सुरेश भण्डारी

भर्खरै भएको बाम गठबन्धनपछि नेपालको राजनीतिले एउटा नयाँ बाटो समातेको छ । देशले स्थायी सरकार पाउने र विकास निर्माण तीब्रता आउने आम जनविश्वास अहिले देखिन पुगेको छ । तर यही बेला नेपाली कांग्रेसका नेता र कांग्रेसको सत्ताबाट निजी लाभ लिएर राजनीतिलाई ब्यक्तिगत कमाईको स्रोत बनाउँदै आएको तप्कामा हतासा देखिएको छ ।  त्यसैले संवैधानिक अभ्यास र चुनावबाट निर्मित हुने स्थिर राजनीतिक ब्यवस्थालाई यिनीहरु अधिनायकबादको जबर्जस्त हौवा बनाएर प्रस्तुत गर्दैछन् । राजनीतिक अस्थिरता र गरिवीबाट लाभ लिंदै दशकौंसम्म सत्ताको स्वाद चाखेको यो तप्का समाजमा अधिनायकवादको त्रास देखाएर फेरि लूटको स्वर्ग चलाउने प्रयासमा छ । 

कांग्रेसलाई लोकतन्त्रको पर्यायबाची जस्तै मानेर बाम वाम पार्टी बिरुद्ध यस्ता प्रोपोगाण्डा चलाइएको यो पहिलो पटक भने होइन । ०४८ सालतिर यही तप्का कम्युनिस्ट पार्टीले चुनाव जित्यो भने बूढाबूढीलाई ६० वर्ष पुगेपछि गोली हानेर मार्छन्, दिदी बहिनी दाजुभाइ बीच अनैतिक सम्बन्ध राख्न लगाउँछन्, धर्म मान्न दिंदैनन्, मन्दिरहरु भत्काइदिन्छन् जस्ता प्रचार गर्थे । अझ त्यसबेला त एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारीले मन्दिर भत्काउँदै गरेका, गाउँका बृद्धबृद्धालाई एक ठाउँमा भेला गरेर गोली हान्दै गरेका कार्टुन पोष्टर बनाएर कांग्रेसले टाँसेको थियो । तर, त्यसको केही वर्षपछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको कम्युनिस्ट सरकारले बृद्धबृद्धालाई भत्ता दिने ब्यवस्था गर्यो, गाउँमा आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम बनाएर सिधै विकास बजेट दिने ब्यवस्था गर्यो । कांग्रेसले फैलाउने अधिनायकवादको झुठो प्रचारले त्यसैबेला धुलो चाट्यो । राज्यकोषबाट भ्रष्टाचारी उत्पादन गर्ने, देशका उद्योगलाई निजीकरणका नाममा कौडीको भाउमा बेचेर बन्द गराउँदै युवाहरुलाई मरुभूमिमा पठाउन वाध्य पार्ने कांग्रेसले आफूलाई प्रजातन्त्र र विकासको पर्याय बनाउन सक्ने अवस्था यस तथ्यका कारण आज छैन । त्यसैले अधिनायकवादको नाममा कांग्रेसले चलाउन खोजेको हल्लाले अहिलेको समयमा कोही प्रभावित हुने अवस्था पनि छैन । 

अब एकचोटी हेरौं, नेपाली कांग्रेस कति लोकतन्त्रबादी हो । ०१५ साल यताका चुनावी नतिजा हेर्ने हो भने नेपाली कांग्रेसलाई जनताले एकपटल्ट दुईतिहाई र दुईपल्ट बहुमत दिएर निर्वाचित गरे । तर, बदलामा कांग्रेसले जनतालाई कुशासन दियो, कम्युनिस्ट पार्टीहरु समेत मिलेर ल्याएको प्रजातन्त्रलाई दरवारमा बुझायो । इतिहासले प्रमाणित गरेको यो तथ्यमा आज कुनै पनि स्वथ्य दिमाग भएको नागरिकले विमति राख्न सक्दैन । कांग्रेसको बहुमतीय सरकारकै नेतृत्वमा देशका प्राकृतिक सम्पदाहरुको उपभोग गर्ने अधिकार विदेशीलाई दिनेगरी सन्धी सम्झौताहरु भए । नोपली अर्थतन्त्रलाई अनुत्पादक र परनिर्भर बनाइयो । पजेरो काण्ड, सुरा सुन्दरी काण्ड, जम्बो मन्त्रीमण्डल काण्ड कांग्रेसका उत्पादन हुन् । भ्रष्टाचारका उदाहरणीय र प्रमाणिक पात्र कांग्रेसले नै उत्पादन गरेको छ । खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, जयप्रकाश गुप्ता जस्ता भ्रष्टाचारमा उदाहरणीय पात्रहरुको उत्पादन कांग्रेसको शासनले गर्यो । देशका ३६ वटा राष्ट्रिय उद्योगलाई टाट पल्टाएर नेपाली श्रमिकहरुलाई विदेशी मरुभूमिमा जान वाध्य पार्ने र उनीहरुले विदेशमा श्रम गरेर भित्र्याएको रेमिट्यान्सबाट खुमबहादुर गोविन्दराज उत्पान गर्ने कारखाना कांग्रेस हो । मुलुकलाई यसरी वर्वाद गर्दै आएको कांग्रेस राष्ट्रिय स्वाधीन अर्थतन्त्र निर्माण र विकास मार्फत स्वरोजगारी बढाउने योजनालाई अधिनायकवाद भन्छ । वर्षमा दुईवटा सरकार बन्ने अस्थिरताबाट मुलुकलाई राजनीतिक स्थिरतातिर लैजानुलाई अधिनायकवाद भन्छ । नेपालको संविधान संशोधन गर्ने बाचा अर्काे देशको प्रधानमन्त्रीसँग सार्वजनिक रुपमै गर्छ । नेपाल विरुद्ध नाकाबन्दी लगाउनेलाई सहयोग पुर्याउँछ र राष्ट्रलाई कमजोर बनाउन उसैका एजेण्डा पूरा गर्ने सार्वजनिक वाचा गर्छ ।  आफूले भने अनुसार फैसला नगरेको भन्दै इतिहसकै प्रतिष्ठित र निर्भिक प्रमाणित प्रधानन्यायाधीशमाथि कांग्रेस महाभियोग ल्याउँछ र कानुनी राज्यको खिल्ली उडाउँछ । यस्तो कांग्रेसलाई लोकतन्त्र पक्षधर भन्नु पर्ने अव कुनै पनि कारण छैन । कांग्रेसले आफूलाई लोकतन्त्रको पक्षमा रहेको प्रमाणित गर्न अरु केही दशक लोकतान्त्रिक ब्यवस्था र पद्दतिमाथि निष्ठा प्रमाणित गरेर देखाउनु पर्छ । भ्रष्टाचार काण्ड, सुरासुन्दरी काण्ड, राष्ट्रिय उद्योग विक्री गरी श्रम वजारको पलायन, राज्यका संवैधानिक अंगमाथिको हमला आदि प्रमाणका आधारमा भन्ने हो भने नेपालको सन्दर्भमा अधिनायकवादी कांग्रेस हो । लोकतान्त्रिक प्रणालीलाई थिलोथिलो बनाउन प्रधानन्यायाधीशलाई आफू अनुकुल फैसला नगरेको भन्दै महाभियोग लगाउने र कम्युनिस्ट पार्टीहरुले समेत संघर्ष गरेर स्थापित गरेको प्रजातन्त्र दरवारमा बुझाउने कांग्रेसको अधिनायकवाद तोडेर स्थिर लोकतान्त्रिक प्रणाली बनाउनु पर्छ ।  

 इतिहासको कुनै काल खण्डमा नेपाली कांग्रेसले लोकत्रन्त्रको लागि योगदान दिएको हो । त्यसबेला कांग्रेसमा बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेताहरु थिए । तर, कांग्रेसका ती संस्थापक नेता गणेशमान र कृष्णप्रसादले आफ्नो जीवनको उत्तरार्धमा कांग्रेस अव काम लाग्दैन भनेर छोडे । त्यसैबेला देखि कांग्रेस नेपाली जनता र नेपाल राष्ट्र विरुद्ध अधिनायकवादको बाटोमा हिंडेको हो । राष्ट्र एकीकरणका नायक पृथ्वीनारायण शाहले गरेको योगदानको ब्याज आज जसरी पूर्वराजा ज्ञानेन्द्रले खान पाउँदैनन्, ०७ सालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको ब्याज आज कांग्रेसले खान सक्दैन । कांग्रेस त्यो बाटोबाट च्यूत भइसकेको छ । जुन दलको केन्द्रीय पदधिकारी सभापतिले टीका लगएर नियुक्त गर्छन् । जसका भातृ संगठनहरु दशांै बर्षसम्म टीका लगाएर चलाइन्छ । त्यही दलले लोकतान्त्रिक पद्दतिबाट चल्ने बामपन्थी दललाई कम्युनिस्ट अधिनायकवादी भन्ने आधार छैन । नेपालको सन्दर्भमा लोकतन्त्र कम्युनिस्टहरुका लागि जीवन पद्दति हो भने कांग्रेसका लागि ओठे प्रतिवद्धता मात्र हो । 

 पूर्ववर्ती केपी ओलीको सरकारले ल्याएका विकास निर्मणका योजना र कार्यक्रम हरुको खिल्ली उडाउन कांग्रेसले आफ्ना भातृ संगठनहरुलाई सडकमा खटाएको थियो । एउटा देशले नाकाबन्दी लगाउँदा पिल्सिनु पर्ने अवस्थाबाट मुक्त हुन ओली सरकारले चालेका कदमलाई असफल पारी नाकाबन्दी लगाउने पक्षको स्वार्थको सेवा गर्नु कांग्रेसको काम थियो । केरुङ, काठमाडौं, पोखरा लुम्बिनी रेल्वेको काम थालनी गर्दा नेपालको हित हुने र भारतले हेप्न नसक्ने तथ्यले कांग्रेसका नेताहरुको छाती भारतभक्तिले पोलेको थियो । अन्तरदेशीय रेल्वेको विरोध गर्न वालुवाटार अगाडि कागजका नौका प्रदर्शन गरेर केपी ओलीको खिल्ली उडाउन केटाकेटी पठाउने कांग्रेसको अनुहार हेर्न लायक छैन । त्यस्तो कांग्रेसले आज आफूलाई विकासको पक्षधर पार्टी भनेर जनताबीच भोट माग्न लाज मान्नु पर्ने हो । अधिनायकवादी कांग्रेससँग अहिले जनतामा जाने एजेण्डा छैन । त्यसैले उ बामपन्थी अधिनायकवादको त्रास विस्तार गरिरहेको छ ।