ईश्वरी रिजाल

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाकालमा एकतन्त्रीय निरंकुशसत्ता हावी थियो । आर्थिक–सामाजिक क्षेत्रमा सामन्ती र पूँजीवादी उत्पादन सम्वन्धका चरम असमानता र विभेद थियो । राष्ट्रियतामाथि वैदेशिक हस्तक्षेप र थिचोमिचोले सीमा नाघेको थियो । यी कारणले मुलुकको आर्थिक–सामाजिक चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको ठहर गर्दै यसलाई परिवर्तन गर्न पूँजीवादी जनवादी क्रान्तितर्फ संघर्ष बढाउने निश्कर्ष कम्युनिष्ट पार्टीले निकाल्यो ।

जसमा निरंकुश व्यवस्थाको अन्त्यगरी जनवाद अर्थात लोकतन्त्र प्राप्तिका लागि संघर्ष गर्ने उदेश्य लियो । त्यसैगरी वैदेशिक हस्तक्षेपको अन्त्यगरी स्वतन्त्र, स्वाधिन र आत्मनिर्भर राष्ट्र निर्माण गर्न देशभक्तिपूर्ण संघर्ष गर्ने योजना अगाडी सार्यो । साथै अर्धसामन्ती उत्पादन सम्वन्धले श्रमजीवी जनतामाथि गरेको शोषणलाई समाप्त पार्न आर्थिक–सामाजिक संघर्ष उठान गर्ने अर्को उदेश्य लियो । यी संघर्षको समग्रताबाट जनवादी क्रान्तिको न्युनतम लक्ष्य जनवादी व्यवस्था स्थापना गर्ने र त्यसको चरणवद्ध बिकास गर्दै अधिकतम लक्ष्य समाजवादतर्फ अगाडी बढ्ने निचोड कम्युनिष्ट पार्टीले निकाल्यो । जस अनुसार २०६२÷०६३ सालको शान्तिपूर्ण जनक्रान्तिले विशिष्ट प्रकारको पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्यो । यसको चरणवद्ध विकास गर्दै समाजवादको आधार तयार गर्ने अवस्थामा आज मुलुक आईपुगेको छ । 

आन्दोलनका मतभिन्नता र जवजको विकास:
न्युनतम लक्ष्य जनवादी व्यवस्था स्थापनाको कार्यभार पुरा गरेर अधिकतम लक्ष्य समाजवाद स्थापना गर्ने मान्यतामा नेपालका कम्युनिष्टहरूबीच आधारभूत तहका सैद्धान्तिक मतभेद देखिदैन । तर जनवादी व्यवस्थका लागि गरिने क्रान्तिको बाटो र जनवादी व्यवस्थामा अपनाउने राजनीतिक, आर्थिक र सामाजिक स्वरूप एवं ढाँचाका बारेमा भने मत भिन्नता रहंदै आएका छन् । यो मतभिन्नताको पृष्ठभूमीबाट नेपाली क्रान्तिको मौलिक सिद्वान्त जनताको बहुदलीय जनवाद बिकसित हुन पुग्यो । मुख्यगरी जनवादी क्रान्तिको बाटो र क्रान्तिपछि स्थापना हुने व्यवस्थाका राजनीतिक, आर्थिक र सामाजिक स्वरूप एवं ढाँचाका बारेमा नवीन मान्यता आत्मसात गरेको र ती मान्यता व्यवहारत् सिद्ध हुंदै गएकाले जवज यतिखेर नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ ।

शान्तिपूर्ण क्रान्तिको बाटो:
जवजले क्रान्तिको बाटो मनोगत हुँदैन, बस्तुगत हुन्छ भन्दै कुनै ठाउँ विशेष सफल भएका प्रयोग जस्ताको तस्तै यान्त्रिक तरिकाले आयात गर्न नसकिनेमा जोड दिएको छ । अन्य मुलुकमा नेपालमा जस्तो शान्तिपूर्ण ढंगले प्रतिष्पर्धा गर्ने परिवेश नभएकाले सशस्त्र संघर्ष अपनाइएको देखिन्छ । तर नेपालमा शान्तिपूर्ण संघर्षको बाटोलाई अपनाउन सकिने आधारहरू विद्यमान रहेकाले त्यसको माध्यमबाट क्रान्तिकारी परिवर्तन सम्भव छ भन्ने मौलिक निश्कर्ष जवजले आत्मासात गरेको हो ।  नेपालमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने अन्तिम बाटोसमेत जवज बन्न पुगेकाले यो व्यवहारत सिद्व भएको छ ।

लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीतिक मान्यता:
राजनीतिमा प्रकट हुने द्वन्द्वसंग निरपेक्ष वल प्रयोगको माध्यमलाई मात्र होइन प्रतिस्पर्धाको माध्यमलाई पनि अपनाउनु पर्दछ भन्नेमा जवजको जोड छ । त्यसैले वर्गीय राजनीतिक अस्तित्वलाई संविधान र कानुनको परिधिभित्र रही राजनीतिक प्रतिष्पर्धा गर्न पाउने लोकतान्त्रिक विधिलाई जवजले अगाडी सारेको छ । यसखालको प्रतिस्पर्धामा व्यक्त हुने जनमतद्वारा पार्टीहरूको वर्गीय हैसियत छिनोफानो गर्न सकिनेमा जवजको दृढ विश्वास छ । क्रान्तिकारी र वुर्जुवा दुई विपरित शक्तिबीचको प्रतिस्पर्धात्मक टक्करबाट क्रान्तिकारी शक्तिका पक्षमा जनमतको मात्रात्मक बिकास बढोत्तरी गर्दै गुणात्मक फड्कोतर्फ अगाडी बढ्ने र वुर्जुवा चिन्तन÷प्रवृतिलाई निषेधको अवस्थामा पुर्याउने जवजको मान्यता द्वन्द्ववादसम्मत रहेको छ । साथै माक्र्सवादी दर्शनको सार्वभौम नियमलाई राजनीतिक क्षेत्रमा कुशलतापूर्वक प्रयोग गरिएको नमुनाको रूपमा यो स्थापित छ । जवजको यो मान्यता नेपाली राजनीतिको हरेक प्रतिष्पर्धामा क्रमशः सत्य सावित हुंदै गइरहेको पनि छ ।

तीनखम्वे अर्थतन्त्र     
अर्थतन्त्रमा जवजले राजकीय, निजी र सहकारी क्षेत्रको भूमिकालाई महत्व दिंदै मिश्रित अर्थात तिनखम्वे अर्थतन्त्रलाई अवलम्वन गरेको छ । यसले अर्थतन्त्रको निश्चित क्षेत्रमा राज्यलाई सार्वजनिकरणको भूमिकामा अगाडी बढाउदै जनताका अत्यावश्यक सेवा आपूर्ति र ठूला भौतिक संरचना निर्माणमा केन्द्रित गराउने छ । साथै निजी क्षेत्रलाई पर्याप्त राष्ट्रिय पूँजी निर्माण र रोजगारी सृर्जनामा योगदान पुर्याउन सक्नेगरी उद्यमीकरणतर्फ अगाडी बढाउनेछ । त्यसैगरी सहकारी क्षेत्रलाई उत्पादनशिल बनाउंदै सामुहिकिकरणको भूमिकातर्फ उद्दत गराउनेछ । अर्थात राजकीय क्षेत्रको भूमिकालाई सार्वजनिककरणतर्फ, निजीक्षेत्रलाई उद्यमिकरणतर्फ र सहकारी क्षेत्रलाई सामुहिकिकरणतर्फ बिकास र रूपान्तरण गर्दै लाने छ । राज्य, निजी र सहकारी तिन क्षेत्रबाट उत्पादन हुने सेवा र बस्तुमा प्रगतिशिल करको माध्यमबाट सामाजिक सुरक्षा र लोककल्याणकारी कार्यलाई प्रभावकारी बनाइनेछ । जवजले अवलम्वन गरेको यस आर्थिक प्रणालीको माध्यमबाट नेपालको आर्थतन्त्रलाई क्रमशः समाजवादी अर्थतन्त्रमा रूपान्तरण गरिनेछ । 
 
सामाजिक वहुलताको पक्षपोषण 
जनताको बहुदलीय जनवादले बहुलवादी खुला समाजलाई कार्यक्रमको थप विशेषताका रूपमा अपनाएको छ । यस मान्यताका कारण, एमाले पदार्थ सृष्टिको एकतत्ववादी दार्शनिक मान्यता त्यागेर बहुतत्ववादी अर्थात बहुलवादी मान्यता अगाल्न पुग्यो भन्ने आरोप लागाइयो । नेकपा (एमाले) र यसको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले पदार्थ सृष्टिका बारेमा बहुतत्ववादी मान्यतालाई हैन माक्र्सवादको एकतत्ववादी दार्शनिक मान्यतालाई नै अंगालिरहेको छ । दर्शनसंग सम्वन्धित वहुलवाद र समाजसंग सम्वन्धित बहुलवाद फरक–फरक अर्थ दिने अवधारणा हुन् । सामाजिक क्षेत्रमा रहेको बहुलताको अवधारणाले समाजमा विद्यमान विभिन्न बिचार, सिद्धान्त, धर्म, दर्शन र संस्कृतिको क्षेत्रमा हुने वहुलतालाई व्यक्त गर्दछ । तिनलाई सम्मानपूर्वक बिकास र संरक्षणका लागि लाग्न पाउने सामाजिक स्वतन्त्रताको कुरा जवजले गरेको छ । संक्षेपमा सामाजिक अर्थमा बहुलवाद भनेको अनेकता र विविधताको सम्मान गर्दै तिनिहरूलाई एकताको सूत्रमा समेट्ने कडी हो । जवजले राष्ट्रको समाजिक जीवनमा यस मान्यतालाई सैद्धान्तिक रूपमै अंगिकार गरेको छ ।  यसलाई संविधानमा समेट्न एमालेले ठूलै राजनीतिक र बैचारिक संघर्ष पनि गरेको छ  । 

जनवादी क्रान्ति र जनवादी व्यवस्था  
क्रान्ति परिवर्तनको पर्यायवाची एक शव्द हो । आर्थिक–सामाजिक रूपमा यसले उत्पादन सम्वन्धको परिवर्तनलाई अभिव्यक्त गर्दछ भने राजनीतिक रूपमा यसले राज्यसत्ताको परिवर्तनलाई अभिव्यक्त गर्दछ । त्यसैले जनवादी क्रान्तिलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक पुरानो सामाजिक व्यवस्थालाई हटाएर नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने क्रान्तिको रूपमा बुझ्नु पर्दछ । यस क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्तको औचित्यलाई पनि यसैको सीमभित्र रहेर बुझ्नु पर्दछ । कतैकतै हामीमा जनवादी क्रान्ति र जनवादी व्यवस्थालाई एउटै अर्थमा बुझ्ने भ्रमहरू रहने गरेका छन् । यसले जनवादी क्रान्तिको चरण (फेज) समाप्त भएपछि त्यसलाई मार्गदर्शन गर्ने सिद्धान्तको चरण (फेज) पनि समाप्त भयो भन्ने गोलमटोल निश्कर्षतिर पुर्याउंछ । अहिले ठिक त्यस्तै गोलमटोल प्रकारका बहसहरू चल्न थालेका छन् । 

सर्वप्रथम जनवादी क्रान्तिले जनवादी व्यवस्थाको साधनका रूपमा अर्थ राख्छ भने जनवादी व्यवस्थाले जनवादी क्रान्तिको साध्यका रूपमा अर्थ राख्छ । अर्थात जनवादी क्रान्ति एक साधन हो भने त्यस साधनद्वारा प्राप्त भएको जनवादी व्यवस्था एक साध्य हो । एमालेले देशको अर्धसामन्ती र अर्धऔपनिवेशिक सामाजिक व्यवस्थालाई हटाउन गरिने क्रान्ति (साधन) लाई पूँजीवादी जनवादी क्रान्ति वा जनताको वहुदलीय जनवादी क्रान्ति भन्यो । त्यस क्रान्ति (साधन) ले अर्धसामन्ती र अर्धऔपनिवेशिक सामाजिक व्यवस्थालाई हटाएपछि जनताको वहुदलीय जनवादी व्यवस्था (साध्य) प्राप्त हुने छ भनेर पनि स्पष्टताकासाथ बतायो ।

यही मान्यता अनुसार २०६२÷०६३ सालको शान्तिपूर्ण क्रान्तिबाट उपरिसंरचनाको रूपमा रहेको निरंकुश राजतन्त्र ढलेर जनताको बहुदलीय जनवादको महत्वपूर्ण राजनीतिक अङ्ग लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । साथै अर्धसामन्ती आर्थिक आधारमा पनि परिवर्तन आएर पूँजीवादको प्रारम्भिक चरणमा मुलुक प्रवेश गरेको छ । त्यसैले नेपालमा विशिष्ट प्रकारको पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो भन्ने निश्कर्ष पार्टीले निकाल्न पुगेको हो । यस निश्कर्षको आधारमा अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनताको बहुदलीय जनवादी व्यवस्थाको राजनीतिक अध्याय प्रारम्भ भएको व्यवस्था हो । साथै पूँजीवादको प्रारम्भिक चरण शुरु भएकाले जनवादी स्वरूपको आर्थिक आधार निर्माण गर्न लाग्ने अवस्था पनि हो ।

त्यसैले आज प्रतिष्पर्धा र पहलकदमीद्वारा राजनीतिक सत्तामा पकड् लिंदै जाने र त्यसको माध्यमद्वारा आर्थिक–सामाजिक बिकास र रूपान्तरण गर्दै जनताको बहुदलीय जनवादी व्यवस्थालाई पूर्णता दिन लाग्ने चरण पनि हो । यस अवस्थामा जनताको बहुदलीय जनवादको मार्गदर्शन झन् टड्कारो बन्न पुगेको छ । त्यसैले जवजको औचित्यका बारेमा देखा परेका भ्रमबाट मुक्त हुन यसले आत्मसात गरेका क्रान्तिका चरणमा र क्रान्तिपछि स्थापना हुने व्यवस्थाको चरणमा लागु हुने कार्यभारका बारे अध्ययन गर्न जरुरी भएकाले संक्षेपमा तल प्रस्तुत गरिन्छ ।  

क्रान्ति अघि जवजका कार्यभार:
राजनीतिक कार्यभार– सामन्तवाद, दलाल–नोकरशाही पूँजीवाद र साम्राज्यवादको हस्क्षेपबाट देशलाई मुक्त गरि प्रतिस्पर्धामा आधारित जनवादी राज्यसत्ता स्थापना गर्ने; नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र हासिल गर्ने; मानव अधिकार र मौलिक हक अधिकारको प्रत्याभूति दिने; संविधानको सर्वोच्चता, कानूनको शासन र शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गर्ने; बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष रहने र विकेन्द्रीकरण र स्थानीय स्वशासनको संवैधानिक व्यवस्था गर्ने आदि कुरा जवजका क्रान्ति अगाडी गरिनु पर्ने कार्यभारका रूपमा किटान गरिएका छन् । आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, नयाँ संविधान निर्माण र त्यसमा समेटएिका मौलिक हकको व्यवस्था, अधिकार प्राप्त स्थानीय तहको निर्माण र त्यसको निर्वाचन सम्पन्न भई कार्य सञ्चालन प्रारम्भ भएपछि जवजले क्रान्ति अगाडी पुरा गर्नु पर्ने राजनीतिक कार्यभार पुराभई हाल कार्यान्वयनको चरणमा छन् । 

क्रान्तिपछि जवजका कार्यभार:
आर्थिक क्षेत्रका कार्यभार– सामन्तवाद, दलाल–नोकरशाही पूँजीवाद, वैदेशिक एकाधिकार पूँजीवाद तथा साम्राज्यवादका शोषण, उत्पीडन र प्रभुत्ववादका सबै आधार र अवशेषहरूलाई अन्त्य गरी जनवादी अर्थ व्यवस्थाको निर्माण गर्ने; सामन्ती भूस्वामित्वको पूर्ण रूपमा उन्मूलन गरी अर्धसामन्ती शोषणका सम्पूर्ण रूपहरूको अन्त्य गर्ने; यी क्रान्तिपछि जवजले पूरा गर्नु पर्ने आर्थिक क्षेत्रका महत्वपूर्ण कार्यभारहरू हुन् जसलाई पूरा गर्ने काम बाँकी नै छ । 

यतिखेर देशको अर्थतन्त्रमा दलाल पूँजीवादको वर्चस्व रहेको चर्को ढंगले उठाउने गरिन्छ, तर त्यही प्रवृतिलाई समाप्त पार्ने जवजका मान्यताहरूको औचित्य छैन भन्ने निश्कर्षमा पनि पुगिन्छ । यसखालका मान्यताबाट दलाल पूँजीवादका विरुद्ध कसरी लड्न सकिएला र अर्थतन्त्रमा दलाल पूँजीको हस्तक्षेपलाई कसरी अन्त्य गर्न सकिएला ? सामाजिक र आर्थिक जीवन दलाल पूँजीको चपेटामा छ । त्यसको अन्त्य गरी सामाजिक सुरक्षा र लोक कल्याणकारी आर्थिक ब्यवस्था स्थापना नगरे समाजवाद शाब्दिक खेल मात्र हुन्छ । दलाल पूँजीवादको प्रभुत्व अन्त्य गर्ने जवजको जुन उद्धेश्य छ, त्यसको च्याप्टर नै क्लोज्ड गरिदिएर अर्थतन्त्रमा दलाल पूँजीको हस्तक्षेपलाई कसरी अन्त्य गर्न सकिएला ?  

औद्योगिकरण सम्वन्धी कार्यभार
वृहत औद्योगिकरणको योजना बनाउने; साम्राज्यवाद, वैदेशिक एकाधिकार पूँजीवाद र दलाल नोकरशाही पूँजीवादको प्रभुत्व, नियन्त्रण र शोषणलाई समाप्त पार्ने; राष्ट्रिय अर्थतन्त्रमा अनुकूल प्रभाव पार्ने सीमा निर्धारण गरी विदेशी पूँजी र प्रविधिलाई देशभित्र ल्याउन अनुमति दिने र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गर्ने । क्रान्तिपछि औद्योगिक क्षेत्रमा जवजले गर्नुपर्ने यस कार्यभार जस्ताको तस्तै बाँकी रहेको छ । 

सामाजिक सांस्कृतिक क्षेत्रका कार्यभार
सामाजिक अन्धविश्वास, रूढीगत धारणालाई हटाउन सामाजिक साँस्कृतिक सुधार आन्दालन चलाउने, समाजमा व्याप्त जातपात, छुवाछूत प्रथाको प्रभावकारी अन्त्य गरिने; असहाय, वृद्ध तथा अपांग, अनाथ वालवालिकाको संरक्षण गर्ने; सामन्ती तथा साम्राज्यवादी साहित्य सँस्कृतिको कुप्रभाव अन्त्य गरी सामाजिक कुरुती र अन्धविश्वासलाई समाप्त पारी प्रगतिशिल, राष्ट्रिय एवम् जनवादी साहित्य सँस्कृतिको विकास गर्ने र समाजको सबै क्षेत्रमा जनवादी रूपान्तरण गर्नको निम्ति सामाजिक सुधारको कार्यक्रमलाई योजनावद्ध रूपमा अगाडि बढाइनेछ । यी क्रान्तिपछि सामाजिक र साँस्कृतिक क्षेत्रमा परिवर्तन गर्नका लागि जवजले आत्मासात गरेका कार्यभार हुन् जो पुरा भएकै छैनन् । 

अन्य कार्यभार
विदेश नीति, कृषि, व्यापार, ऊर्जा तथा जलश्रोत, यातायात सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, महिला, सामाजिक सुधार, न्याय व्यवस्था, प्रशासन र खेलकुदका सम्वन्धमा जवजले अवलम्वन गरेका कार्यक्रम कार्यान्वयन गर्नुपर्ने कुरा वाँकी नै छन् । यस स्थितिमा जवजको सान्दर्भिकता समाप्त भएको छैन, बरु बढेर गएको छ । 

नवौं महाधिवेशनको निश्कर्ष 
०६२÷०६३ को जनक्रान्ति जवजले अंगालेको शान्तिपूर्ण संघर्षको बाटोद्वारा सम्पन्न भएको नवौं महाधिवेशको निष्कर्ष छ । त्यसैगरि जवजको वैचारिक नेतृत्वमा सम्पन्न क्रान्तीले समाजवादसम्मको ढोका खोलेको छ । यद्धपी आर्थिक–सामाजिक अवस्था र उत्पादक शक्तिको बिकासको स्तर असाध्य पछि परेको हुनाले अहिले नै समाजवादी कार्यभार अपनाउन सकिन्न भन्ने अर्को निश्कर्ष छ । त्यसका लागि जनवादी व्यवस्थाको सुदृढिकरण अन्तर्गत पहिलो– पुराना व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने, दोस्रो– नयाँ उत्पादन सम्वन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र साँस्कृतिक दुबै हिसावले बिकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने र तेस्रो– समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा साँस्कृतिक तयारी गर्ने कुरा अपनाएर जाने महाधिवेशनको फैसला छ । त्यसैले वर्तमान अवस्थामा पनि हाम्रो कार्यक्रम जनताको बहुदलीय जनवादी कार्यक्रम नै हुने छ र मार्गदर्शन पनि जवजले गर्ने छ भनेर महाधिवेशनले स्पष्ट किटान गरेको छ ।

त्यसैगरी जवज समाजको गुणात्मक रूपान्तरण गर्ने कार्यक्रम मात्र नभएर कार्यक्रमको निरूपण, रणनीति तर्जुमा र त्यसलाई कार्यान्वयन गर्ने पार्टीको निर्माण एवं हाम्रा दैनन्दिनको आचारण र व्यवहारलाई दिशानिर्देश गर्ने सिद्धान्त समेत हो भन्ने महाधिवेशनले अर्को ठहर गरेको छ । नवौं महाधिवेशको यिनै निश्कर्षका आधारमा जनताको बहुदलीय जनवादको औचित्य र आवश्यकता लामो कालखण्डसम्म कायम रहने कुरा निर्विवाद रहेकाले यसलाई चटक्क छाडेर अर्को सिद्धान्तको खोजीमा भौंतारीनु चै बरु सान्दर्भिक हुंदैन ।  

जवज र थप १४ विशेषताबीचको सम्वन्ध  
जनताको बहुदलीय जनवादी सिद्धान्तको मुख्य पक्ष वा सारपक्ष यसका थप १४ विशेषता हुन् र ती अहिले नै लागू भएपछि जवजको अध्याय (च्याप्टर) पनि समाप्त भयो भन्ने कोणबाट पनि चर्चा हुने गरेको पाइन्छ । पहिलो सवाल जवजले आत्मसात गरेका थप १४ विशेषताहरू जवजका सारपक्ष होइनन् रूपपक्ष हुन् । यसका सारपक्ष जनताको सामाजिक न्याय र प्रगतिसहितको लोकतान्त्रिक राज्य व्यवस्था हो ।

त्यस्तो राज्य व्यवस्थामा जवजले अपनाउने थप १४ विशेषताहरूमध्ये अहिले प्रयोगमा आइसके भन्ने आधारमा जवजको औचित्य छैन भन्ने निचोडमा पुग्न सकिन्न । यदि त्यसो हुन्थ्यो भने पूँजीवादी मुलुक अमेरिकाले पनि जवजका विशेषता जस्तै संविधानको सर्वोच्चता, कानूनी शासन, शक्ति पृथकिकरणको सिद्धान्त, वहुमतको सरकार एवम् अल्पमतको विपक्ष र मानव अधिकारको रक्षा जस्ता बिषयहरू अप्नाउने कुरा गर्दछ । त्यसैको आधारमा वर्तमान अमेरिकी राज्यव्यवस्था सामाजिक न्याय र प्रगतिसहितको जनताको राज्यव्यवस्था हो भन्ने भ्रममा पर्नु हुंदैन । त्यसैले जवजका विशेषताहरूको प्रयोगलाई राज्यव्यवस्थाको सारतत्वको सापेक्षतामा हेर्नु र बुझ्नु पर्दछ । त्यसरी मात्रै यसका विशेषताहरू लागु भएको वा नभएको खुट्याउन सकिन्छ र जवज सिद्धान्को अध्याय पनि समाप्त भएको वा नभएको बताउन सकिन्छ ।

अहिले जनताको बहुदलीय जनवादी राज्यव्यवस्थाको उपरिसंरचनामा कायम रहने जवजका रूपपक्षहरू कतिपय संवैधानिक तहमा उल्लेख भएका छन् तर राज्यसत्ताको आधा।रका रूपमा रहने यसका सारतत्वहरू कायम हुन बाँकी नै छन् । यो स्थितिमा जवज सिद्धान्तको औचित्य समाप्त भएको निश्कर्ष कसरी निकाल्न सकिन्छ । 

क्रान्ति सम्वन्धी माक्र्सवादी प्रयोग र अनुभव
पुरानो व्यवस्थाको गर्भमा नयाँ व्यवस्थाका भ्रुणहरू विद्यमान रहन्छन् र त्यो परिपक्व भएपछि नयाँ व्यवस्थाको जन्म हुन्छ । साथै त्यसलाई पैदा गर्नका लागि सुढेनीको भूमिका क्रान्तिले निर्वाह गरेको हुन्छ । क्रान्ति सम्वन्धि माक्र्सवादी सिद्धान्तले प्रस्तुत गरेका धेरै दृष्टान्तमध्ये यो एक महत्वपूर्ण दृष्टान्त हो ।

जसअनुसार अनुसार ०६२÷०६३ मा सम्पन्न शान्तिपूर्ण जनक्रान्तिले खेलेको सुढिनीको भूमिकाबाट देशमा जवजको महत्वपूर्ण अङ्ग लोकतान्त्रिक गणतन्त्रको जन्म भएको छ । यसलाई सुदृढ गरेर जवान वनाउनु पर्ने कार्यभार बाँकी नै छन् । ती काम नगरी अहिले नै यसैबाट तुरुन्त अर्को व्यवस्था पैदा गर्ने हतारो गरेर नयाँ सिद्धान्तको खोजीमा लाग्नु हुंदैन । समाजवादी र जनवादी क्रान्ति सम्पन्न भएका मुलुकहरूले यस्तै हतारो गर्दा परिणाम राम्रो नरहेको अनुभव पनि हामीसंग छ । जस्तै, सन् १९१७ मा रूसले समाजवादी क्रान्ति सम्पन्न गर्यो , तर कार्यक्रम चाही युद्ध साम्यवादी लागु गर्न पुग्यो । युद्धको विशिष्ट स्थितिमा लागू गरिएको यस कार्यक्रमले रूसी अर्थतन्त्रमा राम्रो परिणाम दिन सकेन । जव १९२१ मा लेनिनले नयाँ आर्थिक नीति नामक कार्यक्रम ल्याए तब त्यसले रूसको अर्थतन्त्रमा राम्रो प्रभाव पारेको विश्लेषण पाइन्छ । 

तर १९२७ मा स्टालिन सत्तामा आएपछि नयाँ आर्थिक कार्यक्रम बन्द गरियो र अर्थतन्त्रको सम्पूर्ण क्षेत्र राज्यको मातहत ल्याएर साम्यवादी ढाँचाको कार्यक्रम लागू गरियो । त्यसपछि रूसी अर्थतन्त्रले त्यहाँका जनताहरूलाई अपेक्षित सन्तुष्टि  दिन सकेन भन्ने अनुमान गरिन्छ । त्यसैलाई मध्यनजर गरेर खुस्चोव र व्रेचनेभपछि सत्तामा आएका गोर्भाचोभले ग्लास्नोस्त र पेरोस्तोरिका कार्यक्रम ल्याएपछि समाजवादी रूस झन्झन् कमजोर हुंदै विगटनको अवस्थामा पुगेको भन्ने विश्लेषहरू पनि पाइन्छ । त्यसैगरी सन् १९४९ को क्रान्तिपछि चीनमा जनवादी कार्यक्रम अन्तर्गत क्रान्तिकारी भूमिसुधार लागु गरेर किसानलाई जमिनको मालिक बनाएपछि चिनियाँ अर्थतन्त्रमा उल्लेख्य सुधार भएको मानिन्छ । त्यसबाट प्रभावित भएर ग्रेटलिव नामको समाजवादी कार्यक्रम घोषणा गरियो र त्यो पनि असफल भएपछि साँस्कृतिक क्रान्तिको शुरुवात गरियोे । अन्तत ः त्यो पनि असफल भएपछि सन् १९७८ मा तेङ स्याओपिङले पूंजीवादी जनवादी क्रान्तिपछि अपनाइने आर्थिक कार्यक्रम घोषणा गरे । त्यसले चार आधुनिकिकरण गर्ने लक्ष्य लिएर अगाडी बढ्यो र त्यसैबाट चीनमा आर्थिक समृद्धिको यात्रा प्रारम्भ भयो भन्ने निश्कर्ष निकालिएको छ । 

रूसमा समाजवादी क्रान्ति सम्पन्न गर्ने, तर क्रान्तिपछि तुरुन्तै साम्यवादी कार्यभार तय गर्ने । चीनमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने तर छिट्टै समाजवादी कार्यभार अपनाउने । यी ठूला देशमा सम्पन्न क्रान्तिका दृष्टान्तबाट क्रान्तिपछिको व्यवस्थालाई सुदृढ नगरी अर्को व्यवस्थातर्फ फड्को मार्ने हतारो व्यवहारिक हुंदैन भन्ने शिक्षा हामीलाई उपलव्ध भएको छ । यस शिक्षाको थोरै पनि हेक्का नराखी अर्को व्यवस्थातर्फ तुरुन्तै जम्प गर्न खोज्नु गल्तीको परकाष्ठ हुने छ र अन्ततः असफलताको परिणाम व्यहोर्नु पर्ने छ । 

जवजको अन्तर्राष्ट्रिय सान्दर्भिकता 
पूँजीवादको चरम बिकासपछि मजदुर एवं सर्वहारा वर्गको विद्रोहबाट पूँजीवादी व्यवस्थाको अन्त्यगरी समाजवादी व्यवस्था स्थापना गर्ने माक्र्सवादको आम मान्यता हो । आज संसारका धेरै मुलुकहरूमा पूँजीवादको चरम बिकास भएको छ, यद्यपी त्यहाँ समाजवादी क्रान्ति भइहालेको छैन् र हुनका लागि अनुकुल स्थिति पनि तत्काल बनेको देखिंदैन । यसको मुख्य कारण समाजवादी क्रान्तिका लागि सामान्य बस्तुगत परिस्थितको बिकास भए पनि त्यस स्तरमा आत्मगत परिस्थितिको बिकास हुन नसक्नु हो । यसका लागि समाजवादको स्पष्ट लक्ष्यकासाथ वर्गसंघर्षमा सामेल भएका कम्युनिष्ट पार्टी र त्यसका राजनीतिक, बैचारिक, सांगठनिक र संघर्षका गतिविधिको आवश्यकता अनिवार्य हुन्छ ।

यसले मात्रै समाजवादी क्रान्तिका लागि क्रमश भौतिक संघर्षलाई जुटाउने र उठाउने कार्य गर्दछ । संघर्षका पनि विभिन्न रूप र तरिकाहरू हुन्छन् । त्यसमध्ये रूसी समाजवादी क्रान्तिको जस्तै सशस्त्र शहरी विद्रोहको रूपलाई अपनाउन सक्ने परिस्थिति अहिले विद्यमान देखिदैन । बरु हाल पूँजीवादी मुलुकहरूमा कतिपय अवरोधका बावजुद शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको बाटोलाई अपनाउन सकिने गुञ्जायस देखिन्छ । यस्तो परिस्थितिमा जनताको बहुदलीय जनवादले अङ्गिकार गरेको शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो अत्यन्तै सान्दर्भिक हुन्छ । तसर्थ पूँजीवादको चरम बिकासपछि उत्पन्न सास्तीबाट पैदा भइरहेको जनआक्रोसलाई संगठित गदै शान्तिपूर्ण संघर्ष र प्रतिष्पर्धाबाट पूँजीवादी सत्तामा पकड जमाउंदै जाने जवजको मार्गदर्शन अपनाउनु समाजवादी क्रान्तिका लागि अहिले उपयुक्त हुन्छ । यसबाट समाजवाद स्थापनाका लागि जवजको मार्गदर्शन नेपालमा मात्र होइन अन्तराष्ट्रिय तहमा समेत सान्दर्भिक हुंदै गइरहेको देखिन्छ । यस्तो बेला नेपालमाचै जवजको औचित्य नदेख्नु विडम्वना सिवाय अरु केही हुन सक्दैन ।

वर्तमान कार्यदिशा र कार्यनीति  
सामान्यतया कार्यदिशाले वर्तमानमा अपनाइने बाटो या माध्यमलाई अभिव्यक्त गर्दछ भने कार्यनीतिले त्यस माध्यमद्वारा भोलीको लक्ष्यलाई सहयोग पु¥याउनका लागि तत्काल अपनाइने नीतिहरूलाई अभिव्यक्त गर्दछ । यस अनुसार अहिले हामीे जवजको शान्तिपूर्ण बाटोको कार्यदिशा र जनवादी व्यवस्थाको सुदृढीकरण गर्ने कार्यनीतिलाई अपनाई रहेका छौं र यसलाई अपनाउने कुरा नवौ महाधिवेशनले निर्णय गरिसकेको छ । यसैका आधारमा शान्तिपूर्ण माध्यमबाट आर्थिक–सामाजिक बिकास र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने कार्यनीति र कार्यदिशा नवौ महाधिवेशनले तय गरेको छ । यी सबै जवजकै चरण भित्र कार्यान्वयन गर्नु पर्ने सवाल भएकाले जवजको औचित्य र सान्दर्भिकता कसरी समाप्त हुंन्छ ?

अवको लक्ष्य बहुदलीयता सहितको समाजवाद 
वर्गीय समाजमा वर्गीय चिन्तनले बर्गीय स्वार्थको बिकास गर्छ । पुनः त्यसले सामाजिक जीवनमा प्रभाव र असर पार्दै संगठित स्वरूप ग्रहण गरेर राजनीतिक हैसियत लिन पुग्छ । अन्ततः त्यो राजनीतिक सत्ताको दावेदारको रूपमा समाजको अगाडी देखा पर्दछ । त्यसैले जवसम्म समाजमा वर्ग रहन्छ तवसम्म वर्गीय चिन्तन र विचार पनि रहन्छ । जवसम्म वर्गीय विचार रहन्छ तवसम्म वर्गीय राजनीति र त्यसका प्रतिनिधि संगठन पनि रहन्छ । जवसम्म वर्गीय राजनीति र संगठन रहन्छ तवसम्म राजनीतिक द्वन्द्व पनि कायम रहन्छ । त्यस द्वन्द्वलाई समधान गर्ने जम्मा तिनवटा बाटो देखिन्छ । पहिलो सम्झौता र समन्वयको बाटो, दोस्रो प्रतिष्पर्धाको बाटो र तेस्रो निषेधको बाटो । निरपेक्ष रूपमा वर्ग सम्झौता र वर्ग समन्वयको बाटो वर्गीय राजनीतिमा अपनाउन सकिन्न । साथै पुराना अस्तित्वहरू आन्तरिक रूपले कमजोर नहुंदै वलात् निषेधको बाटो पनि उपयुक्त हुंदैन ।

त्यसैले पूँजीवादी राजनीतिक विचार र प्रवृतिसंग समाजवादी राजनीतिक विचार र प्रवृतिले निषेधको होइन, प्रतिस्पर्धाको बाटो अपनाउनु नै उपयुक्त र बैज्ञानिक हुन्छ । पूँजीवादी व्यवस्थाले राजनीतिक स्वतन्त्रताका नामामा आर्थिक अधिकार सिमित वर्गको हातमा केन्द्रित गराउने र समाजवादी व्यवस्थाले आर्थिक समानताका नाममा राजनीतिक अधिकार एकाध व्यक्तिमा सीमित गराउने दुबै तरिका वेठिक हुन्छ । एउटा स्वतन्त्र, आत्मनिर्भर र आधुनिक सामाजका लागि राजनीतिक र आर्थिक स्वतन्त्रता एकअर्काका परिपुरक भएकाले यी दुबैको आश्यकता रहन्छ । त्यसैले अव राजनीतिक स्वतन्त्रता र बहुदलीय प्रतिस्पर्धा सहितको समाजवादलाई लक्ष्य बनाएर जानु पर्दछ । त्यसमा संविधानको सर्वोच्चता, कानूनी शासन, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, वहुमतको शासन र अल्पमतको विपक्ष, समानुपतिक समावेशीता, स्थिर र सन्तुलित शासकीय स्वरूप जस्ता विशेषताहरू कायम रहने छन् । त्यसकारण बहुदलीयता सहितको समाजवादी लक्ष्य नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकताको महत्वपूर्ण सैद्धान्तिक आधार समेत बन्न सक्दछ ।  
 
जवजको औचित्यसंग जोडिएका केही सवाल 
वुर्जुवा शक्तिले एमालेमाथि थोपरेको कम्युनिष्ट अधिनायकवादको गलत आरोप जवजको सिद्धान्त अपनाएपछि फिक्का सावित भएकोे थियो । आज बामहरूको चुनावी एकतादेखि यस थोत्रो मुद्दालाई फेरी व्युँताउन खोजिदै छ । ठिक यही घडीमा जवजको सान्दर्भिकता समाप्त भएको निश्कर्षमा हामी पुग्छौं भने बुर्जुवाहरूलाई अधिनायकवादको भ्रम सावित गराउन सजिलो बाटो बनाइदिए जस्तो हुने छ । एमालेले जवज मान्दासम्म लोकतान्त्रिक शक्ति थियो तर जवज नै छाडेपछि लोकतान्त्रिक शक्ति रहन सकेन भनेर वुर्जुवाहरूले राष्ट्रिय अन्तराष्ट्रिय रूपमा भ्रम छिरोल्न सक्छन् । त्यसको जवाफ दिन हामीले धेरै समय खर्चिनु पर्दछ । राजनीतिमा यस्ता व्यवहारिक सवालहरूले पनि सिद्वान्तको औचित्यताको माग गर्दछ भन्ने कुरालाई समुचित ध्यान दिनु पर्दछ ।   

चीनमा कमरेड माओत्सेतुङले नौलो जनवादी क्रान्तिको विचार प्रतिपादन गरेका बेला माक्र्सवाद सफलताको शिखरमा थियो । त्यसबेला चिनियाँ क्रान्तिको मोडलका बारेमा मात्रै बिरोध या समर्थन हुने गथ्र्यो र माक्र्सवादमाथि नै असान्दर्भिकताको प्रश्न खडा भएको थिएन । तर कमरेड मदन भण्डारीले जवजको प्रतिपादन गर्दा कुनै देशको क्रान्तिको सामान्य मोडलका बारेमा मात्रै बिरोध या समर्थनको कुरा थिएन, सिङ्गो माक्र्सवादमाथि नै असान्दर्भिकताको प्रश्न खडा भएको थियो । माक्र्सवाद नमान्नेहरूले मात्रै होइन, माक्र्सवाद मान्नेहरूले पनि यसलाई असान्दर्भिक भएको निष्कर्ष निकाल्न पुगेका थिए । यस्तो कठिन बेलामा जवजको प्रतिपादनले क्रान्तिकारी क्याम्पमा आशावाद जगाउने र प्रतिक्रियावादी क्याम्पमा निराशा र संशय पैदा गर्ने काम गरेको थियो । त्यसैले नेपालमा कार्लमाक्र्स जिवित छन् भन्ने निश्कर्षमा पूँजीवादीहरू पुगेका थिए । माक्र्सवादको सदर्भमाथि नै प्रश्न उठ्दा त्यसको सैद्वान्तिक, वैचारिक, दार्शनिक र राजनीतिक कोणबाट सटिक जवाफ दिएर माक्र्सवादको रक्षा, प्रयोग र बिकासका लागि योगदान पुर्याउने जवज, नेपाली क्रान्तिले राजनीतिक अधिकार प्राप्तिको चरण पूरा गर्नसाथ यसको सान्दर्भिकता समाप्त हुन सक्दैन । 
(लेखक नेकपा एमाले केन्द्रीय सदस्य एवं पार्टी स्कूूल विभाग सचिव हुन्)