गुरु भट्टराई

माओवादी अध्यक्ष पुष्पकमल दाहालले रौतहट पुगेर अस्ती भाषणा गरे– राष्ट्रबादीबाट देशलाई खतरा छ । त्यसको केही दिनअघि भारतीय थिंकट्यांक भनिनेहरुले भारतीय टेलिभिजनको एक बहसमा भने– नेपालको सत्तामा केपी ओली फर्किए भने खतरा छ, उनलाई जसरी पनि रोक्न कांग्रेस, माओवादी र मधेसी दलको गठबन्धन बलियो बनाइदिनुपर्छ । मधेसका नाममा सधैं त्यहाँ सामन्ती ब्यवस्था चलाएका मधेसकेन्द्रित दलका नेताहरु पनि बारम्बार यही भन्दैछन् । पुष्पकमल दाहालले त एमाले नसिध्याउन्जेल कांग्रेससँग सहकार्य गर्छाैं भनिसकेकै थिए । यही लाइनमा बोल्नहरुको सूची थप्दै जाने हो भने निकै लामो हुनेछ– सीके राउत, सीके लाल, किशोर नेपाल, खगेन्द्र संग्रौला...आदि आदि । 

यी सबैले समवेत स्वरमा एउटै कुरा बक्नुको कारण हो नेपालको मामिलामा यी सवैको स्वार्थ समान छ । यी सबैका आन्द्रा एकै ठाउँ जोडिएको छ । त्यसैले आजको नेपाली राजनीतिमा शेरबहादुर, पुष्पकमल, भारतीय थिंकट्यांक, सीके राउत सबैको उद्धेश्यको साझा दुश्मन नेपालको देशभक्त शक्ति हो, त्यसको मुखर प्रतिनिधि भएकाले केपी ओली हो । 

कसरी सुरु भयो उनीहरुको नेपाली राष्ट्रियतासँगको दुश्मनी ? एकपटक घटना श्रृंखलाहरु हेरौं– 

जातीय र क्षेत्रीय मुद्दाहरु उछालेर नेपालको पहिलो संविधानसभामा असफल बनाएपछि पहिचानका नाममा तिनै मुद्दा बोकेर जनमत लिन गएका मधेश केन्द्रित दलहरुलाई दोस्रो संविधानसभा चुनावमा मधेशी जनताले शर्मानाक रुपमा हराइदिए । यसलाई धेरै नकोट्याउँ । ८ बर्षको सस्साकस्सीपछि नेपालको सार्वभौम संबिधानसभाले संबिधान जारी गर्न खोज्दा त्यसलाई रोक्न भारतले विदेश सचिव एस जयशंकरलाई खटाएर नेपालका नेताहरुलाई हप्काएको विषय पनि अब चर्चा नगरौं । मधेशी जनताले नै आफ्ना अधिकार संविधानमा लेख्न नालायक ठानेर हराएका केही पात्रहरुलाई उचालेर ‘मधेस आन्दोलन’ चलाइएको विषय पनि यहाँ नकोट्याउँ । तिनै पात्रहरुमार्फत संविधानमा आफ्नो हित अनुकुलको विषय प्रवेश गराउन भारतीय सत्ताले के के तान्डव मच्चायो त्यो पनि लामो छलफल नगरौं । एउटा स्वतन्त्र, सार्वभौम, लोकतान्त्रिक छिमेकी मुलुक नेपालमाथि भारतले यो वा त्यो नाममा पटक पटक हस्तक्षेप गर्ने, प्रभाव पार्ने, दवाब दिने अनेकन घटनाहरु नयाँ थिएनन् ।  नेपालको संविधान जारी गर्ने बेला भारतले त्यही हर्कत दोहोर्याएको थियो । नेपाललाई भारतको एउटा प्रान्त झैं ठान्ने र हस्तक्षेप गर्ने भारतको चाहना पूरा गर्न नपाउदा उसले हामीमाथि क्रुर नाकाबन्दी समेत लगायो । युरोपियन युनियनमा पुगेर कुटनीतिक मर्यादा र न्युनतम अन्तर्राष्ट्रिय पद्दति तोडेर नेपालको आन्तरिक मामिला र संविधानमाथि विषवमन गरिरह्यो । ६५ प्रतिशतले जारी गरेको भारतको संविधान सर्वस्वीकृत हुने तर, ९० प्रतिशत भन्दा बढी जनप्रतिनिधिले जारी गरेको नेपालको संविधानले नेपालका आधा जनसंख्यालाई बिभेदमा पारेको, सर्वस्वीकार्य नभएको जस्ता अमूर्त र असान्दर्भिक विषय उचालेर नेपालको राजनीतिलाई अस्थिथिरता तर्फ धकेल्ने निरन्तर प्रयास जारी राख्यो । नेपालका दलहरु बीचको शक्ति संघर्षको खेलमा प्रवेश गर्ने, एकका विरुद्ध अर्को उचाल्ने अनि आफू अनुकुल नेपालको सत्ता डोर्याउने भारतीय प्रबृत्ति कसरी दोहोरियो भन्ने कुरा संविधान जारी भैसकेपछि सोही संविधान जारी गर्ने मुख्य दल नेपाली कांग्रेस र माओवादीलाई भारतले कस्ता कस्ता हतियार प्रयोग गरेर आफ्नो पैतालामुनी पुर्यायो भन्ने कुरा केपी ओली प्रम निर्वाचित हुने बेलाका तस्बिर, केपी ओलीलाई सत्ता बहिर्गमन गराउँदा हिन्दुस्तानले खेलेको भूमिका देखि आजसम्मका सरकारका दिन दिनैका हर्कतले पुष्टि गरेकै छन् । यसपछि भारतीय दूतावास, भारतीय सरकार, भारतीय जासुसी संस्था लगायतले नेपाल बिरुद्ध खेलेको निरन्तरको भूमिकाप्रति नेपाली जनता बेखबर छैनन् । त्यसैले यस विषयमा पनि थप चर्चा नगरौं ।  

नेपालको सत्तालाई दवाब दिने, धम्की दिने, प्रलोभनमा पार्ने, नेपालको राजनीतिलाई आफ्नो इसारामा घिसार्ने र नेपालमा भारत नियन्त्रित कृतिम लोकतन्त्र स्थापित गर्ने भारतको भूमिका नयाँ होइन । यो ०४६ सालको लोकतन्त्रपछि त झन पटक पटक देखिएको र पुष्टि भएको विषय हो । कुरा यती मात्रै थियो कि भारतको त्यस्तो हर्कतलाई नेपालको सत्ताले प्रतिबाद गर्नुको सट्टा सहज स्वीकार गर्दा  भारतको असली हेपाहा प्रबृत्ति नेपाली जनतामाझ प्रष्ट हुन पाएको थिएन । नेपाललाई सधैं आफ्नो पञ्जामुनी राख्न जस्तोसुकै भूमिका खेल्न तयार रहेको भारतको भूमिकाको प्रतिबाद इतिहासमा राजा महेन्द्रपछि केपी ओलीले गरे । नेपालको संविधान सर्वस्वीकार्य नभएको, मधेशी जनताका अधिकार कुठिठत गरिएको जस्ता नक्कली दृश्य खडा गरेर संविधानमा आफ्नो अंश खोजिरहेको भारतको प्रतिबाद जव ओलीले गरे अनि मात्र भारतको हेपाहा प्रबृत्ति छताछुल्ल भएर जनस्तरमा देखियो । त्यसपछि पनि केपी ओलीलाई भारतीय सत्ता अनुकुल बनाउन भारतीय शासकले लामै प्रयास गरे । ओलीलाई भारत भ्रमणमा रेड कार्पेट ओछ्याएर स्वागत गर्दै फेरि पनि नेपालकै मान मर्दन हुनेगरी लेखिएको संयुक्त वक्तब्यमा हस्ताक्षर गराउने प्रयास नभएको पनि होइन । तर अनेक प्रयत्नका बाबजुद केपी ओली टसमस भएनन् । बरु भारतले लगाएको र भविश्यमा लगाउन सक्ने नाकाबन्दीबाट दीर्घकालीन रुपमा बच्न केपी ओलीले उत्तरी छिमेकीसँग पनि पारवहन सन्धी गरे, उत्तारतिरबाट नेपालमा रेल्वे चलाउने सम्झौता गरे । यसबाट नेपालमाथि आफ्नो हैकम लाद्ने भारतीय सत्ता झन् चिढियो । 

आफ्ना स्वार्थ लाद्न गरेका अनेक प्रयास असफल भएपछि भारतले ओली सरकार ढाल्ने एक सुत्रीय एजेन्डा बनायो । भारतले सुरुमा सत्ता बाहिर बसेर रन्थनिएको नेपाली कांग्रेसलाई आफ्नो षड्यन्त्रको हिस्सेदार बनायो र यसको सार्थकताको निम्ति बिगतका अपराधले थिचिएको माओवादीमाथि ब्ल्याकमेलिङ सुरु गर्यो । इतिहासमा आफैंले गरेका अपराधबाट तर्सेका र बेलाबेला आफ्नो ज्यान खतरामा रहेको वताउने माओवादी नेताहरु भारतीय धरापका लागि उपयुक्त पात्र हुन सक्थे । कहिले माओवादी नेताहरुलाई भ्रष्टाचारमा फसाउने भन्दै हिन्दुस्तानले लोकमानको भूत जगायो त कहिले युद्धकालमा भएका मानवाधिकार उल्लंघनका घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने र माओवादी नेताहरुलाई हेगको यात्रा गराउने ढ्यांग्रो ठोक्यो । हिन्दुस्तानको दादागिरी बिरुद्ध मुकाविला गरिरहेको ओली सरकार ढाल्न माओवादी प्रयोग नगरि हुँदैनथ्यो । माओवादीलाई सरकारको नेतृत्व दिन कांग्रेस तयार नहुञ्जेलसम्म हिन्दुस्तानको यो प्रयासमा पुष्पकमल दाहाल विश्वस्त हुन सकिरहेका थिएनन् । सरकार बदल्ने एजेण्डामा महरा र पुनहरुका पटक पटकका हिन्दुस्तान यात्रा, भारतीय राजदूतसँगका छलफल र नेपाली कांग्रेसका बिमलेन्द्र निधि, रमेश लेखकहरुसँगका छलफलहरुले मूर्तरुप तव मात्र पायो जव भारतले पुष्पकमललाई प्रधानमन्त्री बनाएर आफ्नो अनुकुल प्रयोग गर्ने कुरामा हरियो बत्ती बालिदियो । ओली सरकार ढाल्ने र नेपालमा आफ्नो बलबुतामा कठपुतली सरकार स्थापना गर्ने एकसुत्रीय एजेण्डामा भारतले अन्ततः माओवादीलाई सत्ताको नेतृत्व दिएर भए पनि अघी बढ्नु पर्छ भन्ने कुरा संसदीय ब्यबस्थामा विकृति शिरोमणी शेरबहादुर देउवालाई सहमत गराएपछि ओली सरकार ढाल्ने भारतको लामो प्रयासले सार्थकता पायो ।

सत्ता ढल्दैमा सत्य ढल्दैनथ्यो । जनताको देशप्रेम, आत्मसम्मान, स्वाभिमान र सार्वभौमिकता डगमगाउने कुरै हुँदैनथ्यो । ६ महिनाको क्रुर नाकाबन्दी र नेपालको स्वतन्त्र अस्तित्व र स्वाभिमानमा निरन्तर वाण छेडिरहेको भारतको रबैया नेपाली जनताका मन मष्तिष्कमा विष बनेर गाडिएको थियो, छ । सत्तामा बसेर ब्रम्हलुट गर्ने नेपाली कांग्रेसको चाहना अनि अन्तर्राष्ट्रिय स्तरका अपराधिक कर्मले थिचिएको माओवादीलाई नेपाल विरुद्ध ब्ल्याकमेलिङ गरी प्रयोग गर्दैमा नेपाली जनतामाथि भारतले थोपरेको अपराध र हेपाहा छोपिने छोपिने कुरा थिएन, छोपिएन पनि । नेपाललाई समाप्त पार्ने त्यही योजनाका साझेदार भएका कारण पुष्पकमल दाहाललाई अहिले देशभक्तहरु खतरा लाग्ने गरेका छन् । हो, भारतको गुलामीबाट मुक्त भएर नेपाललाई स्वाधीन राष्ट्र बनाउन चाहने देशभक्त हरेक नेपाली पुष्पकमल दाहाल र उनका मालिकका लागि खतरा हुन् । देशभक्त नेपालीहरु हेपाहा प्रबृत्तिको भारतीय सत्ता, त्यसका थिंकट्यांक र उसको चाकर बनेका पुष्पकमलका लागि खतरा नभएर अरु कसका लागि खतरा हुन्छ ?  अहिले पनि जनता निरन्तर भारतको रबैयामाथि खबरदारी गरिरहेका छन् । भारतीय सत्तासँग लम्पसार परेर आफैंैले जारी गरेको संविधान बिरुद्ध उत्रिएका शेरबहादुर र पुष्पकमलहरुका लागि देशभक्त नेपाली खतरनाक नै छन् । त्यही खतरा देखेरै उनीहरुको मालिक बनेको भारतले कांग्रेस, माओवादी र राजपाको मोर्चा बनाइदिएको खुलासा गरिसकेकै छन् । 

नेपाली कांग्रेसका दलाल प्रबृत्तिका नेता र शीरमा अपराधको तरवार झुण्डिएको माओवादीलाई आफू अनुकुल हिंड्न वाध्य बनाएर मात्र नेपालको राजनीतिलाई भारत अनुकुल बनाउन सकिने निश्कर्ष भारतीय सत्ताले निकालेपछि अर्को एउटा भ्रम सिर्जना गर्न खोजियो । नेपाली जनताको राष्ट्रप्रेम, स्वाभिमान, स्वतन्त्र हैसियत, सार्वभौमिकतालाई अन्धराष्ट्रबाद, महेन्द्रीय राष्ट्रबाद, उग्र राष्ट्रबाद, खस राष्ट्रबाद जस्ता शब्दवली जोडेर प्रचार गरियो । भारतको इच्छा, चाहना र स्वीकृतिबिना राष्ट्रियता, आत्मसम्मान, सार्वभौमिकताको कुरा गर्नु स्वाभाविक नभएको कुरा चलाखीपूर्वक नेपाली जनतामाझ खडा गर्न खोजिएको छ । यो आरोप ठीक त्यही खालको आरोप हो, जुन राजा महेन्द्रले भारतको स्वार्थ अनुकुल हिंड्न नमान्दा र त्यसको प्रतिबाद गर्दा इन्दिरा गान्धिले नेपाल र नेपालीको राष्ट्रबादलाई महेन्द्रीय राष्ट्रबाद भन्ने गर्थिन् । इन्दिरा गान्धी सिक्किम खाएझैं नेपालको मधेश खाने तरखर गर्दै थिइन् । 

नेपालको संविधान जारी गर्ने बेलादेखि नाकाबन्दी हुँदै ओली सरकार ढाल्दासम्म भारतको नांगो हस्तक्षेप प्रष्ट देखिरहेका नेपाली जनताको राष्ट्रभक्ती, राष्ट्रियताप्रतिको खबरदारी, राष्ट्रको स्वतन्त्र अस्तित्वप्रतिको लगाव देखेर भारतीय सत्ता आत्तिएको छ । त्यसैले भारतका पूर्व विदेश सचिव, भारतीय पत्रकार, नेपालमा माओवादी युद्धका एकजना डिजाइनर तथा भारतीय थिंकट्यांक मानिने प्राध्यापक एसडीमुनी र भारतीय सत्ताधारहरु नेपाली जनताका यी भावनाविरुद्ध युद्ध छेडिरहेका छन् । नेपाल र नेपाली विरुद्ध उनीहरुले छेडेको युद्धमा साथ उनीहरुलाई साथ दिएका छन् पुष्पकमल र शेरबहादुरले ।  नेपाली जनताको राष्ट्रबाद उनीहरुको निम्ति खतराको घन्टी हो । पुष्पकमलले यो कुरामा ढाँटेका छैनन् कि उनीहरुको दुश्मनी नेपालको राष्ट्रबादसँग छ, नेपालको राष्ट्रियतासँग छ । जवसम्म नेपाली जनताका यी भावनाहरु मार्न सकिंदैन, छिन्नभिन्न पार्न सकिंदैन तवसम्म नेपालमा स्थायी रुपमा आफ्नो कब्जा जमाउन सकिंदैन भन्ने भारतको इसाराबाट दाहाल–देउवा प्रष्ट रुपमा निर्देशित छन् । यसै कारण भारतीय सत्तासँग लम्पसार परेको नेपाली कांग्रेस र माओवादी नेताका मुखबाट भारतीय सत्ताका यी स्वार्थहरु नेपाली जनतामा लाद्ने काम निरन्तर चलिरहेको छ । मधेशका सामन्त, कांग्रेसका युवा नेता गगन थापा, शेरबहादुर, पुष्पकमल, बाबुराम, सीके राउत, मधेशका कथित अधिकारकर्मी सीके लाल लगायत भारतीय दूताबासबाट महिनावारी तलव खाने कथित मिसन पत्रकारहरु निरन्तर ढोल बजाउदैछन् र भन्दैछन नेपालमा केपी ओलीबाट खतरा छ । उनले नेतृत्व गरेको राष्ट्रवाद, राष्ट्रियता सबै खोक्रा हुन्, उग्र हुन् । 

यता नेपाललाई केपी ओलीबाट खतरा छ, नेपाल बिखण्डन गर्ने बाटोमा केपी ओली छन्, केपी ओलीको राष्ट्रबादले नेपाललाई कमजोर बनाउँछ भनेर नेपाली कांग्रेस र माओवादी नेताहरु चिच्याउँदैछन्, उता भारतीय बिदेशमन्त्री शुष्मा स्वराज नेपाल आएर शेरबहादुर र पुष्पकमललाई निर्देशन दिन्छिन्– नेपालको देशभक्ति विरुद्ध तिमीहरुको जोडी जोडी खुब सुहाएको छ, सम्बन्धको यो गाँठो सधैभरी कसिलो बनाउनू, भारतको स्वार्थ अनुकूल सेवा गरिरहनू, एमाले विरुद्ध जाइलाग्नू । यसबाट प्रष्ट हुन्छ नेपालको सार्वभौम अस्तित्व र प्रगतिको विरुद्ध उभिएको भारतीय सत्ता र उसका नेपाली चाकर पुष्पकमल र शेरबहादुरलाई खतरा छ, जो उनीहरु सबै पक्षले बारम्बार भनिरहेका छन् र नेपाल विरुद्ध गठबन्धन गरिरहेका छन् । 

नेपालले नेपाली जनताको निम्ति संविधान जारी गरेको हो । नेपालको संविधान भारत बिरुद्ध लेखिएको छैन । नेपालको संविधान भारतका निम्ति लेखिएको होइन । यो नितान्त नेपाली जनताको आफ्नो सार्बभौम अधिकार हो । यसमा भातरले हस्तक्षेप र निर्देश गर्न पाउदैन भन्नु अन्ध राष्ट्रबाद हो ? यसबाट नेपालमाथि खतरा छ भनेर कुनै नेपालीले पत्याउँछ ? म शेर बहादुर र पुष्पकमललाई प्रश्न गर्छु– नेपालले संविधान जारी गर्दा त्यसका बिरुद्ध भारतले ६–६ महिना क्रुर नाकाबन्दी लगायो । आयातमा लगभग भारतसँग मात्र निर्भर भएको नेपाललाई आधारभूत सामाग्री आयातमा समेत बन्देज लगाएर आफ्नो चाहनामा घिसार्ने प्रयत्न गर्यो । आफू अनुकुल नहुने बितिक्कै नेपालमाथि नाकाबन्दी लगाउने र अवाञ्छित लाभ लिने भारतको सदियांै देखिको प्रबृत्ति र भारतीय एकाधिकार अन्त्य गर्न ओलीले अर्को छिमेकी राष्ट्र चीन हुँदै विश्व बजार पुग्न ब्यापार तथा पारवहनसँग सम्बन्धि एक दर्जन सम्झौतामा हस्ताक्षर गरे । के यो महेन्द्रीय राष्ट्रवाद हो ? यसले नेपाललाई खतरामा पार्यो ? नेपालको आन्तरिक राजनीतिक असन्तुष्टी समाधान गर्ने नेपाली जनताले नै हो । यसमा बिदेशीको भूमिका र हस्तक्षेप स्वीकार हुँदैन भन्नु अन्धराष्ट्रबाद हो ? यसबाट खतरा छ ? नेपालको परराष्ट्र नीति भारत निर्देशित हुनेछ भनेर पुष्पकमलले प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गरेर ल्याप्चे ठोकिदिए । हामी स्वतन्त्र राष्ट्र हौ, दुनियाँसँग हामीले कायम गर्ने परराष्ट्र नीति हाम्रो हितसँग जोडिनु पर्छ, भारत वा अन्य मुलुकसँग हाम्रो परराष्ट्र नीति बाँधिनु हुँदैन भन्नु देशका लागि खतरा हो ? 

९० प्रतिशत भन्दा बढी जनप्रतिनिधिको समर्थनमा जारी भएको नेपालको संविधान सर्वस्वीकार्य नभएको, नेपालका बहुसंख्यक जनतालाई अधिकारबाट बञ्चित गरेको भनेर मोदीले युपोपियन युनियनमा पुगेर लबिङ गरे र नेपालको नितान्त आन्तरिक राजनीतिक सवालमा अन्य कुनै बिदेशी मुलुकले न्युनतम कुटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय प्रचलन अनि संयुक्त राष्ट्रसंघको प्रोटोकल समेत नाघेर वक्तत्व जारी गरे । केपी ओलीले त्यसलाई घुँडा टेकाउनु देशमाथिको खतरा हो ? पुष्पकमल, शेरबहादुर, राजपाका केही नेता र भारतीय थिंकट्यांकहरुले नेपालमा जसरी केपी ओलीबाट खतरा महसुस गरिरहेका छन् त्यो नेपाली जनताको खतरा वा नेपाल राष्ट्रको खतरा होइन, त्यो नेपाल विरुद्ध अपराध गर्नेहरुलाई खतरा हो । त्यो खतराको घन्टी स्थानीय चुनावबाट बज्न पनि सुरु गरेको छ । आगे चुनावमा भारतका नोकर बनेका पुष्पकमल शेरबहादुरलाई देशभक्त नेपालीबाट खतरा छ, यो चाहिँ सत्य हो ।