एउटा असल मित्रले अल्पायुमै जीवन बिसाएको बेला कतिधेरै आँशु बग्दो रहेछ भन्ने कुरा यसपालि थाहा भयो । अनि एउटा मित्रको बिछोडमा फाटेको हृदयलाई धितमरुन्जेल आँशु झारेर अलिअलि हलौँ पार्दै उठ्नको निम्ति अर्को कोही त्यस्तो मित्र नभेट्दा कस्तो पिडा हुँदोरहेछ भन्ने कुरा पनि यसैपालि थाहा भयो ।

दिउसो बजारतिर बरालिइरहेको समयमा एक्कासी कानमा चट्याङ परेजसरी एउटा असाध्यै तीतो सा¥है नमीठो खबर सुनिन आयो । “ताप्लेजुङको सिस्ने खोलाको भिरमा हेलिकप्टर दुर्घटना । त्यसमा सवार मन्त्रीसहित सातै जनाको मृत्यु । जुन घटनामा देशका मूल्यवान प्रतिभाहरु एकै ठाँउमा स्वाहा भए ।” म सबैको मृत्युमा चिन्तित छु । त्यसमध्ये मेरो मुटुको टुक्रा बिरेन्द्र प्रसाद श्रेष्ठ एक । 

हैन, पत्याउँ कि नपत्याउँ यो खबर !  म त छिनको छिनमै रनाहामा परेँ । म भोटाहीटी जान लागेको मान्छे छिनभरमै ढोलाहिटी खोज्ने भइसकेछु । हैन ! कहाँ हराए म यसरी ? मनमा एउटा सुर आयो । अन्लाइन खबरमा बसिरहने मित्रलाई फोन लगाएँ । “हेलो !”

“हेलो बिरही जी ! नमस्कार ।”

“आज हेलिकप्टर दुर्घटना भयो रे हो त मित्र ?”

“हो, हो ।”

“कहाँ ?”

“ताप्लेजुङ्गमा”

“यात्रुको अवस्था ?”

“सबै सखाप भए ।”
“एकचोटि नाम पढिदिनुस् न ।”

“सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी, नागरिक उड्ययन प्राधिकरणका उप–महानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ्ग शेर्पा, उपसचिज्ञ युज्ञराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनीयर धुर्वदास भोछिभया, पाइलट प्रभाकर केशी र पिएसओ अर्जुन कुमार घिमीरे ।”

अब कसरी नपत्याउँ म । मेरा आँखामा ठ्याक्कै बादल लागेजस्तो भयो । केही पनि नदेख्ने भएँ म । छिनछिनमा आँखामा औँला पु¥याएर आँशुको तलाउ घटाउने भएँ । के साध्य ! पार लाउनै सकिन मैले । कसरी पत्याउँ म यो कुरा ! फेरि नपत्याउँ चाहिँ कसरी । पत्याउनु पर्ने कुरा त दिनको घाम जत्तिकै छर्लङ्ग भैसक्यो ।

हैन ! हाम्रो बिहानमात्र भेटघाट भएको हो । बिहानमात्र बोलचाल भएको हो । हैन, उहाँ बिहानसम्म जस्ताको तस्तै कहीँकतै केही नभएको मानिस हो । अहिलेसम्म पनि बिहानको बोली ताजाताजा बनेर आइरहेको छ । अब कसलाई भनौँ यो कुरा ? उहाँको मिठो मधुरो बोली मेरो कानमा जस्ताको तस्तै रेकर्ड भएको छ । अब म के गरौँ त्यो बोली? कसलाई सुनाउँ ?

मैले टेकेको धर्तीमा ठूलो भुकम्प गएजस्तो भयो, संसार हल्लिए जस्तो भयो । मलाई साँच्चिकै समालिन गाह्रो प¥यो । ओ मेरा प्रिय आत्मीय मानिस, दिलको साथी, मनको ढुकढुकी के तिमीले मलाई साँच्चै छोडेकै हो त ? यदि तिमीले आजकै दिन छाड्छौ भन्नेकुराको मलाई अलिकति झल्कोमात्रै भएको भए तिमीलाई अँगालो मारेर तिम्रो छातिमा टाँसिएर यस कच्चा मनुष्य चोलाभित्र लुकेको सच्चा आत्मीय प्रेमको कहानी कहने थिएँ । “दादा ! म तिमीलाई यति धेरै माया गर्छु” भनेर आँशुले परेली रुझाउँदै यही भर्याङको पछिल्लो सिँडीमै रोक्ने थिएँ । बोल्न नसकेर गलामा अड्किएका शब्दहरुलाइ म आँशुको लहरमा हार मिलाएर तिमीलाई देखाउने थिएँ । तर मेरो प्रिय, दिलको साथी ! कत्रो दिन दशाको पहिरो आयो । खोलापारी तिमीलाई बगायो, खोलावारी मलाई रुवायो ।



गाउँबाट काठमाण्डौ आएपछि सुरु भएका दुःखमय डेराबासी दिन मेरा दुःखैले बितिरहेका थिए । बल्लबल्ल डेरा मिल्ने, घरबेटी जाती नमिल्ने । बल्लबल्ल घरबेटी जाती मिल्ने, डेरा जाती नमिल्ने । कतै डेरावाल छिमेकीहरु दुईबोतल सुइँक्याएर गीत गाउँदै मध्यराति ढोका बजाउँदै हिड्ने, कतै श्रीमतीका जगल्टा समाएर फनफनी घुमाउने । कतै अल्लारे केटाहरुमात्रै बस्ने, केटी बोलाउने । कतै केटीमात्रै बस्ने, केटा बोलाउने । कतै गितार बजाएर र्याप हान्ने । कतै धुलो माड्ने, धुँवा उडाउने, प्याक तान्ने । आफूलाई दुईचार अक्षर लेख्नुपर्ने, पढ्नु पनि पर्ने । त्यस्तो सकसपूर्ण ठाउँमा कसरी लेख्ने ? कसरी पढ्ने ? ‘यो सबै हल्ला, गन्धा, मैलाबाट बच्ने ठाउँ कहाँ होला ?’ म यस्तै कुरा सोच्दै “अर्को महिना त अर्कै ठाँउमा डेरा सर्छु” भन्दै असल घर असल घरधनी खोज्दै गल्लीगल्ली चाहार्दै थिएँ । सोचेजस्तो ठाँउ कतै पत्ता लाग्न सकेको थिएन । 

शहरिया टोल छिमेकका केही परिचित मानिसहरुले भने, “तपाईँले खोजेकोजस्तो घर त बिरेन्द्र सरको घर हो । त्यहीँ सर्नु न डेरा । त्यहाँ तपाईँले जति कथा लेखे पनि हुन्छ, जति कविता लेखे पनि हुन्छ ।” कुरो सुन्दा त लोभै लागेर आयो । पक्कै त्यो घरमा डेरावाल, त्यहाँमाथि लेखन्ते, पढन्तेलाई केही शान्तिको सुविस्ता छ । “खाली होला त डेरा ?” यसो चिनजानका मानिसबाट सूचना संकलन गर्दा त्यस घरबाट त कोही पनि डेरा सर्न मान्दैनन् रे ! सितिमिति खाली हुँदैन रे त्यस घरमा डेरा । कि जागिरवालाको जागिर सरुवा भएर जानुप¥यो, सरुवा गर्न नमिल्ने डेरा छोड्ने भए । नत्र कसले छाड्ने डेरा ! अप्ठ्यारो भए, कचकच भए त मानिस डेरा सर्न सकसकाउछन् । घरधनी र डेरावालबीच शान्ति सम्झौता राम्रो छउन्जेल को सर्ने डेरा !

एकदिन कानमा आशालाग्दो खबर आयो, “विरेन्द्र सरकोमा डेरा खाली हुँदै छ अरे ।” म चारहात उचालिँदै पत्नीलाई सुराकी गर्न पठाएँ । धेरै हल्ला गर्न पनि भएन, फेरि अरुले थाहा पाएपछि अरु नै जालान् । उनले पनि खबर लिएर आइन्, “हो, खाली हुँदै छ अरे ।”

एकमहिना बित्यो खाली भएन, दुईमहिना बित्यो खाली भएन । पाँचमहिना बित्यो खाली भएन । त्यसपछि एकबर्ष बित्यो खाली भएन । त्यसपछि खबर आयो “ती डेरावाल आघौँ साल घर बनाएर सिरुटारतिर जान्छन् अरे अनि खाली हुन्छ डेरा ।” ‘अब कहिले सर्नु डेरा ? तिनको जग हाल्ने साइत कहिले हो ! गाह्रो उठाउने कहिले हो ? ढलान कहिले ? पलस्टर कहिले ? आफूलाई डेरा चाहिएको छ अहिले ।’

छिमेकी डेरावाल बडो बिन्दास पाराका मानिस छन् । दुईबोतल नलगाउन्जेल चुप लागेर बस्छन् । दुई बोतल लगाएपछी खरी झरेको मादल ठोक्छन् अनि “चट्ट रुमाल क्यामालुम”मा घोक्रो फुलाउँछन् । कोहीबेला अति दिक्क लागेपछि यसो सम्झाउँछु । “हैन, के हो दाई यस्तो ... ... ... ?’’ उनी भन्छन्, “ढुङ्गेल जी हल्का रमाइलो ।” म टाउकोमा हात पु¥याएर दिक्क हुन्छु । “कहिले सर्न पाइएला बिरेन्द्र सरकोमा, त्यति त्यहाँ पुग्न पाए कति शान्ति पाइने थियो ।”

चार वर्षको प्रतिक्षापछि म विरेन्द्र प्रसाद श्रेष्ठको घरमा आइपुगेँ । उहाँ र मबीचको सम्बन्ध केवल डेरावाल र घरधनीको जस्तोमात्र थिएन । अत्यन्त आदरण्ीाय आत्मीय मित्रताको थियो । म उहाँलाई जति इज्जत गर्थेँ, त्योभन्दा बढी उहाँ मलाई इज्जत गर्न खोज्नुहुन्थ्यो । “के अप्ठ्यारो छ, के समस्या छ ?” सोधीखोजीमा उहाँ अति विनम्र हुनुहुन्थ्यो । उहाँको अतिव्यस्त अफिसीयल जीवनले गर्दा हामी दुईभाइले धीत मरुन्जेल गफ गर्ने मौका कहिल्यै पाएनौ । कहिले स्वदेश, कहिले विदेश, धर्तीमा गुड्दा र आकाशमा उड्दा कुनै फुर्सद र आरामको दिन पाउनु भएन । तर म भने अत्यन्त आनन्द साथले उहाँको घरमा रहेँ, जहाँ मैले जुन शान्ति खोजेको थिँए त्यही पाएँ । अहिले म उहाँको घरमा डेरावाल भएको पाँचवर्ष बित्दैछ ।

यो बीचमा उहाँलाई मेरो तर्फबाट कतिपय कुरामा घच्चापच्चा भयो होला तर मैले उहाँ र उहाँको परिवारको तर्फबाट कुनै कुरामा अप्ठ्यारो महसुस गर्नुपरेको छैन । म यस कुरामा मुरीमुरी खुसी छु । जहाँ बसेर मैले रातको निद्रालाई कहिले एघार बजेसम्म कटनी गरेँ, कहिले एक बजेसम्म कटनी गरेँ, पाँचवटा कृति लेखेँ । विभिन्न लेख रचना गरी पाँच लाखभन्दा बढी शब्द सड्ढलन गरेँ । यो प्रेरणाको श्रोत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उहाँ नै हुनुहुन्थ्यो । तर आज के देखेँ यस्तो ! मेडिकल साइन्सले चिनाइदिएको टुक्राटाक्री एक पोको शरिरमा श्रद्धान्जली अर्पण गरेँ, फूलको श्रद्धान्जली, मायाको श्रद्धान्जली, आत्माको श्रद्धान्जली, मेरो मुटुको टुक्राको श्रद्धान्जली, एक अन्जुली आँशुको श्रद्धान्जली ।