नवराज सिलवाल 

न्याय प्रप्तिका लागि गरिएको ७ महिना लामो कानूनी लडाईंको आज अन्त भएको छ । मेरो लडाईं स्थिर र निष्पक्ष प्रहरी प्रशासनको अवधारणाको लागि थियो । असल शासन ब्यबस्थाको लागि थियो । यो लडार्इं प्रहरी संगठन उपर हुने राजनैतिक हस्तक्षेप र स्वेच्छाचारितालाई दुरुत्साहन गर्नको लागि थियो । अन्यायमाथि न्यायको बिजयका लागि थियो । 
 
यो व्यवसायिक हक हितका लागि लडिएको न्यायको लडार्ईं थियो । यसलाई विशुद्ध व्यावसायिक र न्यायिक हकको क्षेत्रमा मात्र सिमित गरिनुपर्नेमा विषयान्तर गर्ने कोसिसहरु भए र म मुक दर्शकको रुममा पीडावोध गरिरहेँ । एउटा सिपाहीको लागि सत्तामा वस्नेले दिएको कानुन वमोजिम आदेशको पालना गर्नुको विकल्प हुँदैन । त्यो उसको धर्म पनि हो । त्यो आदेश दिने जोसुकै होस् उसको लागि कानुनको अख्तियारी मात्र महत्वको हुन्छ । उ कुन दलको हो भन्ने थप खोजविन गर्नु आवश्यक हँुदैन । नेपालको राजनीतिक परिदृस्यमा लगभग सवैले आलोपालो गरेकै हुन् । प्रहरीले सत्तामा रहेकाको कानुन वमोजिमको आदेश पालना गर्दछ । प्रहरीले कुन राजनीतिक दल भनी नगरेजस्तै आज्ञापलान गर्ने प्रहरीसँग कुन दल निकटत छ वा छैन भनि हेर्न वा त्यस्तो आधारमा व्यावसायिक उन्नति र अवसर गर्न दिने वा नदिने भन्ने कुराको आधार तयार गर्नु पनि मनासिव हुँदैन । एउटा सिपाहीको लागि राजनीतिको सर्वोकृष्ट अभिव्यक्ति भनेको कानुन नै हो । राजनीतिक प्रक्रियावाट वनेको कानून वमोजिम काम हुन्छ भने राजनीतिक निर्णयको पालना भनेको त्यहि नै हो । सो देखि वाहेक व्यक्ति पिच्छेको अकांक्षा स्वार्थ वा दम्भको सिकार प्रहरीलाई वनाउन सकिंदैन । प्रहरीमाथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानुनी राज्य स्थापित हुन सक्दैन । कानुनलाई नै वायाँ हातको खेल वनाउनेहरुवाट प्रजातन्त्र सुरक्षित हुन सक्दैन । प्रहरीको स्वाभिमान गुमाउने षडयन्त्रहरु सफल भैरह्यो भने समाज सुरक्षित र मर्यादित रहन सक्दैन । प्रहरी संगठन वा प्रहरी अनुशासनमाथि वलात कुनै दुस्प्रयास हुन्छ भने प्रजातन्त्रको अस्मिता प्रथम दृष्टिमा लुटिएको हुन्छ । राजनीतिक दल  र निर्वाचन जस्ता प्रक्रियाहरु मात्र प्रजातन्त्र टिकाउने आधारहरु हुँदैनन्, कानुन र कानुनको पहरेदार प्रहरी संगठन जस्ता राज्यका अंगहरु पनि प्रजातन्त्रका आधारभूत सर्तहरु हुन्छन् । त्यसैले प्रहरी संगठनलाई जसरी चलाए पनि हुन्छ भन्ने सोच जुन अहिले हुर्किंदै गएको छ, त्यो नै हाम्रो प्रजातन्त्रको लागि कलंक होला भन्ने गम्भिर चिन्ता लागेको छ । प्रहरी संगठनको विरुद्ध विभिन्न किसिमवाट हस्तक्षेप हुने र त्यसैको एउटा रुप मेरो सम्वन्धमा घटित भएको छ । जतिसुकै ठूला मान्छे वा शक्तिसाली वा लोकप्रिय किन नहुन् प्रहरीको सम्वन्धमा कानुन संगत व्यवसायिक र संयमित रहनु पर्ने हुन्छ । यस्ता मूल्यमान्यताहरु स्थापना गर्ने कोसिस गर्दा गर्दै स्वयं म र मेरो प्रयास यसको शिकार हुन पुगेको महसुस गरेको छु । म यो क्षणमा पनि फेरि यस्तो दुस्साहस कहिल्यै नहोस् मेरो नियति फेरि कहिल्यै कसैले भोग्न नपरोस् र प्रहरी संगठनको स्वाभिमान पहाड जस्तो सुदृढ रहोस् भन्ने कामना गर्दछु ।

मैले मेरो जीबनको लामो उर्जावान समय मुलुकको एक सच्चा सिपाहीको हैसियतमा यो सम्मानजनक सेवामा बिताएँ । यस दौरान मैले अन्यायमा परेकाहरुलाई न्याय दिलाउन र पीडामा परेकाहरुलाई मलहम लगाउने जिम्मेवारी निर्वाह गरेकोे छु । प्रणालीको विकासमा समय खर्चेको छु । कानुनको शासन लागू गर्न मेहनत गरेको छु । अन्याय र अत्याचारको बिरुद्ध राज्यले गर्नु पर्ने जिम्मेवारीका उदाहरणहरु प्रस्तुत गर्ने प्रयास गरेकोे छु । मैले हरेक कठिन समयहरुमा स्वदेश र विदेशमा वसेर गरेका कामहरुले मानिसहरुको मन सिंचित गरेको छ र त्यो आत्मसन्तोष मलाई सधैं प्राप्त छ । म नेपाल प्रहरीका अनुशासित, कर्मठ सदस्यहरु लगायत समस्त देशभक्त न्याय प्रेमीहरुलाई आग्रह गर्दछु कि नेपाल प्रहरी केवल राजनीतिक दाउपेचको विषय नबनोस् । प्रहरी संगठन राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सकेमा मात्र त्यसले कानूनको पालना गराउनका साथै सामाजिक न्याय स्थापित गर्न सक्दछ । प्रहरी सगठनको साख पनि यसैसँग जोडिएको छ । हस्तक्षेप रहित ढंगले कार्य गर्न पाए मात्र कानुनी राज्य स्थापित हुन्छ र दीर्घकालीन क्षतिवाट जोगाउन सकिन्छ । म नेपाल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानहरुलाई किञ्चित पनि बिचलित नभै प्रहरीको व्यावसायिकताको संवद्र्धनमा लाग्न अनुरोध गर्दछु । प्रहरी हुनुका आधारभूत मान्यताहरूलाई जोगाएर राख्न सकिएन भने हाम्रो समाज सुरक्षित रहने छैन । झट्ट हेर्दा इतिहासको कुनै कालखण्डमा सत्यको पराजय भएको जस्तो देखियता पनि इतिहासले त्यसको मुल्याङकन गर्ने नै हुँदा म सबै साथीहरुलाई निरास नभई मुलुक प्रतिको जिम्मेवारीमा लागिरहन सल्लाह दिन चाहन्छु र यस घटनाको समुचित समीक्षा गर्ने जिम्मा इतिहासलाई नैं छोडिदिनु उचित ठान्छु ।
                   
भोलि म जुनसुकै भूमिकामा रहे पनि नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिकामा रहने छु । यस उद्धयेस्यमा म प्रहरी नेतृत्वलाई समेत सहयोग गरिरहनेछु । इमान्दार, अनुशासित र कर्तब्यनिष्ठ भएर कार्य गर्दा पनि अन्यायमा परिने जोखिम हुँदो रहेछ भनेर नेपाल प्रहरीका सकल दर्जा हतोत्साहित नबनून् । एक जना कर्तब्यपरायण सिपाहीमाथि बदनियत राख्दा शासक वर्गहरुको पनि निद हराम हुँदो रहेछ र उनीहरु जनताबाट दण्डित हुनु पर्दो रहेछ । प्रजातान्त्रिक मूल्य मान्यता र कानूनको शासनको उपहास गरी शासन ब्यबस्था सञ्चालन गर्न लालायित अप्रजातान्त्रिक चरित्रहरु दण्डित हुनु भनेको पनि म जस्तो पीडित पुरस्कृत हुनु सरह नैं हो भन्ने अर्थमा वुझ्दा अझ सहज हुन्छ । यो लामो न्यायिक लडाईको दौरानमा हुन गएको समयको वर्वादी, साधन स्रोतको क्षति, न्यायालयमाथिको राजनैतिक आक्रमणबाट न्यायप्रेमी हरुमा पर्न गएको आघात दुःखद छन् । स्थापित मूल्य मान्यतामाथि धावा बोल्ने र कानुनको शासनमा विश्वास गर्न नसक्ने अप्रजातान्त्रिक चरीत्रका शासकहरुको शिकार कोहि पनि देशभक्त नेपालीले हुनु नपरोस् । ईश्वरसँग मेरो प्रार्थना छ, यस्तो नियति अरु कुनै पनि नेपालीले भोग्नु नपरोस् । नेपालका भावी पुस्ताले त झन् यस्तो नियतिको कल्पनासम्म पनि गर्नु नपरोस् । न्याय प्राप्तिका खातिर यो कठिन र लामो लडाइको दौरानमा मलाई साथ दिनु हुने न्यायप्रेमी देश भित्र र वाहिरका सम्पूर्ण दाजुभाइ दिदी वहिनीहरु, पत्रकार मित्रहरु, स्वयमसेवकको रुपमा वहस पैरवी गरी सहयोग गर्नुु हुुने कानुुन व्यवसायीहरु, राष्ट्रिय जीवनका विविध तप्काका महिला र सज्जनहरु र प्रहरी संगठन भित्रका सम्पूर्ण अधिकृत तथा जवान साथीहरु प्रति तपाईंहरुको सहयोग, सद्भाव र सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मुलुकका लागि इमान्दारिता पूर्वक काम गर्नुको गौरव जीवनको सवैभन्दा मूल्यवान पदवी भएको मेरो अनुभवले मलाई सिकाएको छ । जसरी पनि पद हासिल गर्ने र आफ्नो स्वभिमानलाई गिराउन तयार हुने परिपाटीको अन्त गर्ने तर्फको मेरो लडाईंले आउँदा दिनहरुका लागि एउटा वाटो कोरेको मैले महसुस गरेको छु । वाँकी आन्तरिक षडयन्त्रका अपत्यारिला कडीहरुको विवरण म इतिहासको जिम्मामा छोड्न चाहन्छु । मैले जीवनभर पहिला आफैं कानूनको परिपालना गर्न र अरुलाई कानून परिपालना गराउनमा लगाएको छु । मेरो आत्मसम्मानलाई प्रहार गर्ने ढंगले कसैले मेरो कर्तव्य परायणतामा प्रहार गर्दा आफ्नो आत्मालाई सोधोस् । मलाई हराउन वा निचा देखाउन हर तरहले लागेकाहरुले पनि जीतको अनुभूति गर्न सकेका त छैनन् नै । 
 
अन्तमा, आज म अन्यायमा पर्दा पनि संयमित छु ।  फगत म प्रहरी संगठनको महानिरीक्षक हुन सकिनँ तापनि सम्पूर्ण देशवासी र समस्त प्रहरीहरुले देखाएको सदभाव र मायाले मलाई त्यो भन्दा उच्च कोटीमा राखेको महसुस गरेको छु । म निबृत्त भए पनि मेरो प्रहरी मन कहिल्यै निबृत्त हुनेछैन । जनताका सवै सुखदुखका प्रहरहरुमा म सधैं सँगै रहनेछु । नेपाली जनताको निःशान्त जुन सुभेक्षा र सद्भाव यो सम्पूर्ण प्रक्रियामा जसरी निरन्तर प्राप्त गरिरहेँ त्यसको लागि नेपाली जनतालाई नमन गर्दै कृतज्ञता व्यक्त गर्दछु । आउँदा दिनमा मुलुकको एउटा योग्य नागरिकका रुपमा सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर क्रियाशील रहने छु । अन्यायमा पर्दा जीवन कस्तो पीडादायक हुँदोरहेछ भन्ने अनुभुतिको आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकहरुको एउटा सशक्त आवाज वन्ने कोसिस गर्नेछु । आजैका मितिदेखि नेपाल प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दछु । धन्यवाद ! जय नेपाल ।

( डीआइजी नवराज सिलवालले प्रहरी सेवाबाट राजीनामा दिंदै प्रहरी संगठन र आम समुदायलाई सम्बोधन सहित गरेको अपिलको अंश)