दयालबहादुर शाही

आधुनिक विश्वमा शक्ति पृथकीकरणका विभिन्न अभ्याससहित लोकतान्त्रिक व्यवस्था वहुप्रचलित छ । पूँजीवादी लोकतन्त्रको विश्वव्यापी लहर चलेको बेला संसद र शक्ति पृथकीकरणको सिद्धान्त पूँजीवादीहरुका मात्र बपौती होइनन्, बरु मानव जातिले हासिल गरेका साझा उपलब्धिहरु हुन् भनेर कम्युनिष्टहरुको तर्फबाट पहिलो हकदावी गर्ने र त्यसमा स्वामित्वको सुनिश्चितता सहित वैचारिक लालपूर्जाको जोहो गर्ने पहिलो वामपन्थी विचारक र अगुवा जननेता मदन भण्डारी हुनुहुन्थ्यो । 

पूँजीवादी लोकतन्त्रको पक्षमा विश्वव्यापी लहर चलेको र समाजवादी व्यवस्था अवलम्वन गरेका देशमा वामपन्थी शक्तिविरुद्ध जनताको कोप बढेको अवस्थामा नेकपा (एमाले)ले दृढतापूर्वक कम्युनिष्ट पार्टी जनताको परीक्षणको विषय हुनुपर्छ भन्ने मान्यता अवलम्वन गर्यो । चुनाव लड्ने पार्टी कम्युनिष्ट हुन सक्तैन भन्ने भ्रान्ति वलशाली भएको बेला एउटा कम्युनिष्ट पार्टीले चुनावका माध्यमबाट जनादेश प्राप्त गरी क्रान्तिपूर्व सरकार संचालन गरी क्रान्तिका लागि अनुकूल भूमिका खेल्न सक्छ भन्ने कुरा त्यति बेला धैरैका लागि खिल्ली उडाउने विषय बनेको थियो । आज यो सत्य नेपालका वामपन्थी पार्टीहरुको जीवनशैली बनेको छ । 

एघार पुस्तासम्म जनतामा जरो गाढेर रहेको निरंकुश राजतन्त्रप्रति जनतामा रहेको बाक्लो भ्रम, आफूलाई संसदीय लोकतन्त्रको मसिहा ठान्ने नेपाली कांगे्रसको उत्कर्षकालीन दम्भ र दबदबा, काँधमा भिरेको बन्दुक र छात्तीमा झुण्ड्याइएको एम्बुस, शत्रु ठानिएका जतिको ज्यान लिनु वा लक्ष्य प्राप्तिका खातिर आफ्नो ज्यान दिनुभन्दा पर छुट्टै वाद, विकल्प, विचार, व्यवहार, जीवन र संसार छ भन्ने सत्यलाई मिथ्या ठानिरहेको क्रान्तिकारी भावनाले ओतप्रोत कार्यकर्ताहरुको धनकुवेर पार्टी तत्कालीन माओवादीले ल्याएको तरंग समेतबाट सृजित भवसागर एमालेले कसरी पार गर्न सक्यो त ? आग्रहरहित ढंगले एउटै शब्दमा भन्नु पर्दा एमालेका लागि जनताको वहुदलीय जनवाद नै यस वैतर्णीबाट पार लगाउने गोपुछ थियो ।    
    
एमालेमा जवज नै यस्तो जीवित सत्य हो कि हरेक महाधिवेशनमा पारित हुँदै आएको छ । अरु नीतिहरु र नेतृत्व भित्रिने बाहिरिने गर्छन् तर जवज हल्लाउने र चलाउने जति मेरो पनि यसैमा आस्था छ भन्न बाध्य भएको श्रृंखला छ । वास्तवमा आजसम्म कम्युनिष्ट पार्टीको प्रमुख नवितेसम्म वा ऊ स्वयंले आफै अग्रसर भएर कसैलाई टीका नलगाइ दिएसम्म अर्काे नेताले प्रतिष्पर्धाबाट पार्टी प्रमुख हुन सकेको नजीर थिएन । जवज अवलम्वन भएपछि एमालेको आन्तरिक लोकतन्त्रको अभ्यास पनि सङ्लो र सवल भएको छ । म नै राज्य हुँ ठान्ने लुई चौधौं शैलीको पार्टी प्रमुखको भूमिका, पार्टी प्रमुखले भनेको मान्नु पर्छ र त्यहाँ भन्दा अरु विकल्प छैनन् भन्ठान्ने अन्धविश्वास, दण्ड र फण्डको दुरुपयोग, लेनिनवादी संगठनात्मक सिद्धान्तको नाभी मानिने कमिटीको वहुमत, संस्थापनले गर्न सक्ने संगठक, व्यवस्थापक र दार्शनिकहरुको जोहो जस्ता तगारा पन्छाउँदै नयाँ नेतृत्व चुनिन सक्ने सुनिश्चिता जवजले प्रदान गर्न सकेको छ ।  

यो वा त्यो ढंगले तपसिलमा पार्ने बहानावाजी हुँदै आए पनि वास्तवमा जनताको वहुदलीय जनवाद वामपन्थी जनमत, लोकतन्त्रिक जनमत र देशभक्त जनमतको त्रिवेणी हो । नदीको त्रिवेणीको धार्मिक र पर्यटकीय महत्व भएजस्तै भिन्नाभिन्नै प्रकारका जनमतलाई एकतामा बाँध्न सक्ने सामथ्र्य राख्ने विचारको पनि राजनीतिक, ऐतिहासिक र भविष्य समेतका हिसावले महत्व र सार्थकता रहने भयो । जनताको वहुदलीय जनवादको आधुनिक एमालेको रसायन निर्माणमा महत्वपूर्ण भूमिका रहेको छ र सच्चा एमालेको नसा नसामा जवज रगत भएर बग्ने र सल्बलाउने गरेको छ । जवजकै कारणले एमालेमा तीन प्रकारका रसायन अटाएका छन् । आजको एमालेमा मूलतः वामपन्थी, लोकतान्त्रिक र राष्ट्रवादी रसायन छ । त्यसैले अध्यक्ष ओलीले भनेजस्तै एमाले सरदर पार्टी होइन । एमालेमा मौजुदा विशेष रसायन थाह पाउन यसले विभिन्न चुनावमा प्राप्त गरेको हैसियतको अन्तरमाथि विमर्श गर्नु पर्ने हुन्छ ।

वास्तवमा एमालेको एक्लो औकात भनेको २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका २४० मध्ये विजय हासिल गरेका ३३ सिट मात्र हो । दोश्रो संविधानसभा निर्वाचनमा एमालेले ९० सिट जित्यो । अहिलेको २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा एमाले वहुमत नजिक छ । २०६३ तिर एमालेको शाख गिरेको थियो । विचारका हिसावले एमालेसँग त्यति बेला पनि जवज थियो तर, व्यवहारमा कमजोरी रह्यो । कांग्रेस र माओवादीलाई सहकार्यको एउटै जुवामा ल्याउने सिद्धान्त जवज थियो तर बाहिर भान बेग्लै पर्यो । क्रान्तिमा लोकतान्त्रिक कित्ताको नेतृत्व कांग्रेसले र वामपन्थी शक्तिको नेतृत्व माओवादीले मात्र गरे जस्तो र एमाले अरुका पछाडि घिसारिए जस्तो भ्रम पर्न गयो । जवजको प्रकाशमा अघि बढेको सहकार्यको राजनीतिलाई स्वामित्व ग्रहण गर्नलाई चाहिने आवाजमा दम नेतृत्वले आपूर्ति गर्न नसकेकै हो । प्रतिष्प्रर्धाको राजनीतिमा आवाजमा दम नभएको नेताले थाहै नपाएर विरोधीलाई सघाउँछ र आफ्नो पार्टीको शक्ति ऐठन पारिदिन्छ । 

२०७० सालमा एमाले उठ्न सक्नुमा संसदीय अभ्यासमा अनुभव नभएको उत्कर्ष कालको माओवादीसँग मिलेर यथेष्ट गडबडी गर्न सक्ने अवसर हुँदाहुँदा केपी ओली नेतृत्वको वहुमतले लोकतन्त्रको लक्ष्मण रेखा ननाघ्ने इमान्दारिता थियो । लोकतन्त्रका प्रतिको अटल निष्ठा र प्रतिवद्धताका कारण एमालेले जनसमुदायबाट दोहोरो पुरस्कार पायो । एकातिर लोकतान्त्रिक जनमतमा रहेको कांग्रेसी एकाधिकार समाप्त हुनु अर्कोतर्फ वामपन्थी आन्दोलनको मूल प्रवाह पनि एमाले नै रहेको पुनर्पुष्टि हुनु एमालेले थापेका पुरस्कार थिए । भारतले लगाएको नाकावन्दीको सामना गरेर वलभद्र कुँवर, भक्ति थापा जस्ता वीर अग्रजहरुको पालादेखिको देशभक्तिको विरासतलाई एमाले संस्करणमा नवीकरण गर्न सकेकाले एक्लो पर्दा होस् वा गठबन्धन कस्दा, जनताको साथ र विश्वास ओइरिएको छ ।

विचारको राजनीतिका कारणले आज एमाले र अन्य दलको समन्ध खुकुरी र कुभिण्डोको जस्तो रहेको देखिन्छ । जसरी खुकुरीसँग ठोक्किदा पनि ताछिनु पर्ने कुभिण्डोले हुन्छ र नठोक्किदा पनि कुभिण्डो सुरक्षाको सुनिश्चितता रहँदैन, त्यसरी नै एमालेसँग नमिल्नेको त हरिविजोग छ नै, मिल्ने पनि तर्सिने गरेको विगत छ । यसर्थ तत्काललाई गृहनिर्माणको हुटहुटी बाहेक निजी महत्वकांक्षा, शत्रु, मित्र र अभिष्ट छैन भनेर अन्य पार्टीलाई विश्वस्त पारेर एमालेले आफूलाई कम जोखिम पार्नु जरुरी छ । गृहनिर्माणको अन्तरवस्तु स्थायित्व, समृद्धि र स्वाभिमान रहनु पर्दछ । विचारमा दृढता र व्यवहारमा लचकताको सन्तुलनमा रहेर एमालेको रथ हाँकिनु पर्दछ । प्रतिकूलतामा होस् वा उत्कर्षको अवस्थामा विचार राजनीतिको औचित्य सदावहार प्रकृतिको हुन्छ । जननेता मदन भण्डारीले समृद्ध पार्नु भएको विचार राजनीतिको वैतर्णीको उपादेयता अहिल्यै सकिसकेको निष्कर्षमा पुग्नु एमालेका लागि विनाशकाले विपरीत बुद्धि हुनेछ । लोकतन्त्र, अग्रगमन, स्वाभिमान र समृद्धिको खुला ध्वजाको रुपमा रहेको जनताको वहुदलीय जनवाद हालै सम्पन्न चुनावमा अभिव्यक्त जनमतको ढुक्ढुकी हो ।

महाभारतमा महाप्रस्थानको बेला युधिष्ठिरले साथमा रहेको कुकुरका लागि स्वर्गको ढोका नखुल्ने हो भने एक्लै स्वर्ग प्रवेश गर्न इन्कार गरे जस्तै जस्तासुकै अवसरको मूल्यसँग एमालेले जवज त्याग्नु हुनेछैन । यसका लागि जवजको अधिरचना वा गर्भगृह, यसका प्रतिको तुष र विरोधको लामो सिलसिला, कुण्ठा विस्फोट, प्राधिकारको दौड र चलखेलहरुको विश्लेषण आवश्यक हुन्छ ।

सर्वप्रथम त जवज, माओवाद, प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवाद नेपालको सन्दर्भमा लेनिनले भन्नु भएको र माओले समृद्ध पार्नु भएको नौलो जनवादका भिन्नाभिन्नै नेपाली संस्करण हुन् । २०४९ सालमा सीपी मैनालीले जवजको प्रतियोगी कार्यव्रmमका रुपमा प्रस्तुत गर्नु भएको परिमार्जित नौलो जनवाद र हाल एमालेमा उपमहासचिव घनश्याम भुसालले प्रकट गर्ने गरेका धारणाहरु नौलो जनवादी सिद्धान्तबाट चिप्लिएका संशोधनवादी भ्रान्तिहरु हुन् । यो भ्रान्तिबाट कम्युनिष्ट आन्दोलनलाई जोगाउने दायित्व एमालेभित्रका विचार राजनीतिका पारखीहरुको हो । किनकी समस्या एमाले भित्रैबाट प्रकट भएको छ । पार्टी एकतापछि स्वभाविक रुपले सुरु हुने संव्रmमणकालीन अवस्थाको संवेदनशीलतामा खेल्न कुण्ठाग्रस्त हरुको झुण्ड पारंगत छ । यो भ्रान्तिबाट कम्युनिष्ट आन्दोलनलाई अप्रभावित राख्न सकिए मात्र अब बन्ने एकीकृत पार्टी विचार राजनीतिको सही लिकमा उभिन सक्नेछ । यसका लागि नौलो जनवादका आधारभूत प्रस्तावना र संशोधनवादको अन्तर्यमाथि विश्लेषण आवश्यक छ ।

अव के हो नौलो जनवाद भन्ने बारे चर्चा गरौं । 

नौलो जनवादका विशेषताबारे जननेता मदन भण्डारीको अध्ययन हाम्रा लागि सान्दर्भिक छ । भण्डारी उल्लेख गर्नुहुन्छ–‘क्रान्तिको यो नयाँ सिद्धान्तका मुख्य तत्वहरुलाई यसरी उल्लेख गर्न सकिन्छ :

१. माक्र्सवाद–लेनिनवादलाई क्रान्तिको मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गर्नु ।

२.पछौटे मुलुकहरुको माक्र्सवादी पद्धतिको आधारमा विश्लेषण गर्दै सम्बन्धित देशको ठोस स्थिति अनुरुप सामन्ती, अर्धसामन्ती, उपनिवेशी, अर्धउपनिवेशी वा नवउपनिवेशी के हो भनी आधारभूत सामाजिक चरित्र निरुपण गर्नु ।

३. लक्ष्यको रुपमा सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादमाथि प्रहार गर्नु र उन्मुलन गर्नु ।

४. सामाजिक मुक्ति र राष्ट्रिय स्वाधिनता हासिल गर्नु ।      

५.क्रान्तिको नेतृत्वदायी वर्ग र शक्तिको रुपमा सर्वहारा श्रमजीवि वर्ग र त्यसको माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा चल्ने राजनीतिक पार्टीद्वारा नेतृत्वको अभिभारा वहन गरी तद्अनुरुप विकास गर्नु ।

६. व्रक्रान्तिका आधारभूत तथा निर्णायक शक्तिको रुपमा मजदुर किसानहरु र दृढ सहयोगीको रुपमा निम्न पूँजीपतिवर्गका अन्य तहहरुको भूमिका एबं मध्यम वर्ग(राष्ट्रिय पूँजीपति र धनी¬¬ किसान)हरुको दोहोरो चरित्रका बाबजुद सहयोगी भूमिका स्वीकार गर्नु र उक्त वर्गीय भूमिकाकै आधारमा समन्धित वर्गहरुलाई प्रतिनिधित्व गर्ने राजनीतिक–सामाजिक वा वर्गीय संगठनहरुसँग समन्ध निर्धारण गर्नु ।

७.वर्तमान क्रान्तिद्वारा पूँजीपति वर्गको अधिनायकत्व भएको पूँजीवादी राज्य होइन र सर्वहारा समाजवादी क्रान्ति पनि होइन, साम्राज्यवाद र सर्वहारा कामजीवि बर्गको अधिनायकत्व भएको समाजवादी राज्य पनि होइन, सामन्तवाद, साम्राज्यवाद बिरोधी बिभिन्न बर्ग तहका आम जनताको संयुक्त जनवादी अधिनायकत्व भएको तेश्रो खालको राज्यसत्ताको स्थापना गर्नु ।

८.वर्तमान युगको नयाँ क्रान्ति पुरानो युगको पूँजीवादी जनवादी क्रान्ति जस्तो होइन र सर्वहारा समाजवादी क्रान्ति पनि होइन साम्राज्यवाद र सर्वहारा क्रान्तिको नयाँ युगमा गरिने नयाँ खालको पूँजीवादी जनवादी क्रान्तिको रुपमा क्रान्तिको चरित्र स्वीकार गर्नु ।

९. सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडनका आधारहरुलाई समाप्त पारेर उत्पादक शक्तिलाई शोषणबाट मुक्त गर्दै आर्थिक क्षेत्रमा निजी होइन सरकारको प्रधान भूमिकाको आधारमा एकाधिकार पूँजीवादलाई समाप्त पार्दै पूँजीलाई नियन्त्रित रुपमा विकास गर्नु ।

१०.अर्थतन्त्रमा रहेको राजकीय क्षेत्रको भूमिकालाई उचित ढंगले बृद्धि गर्दै समाजवादमा संव्रmमण गर्ने भौतिक र साँस्कृतिक तयारी गर्नु ।

११.वर्ग संघर्षलाई आधार बनाएर सामन्तवाद साम्राज्यवाद विरोधी आम जनताको क्रान्तिकारी संघर्ष मार्फत क्रान्तिमा विजय प्राप्त गर्ने बाटो लिनु’(मदन भण्डारीका संकलित रचनाहरु भाग १, पृष्ठ २१३–२१४)

मदन भण्डारीले थप्तै भन्नु भएको छ–‘सन् १९१७ पछि धेरै देशका क्रान्तिकारी जनताले नयाँ सिद्धान्तको आधारमा आफ्नो देशमा क्रान्ति गरेका छन् । प्रत्येक देशको क्रान्तिमा अनेकौं भिन्न भिन्न राष्ट्रिय विशेषताहरु देश, काल, र परिस्थितिका विविध भिन्नताहरु पनि रहेका छन् । तर हजारौं खाले भिन्नताका वावजुद सबै क्रान्तिमा आधारभूत रुपमा यही सिद्धान्त लागू भएको छ । यसको आधारमा कतिपय देशमा आफ्नो क्रान्तिको कार्यक्रमलाई नयाँ जनवाद, कहीँ राष्ट्रिय जनवाद, जनताको जनवाद तथा लोक जनवाद जस्ता नामाकरण गरिएको छ । क्रान्तिको कार्यक्रमको नामाकरण आफ्नो आवश्यकता र स्थिति अनुरुप जेसुकै गरिएको भए पनि क्रान्तिको सिद्धान्त भने उही छ र एउटै छ ।’ (मदन भण्डारीका संकलित रचनाहरु भाग १, पृष्ठ २१४–२१५¬)

एमालेमा हिजो सीपी मैनाली र आज घनश्याम भुसाल मदनको समष्टि अध्ययन र सही निष्कर्षमाथि  आग्रह राखेर एउटै ढंगले चुनौती दिन रमाउनु दुःखद् संयोग हो । उहाँहरु यो वा त्यो प्रकारको पछौटे अवस्थाको मुलुकमा अब नौलो जनवादले सान्दर्भिकता गुमाइसकेको निष्कर्षमा पुग्नु भएको छ । संशोधनवादको चक्करमा परेर कहिले परिमार्जित नौलो जनवादी कार्यव्रmम ल्याएर त कहिले जवजको च्याप्टर क्लोज भयो भनेर एमालेलाई वैचारिक रुपले नै टाट पल्टाउने चेष्टा गरिदैछ । पछौटे अवस्थाको मुलुक सामन्ती अवस्थामा, उपनिवेशी अवस्थामा, वा दलाल नोकरशाही पूँजीवाद हाबी भएको अवस्थामा किन नहोस् हाम्रो क्रान्ति सम्बन्धी कार्यक्रम नौलो जनवादी हो भन्ने मदनको निष्कर्षलाई सीपीले मुलुकमा पूँजीवाद आइसक्यो त्यसैले नौलो जनवादको परिमार्जन आवश्यक छ भनेर चुनौति दिनु भएको थियो । उहाँले नौलो जनवादलाई क्रान्तिको सुरुवाती काल, विजय काल, सुदृढीकरण हुँदै समाजवादमा सव्रmमणसम्म तन्किएको देख्न छाड्नु भयो । सीपीले नौलो जनवादको परिभाषा यस्तो दिनु भयो–‘नौलो जनवाद भनेको पूँजीवाद र समाजवाद वीचको एउटा सव्रmमणकालीन व्यवस्था हो ।ं’ उहाँले परिमार्जित नौलो जनवादी क्रान्तिका शत्रुहरुको निक्र्योल यसरी गर्नु भयो–‘सामन्तवादका अवशेषहरु र दलाल एबं नोकरशाही पूँजीवाद देशभित्र यस क्रान्तिका निशानाहरु वा शत्रु शक्तिहरु हुन् र साम्राज्यवाद, प्रभुत्ववाद तथा कुनै पनि नवउपनिवेशवाद यसका बाह्य बिरोधी शक्तिहरु हुन् ।’ (परिमार्जित नौलो जनवादी कार्यक्रम, पृष्ठ ४)

यसलाई मदनले यसरी खण्डन गर्नु भएको थियो–‘क्रान्तिका शत्रुहरुको किटानी गर्दा समेत देशमा सामन्तवाद होइन त्यसका अवशेषहरु मात्र बाँकी रहेको देख्नु र समग्रताको हिसाबले दलाल नोकरशाही पूँजीवादलाई मात्र शत्रुको रुपमा उल्लेख गर्नु कुनै भुलचुक र संयोगको कुरा मात्र होइन । परिमार्जित नौलो जनवादको नयाँ सिद्धान्त निर्माण गर्ने सुविचारित आविष्कार हो ।...पूँजीवादी सामाजिक आर्थिक संरचना होइन, पूँजीवादी एबं साम्राज्यवाद मिश्रित नयाँ खाले संक्रमणकालीन आर्थिक–सामाजिक संरचनाको स्थापना गर्ने कुरा उल्लेख गरेको छ । यसबाट के स्पस्ट हुन्छ भने माओको जनवाद र हाम्रो उक्त अल्पमतको नौलो जनवादको क्रान्ति सम्बन्धि मान्यतामा धेरै फरक छ ।’ (मदन भण्डारीका संकलित रचनाहरु भाग १, पृष्ठ २१४–२१५¬)

सीपी मैनाली भन्दा घनश्याम भुसालको जवजमाथिको हमाला र आत्मसमर्पणको पिङ खेलाई जटिल प्रकृतिको छ । परिमार्जित नौलो जनवादी मुहान हुँदै जवजको झट्केलो समर्थक एबं व्याख्याता र छद्म आलोचक भएकाले जटिलता थपिन गयो । पहिला त भुसालले जवजमाथि गरेका हमलाका उदाहरणहरु हेरौं–
‘गएको सय वर्ष कम्युनिष्ट आन्दोलनमा सबैभन्दा प्रभावकारी रहेको क्रान्ति सम्बन्धी रचना लेनिनको राज्य र क्रान्ति हो । त्यसका आधारमा हेर्ने हो भने जनताको वहुदलीय जनवाद दक्षिणपन्थी, अवसरवादी गद्दारी थियो ।

जनताको वहुदलीय जनवाद आरम्भ देखि नै असन्तुलित दृष्टिकोणको शिकार भयो । यसको बिरोध वा समर्थन गर्नेहरुको पनि एउटै कोण छैन ।
नेकपा एमालेले जनताको वहुदलीय जनवादी कार्यक्रम पारित गरेको थियो तर सिद्धान्ततः जवज भनेको नयाँ जनवाद नै हो भनेको थियो । तर जनताको वहुदलीय जनवादी कार्यक्रम नयाँ जनवादी सिद्धान्तको जगमा उभिनै सक्दैनथ्यो ।

यस्तो विरोधाभास हुन्छ कि या त वलपूर्वक क्रान्ति हुँदैन या त बहुदलीयता रहन्न । या त संसदीय बाटोबाट बल प्रयोग गर्ने पार्टी नै बन्दैन ।

जवज नेपाली कम्युनिष्ट आन्दोलनको पानी ढलो थियो, त्यसले क्रान्तिका सिद्धान्तको नयाँ श्रृंखला तयार गर्न सक्थ्यो । जनताको बहुदलीय जनवादले आफ्नो पूर्णतामा विकसित हुनै पाएन । लोकतान्त्रिक बाटोबाट समाजको श्रमजीवि वर्गीय रुपान्तरण गर्ने सैद्धान्तिक अन्तर्यलाई बाहिर ल्याइएन, स्थापित गरिएन । श्रमजीवि जनताका व्यवहारमा कसी लगाउनु पथ्र्याे तर मदन भण्डारीको निधनपछि त्यसलाई वैज्ञानिक भन्दा भौतिक र बस्तुगत भन्दा आत्मिक बनाउन थालियो । सिद्धान्तलाई आत्मिक बनाएपछि आफूले मात्र बुझे हुने भयो, प्रमाणित गर्नु नपर्ने भयो । एक हिसाबले मदनको आत्मिक उत्तराधिकारका लागि प्रतिष्पर्धा देखिन गयो ।

मदन भण्डारी कम्युनिष्ट पार्टीलाई समेत खोपीको देउता नबनाउन बरु खुला मैदानमा उतार्नु पर्छ भन्थे, हामीले उनका विचारलाई समेत खोपीको देउता बनाई दियौं ।

सर्वप्रथमतः जनताको वहुदलीय जनवादले यी तथ्यलाई अंगीकार गर्नु पर्छ । त्यसको निष्कर्ष के हो भने नेपाली समाज पूँजीवादी समाज हो तर दलाल तथा अनुत्पादक पूँजीको बाहुल्य भएको हुँदा हाम्रो मुख्य कार्यभार पूँजीको त्यस चरित्रलाई राष्ट्रिय अर्थात् उद्यमशील पूँजीमा रुपान्तरित गर्नु हो ।’ (कान्तिपुर दैनिक २०७० साउन ४ र २६ गते)

समस्या भुसालजी अडिन नसक्नुमा छ । आलोचना बढ्तै भएपछि बचाउका खातिर पछि हट्दै उहाँ आफ्ना लहडहरुको आफै खण्डन गर्नु हुन्छ । हेरौं केही उदाहरणहरु–

जवज देखिन छाडेको भन्ने आरोपको आफै खण्डन–‘कम्युनिष्ट पार्टीले नयाँ जनवादी क्रान्तिको कार्यव्रmममा राखेका राजनीतिक मागहरु, २०४७ सालको संविधानमा क. मदन भण्डारीले नेकपा(एमाले)का तर्फबाट राख्नुभएका असहमतिका २७ बुँदा र जनताको वहुदलीय  जनवादका थप विशेषता भनेर राखिएका १४ बुँदाहरु वर्तमान अन्तरिम संविधानमा आधारभूत रुपले उल्लेख गरिएका छन् । अर्थात् जनवादी क्रान्तिका राजनीतिक कार्यभार आधारभूत रुपले सम्पन्न गरिएको छ ।’(कान्तिपुर दैनिक २०७० साउन २६ गते)

जवज सिद्धान्त हुन सकेन भन्ने दाबीको खण्डन–‘मदन भण्डारी, जनताको बहुदलीय जनवाद जस्ता प्रश्नमा एमालेमा कुनै बिबाद छैन ।....हामीले जनताको वहुदलीय जनवाद सिद्धान्त होइन भनेका छैनौं ।’(उही)

हालै पार्टी एकीकरणको प्रसंग चलेपछि भुसालमा रहेको जवजप्रतिको तुष फेरि जागृत भएको छ । उहाँले पार्टी एकता जवजकै कारणले नहुने हो भने युवाहरुले आफ्नो भविष्य जवजका लागि दाउमा नराख्ने भन्दै भावनालाई भड्काउने कोसिस पनि गर्नु भयो । जवजको च्याप्टर क्लोज भयो भन्ने निष्कर्ष कुनै हतारको अभिव्यक्ति थिएन । मैनालीको विरासत धान्दै पूँजीवादको निहुँले नौलो जनवाद वा नेपालको सन्दर्भमा जनताको वहुदलीय जनवादको सान्दर्भिकता सकिएको पुष्टि गर्ने चलाकी हो यो । जवजलाई मृत घोषणा गर्न उहाँमा हुटहुटी देखिन्छ । एउटा चरण पार भएको निहुँले जबज मरिसकेको निष्कर्षमा पुग्नु भएको छ । सिधै भन्न नसकेर हिजोको जवज र आजको जवज भनिंदैछ । यसको अर्थ मदनले प्रतिपादन गरेको जवज रहेन बरु आफूले जवजको आवरणमा तानतुन पारेर घुसाउन खोजेको परिमार्जित नौलो जनवाद नै आजको जवज हो भन्ने हो । भुसाल उल्लेख गर्नुहुन्छ–‘माओवादीको हेटौंडा महाधिवेशन र एमालेको नवौं महाधिवेशनले ती दुबै पार्टीलाई एकै ठाउँमा उभ्याए । वस्तुतः नत एमाले हिजोको जनताको वहुदलीय जनवादी रह्यो, न माओवादीका लागि हिजोको माओवाद नै बाँकी रह्यो । किनकी हिजोको जनताको वहुदलीय जनवाद अर्धसामन्ती, अर्ध औपनिवेशिक मुलुकमा सकेसम्म शान्तिपूर्ण रुपले नयाँ जनवादी क्रान्ति गर्ने सिद्धान्त हो भने आजको जनताको बहुदलीय जनवाद राष्ट्रिय पूँजीको विकास गर्दै लोेकतान्त्रिक विधिबाट समाजवादको तयारी गर्ने सिद्धान्त हो । त्यसैले हिजो र आजको जनताको वहुदलीय जनवाद अलग–अलग अवधारणा हुन् ।’

जनताको वहुदलीय जनवाद शब्द सुन्न नचाहने दिग्गजलाई हिजो मदन भण्डारीले कालीदासको ‘क’ बुझाइले माक्र्सवाद बुझ्न सकिंदैन भनेर कटाक्ष गर्नु परेको थियो । भुसालको भ्रान्ति कुकुरको पुच्छर ढुग्रोमा हाल्दा पनि बांगाको बांगैको समतुल्य छ । यसरी जवजप्रतिको भुसालको निष्ठा र तुषको छिनोफानो आजको एमाले हुँदै भोलिको एकीकृत पार्टीको लागि बहसको मुद्दा बनेको छ ।