बिनु पोखरेल

श्री अयोधीप्रसाद यादवज्यू,
प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग ।
बहादुर भवन, काठमाडौं । 

अयोधी सर !
तपार्इँ हाम्रो देश नेपालको एक संवैधानिक अंग निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त हुनुहुन्छ । त्यस चिनारी बाहेक तपाईंलाई म चिन्दिनँ । एक नागरिकले तपाईंमाथि मैले गरेको विश्वास पनि प्रमुख निर्वाचन आयुक्तकै रुपमा हो । तपाईंलाई राज्यले निर्वाचन आयोगको प्रमुखका रुपमा चिनाएकाले मैले चिनेको हो । 

अयोधी सर, 
तपाईंलाई यसरी खुला चिठ्ठी लेख्नु पर्ने कारण चाहिँ मलाई किन आइलाग्यो ? किनभने प्रमुख निर्वाचन आयुक्तका रुपमा तपाईंको कार्यालयले डेढ महिनाअघि प्रतिनिधिसभाको निर्वाचनका कार्यक्रम प्रकाशित गर्नु भएको थियो । तर, आजसम्म मत गणना सकिएको झण्डै एक महिना पुगिसक्दा पनि तपाईं मतपरिणाम सार्वजनिक गर्न अस्वीकार गरिरहनु भएको छ । मतगणना सकिए लगत्तै मतपरिणाम सार्वजनिक गर्ने कुरा तपाईंले प्रकाशित गरेको निर्वाचन आयोगको कार्यतालिकामै उल्लेख छ । तर, तपाईं अहिले मतपरिणाम प्रकाशित गर्न कानुनी अड्चन रहेको वताउँदै हुनुहुन्छ । यस्तो सरल लोकतान्त्रिक अभ्यास र विधिलाई जटिल बनाउने खेलमा तपाईं किन लाग्नुभयो भन्ने जिज्ञासा मनमा उठ्यो र यो खुलापत्र लेख्दैछु । 

हो, तपाईंले मतदानको मिति तोकेका दिन एक करोड भन्दा बढि नेपालीले लामवद्ध भएर मतदान गरे । त्यसमध्ये म पनि थिएँ । एक सार्वभौम आम नागरिकको हैसियतले लाममा उभिएर मतदान गर्दा मलाई तपाईंले जारी गरेको कार्यतालिकामाथि विश्वास थियो । 

मलाई लागेको थियो–म मतदान मार्फत देशको लगाम लिने नेतृत्व चुन्दैछु । संसारको लोकतान्त्रिक प्रचलन पनि यस्तै थियो । मतदान गर्दा मेरो देब्रे हातको बूढी औंलामा लगाइएको मसी उडेर गइसकेको छ । तर, मैले दिएको मत गणना नतिजा सार्वजनिक गर्न मिल्दैन भन्ने तपाईंका अभिब्यक्तिहरु आम सञ्चार माध्यममा सुन्दा तपाईं पद अनुकुल आचरण गरिरहनु भएको छैन कि भन्ने शंका लागेर आउँछ । विचार गर्नुस् त अयोधी सर– मतगणना कार्य सम्पन्न भएपछि मतपरिणाम सार्वजनिक गरिनेछ भन्ने निर्वाचन आयोगको कार्यतालिका तपाईंले नै उल्लंघन नगरिदिएको भए यतिबेला देशमा जनताले चुनेको सरकार हुनेथियो । 

तपाईंलाई थाहै छ, हाम्रो देश राजनीतिक अस्थिरताको शिकार छ । त्यसै कारण यहाँ रोजगारीका अवसर छैनन् । अधिकांश वयस्क युवा विदेशी भूमिमा पसिना बगाइरहेका छन् । तिनीहरु मध्ये कतिपय यस चुनाव मार्फत राजनीतिक स्थिरता खोज्न मतदानका लागि नेपाल आएका थिए । आफूले चुनेका प्रतिनिधिहरुले चुनावमा गरेको कबुल अनुरुप राज्य सञ्चालन गरेको हेर्ने उनीहरुको चाहना तपाईंले शिथिल बनाइदिनुभयो । त्यसअर्थमा पनि तपाईं आफ्नो पदीय दायित्वप्रति संवेदनशील हुनु भएन भन्ने आशंका जन्मियो । 

यो चुनावलाई असफल पार्ने तत्व चुनावको आयोजना हुनु अगाडि देखि नै कति सक्रिय थिए भन्ने कुरा मलाई त थाहा छ भने तपाईंलाई थाहा नहुने कुरै भएन । चुनाव अवधीभर देशैर ‘अज्ञात’ समुहले गरेका बम हमलाहरु त्यसका प्रमाण हुन् । अस्थिरताको राजनीतिक चक्र अन्त्य गर्न बम हमला र अवरोध पन्छाउँदै मतदान गर्ने एक करोड भन्दा बढि मतदाताले ‘मत परिणाम सार्वजनिक गर्न कानुनी अवरोध छ’ भन्ने तपाईंको भनाईलाई विश्वास गर्ने आधार के ? चुनाव सकिएपछि मतपरिणाम सार्वजनिक गर्न अवरोध थियो भने निर्वाचन आर्यतालिका जारी गर्दा नै किन त्यसो भन्नु भएन ? वा कार्यतालिकामा ‘मत गणना कार्य समाप्त भएपछि मतपरिणाम प्रकाशित गरिनेछ’ भनी किन लेख्नुभयो ? 

जव मतगणना अन्तिम अन्तिम अवस्थामा पुगेको थियो । तपाईंको बदनियत विस्तारै सार्वजनिक हुँदै थियो । निर्वाचनको पूर्व प्रकाशित कार्यक्रम तालिका विपरित तपाईं भन्न थाल्नुभयो– राष्ट्रियसभा र प्रतिनिधिसभा मिलाएर संघीय संसद हुने भएकाले राष्ट्रियसभाको महिला प्रतिनिधित्व पूर्ति गर्न प्रतिनिधिसभा समानुपातिक मतपरिणाम सार्वजनिक गर्न मिल्दैन । 

हो, त्यस विषयमा संविधानले संसदमा महिला प्रतिनिधित्वको सुनिश्चितता गर्ने असल मनसाय राखेको छ । संविधानको धारा ८४ (८)को त्यहि भावनामा टेकेर तपाईंले राष्ट्रियसभाको चुनाव नगरी प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक गर्न मिल्दैन भनिदिनुभयो । तर, राष्ट्रियसभामा महिला प्रतिनिधित्वको कोटा उम्मेदवारी दर्ताकै बखत संविधानले तोकेको कुरालाई तपाईंले ओझेल पारिदिनुभयो । संसदको दुवै सदनमा गरी ३३ प्रतिशत महिला पुग्नु पर्ने असल मनसाय संविधानले राखेको छ तर, संविधानको कुनै पनि धाराले प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक गर्न राष्ट्रियसभा चुनाव हुनुपर्छ भनी बोलेको छैन । तर, तपाईं बोल्नुभयो, जुन प्रतिनिधिसभा मतपरिणाम रोकेर राजनीतिक अस्थिरताका लागि ठाउँ दिने तपाईंको बदनियत हो भन्नेमा कुनै शंका छैन । 

तपाईंले राष्ट्रियसभाको महिला प्रतिनिधित्व हेरेर प्रतिनिधिसभा समानुपातिकको सिट निर्धारण गर्ने जुन कुरा गर्नुभएको छ, त्यो कुराले महिलालाई सकेसम्म राष्ट्रियसभामा सिमित गर्ने दुराशय बोकेको छ । अर्काे कुरा एउटा निश्चित राजनीतिक दलले चुनाव हारेपछि उसलाई केहि समय अनिर्वाचित शासनाधिकार दिने र जनादेश विपरित सत्ता समीकरण निर्माणको अवसर दिने अभिप्रायले तपाईं प्रतिनिधिसभाको मतपरिणाम दिन मानिरहनु भएको छैन भन्ने पनि तपाईंका केही ब्यवहारबाट पुष्टि भएका छन् । 

पहिलो उदाहरण हो तपाईंले राष्ट्रियसभा र प्रतिनिधिसभाको हैसियतका विषयमा गरेको दोहोरो मापदण्डको परिभाषा । तपाईं एकातिर भन्नुहुन्छ– राष्ट्रियसभा र प्रतिनिधिसभा मिलेर संघीय संसद बन्ने भएकाले राष्ट्रियसभाको महिला प्रतिनिधित्व सुनिश्चित भएपछि मात्रै प्रतिनिधिसभाको समानुपातिक नतिजा दिन मिल्छ । तपाईं अर्काेतिर भन्नुहुन्छ– राष्ट्रियसभा अलगे निकाय भएकाले यसको चुनावमा भाग लिनका लागि दलदर्ताको अलगै समय दिनुपर्छ । तपाईंले रहस्यमय तरिकाले दलदर्ताको १५ दिने समय दिनु पनि भयो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनावमा जीत नपाएका कुनै पनि दल राष्ट्रियसभामा निर्वाचित हुने हैसियत राख्दैनन् भन्ने तपाईंले थाहा नपाएको होइन । तपाईंले यसो किन गर्नुभयो भने राजनीतिक अस्थिरताका लागि खेल्ने तत्वहरुलाई खेलकूदको समय दिनु तपाईंको उद्धेश्य थियो । राष्ट्रियसभा चुनाव आम मतदाता सहभागि हुने चुनाव होइन । तपाईंले आम चुनावका जस्तै कार्यक्रम प्रकाशित गरेर अस्थिरताका तिनै खेलाडीहरुलाई समय दिनु भएको छ । राजनीतिक स्थिरताका लागि मतदान गर्ने नागरिकमाथि तपाईंले गरेको यो अपराध हो ।  

अयोधी सर, 
अन्त्यमा तपाईंलाई भन्नै पर्ने कुरा नछुटाई भन्छु– तपाईंले चुनावपछि आफ्ना लागि पदको वार्गेनिङ गर्दै निर्वाचन परिणाम सार्वजनिक नगरेको कुरा पनि आम सञ्चारमा आएका छन् । यदि तपाईंले यस्तै गर्नु भएको हो भने यो त झनै ठूलो अपराध हो । जसले आफ्नो काम र कर्तब्य पूरा गर्न पनि वार्गेनिङ गर्छ, उ कुनै पनि सार्वजनिक जिम्मेवारीका लागि अयोग्य हुन्छ । लोकतान्त्रिक प्रणाली भएका ठाउँमा आवधिक निर्वाचनमा मार्फत जनताले दिने आदेश सवैभन्दा माथि हुन्छ । यदि निर्वाचनको परिणाम सार्वजनिक गर्न कुनै कानुनी कठिनाई छन् भने त्यसलाई फुकाएर जनादेशको सम्मान गर्ने कि मतपरिणाम सार्वजनिक नगर्ने उद्धेश्यका कानुनी छिद्र पहिल्याउँदै हिंड्ने ? तपाईंले दोस्रो बाटो रोज्नुभयो । यति ख्याल गर्नुस्– जनताले राजनीतिक शक्तिको मात्र परीक्षण गरेका हुँदैनन्, तपाईंजस्ता संवैधानिक अंगको नेतृत्व गरेर बसेका अधिकारीका भूमिकाको पनि परीक्षण गरेका हुन्छन् । अहिले जनादेश कार्यान्वयनमा बिलम्ब गर्ने तपाईंको जुन नियत देखिएको छ, त्यो केहि समयका लागि मात्रै काम लाग्न सक्छ । आखिर बिहानीलाई छेक्ने प्रयास सफल हुँदैन नि अयोधी सर ।