काठमाडौं, २८ साउन -  चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

अगष्ट २१ देखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ मा सहभागिताका लागि अमेरिका जान भिसा आवेदन दिएका लामिछानेलाई दुतावासले भिसा दिन अस्वीकार गरेको हो । सामाजिक संजाल ट्विटरमार्फत  ट्वीट गर्दै अमेरिकी दूतावासले आफूलाई भिसा नदिएको जानकारी गराएका हुन ।

लामिछानेका अनुसार आज बिहान महाराजगञ्जमा रहेको अमेरिकी दूतावास पुग्दा अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो । भिसा नदिएपछि सन्दीपले आफू आश्चर्यमा परेको प्रतिक्रिया दिएका छन् । लामिछानेले आफ्नो ट्वीटमा पीएम नेपाल र युएस एम्बेसी नेपाललाई मेन्सन गरेका छन ।  अमेरिकाले नेपाली नागरिकमाथि पटक–पटक यस्तो ब्यवहार गर्दै आएको छ ।

सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए। सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले उल्लेख गरेका छन्।

 सन्दीपले यसअघि इन्डियन प्रिमियर लिगलगायत संसारभरका प्रतिष्ठित क्रिकेट लिग खेलिसकेका छन्। उनले सिपिएलको गत संस्करण पनि खेलेका थिए।