प्रधानमन्त्री केपी ओलीको दृढ अडान र त्वरित निर्णय गर्ने शैली निकै लोकप्रिय र चर्चित छ ! नेपाली जनताले यही शैली बिछट्टै मन पराएर नै मूलतः उहाँकै भरोसामा नेकपालाई दुई तिहाइ हाराहारीमा विजयी गराएका हुन्भने उहाँको यही शैली मन नपराउनेहरू उहाँलाई केही सिप नलागेर विधि र पद्धतिको भुत्ते हतियार बेलाबेला प्रयोग गर्ने गर्दछन् ।

सूक्ष्म अवलोकन र गम्भीर विश्लेषण पश्चात् आफूले देखेको र सही ठानेको कुरालाई बोलेरै छाड्ने र यथासम्भव प्रयोग गरेरै छाड्ने उहाँको यो शैलीका विरुद्ध बेलाबेला बेलाबेला विधिर पद्धतिको एम्बुस थापेर हैरान पार्ने काम गरिन्छ ! केही परिचालित मिडिया र बिचरा रातदिन नकारात्मक खेतीमा संलग्न केही सोसल मिडियाको महिनेतको बाढी पनि यसमा पस्ने गरेकै छ ! 

यही शैलीकै कारण बेलाबेला उहाँलाई विशेषतः जोरीपारी र आफ्नै घरधुरीभित्रबाट सहकर्मीहरूद्वारानिकै अप्ठ्यारो पारिँदै आएको भए पनिर कतिपयलाई काउसोसरी एलर्जी भए पनि उहाँको यो शैली आम जनताले भने अत्यन्तै मन पराएको शैली मात्र होइन जमिनी जनता द्वारा पूर्णतः अनुमोदित शैली समेत हो !

उहाँले विगत केही समय यता सामजिक र राष्ट्रिय सरोकारका जन चासोका विषयमा केही संवेदनशील कदम चाल्नु भएको छ ! जसले उहाँको छविलाई आलोकित पारेको अनुभूत गर्न सकिन्छ । 

लिपुलेक र लिम्पियाधुराको कुरो, नेपाललाई ल्यान्ड लक्डबाट ल्यान्ड लिङ्कड मुलुक बनाएको कुरो र चिनसँग भएका र मुलुकको भविष्यलाई वर्षौँ पछि नयाँ दिशा प्रदान गर्ने जुनजुन काम भए तिनको कुरो ल एकछिन छाडिदिऊँ ! 

एसिड पीडितप्रतिको चासो
भर्खरै भाद्र २४ गतेकै कुरा गरौँ न ! एसिड पीडितहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले “ पीडितको सम्पूर्ण जिम्मा सरकारले लिने घोषणा गर्दै त्यससम्बन्धी आवश्यक व्यवस्थापन गर्न सरकारी सबै निकायलाई निर्देशन दिनुभएको कुरो र पन्ध्र दिनभित्र कानुन बनाउने उद्घोष गर्नु भएको कुरो मिडियामा सम्प्रेषण भयो !  आजै २९ भाद्रको कान्तिपुरमा “एसिड छ्याप्नेलाई बीसवर्ष कैद !” शीर्षक समाचार अनुसार कानुन मन्त्रालयले एसिड दुरुपयोग रोक्न दुई अध्यादेश तयार पारिसकेको समाचार सम्प्रेषित गरिसक्यो ! एसिडपीडित युवतीहरूको पीडामा मल्हम लगाउन र त्यस्ता घटना हुनै नदिन उहाँ निकै संवेदनशील हुनुभयो ! एसिडपीडितको यो कानुन बन्ने भएपछि वर्षौँदेखि महिलावादीहरूले उठाउँदै आएका माग सम्बोधन भएकाले उनीहरू पनि गदगद छन् ।

कति राम्रो कुरा ! तर विधि र पद्धतिका कोणबाट हेर्दा त यो सिडिओको क्षेत्र हो क्यार ! निहुँ खोज्ने नै हो भने त एसिड पीडितहरूलाई मात्र किन बोलाउने ? बाढीपीडितलाई बोलाएको खोई ? भोकपीडितलाई बोलाएको खोई ? अनेकौँ झटारा हिर्काउन सकिन्छ ! तर यो त बालुवाटारभित्रबाट प्रधानमन्त्रीका नजरले जमिन र जनताको पीडा के कसरी हेरिरहनुभएको छ र अनुभूत गरिरहनुभएको छ र त्यसको समाधानका लगि कति संवेदनशील हुनुहुन्छ  भन्ने सन्देश हो !

कृषकलाई फोन
नेपालमा किसानका लागि छुट्याइएको कृषिऋण विभिन्न नेतानातेदार, सेलिब्रेटी नेता र पहुँचवाला कार्यकर्ताले बाख्रापालन,  बङ्गुरपालन र केके जाति खेती र पालनका नाममा व्यक्तिव्यक्तिले करोडौँ रकम स्वाहा पारेको र ऋण पचाइसके पछि ती बाख्राका गोठहरू र बङ्गुरका खोरहरू “खै खोलो सुक्यो” शैलीमा अलप भएकै हुन् ! जतिबेला देशको कृषि  ऋणमा नेता नेतापुत्र र पहुँचवालाहरू पौडी खेल्दै थिए, त्यतिबेला एउटा गुल्मेली किसानदिलीप भण्डारीले आफ्नो घडेरी बेचेर कृषिकर्ममा समर्पित हुँदै रहेछन् । यही कृषिकर्मको सकारात्मक समाचार जब प्रधानमन्त्रीले पढ्नु भो, उहाँ भावुक हुनु भो !

उहाँले तत्काल फोन गर्नु भई उक्त किसान र सकारात्मक समाचार सम्प्रेषण गर्ने पत्रकारलाई हौसला प्रदान गर्नु भो ! प्रधानमन्त्रीको यो फोन सामान्य फोन मात्र थिएन यो त महिनेती र वास्तविक किसानप्रति राज्यको दृष्टिकोण के छ ? भन्ने सन्देश पनि थियो । कल्याण रोका “प्रधानमन्त्रीको फोन”शीर्षकमा लेख्छन् “प्रधानमन्त्रीको यो अठोट र आब्हानले नेपाली युवाहरुलाई कृषि क्षेत्रमा लागिरहेका युवाहरु वीचमा एकातिर आफुले गरिरहेका कामप्रति गौरव गर्ने वातावरण निर्माण भएको छ भने अर्कोतर्फ यो क्षेत्रमा फर्कन चाहेका युवाहरुमा कृषि क्षेत्रपनि सम्मानित र मर्यादित पेशा हो र यसलाई आफनो कर्मक्षेत्र बनाउनु पर्छ भन्ने उहाँहरुको सोचमा एकैचोटि विश्वास र भरोसा पलाएको छ” । प्रधानमन्त्रीको एउटै फोनबाट किसान र पत्रकारले करोडौँ रुपया भन्दा बढीको हौसलापूँजी प्राप्त गरी गदगद भए !

मल पैँचो र किसानको चासो
कृषिमन्त्रालयबाट मलको ठेक्का कब्जा गरेर मल नल्याई कृषकहरूलाई बिचल्ली पार्ने गिरोहका कारण नेपाली किसानले समयमै मल प्राप्त गर्न नसक्दा प्रधानमन्त्रीले आफै मल पैँचो माग्न बङ्गलादेशकी प्रधानमन्त्री सँग वार्ता गर्नु पर्यो ! विधि र पद्धतिअनुसार ठेक्कापट्टा भएर पनि मल नआए पछि प्रधानमन्त्रीले सोझै पहल गर्नु पर्ने परिस्थिति आइपर्यो ! नेपालमा कृषकको घाँटी निमोठ्ने गिरोह ठूला नेताका परोक्ष आशीर्वादबाट कति शक्तिशाली बनेका रहेछन् त्यसको लेखाजोखा पछि हुँदै जाला ! तर मन्त्रालयले गर्नु पर्ने काम विधि र पद्धति अनुरूप(!) गर्दै जाँदा ठेक्का हत्याउने गिरोहले समयमै मल उपलव्ध नगराई नेपाली किसानको घाँटी कसरी निमोठ्यो र त्यसले प्रधानमन्त्री लाई कसरी व्यथित तुल्यायो र उहाँलाई बङ्गलादेशसँग मल पैँचो माग्ने अवस्थामा पुर्यायो ! यसबाट जमिनका नेपाली जनता र किसानप्रति प्रधानमन्त्री कति संवेदनशील हुनुहुँदो रहेछ भन्ने यथार्थ उद्घाटित भयो !

पोस्टकोरोना अर्थतन्त्रप्रति चासो
कोरोनाबाट विश्व अर्थतन्त्र नै थिल्थिलिएको छ र आत्मनिर्भरताको यात्रामा वामे सर्दै गरेको नेपाली अर्थतन्त्रमा पनि यसले गम्भिर धक्का पुर्याउने पक्का छ ! यही यथार्थ मनन गरी प्रधानमन्त्री केपी ओलीले कोभिड १९ ले नेपाली अर्थतन्त्रमा पार्ने असर बारे निजीक्षेत्रसँग हालसलै बालुवाटारमा गहन विचार विमर्श गर्नु भो ! कोभिडका कारण भोलि मुलुकले बेहोर्नु पर्ने सम्भावित असरको पीडा प्रधानमन्त्रीले अहिले नै अनुभूत गरिसक्नु भएको छ, यसबाट उहाँले देख्नु भएको र पूरा गरेरै छाड्ने अठोट गर्नु भएको समृद्ध नेपाल र सुखी नेपालीको सपनामार्गमा आइपर्न सक्ने व्यवधान र निदानको सन्धानमा उहाँको सक्रियताले उहाँको कुशल शासकत्वको पुष्टि गर्दछ नै !

कोरोना रोकथाममा आयुर्वेदको प्रयोग
यही भाद्र २५ गते प्रधानमन्त्रीले बालुवाटारमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणमा आयुर्वेद चिकित्साको महत्त्वका विषयमा कार्यकारी अध्यक्ष प्रचन्डसमेतको उपस्थितिमा आयुर्वेद विज्ञहरूसमेत डाकी एक विमर्श चलाउनु भयो !

कोभिड १९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै प्रधानमन्त्री ओलीले आयुर्वेदभित्रै योगा पनि पर्ने, आयुर्वेद खासमा औषधी र आरोग्य विज्ञान दुबै पर्ने हुँदा आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष राखिएको उल्लेख गर्नुभयो । यस परामर्शले एकातिर कोभिड नियन्त्रणमा उहाँको गम्भिर चासोका साथै नेपालको मौलिक चिकित्सा प्रणालीको उत्थानमार्फत् मुलकलाई नीरोगी नेपाल तुल्याउँदै समृद्धिपथमा लैजान सकिने उहाँको दृढ विश्वास मुखरित भयो !

कोरोनाजन्य मनोसामजिक समस्याको सम्बोधन
त्यतिमात्र होइन, कोरोना महामारीका कारण सिर्जित मनोसमस्याको सम्बोधन गर्ने गरी तत्काल योजना बनाएर अघि बढ्न गत भाद्र २३ गते मनोचिकित्सकसँग परामर्श गरी सम्बद्ध सरकारी र निजी क्षेत्रलाई निर्देशन दिनु भएको समाचार आयो । निराशा दिक्दारी भय र त्रासमुक्त समाज निर्माण गर्न मनोचिकित्सकको विशेष योगदान हुने कुरा बताउँदै तुरुन्त योजना बनाएर अघि बढ्न निर्देशन दिनु भएको कुराले उहाँ जनस्वास्थ्य र जनचासोका विषयमा कति गम्भीर हुनुहुन्छ भन्ने पुष्टि गरेकै छ ! 

यी त भए तात्कालिक रूपमा प्रधानमन्त्रीबाट भएका जनचासोका विषय ! प्रधानमन्त्रीले गरेका थुप्रै कामहरू जो नेपालको दूरगामी विकास र हितका पक्षमा छन्, तर पटकपटक विधि र पद्धतिका नाममा उहाँमाथि आशङ्का र कुण्ठाका साथ पटकपटक हमला भइरहे तर उहाँले गरेका कामहरू कालान्तरमा सही साबित भएका थुप्रै उदाहरण मध्ये दुइ सन्दर्भ मात्र यहाँ प्रस्तुत छन् !

प्रधानमन्त्रीले गरेका थुप्रै कामहरू जो नेपालको दूरगामी विकास र हितका पक्षमा छन्, तर पटकपटक विधि र पद्धतिका नाममा उहाँमाथि आशङ्का र कुण्ठाका साथ हमला भइरहे तर उहाँले गरेका कामहरू कालान्तरमा सही साबित भएका थुप्रै उदाहरण छन् ।

विसं २०७५ चैत्र पहिलो सातातिर तराईलाई अलग देश बनाउन तम्सिएको  सिके राउतसँग प्रधानमन्त्रीले सहमति गरी राजनीतिको मूल प्रवाहमा ल्याउँदाराष्ट्रवादी ब्रान्ड नेता भीम रावलले अलिक हतारिँदै “ (यस) सहमतिले देश विखण्डन मुद्दालाई प्रोत्साहन दिएको देश टुक्र्याउने घोषणा गर्नेलाई एकाएक नायक बनाउने काम गरिएको र यत्रो गम्भीर मुद्दामा पार्टीभित्र छलफल नगरिएको” भनी आगो ओकल्नु भएका कथन अझै पनि युट्युवमा बग्रेल्ती पाइन्छन् ! त्यस्तै झलनाथ खनालले  ( जनअभिमत भन्ने द्विअर्थी शब्दमा ) आपत्ति जनाएको र बाबुराम भट्टराईले “हतारमा गरिएको निर्णय” भनी आलोचना गरेका त्यतिबेलाका दसी सर्वत्र पाइन्छन् । तर आज  पार्टीभित्र सल्लाह नगरेर गरेको भनिएको ( सल्लाह गरेको भए के हुन्थ्यो हुन्थ्यो ? )  सिके राउतजस्ता विखण्डनकारीलाई राष्ट्रिय राजनीतिको मूलप्रवाहमा ल्याउनेकेपी ओलीको सो कदम समयक्रमले सही साबित गरिदिएको छ !

ललिता निवास लगायत थुप्रै सार्वजनिक जग्गा भूमाफियाबाट लुटपाट भएको कुरो मिडियामा छरपस्ट भए पछि प्रधानमन्त्रीको ठाडो आदेशमा त्रिताल आयोगको गठन भयो ! सायद कतिपयद्वारा व्याख्यायित पार्टीको विधि र पद्धति अनुसार चलेको भए के यो आयोग गठन सम्भव थियो ? आज उक्त आयोगले दिएको रोपोर्ट बमोजिम काम गर्दा केकति उपलव्धि भयो त्यो जगजाहेरै छ !

त्यसैले त आज प्रधानमन्त्रीले मुलुक र राष्ट्रको हितका लागि कदम चाल्दा उहाँमाथि विधि र पद्धतिको डन्डा बर्साउनुको अन्तर्य खोज्दै जाँदा त्यहाँ अनेकौँ अर्थ निस्कन सक्छन् नि ।

प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीलाई संविधानको मर्म र भावना अनुसार चल्न दिनु नै वास्तविक विधि र पद्धति हो ! पार्टीले र संसदीय दलले पार्टीकै अध्यक्षलाई नेता चुनेर सरकारमा पठाएपछि सरकार प्रमुखले संविधानतः गर्ने कार्य स्वतः विधि र पद्धति हो भन्ने नबुझुन्जेल र नाम कम्युनिष्ट भए पनि हामी वेस्टमिनिस्टर पद्धति अनुरूपको शासन व्यवस्था अँगालेर हिँडिरहेका छौँ भन्ने सत्य स्विकार नगरुन्जेल हरेक काम गर्दा पार्टीलाई सोधेर मात्र गर्नु पर्छ भन्ने राग अलाप्नुको के पो तुक होला र !

एकतन्त्रात्मक कम्युनिस्ट पार्टीका विचारको धङधङी दिमागभरि बोकेर  वेस्टमिनिस्टर पथतिर खुट्टा लम्काइसके पछि सोअनुसार काम गर्न नदिई निहुँ खोजिरहनु कत्तिको उचित होला ? ठेक्कापट्टा जतिदलाल पूँजीपतिका पोल्टामा हालिदिएर किसान र जनतालाई सास्ती दिँदै दलाल पूँजीवादको विरोध गरिरहने अनि भित्रभित्र दलाल पूँजीपतिसँग सहभोज गर्दै बाहिरबाहिर दलाल पूँजीवादका विरुद्ध घाँटीका नसा फुलुन्जेल डुक्रँदा एक्काइसौँ शताब्दीको चेतना भएका जनताले पत्याउलान् र ? त्यसैले ठुलाठूला र नपत्याउने कुरा नगरी पत्याउने र हुने कुरा गरौँ ! जमिनका जनताको भावना बुझौँ !

र अन्त्यमा के कुरो बुझ्नु जरुरी छ भने, प्रधानमन्त्रीको यही कार्यशैलीकै कारण अरुभन्दा उहाँ पृथक् हुनु भएको हो र लोकप्रिय हुनु भएको हो । उहाँको यो शैलीका कारण पार्टी विजेता भयो तर कुन्नि किन हाम्रै कतिपय नेताहरूको मन पराजित छ र आजित छ ! जेहोस्, लोकतन्त्रमा निश्चित अवधिका लागि चुनिएका व्यक्तिलाई छिर्किनी हानेर बिचैमा लडाउने तीनमहिने टेस्ट म्याच हालै सकिएको छ ! अब प्रधानमन्त्रीले पार्टी एकताको मर्म, कार्यकारी अध्यक्षको साथ र मुलुकका जनताको भावना अनुरूप संघ, प्रदेश र स्थानीय सरकारलाई युद्धस्तरमा विकास निर्माण र जनताको मन जित्ने गरी उहाँकै शैलीमा काम गर्न निर्देशन दिन जरूरी छ !