सप्तरी, ३१ भदौ   ।  खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

कोरोना सङ्क्रमित भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताउनुभयो ।

एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेका थिए । हप्तामा दुई पटक नियमित डायलासिस गरिरहेका युवकमा उच्च रक्तचापको पनि समस्या रहेको चिकित्सकले बताएका छन् । 

मिगौलापीडितसहित छ जनाको सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय पुरुषको अवस्था गम्भीर बन्दै गएपछि मङ्गलबार राजविराजस्थित अस्पतालबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा रणजीतकुमार झाले जानकारी दिनुभयो ।