रामबहादुर जीसी

जुनसुकै तह वा निकायका चुनावमा गठबन्धनको भर पर्नु परेपछि यतिबेला संसदमा सबै भन्दा ठूलो दलका रुपमा रहेको नेपाली कांग्रेसका बारेमा बौद्धिक विमर्श हुन थालेको छ– ‘के कांग्रेस अब टेको नलगाई अडिन नसक्ने भयो ?’ सिमित वौद्धिक वर्ग मात्र होइन, आफ्नो दैनिकीमा ब्स्त ग्रामीण समाजमा पनि यो बहस पुगेको छ, खासगरी स्थानीय तहमा एमाले विरुद्ध महा गठबन्धन बनाएर नेपाली कांग्रेस प्रतिस्पर्धामा उत्रिएपछि । 

वैचारिक निष्ठाले त हुँदै होइन, भूराजनीतिक स्वार्थले डेढ दशक अघि मात्र कांग्रेसका वर्तमान सभापति तथा त्यसबेलाका र यसबेलाका पनि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको मुख्य आदेश थियो–माओवादीका नेताको टाउको ल्याउ, झोलाभरी पैसा लैजाउ । अहिले शेरबहादुर देउवाका अभिन्न सहयात्री पुष्पकमल दाहालको घोषणा थियो– आफ्नै टाउकोमा राँको झोसेर भए पनि प्रतिक्रियावादी राज्यसत्ता ध्वस्त पार । प्रतिक्रियावाद उही चरित्रमा छ, माओवादीले उसबेला भन्नेगरेको भारतीय विस्तारवाद प्रत्यक्ष हस्तक्षेपका लागि पुष्पकमललाई नै मुख्य हतियार बनाएर शेरबहादुर पथमा हिंडाइरहेको छ । भारतीय विदेशमन्त्री यसो नेपाल छिरेर भन्छिन्– हे शेरबहादुर, हे प्रचण्ड तिम्रो जोडी खुब जमेको छ, यो जोडी नफुटोस् है । यही जोडीलाई हिजो फरक कित्तामा उभ्याएर १० वर्षे लडाईंमा होम्ने त्यही मियो, अहिले यही जोडीलाई अर्काे विध्वंशका लागि एकै ठाउँमा हलगोरु झैं नारेर जोतिरहेको छ । अव त, यो जोडी निर्वाचनमा एउटै पार्टीका दुई गुटजस्तो ६०÷४० को भागवण्डा मिलाएर देशभक्त विरुद्ध मोर्चा कस्दैछ । 

नेपाली कांग्रेसले सत्ता सञ्चालन गर्न सक्दैन भन्ने कुरा उसले पटक पटक पाएको दुईतिहाई र बहुमतीय सरकारलाई आफैं ढालेबाट पनि पुष्टि हुन्छ । कांग्रेस पटक पटक आफूले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको दावी गर्छ तर, उसले पटक पटक प्रजातन्त्र दरवारमा बुझाएको पाटो छोप्न खोज्छ । इतिहासको स्वतन्त्र मुल्यांकन गर्दा ०७ सालको आन्दोलन भन्दा यता कुनै पनि आन्दोलन कांग्रेसको नेतृत्वमा भएको पाइंदैन । त्यसयता कांग्रेसले के गर्यो त भन्दा पटक पटक बहुमत लियो र प्रजातन्त्र दरवारमा बुझायो । प्रजातन्त्रका लागि बामपन्थीहरुले संघर्षको जग खडा गरेपछि त्यसैमा मिसियो र मैले नेतृत्व गरेको भन्यो । २०१५ सालमा दुई तिहाई जनमत पाएको कांग्रेसले सत्ता धान्न नसकेरै पञ्चायत फर्केको हो । कम्युनिष्ट पार्टीका ४ जना मात्रै सांसद निर्वाचित भएका थिए त्यतिबेला । जब वामपन्थीहरुको आन्दोलनमा साथ दियो कांग्रेसले, तव प्रजातन्त्र आयो । जनताले फेरि २०४८ सालको आम निर्वाचनमा कांग्रेसलाई बहुमत सहितको पहिलो दल बनाइ दिए । जनताले अभिमत त दिए, तर कांग्रेसले पञ्चायतको पेलाईबाट जनतामा पर्न गएको असरलाई बुझ्न सकेन । नयाँ एउटा पनि कार्यक्रम ल्याउन सकेन । सत्ता स्वार्थका कारण उनीहरु एक आपसमै लड्न थाले । ३ वर्ष पुग्दा आफ्नो पार्टीको आन्तरिक विवादका कारण कांग्रेसले मध्यावधी निर्वाचन गरायो ।   

२०४८ को निर्वाचनमा ६९ सिट जितेर नेकपा एमाले दोस्रो शक्ति बनेको थियो । २०५१ को मध्यावधी निर्वाचनमा एमाले अल्पमतकै भए पनि संसदको ठूलो दल बन्यो । संसदको ठूलो दलका हिसावले नेकपा एमालेले सरकार बनाउने अवसर पायो । एमालेले जम्मा ९ महिना मात्रै सरकारको नेतृत्व गरे पनि देश र जनताका लागि एउटा नयाँ अभियान थाल्यो । आज गाउँ गाउँमा सडक विस्तार भएको छ, सञ्चार पुगेको छ, विद्युत पुगेको छ, यसको जग एमालेको त्यही नौ महिने सरकार थियो । आफ्नो गाउँ आफै बनाऔं कार्यक्रम, सामाजिक सुरक्षा भत्ता लगायतका लोकप्रिय कार्यक्रम ल्याएपछि कांग्रेसले त्यो सहन सकेन र सरकार ढाल्ने खेल खेल्यो । राम्रो कामको शुरुवात भएकै समयमा कांग्रेसले जुन ढंगले सरकार ढाल्यो त्यही फोहोरी जगबाट माओवादी हिंसाको उदय भयो । माओवादी हिंसा नेपालको अस्तित्वलाई नामेट पार्न भूराजनीतिले खडा गरेको थियो र त्यसलाई जमीनमा रोपेर मलजल गर्ने काम कांग्रेसको कुशासनले गरेको थियो । 
२०५१ को एमाले सरकार ढलेपछि देशमा कस्ता प्रकारका सरकार बने, कसरी सत्ता सञ्चालन भयो धेरै व्याख्या गर्नै पर्दैन । संसदीय ब्यवस्थाको इतिहासमा सबैभन्दा घिनलाग्दो र डरलाग्दो त्यो कालखण्डको नेतृत्व शेरबहादुरले नै गरे । त्यसले कांग्रेसको साख कमजोर भएपछि फेरि २०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईको नाम बेचियो र भट्टराईका नाममा कांग्रेसले बहुमत ल्यायो । तर, भट्टराईलाई एकवर्ष पनि प्रधानमन्त्री हुन नदिई कांग्रेसले नै उनको सरकार ढाल्यो, रुवाउँदै बाहिर निकाल्यो । त्यसपछि क्रमश गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री भए । 

त्यसपछि पुन सत्तामा उदाएका देउवाले कसरी प्रजातन्त्र दरवारमा बुझाए भनिरहनु पर्दैन । उनले स्थानीय निकाय भंग गरेर कर्मचारीलाई शासन सञ्चालनको जिम्मेवारी दिए, संसद भंग गरेर राजालाई प्रत्यक्ष सत्तामा आउने वातावरण मिलाए । त्यसरी खोसिएको प्रजातन्त्र फेरि बामपन्थीसँग मिलेर संघर्ष गरेपछि  ०६३ को आन्दोलनबाट फर्कियो । तर, बामपन्थीलाई आपसमा लडाउन चुनावविना नै एमाले वरावरको हैसियत दिएर माओवादीलाई संसदमा छिरायो । माओवादी कसका लागि काम गथ्र्याे, त्यो समयक्रमले खुलिसकेकै छ । ०६३ को परिवर्तनपछि दोस्रो संविधानसभा कालमा कांग्रेस सभापति सुशील कोइरालालाई सरकारमा सहयोग गरेर संविधान निर्माणको वातावरण बनाउन एमालेले मुख्य भूमिका खेल्यो । तर, संविधान जारी गर्न पनि आलटाल गर्ने र जारी गरेको जस पनि आफूले लिने खेलमा कांग्रेस सामेल भयो । जव संविधान जारी भयो तव संविधान विरोधीको कित्तामा कांग्रेस उभिन पुग्यो । संविधान जारी गर्न र त्यसको कार्यान्वयन गर्न नेतृत्वदायी भूमिका खेलेका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता चुलियो । संविधान विरुद्ध छिमेकी शक्तिराष्ट्रले आयोजना गरेको खेलमा कांग्रेस सामेल भयो, छिमेकी भारतले संविधान जारी गरेको विरुद्ध लगाएको नाकाबन्दी सामना गरेर ओली सरकारले आफ्नो देशका लागि आवश्यक अन्य बैकल्पिक पारवहनका ढोका पनि खोले । यसबाट कांग्रेस झनै रक्षात्मक हुँदै गयो । 

यतिबेला कांग्रेसका इमान्दार कार्यकर्ता जो हिजो कांग्रेस भएकै कारण माओवादीले गाउँबाट लखेटे, सुराकीको आरोपमा कुटिए, पिटिए उनीहरु कांग्रेसको भूमिकासँग सन्तुष्ट छैनन् । मारिएकाहरुका परिवार पनि कांग्रेस नेतृत्वसँग सन्तुष्ट छैनन् । कांग्रेसको आधा भन्दा बढी हिस्सा वर्तमान सभापतिको कार्यशैलीबाट सन्तुष्ट छैन । तर, नेतृत्वको गलत दिशा विरुद्ध बोल्न सकिरहेका छैनन् । यसले अहिले तत्कालका लागि भन्दा पनि दीर्घकालका लागि शेरबहादुर देउवा र स्वयं कांग्रेसलाई क्षति गर्छ भन्ने कांग्रेसीहरु धेरै छन् ।   

इतिहासका आधारमा विश्लेषण गर्दा कांग्रेस लोकतन्त्रका लागि लडेको पार्टी हो । तर, यस पार्टीको वर्तमान भूमिका लोकतन्त्रका विरुद्ध छ । लोकतन्त्रलाई मौखिक प्रतिवद्धताको विषय बनाएर प्रदर्शन गर्ने र राज्ययन्त्रलाई लूटको अवसरका रुपमा लिने, लोकतान्त्रिक मुल्यसँग विमति राख्ने शक्तिको साथ लिएर लोकतान्त्रिक राज्यको संगठन संरचनामाथि आक्रमण गर्ने काम कांग्रेसले शेरबहादुरको कार्यकालमा गर्न थाल्यो । प्रधानन्यायाधीशमाथिको महाभियोग, आइजीपी काण्ड, अदालतमा हुँदै आएका सेटिङ र न्याय प्रणालीमा अहिले देखिएका नकारात्मक नतिजा त्यसका उदाहरण हुन् । अव त हुँदा हुँदा कांग्रेसका लागि छिमेकी देशले चुनावी मोर्चा बनाइदिने र त्यसमार्फत आफूले नेपाललाई नियन्त्रणमा राख्ने योजना सार्वजनिक हुन थालेका छन् । यस्तो अवस्थामा कांग्रेसलाई नेपाली हुँ भन्ने हरेक नागरिकले कसरी समर्थन गर्न सक्छ ? 

स्थानीय तहको पहिलो चरणको निर्वाचन सके लगत्तै कांग्रेस सभापति देउवा प्रधानमन्त्री भए । स्थानीय तह निर्वाचनमा सरकारको नेतृत्वमा रहेको पार्टीले विपक्षी दललाई पराजित गर्न बाँकी सबै दलसँग सहकार्य गर्नुपर्यो  । पहिलो र तेस्रो दल मिल्दा पनि धेरै ठाउँमा निर्वाचनको परिणाम कांग्रेसको पक्षमा आएन । चितवनमा जालझेल गरेरै भए पनि चित्त बुझाउने बाटो बनेको छ । यो वीचमा नेपाल पत्रकार महासंघको निर्वाचन लगायत धेरै निर्वाचनमा एमालेलाई सिध्याउन भन्दै संसदको पहिलो र तेस्रो दल मात्रै होइन, अन्य साना दलहरुको समेत गठजोड बनाएर निर्वाचनमा गए । यसले के देखाउँछ भने नेपाली कांग्रेस अब एक्लै नेकपा एमालेसँग भिड्न सक्ने हैसियतमा छैन । एमालेले जनताका बीचमा गरेका लोकप्रिय कार्यक्रम, राष्ट्रियता र राष्ट्रिय आत्मनिर्भरताका पक्षमा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले लिएको अडानका कारण कांग्रेस विपक्षी विरुद्ध मुद्दाहीन अवस्थामा छ । 

एमालेलाई रोक्न कांग्रेस– माओवादी गठबन्धन जति कसिंदै जान्छ, जनतामा एमालेको विश्वास र पकड त्यति नै बलियो बन्दै गइरहेको छ । भारतमा भारतीय जनता पार्टी र मोदी जसरी उदाउँदै गएका छन् नेपालमा नेकपा एमाले र ओली त्यसैगरी उदाउँदै गएका छन् । यसमा सहयोगी भूमिका कांग्रेसले खेलेको छ । संसदको पहिलो दल अरु सबै दलसँग मिलेर दोस्रो दललाई सिध्याउने भन्दै घोषणा गरेरै अगाडि बढेपछि यस्तो हुनु स्वाभाविक हो । 
स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचनबाट एमाले पहिलो शक्ति बनिसकेको छ । अब तेस्रो चरण हुँदै छ । एमालेलाई रोक्ने रणनीति अन्तर्गत नै उहिल्यै एकै चरणमा हुने चुनावलाई तीन चरणमा बाँडेर ६ महिनासम्म लम्याइएको हो । तर, पनि एमालेको केही सिट घटाउन बाहेक एमालेलाई दोस्रो स्थानमा झार्न भने कांग्रेस–माओवादीको भारतीय गठबन्धनले सकेन । 
    
२ नं. प्रदेशको स्थानीय तह निर्वाचनमा पनि एमाले पहिलो बन्ने निश्चित प्राय देखिंदै छ । किनकी नैतिक रुपमा सत्तारुढ दलहरु पराजित भैसकेका छन् । यसको पुष्टि उनीहरुले सकेसम्मका सबै दलहरुबीच कार्यगत एकता गरेर चुनावमा जान चाहन्छन् भन्ने कुराले गर्दछ । प्रमुख दल यसरी साना दलको टेको लगाउदै निर्वाचनमा जाने कुराले एमालेजनलाई उत्साहित बनाएको छ । सत्तारुढ दलहरुमा सत्ताको उन्माद मात्रै देखिन्छ, सत्ता कसरी जोगाउने भन्ने ध्याउन्न मात्र देखिन्छ । तर संसदको प्रमुख विपक्षी तर देशको पहिलो पार्टी एमाले सत्ता निर्वाचनकै माध्यमबाट हात पार्ने अभियानका साथ अगाडि बढिरहेको यथार्थबाट पनि अबको निर्वाचनमा एमाले पहिलो दल बन्ने पक्का छ । 

कांग्रेस इतिहासमै यस पटक अत्यन्तै कष्टकर अवस्थामा छ, संसदको पहिलो दल, सत्ताको नेतृत्व गरेको दल यसरी विक्षिप्त हुने अवस्थामा पुग्नुले आम कांग्रेसीजनहरुमा निराशा पलाएको छ । उनीहरु देउवाले कांग्रेस सिध्याउने भए भनेर चिन्तित छन् । कांग्रेस नेतृ सुजाता कोइरालाले त निर्वाचनपछि नेतृत्वको भण्डाफोर गर्ने उद्घोष गरिसकेकी छिन् । 

कमजोर व्यक्तिले टेकोको साहरा लिने हो । बुढाबुढी भएपछि मानिसले लौरोको साहरा लिन्छ । यतिबेला कांग्रेस कमजोर छ भन्ने कुरा माओवादी र राजपासँगको चुनावी तालमेल त्यसमा पनि सभापतिले नै ६०÷४० को प्रस्ताव गरेबाट पुष्टि हुन्छ । एक्लै भिड्ने दम कांग्रेसमा छैन । एक पटक कांग्रेस भित्र ठूलै छलफलको विषय बन्ने देखिन्छ । 

लोकतन्त्रको संस्थागत विकासका लागि दलहरु बलियो बन्न जरुरी छ । दलहरु कमजोर हुँदा निर्दलीय शासकहरु अगाडि आउँछन् भन्ने कुरा हामीले देखिसकेका छौं । कांग्रेस बलियो बनाउन टेकोको होइन, उसले लिने नीतिगत निर्णयको खोट सच्याउनु जरुरी छ । 
(लेखक नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य हुन्)