काठमाडौं, २९ जेठ- विश्व कप फुटबलको चर्चा अहिले उत्कर्षमा छ । यो प्रतियोगितामा  विश्व विजेता बन्ने टिमले ३८ मिलियन डलर अर्थात करिव ४ सय ८ करोड रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्ने छ । 

फाइनलमा पराजित हुने टिमले पनि २८ मिलियन डलर करिव ३ सय करोड रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै तेस्रो र चौथो नम्बरमा रहने टिमले पनि क्रमश २४ मिलियन २ सय ५७ करोड र २२ मिलियन डलर करिव २ सय ३६ करोड रुपैयाँ प्राप्त गर्ने छ ।

त्यस्तै, ५ औं देखि ८ औं स्थानमा रहने टिमले १६ देखि १८ मिलियन डलर १७१ करोड रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै ९ देखि १६औं स्थानका टिमले अर्थात नकआउट चरणमा स्थान तय गर्ने टिमले समेत समान १२ मिलियन डलर अर्थात करिव १२९ करोड रुपैयाँ प्राप्त गर्ने छन् । 

विश्व कपको खास महत्व यसका लागि पनि मानिन्छ कि फुटबलको यो महाकुम्भमा एक खेल पनि जित्न नसक्ने टिमले पनि आफ्नो झोलामा करौडौं रुपैयाँ लिएर फर्किन्छन् । फिफाको नियमअनुसार १७ देखि ३२ औं स्थानमा रहने हरेक टिमले समान आठ मिलियन करिव ८६ करोड रुपैयाँ प्राप्त गर्ने छन् ।

विश्वकप अब भीएआर प्रविधिमा
काठमाडौं,३० जेठ– फुटबलको विश्व प्रशासकीय निकाय फिफाले फुटबल प्रतियोगिताहरुमा भीएआर भनिने भिडिओ असिस्टेन्ट रेफ्री प्रविधि प्रयोग गर्ने भएको छ । खेलका क्रममा उत्पन्न हुने विवादास्पद घटनाहरु जस्तै विवादपूर्ण गोल वा पेनाल्टीबारे खेलको भिडिओ हेरेर निर्णय लिन भीएआर प्रविधि सहयोगी हुने बताइएको छ ।

विवाद भएमा भिडियो हेरेर खेल बारे निर्णय लिन सो प्रविधि सहयोगी हुनेछ । खेलको दृश्यहरु हेरेर प्रमुख रेफ्रीलाई सहायक रेफ्रीहरुले उनले लिएका निर्णयबारे समीक्षा गर्न सहयोग गर्नेछन् । केही घरेलु इंग्लिश फुटबल प्रतियोगितामा भीएआर प्रविधिको परीक्षण भइसेको छ । इटली र जर्मनीमा पनि यसको प्रयोग भइरहेको छ ।  सो प्रविधि लागू गर्नका लागि अब फुटबल लिग वा प्रतियोगिता आयोजकहरुले बोर्डमा आवेदन दिनुपर्छ ।

गोल भए, नभएको, पेनाल्टी दिने वा नदिने, खेलाडीलाई रातो कार्ड दिइहाल्ने वा पहेलो कार्ड दिने भन्नेबारे खेलको भिडिओ हेरेर निर्णय लिइने बताइएको छ । तर भीएआर प्रविधिको सिद्धान्त भनेको कम भन्दा कम हस्तक्षेप गर्नु र खेलका क्रममा हुनेत्रुटिपूर्ण निर्णय हुन नदिन तथा निष्पक्ष खेल गराउनु भएको अन्तर्राष्ट्रिय फुटबल असोसिएसन बोर्डले बताएको छ ।

सो प्रविधिको प्रयोग पहिलो पटक सन् २०१६ डिसेम्बर मा गरिएको थियो। भीएआर प्रविधि प्रयोग गरिने निर्णयले फुटबल खेलको नयाँ युगको प्रतिनिधित्व गर्ने फिफा प्रमुख इन्फन्टिनो बताउँछन् । तर सो प्रविधिले खेलमा सुस्तता निम्त्याउने र अन्योल पैदा गरिने कतिपय आलोचकहरुको भनाइ छ ।

एजेन्सी