नेपालको संबिधान २०७२ अनुरुप देशमा संघीय प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको निर्वाचन गर्ने संघारमा हामी आईपुगका छौं । अबको १ महिना

सोम खनाल  

भित्रैमा देशमा प्रतिनिधिसभाका २७५ (प्रत्यक्ष १६५ र समानुपातिक ११०) जना र विभिन्न प्रदेश सभाका ५५० (प्रत्यक्ष ३३० र समानुपातिक २२०) सदस्यहरू निर्वाचित भइसकेका हुनेछन् । त्यसैले अहिले चुनाबमा कुन पक्षलाई केका लागि भोट दिने भन्ने बारेमा बिभिन्न बहसहरू भइरहेका छन् ।

२०४६ सालमा बहुदलीय ब्यवस्थाको स्थापना पश्चात नेपाली जनताले चुनेका दल र तिनका प्रतिनिधिहरूले जन–अपेक्षा अनुरुप काम गरी देशलाई उन्नति–प्रगतिको बाटोतर्फ डोर्याउलान् भन्ने आम अपेक्षा थियो । तर, चूनाब जितिसकेपछि आ–आफ्नै दलीय र गुटगत स्वार्थमा रुमलिन पुगेका दल र तिनका प्रतिनिधिहरूले जनअपेक्षाको कदर गर्नु त परै जाओस्, देशको स्वार्थ भन्दा बढि दलीय र ब्यक्तिगत स्वार्थलाई महत्व दिनपुगे र देश दीर्घकालीन अस्थिरताको भूमरीमा धकेलियो । 

पञ्चायतको अन्त्यपछि नेपाली कांग्रेसले २०४८ र २०५६ सालमा गरि दुईपल्ट स्पष्ट बहुमतका साथ सरकार बनायो । तर दुवै अवसरहरूमा कांग्रेस देशप्रति गम्भीर हुन सकेन, बहुमतको सदुपयोग गर्न सकेन । फलतः कांग्रेस नेतृत्वका सरकारहरू कांग्रेसले नै गिराउन पुग्यो । बीचमा बनेको मनमोहन अधिकारी नेतृत्वको ९ महिनाको सरकारले छोटो कार्यकालमा जनतामा दीर्घकालीन छाप छाड्नेगरि जनकल्याणकारी र जनसहभागितात्मक बिकासका कार्यक्रमहरू ल्याउन सफल त भयो, तर त्यसबाट अताल्लिएको नेपाली कांग्रेसले तत्कालीन दरबार र भारतीय शक्तिहरू समेतको इसारामा त्यस्तो लोकप्रिय  सरकारलाई ९ महिना भन्दा बढी टिक्न दिएन । यसरी आफू पनि जनअपेक्षा अनुरुप काम गर्न नसक्ने र गर्न खोज्ने अरूलाई पनि टिक्न नदिने कांग्रेसको रबैयाले राजनैतिक अस्थिरता मात्रै सिर्जना गर्यो । त्यस्तो राजनैतिक अस्थिरताले समाजमा असन्तोष बढ्यो, र त्यही असन्तोषको मलजलमा १७००० जनताको ज्यान जाने गरि हिंसात्मक आन्दोलन भयो । हिसात्मक आन्दोलले जनतामा ल्याएको बिभाजनबाट फाइदा लिइ निरंकुशता लाद्न खोज्दा राजतन्त्रको समेत अन्त्य हुन पुग्यो । 

यसरी देशमा अप्रत्यक्ष रुपमा अस्थिरताको खेती गर्ने एउटा देशभित्रको (दरबारीया) शक्ति त सकियो । तर नेपालमा अस्थिरता कायम राख्नसके त्यसबाट अनेकन रणनैतिक फाइदाहरू लिन सकिन्छ भनेर भारतले नग्न हत्कण्डाहरू अपनाईरहेको कुरा कसैबाट छिपेको छैन । र नेपाली कांग्रेस भारतका त्यस्ता षडयन्त्रकारी हतकण्डाहरूको भरीया बनेर हिंडिरहेको पनि जगजाहेर नै छ । यसरी नेपालमा अस्थिरता कायम राख्न कम्मर कसेर लागेका दुईवटा शक्ति अहिले बाँकी छन्– एउटा भारत र अर्को नेपाली कांग्रेस । त्यसैले यो चूनाबले नेपालमा अस्थिरता चाहने यी दुई शक्तिहरूलाई ठेगान लगाउन सक्छ कि सक्दैन भन्ने कुराले धेरै हदसम्म अबको नेपालको भबिष्य निर्धारण गर्नेछ ।  

२०४६ साल पश्चात हालसम्मको करिब २८ वर्षको बीचमा देशमा २६ पल्ट सरकार फेरिएछन् । एउटा सरकार करिब १ बर्ष भन्दा बढी चलेनछ । यस्तो चरम अस्थिरताले सिर्जना गर्ने भनेकै बिसंगति हो । अस्थिरताको अन्त्य नगरुन्जेल  बिसंगति मौलाइरहन्छ, र बिसंगतिको अन्त्य नगरुन्जेल विकास हुन सक्दैन । त्यसैले नेपालको विकासको सबैभन्दा ठूलो बाधक नै अस्थिरता हो भन्दा फरक पर्दैन । 

यो निर्वाचनले अस्थिरतालाई उन्मुलन गर्ने ताकत आफूमा छ भन्ने कुराको पुष्टि गर्न नेपाली जनतालाई ठूलो अवसर दिएको छ । जनताले यो अवसरलाई सदुपयोग गर्न सक्दा मात्र देशले विकासको बाटोमा फड्को मार्ने आशा गर्न सकिन्छ ।

अहिलेको चुनाबमा नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका दुई गठबन्धन प्रतिस्पर्धामा छन् । बहुदल आएदेखिका हरेक अवधीमा कांग्रेसले देशमा अस्थिरतालाई मात्रै प्रश्रय दियो । संविधान बनाए पश्चात् देखाएका ब्यबहार हेर्दा त झन् नेपाली कांग्रेस हो कि भारतीय कांग्रेस हो छुट्याउन समेत मुस्किल छ । भारतको हतियार बनेर कांग्रेसले यो बीचमा जे जे गर्यो, त्यसले इतिहासबाट प्राप्त बचेखुचेको आफ्नै साख र इज्जतमा समेत कलंकको कालो पोत्यो । त्यो कलंकको कालो टीका कांग्रेसको निधारबाट हत्तपत्त मेटिन मुस्किलै छ । 

अहिले कांग्रेसको राजनीति हरेक कोणवाट भारतले नियन्त्रण गरेको देखिन्छ । कांग्रेसमा रहेका तुलनात्मक रुपमा इमान्दार धनराज गुरुङहरू टेलिभिजनको पर्दामा त्यतिकै धरधरी रोएका होइनन् । त्यसैले कांग्रेसको नेतृत्वको गठबन्धनलाई सत्तामा पुर्याउनु भनेको परोक्ष रुपमा भारतलाई सत्तामा पुर्याउनु हो, अस्थिरतालाई निरन्तरता दिनु हो, र देशको दुर्भाग्यलाई निमन्त्रणा गर्नु हो ।

अर्को तर्फ केपी ओली र एमालेले नेतृत्व गरेको बाम गठबन्धन ५ बर्ष टिक्ने सरकार बनाउने दृढताका साथ मैदानमा आएको छ । केपी ओलीले जम्मा जम्मी ९ महिना सरकारको नेतृत्व गर्दा भारतीय नाकाबन्दीको बिरुद्धमा नेपालीहरूलाई एकजुटमात्र बनाएनन्, चीनसँग दीर्घकालीन सम्झौता गरेर नेपालमाथि भारतीय शासकहरूको ब्लाकमेलिङ गर्ने हैसियत माथि कठोर प्रहार पनि गरिदिए । नेपालले पटक पटक भोगेका नाकाबन्दीमा अनुभुत गरिएको आवश्यकता भनेकै चीनसँग नेपालको पाराबहन सन्धी थियो । त्यो सन्धी गर्ने आँट ओलीले देखाए । उनको सरकार केही महिना टिकेको भए विश्वकै सर्बसक्तिमान नेता चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्ने थिए, र सो भ्रमणका दौरान नेपाल–चीन सहकार्यका अनेक पाटाहरू ब्यबहारमा उत्रने थिए । भारतप्रति नेपालको परनिर्भरता तोडिने थियो । त्यही देखेरै भारतीय योजनाका साथ ओलीलाई रातारात सत्ताबाट हटाईयो । त्यसका लागि नेपाली कांग्रेस र माओवादी केन्द्र हतियार र मतियारको रुपमा प्रयोग भए ।  

त्यस घटनाबाट अझ ऊर्जा प्राप्त गरेरै केपी ओलीले माओवादीलाई समेत विश्वासमा लिएर अहिले एउटै गठबन्धन र एउटै पार्टी बनाउने अठोट गरेका हुन् भन्ने बुझ्न कठीन छैन । यो गठबन्धन मार्फत बहुमत ल्याएर ५ बर्ष देशको नेतृत्व गरी देशलाई विदेशी (मुख्यतया भारतीय) पञ्जाबाट सधैंका लागि मुक्त गर्नु केपी ओली नेतृत्वको गठबन्धनको मूल उद्धेश्य रहेको उनका बोली र ब्यवहारहरूबाट प्रष्ट हुन्छ ।

अस्तिसम्म कांग्रेसकै पछि पछि लागेर, भारतीयहरुकै उक्साहटमा हिंड्ने माओवादीहरूलाई साथमा लिएर केपी ओली स्थिरता दिन सक्षम नहुने हुन् कि भन्ने केही मानिसहरूको संसय छ, जुन धेरै हदसम्म जायज पनि हो । तर माओबादीलाई माओबादी नै रहन दिंदा त्यो दल ‘न वल्लो तीर, न पल्लो घाट’ जस्तो अस्थिर शक्तिको रुपमा मात्रै रहने भयो, जसले गर्दा अरूले उसलाई सधैं दुरुपयोग मात्र गरिरहन पाउने भए । त्यही देखेर नै माओबादीलाई पहिले एमालेसँग गठबन्धनमा ल्याएर र अलि पछि दुई दलको एकता नै गरेर माओबादीमार्फत भविष्यमा कसैले पनि अस्थिरताको खेती गर्न नसक्ने अवस्था सिर्जना गर्ने बाटोमा केपी ओली र प्रचण्ड लागेका देखिन्छन् । त्यसैले स्थिरता चाहने नेपालीहरूले यी दुई दल मिलुन् र देशलाई विकासको बाटोमा हिंडाउन् भनेर दवाव दिइराख्नु जरुरी छ । 

केही मानिसहरूले ‘ब्यक्ति हेरेर भोट हालौं, जुन दलका भए पनि राम्रा मान्छे जिताउँ’ भन्ने गरेको पनि कताकति देखिन्छ । सुन्दा र देख्दा  यस्तो सोचाई निकै राम्रो र निकै विवेकशील सुनिन्छ, देखिन्छ पनि । तर हामीले अपनाएको राजनैतिक ब्यबस्थाको आलोकमा दाँजेर हेर्दा यस्तो सोचाईले जानी नजानी अस्थिरतालाई नै प्रश्रय दिन्छ । 

हामीले अपनाएको प्रणाली दलीय प्रणाली हो, निर्दलीय होईन । निर्दलीय प्रणाली भएको भए ब्यक्ति हेरेरै भोट हाल्नु पथ्र्यो । तर बहुदलीय प्रणालीमा उम्मेदवार ब्यक्ति भन्दा पनि बढी त्यो ब्यक्ति आवद्ध दललाई हेरेर भोट हाल्नु पर्ने हुन्छ । 

उदाहरणको रुपमा हेरौं न, मनमोहन अधिकारी र केपी ओलीले नेतृत्व गरेका सरकारहरूले देशको अहित गर्ने कुनै काम गरेका भएर उनीहरूलाई हटाईएको थिएन, बरू उनीहरूले नेपालको हित गरिराखेको देख्न नसक्ने भारतको इसारामा कांग्रेस र अरू दलहरूलाई प्रयोग गरेर उनीहरूलाई हटाईएको थियो । त्यसो भए त्यो बेला कांग्रेसमा असल सांसद एउटा पनि थिएनन् त ? थिए होलान् नि ! निकै असल भनेर गुणगान गाइएका गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, र विद्वान भनेर चिनिन चाहने डा. मिनेन्द्र रिजाल र डा. महत (दाजुभाई) जस्ता कांग्रेसका सांसदहरूले ‘यी सरकारहरूले देशको अहित गरेका छैनन्, हामी यी सरकार ढाल्न प्रयोग हुदैनौं भनेनन् नि ! किनकि दलीय प्रणालीमा त्यसो गर्न सकिंदैन । आफू जति नै ‘असल’ र ‘विद्वान’ भए पनि सत्ताको नशामा मदहोस कांग्रेसी नेताहरूको स्वार्थपूर्ण निर्णयको पछि पछि असल र विद्वान भनिएका मानिसहरू पनि लुरु लुरु हिडेको त सत्य हो नि !  

त्यसैले बहुदलीयता स्वीकार्ने र देशको राजनैतिक स्थिरता चाहने मतदाताले दलले देखाएको ब्यबहार, लिएको नीति र त्यो दललाई नेतृत्व वा संचालन गर्ने मुख्य नेताको लक्षण र ब्यबहार हेरेर भोट हाल्नु पर्ने हुन्छ । 

केही मानिसहरूले विवेकशील दललाई विकल्पको रुपमा प्रस्तुत गर्न खोजेको पनि देखिन्छ । तर विवेकशीलका दुई चार जनालाई जिताउँदा त्यसबाट नेपालले स्थिरता पाउँदैन । उनीहरूले कल्पना गरेकै रफ्तारमा फस्टाउदै गए भने पनि देशको राजनैतिक स्थिरतामा नियन्त्रण गर्नसक्ने साईजमा पुग्न विवेकशील दललाई कम्तिमा अरू १५–२० बर्ष लाग्छ । १५–२० बर्ष पछि के गर्ने, त्यो त्यतिबेलै सोचौंला । तर विवेकशीलका लागि देश अरू दुई दशक अस्थिरै रहोस् भन्न अहिले सकिंदैन । त्यसैले विवेकशील दललाई भोट दिने निर्णय गर्नुअघि पनि त्यस्तो निर्णयले अहिलेको परिस्थितिमा स्थिरता प्रतिको नेपाली चाहानालाई प्रतिकूल असर पो पुर्याउछ कि भनेर सोच्नु जरुरी छ । 

हामी नेपालीले अस्थिरता र हीनताबोधका अनेक बर्ष गुजार्यौं । ती बर्षहरूमा हामीले स्थिरता दिन सक्ने र देशको शीर उचो राख्न सक्ने नेताको कामना पनि सदैव गरिरह्यौं । हाम्रै अगाडि राजनीतिमा अनेक नेताहरू उदाए र अस्ताए । अहिले हाम्रासामु बिद्यमान नेताहरूमध्ये केपी ओली यस्ता नेताको रुपमा देखिएका छन् जसले अप्ठेरो भन्दा अप्ठेरो परिस्थितिमा पनि देशको सर्वाङ्गिण स्वार्थलाई आफ्नो निजी स्वार्थ भन्दा माथि राख्न सकेका छन् । संविधान निर्माणका बेला देशलाई जातीय–क्षेत्रीय द्वन्दमा लैजान नदिनका लागि उनले देखाएको दृढता, नाकाबन्दीताका उनले प्रस्तुत गरेको आंट र अठोट, या पछिल्लो समयमा देशमा रहेको राजनैतिक अस्थिरतालाई तोड्नका निम्ति उनले लिएको अग्रसरता, यी सबै कुराहरूमा उनले देशको दीर्घकालीन हीतलाई केन्द्रमा राखेको देखिन्छ ।

एउटा ‘साँप र भर्याङ’ (लुंडो पनि भनिने) नामको खेल हुन्छ । त्यस खेललाई नागपास पनि भनिन्छ । त्यस खेलमा भर्याङ चढ्दै, र साँपले निल्दै गोटी १०० मा पुर्याउनेले खेल जित्छ । तर ९८ र १०० को बीचमा एउटा लामो साँप हुन्छ, जसले गोटी निल्यो भने झरेर ४ तिर पुग्छ । त्यहाँबाट पूनः १०० मा पुग्न लामो समय लाग्छ, त्यो बेला अर्कैले खेल जितिसकेको हुन्छ । 

नेपालको अस्थिर राजनीतिलाई त्यही ‘साँप र भर्याङ’ खेलसँग तुलना गर्ने हो भने सफलताका अनेक भर्याङ चढ्दै र असफलताका अनेक साँपहरूबाट निलिदै एमाले र केपी ओलीले चालेको त्यो दीर्घकालीन देश–हीतको गोटी अहिले ९८ मा पुगेको छ । देशका लागि दीर्घकालीन खेल जित्न केपी ओली नेतृत्वको गठबन्धन अब एक चाल मात्र टाढा छ । अब ९८ मा पुगेको गोटी साँपलाई खुवाएर ४ मा पुर्याई अस्थिर राजनीतिलाई जित्न दिने कि १०० मा पुर्याएर स्थिरतालाई जित्न दिने, त्यो निर्णय हामीले गर्ने बेला आएको छ । हामीले केपी ओली नेतृत्वको गठबन्धनलाई मत दिएर बल दियौं भने त्यस गठबन्धनले देशहीतको यो दीर्घकालीन खेल जित्न सक्ने स्पष्ट लक्षणहरू अहिले देखिएका छन् ।   

बिपक्षीहरू (विवेकशील साझा समेत) केपी ओली गठबन्धनले चालेको गोटीलाई साँपले निले निलोस् भन्छन् । विवेकशील साझा दललाई सकारात्मक रुपले नै हेर्दा पनि उनीहरु १०० का नजिकतिर भएदेखि लौ त, उनीहरू अगाडि बढ्लान् भन्न सकिन्थ्यो । तर उनीहरुको गोटी त जन्मेको पनि छैन । त्यसैले ओली गठबन्धन्ले चालेको गोटीलाई साँपले निल्दा अघि बढ्ने कांग्रेस हो, जसको लागि डाइस भारतले हल्लाएको छ । त्यसकारण कांग्रेसले जित्दा नेपालले जित्दैन, भारतले जित्छ । यो चुनाबमा प्रयोग हुने हाम्रो मतको ठूलो र दीर्घकालीन महत्व छ । हाम्रो मतले कांग्रेसले जित्दा उ मार्फत भारतले जित्छ । हाम्रो मतले बामगठबन्धनले जित्दा नेपालले जित्छ, नेपालीहरूको स्थिरताको चाहानाले जित्छ ।  

त्यसैले स्थिरता, विकास, देशको स्वाधीनता र स्वाभिमान चाहने हरेक मतदाताले अन्य सबै भावनात्मक कुराहरूलाई एकछिन थाती राखेर केपी ओलीले नेतृत्व गरेको बाम गठबन्धनका उँमेदवारलाई मत दिनु जरूरी देखिन्छ । त्यसो गर्दा मात्र देशले स्थिरता प्राप्त गर्छ, र हाम्रा सन्ततीहरूले स्वाभीमानका साथ आफ्नो देशको गौरब महसुस गर्न पाउने छन् । अहिले हामीले असाबधानीका साथ हाम्रो भोट गलत ठाउमा हाल्यौं भने ‘स्थिरताको संघारमा पुगेर पनि त्यसलाई आत्मसात गर्न नसक्ने कमजोर नागरिक’को रुपमा हामीले आफैंलाई धिक्कार्नु पर्ने हुनसक्छ । आसा गरौं त्यस्तो हुने छैन । र संकल्प गरौं– बाम गठबन्धन मार्फत देशमा स्थिरता पाउन सक्नेगरि हाम्रो भोटको प्रयोग हुनेछ ।