“जननी जन्म भुमिश्च स्वर्गादपी गरियषी ” अर्थात जन्मदिने आमा र जन्मेको ठाउँ स्वर्गभन्दापनि उत्तम हुन्छ । सृष्टीकर्ताको उपमा पाएकी आमा निस्वार्थ मायाको खानी हुन्  ।  संसारमा कुनै चिज छैन जसलाई आमाको मायासँग तुलना गर्न सकियोस् । आमा शब्द यति धेरै विशाल र अतुलनीय छ की यसको वर्णन नै गर्न सकिदैन् । आमाको महिमा कुनै शब्द अनि कुनै भनाइले प्रष्ट्याउन पनि सकिदैन । 

सम्झना गौतम 

आमा सृष्टिकर्ता हुन जस्ले ९ महिना कष्टका साथ गर्भमा राखेर,वेदना सहेर छोरा छोरीलाई हुर्काउछिन, भाषा दिन्छिन, संस्कार सिकाउछिन र एउटा अबोधलाई पुर्ण मानव बनाउछिन्। आमाको मर्म बुझ्न त्यति सजिलो भने पक्कै छैन् । जो कोहि मानवलाई पनि ९/९ महिनासम्म कोखमा राखेर जन्म दिन्छिन् । गर्भावस्थाको अप्ठ्यारो समयमा पनि निकै धर्यवान् र सहनशील भएर आफ्नो सन्तानलाई यो धर्तीमा टेकाउछिन् । 

सन्तानको जन्म दिनुमात्र आमाको जिम्मेवारी होईन् । जन्मपछि पनि स्तनपान, स्याहारसुसार, पालनपोषण लगायतका कार्यमा मुख्य भूमिका आमाकै हुन्छ । आमा बिनाको सृष्टि र जीवन संभव नै छैन । 

आमा आफु विरामी हुदा समेत आफ्नो सन्तानको सरसफाई, पालनपोषण र रेखदेखमा जागा बस्ने गर्दछिन । आफु भोकै भएर पनि सन्तानलाई खुवाउँछिन्, बचाउछिन् । 

जीवनमरणको दोसाँधवाट उम्केर आफ्ना सारा ईच्छा, चाहना र भावनालाई कुल्चिएर सन्तानको सदासदा भलो चाहने आमाको महिमा अपरमपार छ । अब्राहम लिंकनले भनेका छन्ः जो मानिसको साथमा ममतामयी आमा हुन्छिन् ऊ कहिल्यै गरिब हुन सक्दैन । आफ्ना कयौँ रहर, आवश्यकता र उद्देश्यहरुलाई आफूभित्र दबाए आफ्नो सन्तानको मुस्कानमा धेरै खुशी हुन्छिन् आमा ।  

हरेक सन्तानको लागि  दुनियाँको सबैभन्दा राम्रो अनि सुरक्षितस्थल आमाको काख नै हुन्छ,। समयले अधिकांश सन्तानलाइ आमाको काखमा लुटपुटाउने मौका दिन्छ, । जोडी पिकोल्टका अनुसार स् दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो । आमा शब्द आफैमा एक पूर्ण शब्द जस्तो लाग्छ । आमाको त्याग तपस्या अनि ममता हरेक सन्तानको लागि अमुल्य हुन्छ । हरेक सन्तानका लागि आमाको माया नदिमा बगिरहने पानी हो । जबसम्म आमा हुन्छिन, तबसम्म नदी जस्तै बगिरहन्छ आमाको माया । भौतिकरूपमा जबसम्म आमा संसारमा जगमगाइ रहन्छिन तबसम्म हरेक सन्तानले अटुट ममताको आनन्द महसुस गर्न पाइरहन्छन् । जन्मदेखि नै अनवरत अनी अटुटरूपमा पाइराख्ने मायाले नै सन्तानलाई यस दुनियाँमा जिउन सिकाउँछ । सन्तानको हरेक सफलतामा आमाको ममता आधार बनेर खडा हुन्छ ।

के  सन्तानको हरेक सफलतामा आमाको ममता आधार बनेर खडा भए जस्तै हरेक सन्तानले पनि आमाले जति नै  निस्वार्थ मायासँगै साथ दिएको हुन्छ तरु प्रत्येक सन्तानले आमाका कारण म आज यो धार्तिमा आए , यो धर्तिमा आएसँगै आमा कारण यो दुनियाँमा जिउन सिके भन्ने महशुस गर्नसक्छ त ? तर बिडम्बना जब समयले बुढ्यौली तिर प्रवेश गराउँछ तब ती वृद्ध बाबु र वृद्ध आमा सन्तानबाट हेला अनि अपमानित हुनुपरेको छ । 

आजको यस समयमा आमा प्रति सन्तानको माया घटेको हो छ । व्यस्थताको बाहाना बनाएर आफ्ना वृद्ध आमाबुबालाई वृद्धाश्रम पठाउने या छोरा छोरीहरुको व्यवास्थाका कारण बाध्य भएर वृद्धाश्रम गएर बस्न बाध्य छन् आमाहरु । आजको समयमा सन्तानबाट अपहेलित आमाहरुको संख्या बढ्दो छ । बुढेसकालमा साहारा चाहिने बेलामा आमालाई उहि एक्लोपनको उपहार दिने संस्कार मौलाउदैछ । यस तर्फपनि आमाका सन्तानहरुले गम्भिर रुपमा सोच्नुपर्ने समय आएको छ ।

आमावाट मायाको वास्तविक अर्थ बुझ्न, असल शिक्षा र संस्कार आर्जन गरी सभ्यता सहित हिड्न खोज्नु सन्तानको मुख्य कर्तव्य हो । आमावाट आशिर्वाद थाप्न र आमाको पुजा गर्न कहिल्यै नबिर्सनु । आमाको दुश्मन बन्नु र आमाको चित्त दुखाउने काम पनि असल सन्तानले गर्नु उचित मानिदैन् । 

हामी पनि हिजो बालक थियौ, आज युवा छौ, भोली वृद्ध हुनेछौ । अत आमाको माया गर्न सिकौं । आमाको ममतालाई नभुलौं ।