका उर्जासम्बन्धी नीति र योजना साकार भए । ओली सरकारले देश विकासका लागि रेल्वे, सडक, उर्जा, सञ्चार कनेक्टिभिटीका माध्यमबाट नेपाललाई उत्तर र दक्षिण दुवैसँग जोड्ने गरी कार्य अघि बढाएको छ । यसका लागि प्रधानमन्त्रीको भ्रमणमा दुवै देशहरुसँग विभिन्न सहमति भए । 
भारत र चीन रेल्वे कनेक्टिभिटीका लागि फिजिविलिटी अध्ययनको काम सकिएको छ ।  विस्तृत परियोजना प्रतिबेदन(डीपीआर) को काम पनि अगाडि बढ्दैछ । नेपाल भारतबीच जलमार्गको कनेक्टिभिटी सम्बन्धमा दुवै देशका प्राविधिक सम्मिलित पहिलो बैठक असार ३१ र ३२ गते काठमाण्डौंमा सम्पन्न भयो । बैठकले नेपालमा पानीजहाज चलाउन सकिने निश्कर्ष निकाल्दै पहिलो चरणमा नारायणी र कर्णाली नदीमा जहाज चलाउनका लागि दुबै देशका प्राविधिक टोलीले अध्ययन अघि बढाएको छ  ।  

सिन्डिकेट अन्त्यको पहलकदमी 

देशको हरेक क्षेत्र सिन्डिकेटबाट आक्रान्त थियो र छ । यातायात मात्र होइन शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा सिन्डिकेटले जरो गाडेको छ । अहिले सरकारले हरेक क्षेत्रका सिण्डिकेटको पहिचान गर्ने काम गरिरहेको छ । यातायात क्षेत्रकोे सिण्डिकेट अन्त्य गर्दै सरकारले यातायात समितिका सम्पतिलाई खर्च कटाएर राष्ट्रियकरण गर्दैछ । अब कम्पनी दर्ता गरेर नयाँ प्रक्रियाबाट नेपालको यातायात व्यवसाय अगाडि बढ्ने भएकोले यातायात  क्षेत्रमा व्यबसायी र समितिका एकाधिकार अन्त्य भई प्रतिस्पर्धाका माध्यमबाट नागरिकले सरल र सहज सेवा प्राप्त गर्ने वातावरण सिर्जना हुनु पनि महत्वपुर्ण उपलब्धि हो ।

अनावश्यक विदेशी संघ संस्थामाथिको अनुगमन 

कोशी नदीमा आएको भीषण बाढीलाई आधार बनाएर लामो समयदेखि  विराटनगरमा रहेको भारतीय क्याम्प हटाउनु र नेपालमा शान्ति प्रक्रियाका नाममा अघोषित रुपमा राजनीतिक मिसन सञ्चालन गर्दै आएको युएनको नाममा गैह्र सरकारी अन्तर्रा्ष्ट्रिय संस्था बन्द गरिदिनु र अन्य गैह्र सरकारी संस्थाहरुको अनुगमन गर्नु सरकारले लिएको महत्वपुर्ण कदम हो । 

विद्यार्थी भर्ना अभियान
प्रधानमन्त्रीको विशेष अग्रसरतामा कर्णालीको मुगुबाट सुरु गरिएको विद्यार्थी भर्ना अभियानका क्रममा विद्यालय बाहिर रहेका करिव ३,१३,२०८ बालबालिकामध्ये २,५६,५५६ बालबालिकाले अहिले विद्यालय भर्ना हुने अवसर प्राप्त गरे । प्रधानमन्त्रीकै विशेष अभियानमा मुलुकको वातावरण संरक्षण गर्न अहिले राष्ट्रव्यापी वृक्षारोपण कार्यक्रम अगाडि वढिरहेको छ । स्वतस्फुर्त अगाडि बढेको यो अभियानले हरियाली प्रवद्र्धन गर्ने काममा महत्वपूर्ण योगदान दिएको छ । 

त्रिभुवन विमानस्थल ः २१ घण्टा सञ्चालन, बुटिक एयर
एयरपोर्टको सुधारका लागि पर्यटनमन्त्रीको सक्रियतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अहिले ठूलै परिर्वतन भएको छ । पर्यटकको आवश्यकतालाई ध्यानमा राखेर आधुनिक ‘बुटिक’ एयरपोर्ट बनेको छ । 
त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमाको सञ्चालन अवधि २१ घण्टा पुर्याईएको छ । यसअघि दैनिक १८ घण्टा सञ्चालन हुने विमानस्थल अव २१ घण्टा सञ्चालन हुँदा उडान अवतरणको चाँप घट्ने र जहाजलाई आकाशमै होल्ड गर्नुपर्ने समस्याको समाधान भएको छ । 

राजदुत नियुक्तिमा मापदण्ड
ओली सरकारले राजदुत नियुक्तिका लागि नयाँ मापदण्ड बनाएको छ । यसअघिका सरकारले राजदुत नियुक्तिको कुनै मापदण्ड बनाएका थिएनन् । यो मापदण्डले नेपालको कुटनीतिक क्षमताको विस्तार हुने अपेक्षा गरिएको छ । 

सामाजिक सुरक्षा कार्यक्रम
सरकारले सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरेको छ । जुन नेपालको इतिहासमा श्रमीक वर्गको हितका लागि संविधानमा उल्लेख गरिए अनुरुप अर्थतन्त्र र त्यसको कार्यान्वयन शुरु भएको छ ।

धरहराको पुननिमार्ण
२०७२ बैशाख १२ गते भएको प्रलय महाविनासकारी भुकम्पबाट भत्किएको काठमाडौको नौ तल्ले धरहराको पुननिमार्ण हुने भएको छ । प्रधानमन्त्रीको सक्रियतामा धरहराको पुननिमार्ण कार्यले औपचारिकता पाएको छ । अब बन्ने धरहरा पुरानो शैलीको तर आधुनिक बन्ने भएको छ । जसमा फराकिलो  क्षेत्रफलसँगै म्युजियम, गार्डेन, कफी सप, अन्डरग्राउन्ड पार्किङ्ग, साथै मनोरन्जनले भरिएको धरहरा बन्दैछ । 

मलेसियासँगको श्रम सम्झौता

मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भएको छ । ग्रामिण भेगबाट ७०÷८० हजारसम्म शुल्क तिरेर मलेशिया जाने बेरोजगार युवाहरुको हितका लागि हाल सरकारले ७८ सयमा हुने श्रम सम्झौता गरेको छ । यो कार्यान्वयनमा आउँदैछ । श्रममन्त्री गोकर्ण बिष्टले गरेको यो ऐतिहासिकल पहल कदमीको पनि चौतर्फी प्रसंसा भएको थियो । 

नयाँ कानुन निमार्णको प्रक्रिया
देशमा अहिले संघीयता कार्यान्वयन भईरहेको छ । नेपालमा संघीयताको अभ्यास पहिलो पल्ट भएकोले यसको कार्यान्वयनमा कानुनहरुको अभाव छ । सरकारले अहिले स्थानीय तह सञ्चालनका लागि १६ वटा नमूना कानुन तयार पारेको छ । स्थानीय तहको अन्तरिम संगठन संरचना तथा दरवन्दी स्वीकृत गरी स्थानीय तहमा ५७,७६६ कर्मचारी खटाउने काम, स्थानीय र प्रादेशिक सरकारहरुले बजेटको तर्जुमा गर्ने काम र यसको कार्यान्वयनमा लिएको पहलकदमी आफैँमा महत्वपुर्ण काम हो ।