ललितपुर, २६ असार - युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकका ८४ स्थानीय तहमा खेलग्राम निर्माण भइरहेको बताउनुभएको छ । 

गोदावरी नगरपालिका–१० मा निर्माण भइरहेको बहुउद्देश्यीय रङ्गशालाको बिहिबार अनुगमन गर्दै उहाँले सो जानकारी दिनुभएको हो । मन्त्री विश्वकर्माले भन्नुभयो, “अन्य बाँकी रहेका ६६९ स्थानीय तहमा पनि विस्तारै हामीले दीर्घकालीन उद्देश्यका खेलग्राम निर्माण गर्ने भएका छाँैैै ।” 

एक स्थानीय तह एक खेलग्रामको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा खेलग्राम निर्माण कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मुलुकका प्रत्येक वडामा खेलग्राम निर्माणका लागि राष्ट्रिय योजना आयोगको सकारात्मक सहयोग चाहिने बताउनुभयो । 

ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले लामो समयदेखि वातावरण प्रदूषण पारिरहेको ढुङ्गाखानी हटाएर प्रदेश सरकारको बजेटमार्फत रङ्गशाला निर्माण कार्य अघि बढाएको बताउनुभयो । 

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले हाल निर्माण भइरहेको गोदावरी रङ्गशालालाई अन्तिम चरणमा पु¥याउन सङ्घीय सरकारबाट थप बजेट निकास गर्न आवश्यक रहेको बताउनुभयो । (रासस)