चितवन, २७ चैत - भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । 

स्नातकोत्तर र विद्यावारिधिमा २१७ शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ शैक्षिक कार्यक्रम सञ्चालन भएको विश्वविद्यालयले महानगरपालिकाका गरीब, असहाय तथा जेहेन्दार २० विद्यार्थीलाई पूर्ण र ५० विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ । 

सोसम्बन्धी सम्झौतामा महानगरपालिकाका तर्फबाट महानगर प्रमुख रेणु दाहाल र विश्वविद्यालयका तर्फबाट सियाङ्या नर्सिङ स्कुलका डिन प्रा थाङ सियुआनले हस्ताक्षर गर्नुभएको छ । महानगरपालिकाका तर्फबाट डा विश्वास श्रेष्ठले सम्झौताका लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गर्नुभएको थियो ।

सम्झौताबाट दुई देशबीच सामाजिक र सांस्कृतिक ज्ञान आदानप्रदानका साथै जेहेन्दार विद्यार्थीलाई विशेष अवसर सिर्जना गर्ने र आफूले उच्चशिक्षा हासिल गरेका जनशक्ति प्राप्त गर्ने विश्वास महानगरपालिकाले लिएको छ । रासस