ईश्वर पोखरेल

को–अर्डिनेशन केन्द्रको तेस्रो सम्मेलनको केही समयपछि अर्थात् २०३५ साल पुस ११–१४ मा त्यसले आयोजना गरेको ‘राष्ट्रिय सम्मेलन’बाट नेकपा (माले)को गठन गरियो । मोरङको इटहरामा स्थानीय आधारभूत वर्गका किसानहरूको वस्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । र, यसको सम्पूर्ण व्यवस्थापनको नेतृत्व मदन भण्डारीले गर्नु भएको थियो । पार्टीको संगठित शक्तिको कडा सुरक्षा प्रवन्धभित्र गरिएको त्यो कार्यक्रममा जिल्लाका प्रतिनिधिहरूको उपस्थिति थियो । सम्मेलन अवधिमै हामीले दुइटा अस्वभाविक र दुःखद समाचार सुन्नुपर्यो । एउटा समाचार संखुवासभाबाट आएको थियो जहाँ पुलिसले घेराउ गरी हरि नेपाल र चन्द्रबहादुर पुरीको हत्या गरेका थिए । हाम्रा लागि यो अत्यन्त मर्माहत वनाउने र पार्टी जीवनका लागि गम्भीर नोक्सानदायी घटना थियो । एउटा उदीयमान, भरोसालाग्दो र जनतामा स्थापित नेतालाई गुमाउनु परेको थियो । त्यो दुःखद समाचारले सम्मेलनलाई नै स्तव्ध तुल्यायो । हामीले भावविह्वल भएर वहाँहरूप्रति श्रद्धान्जली व्यक्त गरेका थियौं, शोकलाई शक्तिमा वदल्ने अठोट गरेका थियौं ।

अर्को प्रसंग, रामचन्द्र–अशेश्वर यादवसित सम्वन्धित थियो । रामचन्द्र यादव त्यसवेला को–अर्डिनेशन केन्द्रका सदस्य थिए (अझ, को.के.का संस्थापक पोलिटब्यूरो सदस्य समेत थिए ) । अशेश्वर यादव त्यसवेला धनुषा जिल्ला कमिटीमा संगठित थिए । रामचन्द्र यादवसित मिलेर उनले र उनीसित सम्वन्धित केही साथीहरूले कोकेको नेतृत्वले झापा संघर्षको वेलादेखि आफूहरूमा रहँदै आएका उग्रवामपंथी अतिवादी विचारहरूलाई सच्याउन गरिरहेको पहलप्रति गम्भीर असहमति राख्दै पार्टी नेतृत्व दक्षिणपंथी औसरवादमा फस्दै गएको आरोप लगाएका थिए । यही मान्यता वोकेर उनीहरू पार्टीसित विद्रोह गर्ने र नयाँ पार्टी वनाउने घोषणा गर्ने प्रयत्न गरिरहेका थिए । हामीले यो कुरा राष्ट्रिय सम्मेलन चलिरहेकै वेला एउटा लामो पर्चाबाट औपचारिक रूपमा जानकारी पायौं ।  ‘पथभ्रष्ट चन्द्र नेतृत्वदायी गुटके उपर गोलावारी करें ...!’ (त्यसवेला चन्द्रप्रकाश मैनाली अत्यन्त लोकप्रिय र चर्चित पार्टी महासचिव थिए ।) हिन्दीमा छापिएको उक्त पर्चाले हामीलाई अत्यन्त आक्रोशित वनाएको थियो । हामीले पार्टी स्थापना गर्ने दिनमै रामचन्द्र–अशेश्वरहरूले एउटा नयाँ गुटको घोषणा गर्नपुगे । पार्टी स्थापनाको त्यो अवसरमा दुई किसिमका गलत वैचारिक मान्यता, चिन्तन तथा प्रवृत्तिका विरूद्धमा हामीले औपचारिक रूपमा जेहाद छेड्ने घोषणा गरेका थियौं ।

(भूमिगत कालमा मदन भण्डारी र ईश्वर पोखरेल)

हामीले त्यसवेला एउटालाई वाई भनेर (रामचन्द्र–अशेश्वरहरूले अगुवाइ गरेको उग्रवामपंथी चिन्तन ) र अर्कोलाई एक्स भनेर (मणिलाल राईहरूले अगुवाइ गरेको दक्षिणपंथी चिन्तन) भनेर चिन्हित गरेका थियौं र त्यसै आधारमा खण्डन–प्रतिवादको योजना वनाएका थियौं । त्यो योजनामा कमरेड मदनले सक्रियताका साथ भूमिका पूरा गर्नु भएको थियो । मदनले कोसी क्षेत्रमा उनीहरूको खासगरी (रामचन्द्र यादव) को अवांछित प्रभाव नपरोस् भनेर विशेष सजगता अपनाउनु भएको थियो । (किनभने, रामचन्द्र यादवले मोरङ– विराटनगर क्षेत्रमा केही समय पहिलेदेखि  भूमिगत संगठकका रूपमा काम गर्दै आएका थिए र उनको केही प्रभाव त्यस क्षेत्रमा थियो ।) हामीले केही समयभित्रै यी दुवै विचारका प्रभावलाई निष्प्रभावी वनाइदिएका थियौं । सिंगो कोशी क्षेत्रमा मदन भण्डारी ती प्रभावलाई ठेगान लगाउने काममा सक्रियताका साथ जुट्नु भएको थियो ।

पार्टी गठनको लगत्तैदेखि त्यसवेलाको हाम्रो संगठित शक्ति सम्पूर्ण रूपले परिचालित भएर नवगठितÞ आफ्नो शक्तिको प्रभाव विस्तारमा अभूतपूर्व रूपमा जुटेको थियो । पार्टी गठन हुँदा जुन सांगठानिक स्थिति थियो, त्यसपछिको छोटै अवधिमा तीब्रताका साथ गरिएको विस्तार कार्यले उत्साहजनक परिणाम दिइरहेको थियो । नयाँ–नयाँ ठाउँहरूमा नयाँ–नयाँ व्यक्तिहरू खासगरी उत्साही युवाहरूको पंक्ति आकर्षित भइरहेका थिए, संगठित हुने र जिम्मेवारी लिने काम गरिरहेका थिए । विभिन्न समूहहरूमा रहेका कम्युनिष्ट क्रान्तिकारीहरू समेत मालेमा सामेल हुने क्रम तीव्र वनिरहेको थियो । यसले पंचायती निरंकुशताका विरूद्धमा प्रजातन्त्रका लागि विभिन्न राजनीतिक पार्टीहरू र आम जनतामा समेत एउटा नयाँ उत्साहको वातावरण सृजना गरेको थियो ।

माले पार्टी गठन भएपछि यसको विस्तारको क्रमसँगै यसभित्र वैचारिक वहस पनि नयाँस्तरमा सुरू भएको थियो । यो वहस २०३७ सालपछि विशेष रूपमा तीव्र वनेको थियो । मुलुकको विकसित राजनीतिक परिस्थिति अनुसार विगतमा सशस्त्र संघर्षको पक्षपोषण गर्दै आइरहेको पार्टीले परिवर्तित परिस्थिति अनुसार कसरी आफ्नो राजनीतिक कार्यदिशालाई पुनव्र्यवस्थित गर्ने र सिंगो पार्टी र आन्दोलनलाई एउटा उचाइमा उभिएर नेतृत्व गर्ने ? कसरी सबैलाई समेटेर अगाडि बढ्ने ? आदि चुनौतीहरू पार्टी नेतृत्वका अगाडि देखापर्दै गइरहेका थिए । विकसित राजनीतिक जटिलता र तिनलाई सामना गर्नसक्ने क्षमता वीचको अन्तर्विरोध र आफैभित्र अनुभूत हुँदै गएका विषयहरू र त्यसलाई व्यबहारमै लागू गर्नसक्ने आँट तथा क्षमताका वीचको अन्तर्विरोधमा त्यसवेलाको पार्टी नेतृत्वमा रहनु भएका सीपी मैनाली जेलिनु भएको थियो । यही स्थितिमा नेतृत्वका प्रायः सबै साथीहरूबाट महासचिव सीपी मैनाली एक किसिमले एक्लो पर्दै जानुभएको थियो । आत्मालोचित हुन नचाहने, अरूका कुनै पनि कुराहरू सुन्नै नचाहने र अस्वाभाविक चिडचिडोपनका कारण उहाँ नेतृत्व गर्न नसक्ने अवस्थामा पुग्नुभएको थियो । त्यसवेलाको माले नेतृत्वभित्र कस्तो धर्मसंकटको स्थिति आइलागेको थियो भने एकातिर सीपीले नेतृत्व गर्नै नसक्ने अवस्था र अर्कोतर्फ त्यसवेलासम्म वनेको सीपीको टावरिंङ व्यक्तित्व (उच्च र चुनौतीविहीन व्यक्तित्व)को  विकल्पमा अर्को कुनै वैकल्पिक नेतृत्व वनिनसकेको अवस्था !

साँच्चै अप्ठेरो अवस्था आइलागेको थियो । नेतृत्वमा वसेका हामीहरूमध्ये कति त सीपी पार्टीमा नरहेको अवस्थाको कल्पना समेत गर्न सक्तैनथ्यौं । सीपीको अभावमा पार्टी कसरी चल्ला, पार्टी कस्तो होला, पार्टीलाई कसले वचाउला–कसले चलाउला आदि प्रश्नहरूले कहालीलाग्दो गरी अत्याउँथे, हामीहरूलाई । पार्टी नेतृत्वभित्रको यो स्थितिलाई लिएर हामीहरू, खासगरी मदन भण्डारी, माधव नेपाल र म विशेष छलफल गथ्र्याैं । हामीहरूलाई यसो गर्न किन पनि अनुकूल थियो भने हामीहरू तीनैजना जोडिएकै क्षेत्रीयस्तरका कमिटीहरू (मध्य दक्षिण र पूर्व दक्षिण) मा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू थियौं । हामी तीनजनाले पार्टी केन्द्रभित्रको निरन्तर अस्वस्थ्य वन्दै गएको स्थितिका वारेमा धेरैपटक छलफलहरू गरेका थियौं । मदन त्यो समस्याका वारेमा राजनीतिक हिसावले छलफललाई उठान गर्न चाहनुहुन्थ्यो । यो अत्यन्त असहज स्थितिलाई हामीले झण्डै दुई वर्ष जति झेल्नु पर्यो । त्यस बीचमा मदनको अनुहारमा कहिले चिन्ता, कहिले गम्भीरता छाएको देख्थेँ । त्यस बीचमा जबजब मैले उहाँलाई भेटेँ, प्रायः सैद्धान्तिक–राजनीतिक विषयका कितावहरूमा घोत्लिएको देख्थेँ, केही लेखिरहेको देख्थेँ । 

त्यसवेला पार्टी संगठनमा खासगरी मदनले अस्तव्यस्तता छाइरहेको, केही अगुवा कार्यकर्ता पार्टीभित्रको विवादका कारण पार्टी छोड्ने मनस्थितिमा पुगेको तर त्यो गम्भीर स्थितिका वारेमा मदनले ध्यान नदिइरहेको, वरू एकोहोरो लेखपढमा मात्र लागिरहेको भन्दै मदनको हामीले आलोचना पनि गर्ने गथ्र्याैं । हाम्रो आलोचनाप्रति वहाँ प्रायः त्यति ध्यान दिनुहुन्नथ्यो । तर, कहिलेकाहीँ उहाँ भन्नुहुन्थ्यो– ‘चिन्तनका–विचारका पोयाहरू मिलाउनु पर्छ, ती कुरा मिलाउन सकियो भने अहिले विचारबाट विचलित भएकाहरू सबै ट्र्याकमा आउँछन्, नआई धरै छैन ।’ वहाँले भनिरहेका ती कुराहरू कति त हामी बुझ्दैनथ्यौं, बुझे पनि हामी कति कुरामा भित्रभित्रै सहमत हुन सक्तैन्थ्यौं । कस्तो कुरा नवुझेको होला भन्ने हामीलाई लागिरहन्थ्यो ।

माले पार्टीभित्र पछि–पछि त ‘नीति, सिद्धान्त र कार्यक्रममा पनि वहस’ हुन लाग्यो । त्यस वेलासम्म सीपी मैनालीले अगुवाई गरेर प्रतिपादित कतिपय नीतिगतÞ, सैद्धान्तिक र कार्यक्रमिक विषयहरूमा समेत असहमतिका स्वरहरू उठ्न थाले । ‘प्रधान अन्तर्विरोध’, ‘राजनीतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता’, ‘आम र विशेष कार्यक्रम’, ‘शान्ति क्षेत्रको प्रस्ताव’ साथै अन्य कतिपय कार्यनीतिक विषयहरू वहसका महत्वपूर्ण विषयहरू वनेका थिए । हामी यी सबै विषयहरूमा छलफल गर्दै उपयुक्त निष्कर्षमा पुग्ने कोशिस गरिरहेका हुन्थ्यौं । मदन यी सबै विषयमा केन्द्रित भइरहनु भएको थियो । 

वास्तवमा सीपी भावनात्मक हिसावले त्यसवेलासम्म हामी सबैका वीचमा सम्मानको शिखरमा हुनुहुन्थ्यो, अपरिहार्य व्यक्तित्वको रूपमा स्थापित हुनुहुन्थ्यो । तर सँगसँगै, त्यसवेला सीपी नेतृत्वमा वस्न नसक्ने परिस्थिति एउटा विडम्वनापूर्ण र वलशाली तथ्य भएर हाम्रा अगाडि खडा भइरहेको थियो । त्यसवेला हाम्रा लागि त्यो विषय भयंकर असहज भए पनि त्यत्तिकै अपरिहार्य वनेर खडा भइरहेको थियो । त्यसवेला हामी कस्तो मनस्थितिमा थियौं भन्ने कुरा मदन भण्डारी महासचिव भएर आफ्नो कार्यक्षेत्रबाट ‘पार्टी हेडक्वार्टर’ सम्हाल्न हिंड्दै गर्दा आफ्ना कमिटीका साथीहरूलाई वताउनु भएको थियो । जव सीपीद्वारा समस्याहरू सिर्जना हुनथाले, तव अरू नेता कार्यकर्ताहरू जस्तै मदन पनि चिन्तित हुनुभयो । ‘सीपी पार्टीबाट अलग हुनुभयो भने के होला, कसले पार्टी सम्हाल्ला ?’ भन्ने चिन्ता भइनै रह्यो, उहाँलाई पनि । पटक पटक यही चिन्ताले साह्रै सताइ नै रह्यो रे.. ! 

यही समस्यालाई दिमागमा राखेर वहाँले राजनीतिक–सैद्धान्तिक विषयहरूको अध्ययनमा आफूलाई विशेष केन्द्रित गर्नुभयो । माक्र्सवादी सिद्धान्त सम्वन्धी शास्त्रीय रचनाहरूको गहन अध्ययनमा वहाँ जुट्नुभयो । त्यसवेला वहाँ जसरी अध्ययनमा जुट्नुभएको थियो, त्यसले वहाँमा रहेको गंभीरतालाई दर्शाइरहेको थियो । त्यही गम्भीर अध्ययनमा केन्द्रित हुँदाहुँदै र राजनीतिक–सांगठानिक काममा गम्भीरतासाथ संलग्न हुँदाहँुदै वहाँलाई पार्टीको त्यो महत्वपूर्ण जिम्मेवारी लिने ठाउँमा पु्याएको थियो ।

तर वहाँ जे जसरी गंम्भीरताका साथमा काम र अध्ययनमा जुट्नु भएको थियो, वहाँमा  पार्टीको त्यो शीर्ष स्थानमा पुग्ने कुनै उद्देश्य र योजना भने थिएन । वहाँ स्वयमलाई समेत यो स्थितिको आँकलन समेत थिएन । वास्तवमा, मदन भण्डारीले नेकपा (एमाले) को शीर्ष  स्थानमा जसरी आफूलाई पुर्याउनुभयो र मुलुककै राष्ट्रिय राजनीतिमा जसरी आफूलाई उदीयमान वैचारिक केन्द्रको रूपमा स्थापित गराउनुभो, त्यो पार्टीभित्रको तीखो वैचारिक संघर्ष र वाहिरको वर्ग–संघर्षको तापमा खारिएर निर्माण भएको थियो । पूर्वीय साहित्यका मेधावी विद्यार्थी मदन भण्डारी, जव माक्र्सवादी शास्त्रीय रचनाहरूका गहन अध्येता वन्नुभो, वहाँमा एउटा विशिष्ट प्रगतिशील क्रान्तिकारी वौद्धिक व्यक्तित्व समेत देखापरेको थियो ।