उद्धव थापा

गत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एउटा सत्य बाहिर ल्याइदिए र भने– कम्युनिष्टहरुको शासन आयो भने रुन पनि पाइंदैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यो गुह्य तथ्य बुझ्न करिब ५० वर्ष राजनीतिक जीवन बिताउनु पर्यो र चौथो पटक प्रधानमन्त्री बन्नुपर्यो । धेरैलाई असत्य लागे पनि प्रधानमन्त्रीले सही कुरा भनेका छन् । आउनुहोस्, प्रधानमन्त्री किन सही छन् तपाईंलाई स–विस्तार बताउँछु ।

२०१७ साल यता नेपालको राजनीतिक र आर्थिक विकासलाई मोटो रुपमा विभाजन गर्ने हो भने तीन खण्डमा हेर्न सकिन्छ । २०१७ साल देखि २०४६ पहिलो खण्ड । २०४७ देखि २०६२ सम्म दोस्रो र त्यसयता तेस्रो । ०४६ सालसम्म निर्दलीय पञ्चायती व्यवस्थाका कारण त्यसबेला राजनीतिक दलहरुको भूमिका थिएन । राजाले टिको लगाएका व्यक्ति मात्रै सिंहदरबारमा राज गर्न सक्थे । ०४६ को परिवर्तनपछि राजनीतिको बागडोर राजनीतिक दलको काँधमा आयो । त्यसबेलाको परिवर्तन नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको अगुवाइमा भएको थियो । तर, त्यसको व्याख्या एकाङ्की रुपमा भयो र आन्दोलनको नेता कांग्रेस जस्तो मात्रै देखियो । त्यसयता कांग्रेसलाई जनताले बहुमत दिएर सत्तामा आसिन गराए । २०४६ साल यता नेपाली कांग्रेसले मात्रै १४ वर्ष ५ महिना सरकारको नेतृत्व गर्यो । कम्युनिष्ट पार्टीहरुले आफ्नो नेतृत्वमा ६ वर्ष ९ महिना सरकार संयुक्त सरकार चलाए । त्यसैगरी, पूर्वपञ्च र राजाले चार वर्ष ८ महिना आफ्नो नेतृत्वमा सरकार चलाए । यो तथ्यले के बताउँछ भने देशको विकास र समृद्धिको यात्रा कांग्रेसको कारण अवरुद्ध भयो किनकी देशको नेतृत्व सबैभन्दा धेरै उसैले गरेको थियो । हामीले पञ्चायतको दोष राजतन्त्रलाई लगाउने गरेका छौं किनकी, त्यसबेला राजाले नेतृत्व गरेका थिए । 

कांग्रेसले कम्युनिस्ट पार्टीहरुसँग संयुक्त रुपमा गरेको निरंकुशता विरुद्धको संघर्ष आफूले गरेको हिसाव देखाउने गरेको छ । तर, कांग्रेसले कम्युनिस्ट पार्टीहरुसँग मिलेर ल्याएको प्रजातन्त्र पटक पटक आफूले दरवारमा बुझाएको हिसाव लुकाउने गरेको छ । तर, आजको समयमा चार पटक प्रधानमन्त्री भएर मुलुकमा कुशासन थोपर्ने र दुई पटक प्रजातन्त्र दरवारमा बुझाउने शेरबहादुर देउवा जिउँदो प्रमाण रहेकाले कांग्रेसको एकांगी हल्ला कसैले पत्याउँदैन । 

एउटा उदाहरण हेरौं, २०४७ सालमा नेपालको प्रतिव्यक्ति आय करिब २०० डलर रहेकोमा २०६५ सालमा ४८४ डलर पुग्यो । त्यसबेला अधिकांश समय कांग्रेसले देशको नेतृत्व गरेको थियो । सोही अवधिमा छिमेकी मुलुक भारतको प्रतिव्यक्ति आय करिव ३७५ डलर बाट बढेर १०९० डलर पुग्यो । भुटानको प्रतिव्यक्ति आय करिब ५६० डलरबाट बढेर १७९० डलर पुग्यो । अलि बढी विकसित मुलुकको रुपमा मानिएको मलेसियाको प्रतिव्यक्ति आय त्यस अवधिमा २४२० डलरबाट बढेर ७३०० डलर पुग्यो । के सो अवधिमा कांग्रेसले नेपालको आर्थिक विकास सन्तोषजनक रुपमा गर्न सक्यो त ? छिमेकी मुलुको आर्थिक विकाससँग तुलना गर्ने हो भने भन्न सकिन्छ उक्त अवधिमा नेपालको आर्थिक विकास हुनै सकेन । 

अर्कोतर्फ, २०४६ सालबाट २०६५ सालसम्मको औधोगिक तथ्याङ्क हेर्ने हो भने उद्योगहरुको संख्या १८ प्रतिशतले घटेको र औद्योगिक श्रमिकको संख्या २० प्रतिशतले घटेको तथ्याङ्क भेटिन्छ । यस अवधिमा उदारिकरणको नाममा राज्यले सञ्चालन गरिरहेका उद्योगहरु धमाधम बेचियो र जनतालाई रोजगारीका लागि खाडी मुलुक जान बाध्य पारियो । हेटौडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना, विराटनगर जुट मिल, बुटबल धागो, बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज उद्योग आदि यसका उदाहरण हुन । विशेष गरी तराई भेगमा रहेका यी उद्योगहरु नेपाली कांग्रेसको नेतृत्वमा बन्द गराइयो । त्यसैको असर हो हाज नेपाली युवा खाडीमा सस्तो मुल्यमा पसिना बगाउन वाध्य छन् । दिनदिनै विदेश जानेको ताँती एयरपोर्टमा लाग्छ र दिनहुँ दर्जन नेपाली युवाका लास बाकसमा बन्द भएर आउँछन् । 

त्यसबेलाका वनस्पति घिउ, सिन्थेटिक टेक्सटायल, कपर वायर रड, जिंक अक्साइड कारखाना जस्ता उद्योगहरु अहिले अस्तित्वमा नै छैनन् तर पनि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु आफूले गरेको औद्योगिक विकासको बखान गरिरहन कति पनि लाज मान्दैनन् । ती उद्योग अहिले पनि सञ्चालन भइरहेको भए तराइका जनता रोजगारीका लागि खाडीमा पसिना बगाउन बाध्य हुनुपर्ने थिएन । नेपाली कांग्रेसको यही नीतिको कारण अहिले जनताले आफ्ना सन्तानको शव बाकसमा ल्याएर भए पनि रेमिट्यान्सले देश चलाइरहेका छन् । यस अवधिमा धनी र गरिब बीचको खाडल सबैभन्दा ठूलो भयो । गरिव नेपालीले विदेशमा श्रम गरेर भित्र्याइएको रेमिट्यान्सबाट पनि प्रमाणित भ्रटाचारी उत्पादन भए । राजनीतिमा अपराध र भ्रष्टाचारको केन्द्र कांग्रेस बन्यो । यो आरोप होइन । आजका दिनमा कुनै बेलाका प्रभावशाली कांग्रेस नेता चुनाव लड्न नपाउनेगरी प्रमाणित भ्रष्टको सूचीमा दर्ज हुनु यसको प्रमाण हो । नेपाली उद्योग निजीकरण गरेर बन्द गराउने, युवालाई बेरोजगार बनाएर खाडी पठाउने र त्यसबाट आएको रेमिट्यान्सले भ्रष्टाचार उद्योग चलाएर खुमबहादुर प्रबृत्ति उत्पादन गर्ने कांग्रेसका कारण लाखौं युवा खाडीमा रुन्छन् र तिनका बाबुआमा नेपालमा रुन्छन् । यदि कांग्रेस सत्तामा आएन भने तिनका दुःखका दिन सकिन्छन् र उनीहरुले रुन पाउँदैनन् । देउवाले ठीक भनेका हुन् । 

यही अवधिमा खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ता जस्ता भ्रष्टाचारीहरुको उदय भयो । जसको संरक्षणमा कांग्रेसका पूर्व र वर्तमान सभापतिहरु खुलेर लागिरहे । कार्यकर्ताहरुले उनीहरुकै जयजयकार गरे । अहिले यो प्रबृत्ति नेपाली राजनीतिमा सामान्य बन्दै गएको छ । हो, कांग्रेसकै कारण अहिले जनता रोइरहेका छन् र अब कम्युनिष्टहरुले शासन गरे भने जनताले रुने अवसर पाउँदैन भन्ने तथ्य बल्ल शेरबहादुर देउवाले बुझ्दैछन् ।

के कम्युनिज्म अर्थतन्त्र विरोधी हो ?
 हिजोआज भन्न थालिएको छ– कम्युनिष्टहरुले अधिनायकवाद ल्याउँदैछन् । अर्कोतर्क पनि जवर्जस्त स्थापित गर्न खोजिएको छ– कम्युनिज्म र अर्थतन्त्रसँगै जान सक्दैनन् । यो भ्रम बेच्ने प्रयास मात्रै हो । नेपालका बामपन्थी पार्टीहरुले यही संविधान कार्यान्वयन गर्नका लागि गरेको एकताले साम्यवाद आउँदैन । निरंकुशता र अधिनायकवाद विरुद्ध र लोकतन्त्रका लागि १४–१४ वर्ष जेल बसेका नेता कम्युनिस्ट पार्टी भित्र छन् । अझ नेपालमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व नै कम्युनिस्ट पार्टीले गरेको छ । त्यसैले कांग्रेसको प्रचारमा कुनै दम छैन । ०४८ सालको चुनावताका कांग्रेसले कम्युनिस्टहरुले जिते भने ६० वर्ष नाघेकालाई गोली हानेर मार्छन्, धर्म मान्न दिंदैनन् भनेर प्रचार गर्थे । त्यही बेलामा असफल भएको कुप्रचार अहिले गरिएको मात्र हो । अव यसलाई सकैले पत्याउँदैनन् । बरु लोकतन्त्र र प्रजातन्त्रको बखान गरेर नथाक्ने कांग्रेसले देशको नेतृत्व गर्दा अर्थतन्त्रले गति लिन सकेको छैन । अर्थतन्त्रमा रेमिट्यान्सले प्राणवायु भरिरहेको छ । अहिले विदेशिएका करिब ४० लाख यूवा एकै पटक स्वदेश फर्किए भने देशको अवस्था झन् कस्तो होला एक पटक कल्पना गरौ त ! स्थिति निकै कहालिलाग्दो छ ।

यदि कुनै कारणले रेमिट्यान्स रोकिने हो भने त्यसको कुनै विकल्प आज तयार छ त ? अवश्य छैन । आर्थिक बर्ष २०६३÷६४ मा कुल गार्हस्थ्य उत्पादनमा आयातको अंश २६.८ प्रतिशत थियो । त्यसको एक दशकपछि आर्थिक बर्ष २०७२÷७३ मा त्यो अंश बढेर ३४.४ प्रतिशत पुगेको छ । जबकी निर्यातको अंश त्यही अवधिमा ८.२ प्रतिशतबाट ३.१ प्रतिशतमा झरेको छ । त्यसको फलस्वरुप व्यापार घाटा त्यही अवधिमा कुल गार्हस्थ्य उत्पादनको १८.६ प्रतिशतबाट बढेर ३१.३ प्रतिशत पुगेको छ । यसैबेला नेपालको कुल बैदेशिक व्यापारमा निर्यातको अंश २३.४ प्रतिशतबाट ८.३ प्रतिशतमा झरेको छ । आन्तरिक उपभोग र आर्थिक गतिबिधि बिस्तारमा यस किसिमको परनिर्भरता शायद दुनियाँमा कही हुँदैन । आफ्ना असफलता र कमजोरी ढाक्नको लागि अधिनायकवाद र कम्युनिज्मको हौवा पिटाइएको छ । यो त अधिनायकवादको त्रासमा मुकलुकलाई सधै अस्थिरता र अविकासमा राख्ने प्रयास मात्रै हो । 

कम्युनिष्टहरुले देशको नेतृत्व गर्दा देशको समग्र आर्थिक विकास र सामाजिक सुरक्षाको अवस्था कस्तो हुन्छ भन्ने झलक २०५१ सालमा मनमोहन अधिकारी, २०६७ सालमा माधवकुमार नेपाल र २०७३ सालमा केपी ओली नेतृत्वको सरकारले प्रस्तुत गरिसकेको छ । यो विषयमा आम जनता घाम जत्तिकै छर्लङ्ग छन् । मनमोहन अधिकारी बाहेक नेपाल र ओलीले नेतृत्व गरेको सरकारमा त अन्य राजनीतिक दलसँग ‘पावर सेयरिङ’ गर्नु परेको थियो । एकलौटी रुपमा नीति तथा कार्यक्रम लागू गर्न सक्ने अवस्था समेत थिएन । 

चीनको उदाहरण
उत्तरी छिमेकी मुलुक चीनमा चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता सञ्चालन गरेको ६८ वर्ष भयो । सुरुको ३० वर्ष नियन्त्रित अर्थतन्त्र भएको चीनले सन् १९७९ देखि आर्थिक सुधारको नीति लिएपछि उसको आर्थिक विकासको गति यस्तो तीब्र भयो कि अहिले दुनियाँको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । चीनले करीब ३५ वर्षको अवधिमा यस्तो चमत्कारिक सफलता हासिल गरेको छ । सन् २००१ देखि सन् २००७ सम्म चीनले प्रत्येक वर्ष १०.५ प्रतिशतको दरले आर्थिक वृद्धि हासिल गर्यो । सन् २०१६ को चीनको आर्थिक वृद्धि ६.७ प्रतिशत छ । ७० प्रतिशत रहेको ग्रामीण जनसंख्या अहिले ५५ प्रतिशतमा झरेको छ भने ३० प्रतिशत रहेको शहरी जनसंख्या बढेर ४५ प्रतिशतमा पुगेको छ । के वि.सं. २०४६ साल यता हामीले गर्व गर्न सक्ने कुनै त्यस्तो तथ्याङ्क हामीले हासिल गरेका छौं त ?

त्यति मात्रै होइन, सन् २००४ मा १.१५ ट्रिलियन अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको चीनले सन् २०१६ मा आइपुग्दा त्यसलाई बढाएर ३.७० ट्रिलियन अमेरिकी डलर बराबर पुर्याएको छ । जसमा १.६० ट्रिलियन अमेरिकी डलर बराबरको आयात गरेको छ भने २.१० ट्रिलियन अमेरिकी डलर बराबरको निर्यात गर्न सफल भएको छ । यो अवधिमा नेपालको वैदेशिक व्यापार र आयात, निर्यातको अवस्था लाजमर्दो छ ।

चीनमा अहिले विश्वभरबाट वैदेशिक लगानी आइरहेको छ । दुनियाँका ठूला बहुराष्ट्रिय कम्पनीले चीनमा बस्तुको उत्पादन गर्छन् र विश्वबजारमा लैजान्छन् । हङकङ, सिङ्गापुर, कोरिया, अमेरिका, ताइवान, जापान, जर्मनी र बेलायतजस्ता देशको लगानी चीनमा छ । कम्युनिष्ट शब्दसमेत सुन्न नसक्ने अमेरिकाले चीनका गरेको लगानी निकै ठूलो छ । चीनमा भएको वैदेशिक लगानी मध्ये चौथो स्थानमा अमेरिकाको लगानी छ ।  

नजिकको छिमेकीको लोभलाग्दो प्रगति र कांग्रेसको नीतिको कारण देशले भोग्नु परेको दुर्गतिबाट के निष्कर्ष निकाल्न सकिन्छ भने अर्थतन्त्रको विकास कम्युनिष्टको सरकार भएर नहुने होइन, राजनीतिक स्थिरता र दूरदर्शी नीतिका कारण हुने हो । बाम गठबन्धनको प्रयासले देश समृद्धिमा लम्कने सकरात्मक संकेतहरु देखिएका छन्, जसका कारण देशलाई बेहदको बर्वादीमा पुर्याउने कांग्रेस नेतृत्व  छटपटाउनु स्वाभाविक हो । 

हो, अब जनता रुन पर्दैन
नेपालमा अहिलेसम्म कम्युनिष्ट समर्थक जनता बहुमतमा छन् । संसदमा कम्युनिष्ट पार्टीहरुको बहुमत हुन्थ्यो । तर, उनीहरु छुट्टा छुट्टै थिए । उनीहरु विचार र व्यक्तित्व टकरावका कारण विभक्त थिए । २०६४ को निर्वाचनमा कम्युनिस्ट पार्टीले पाएको लोकप्रिय मत नै करिब ६० प्रतिशत थियो, त्यो २०७० मा घट्दा पनि करिब ४५ प्रतिशत पुग्यो । गत स्थानीय निर्वाचनमा कम्युनिस्टहरूले पाएको सिट ६० प्रतिशतभन्दा बढी छ । २००६ सालमा जन्मेको कम्युनिष्ट पार्टी टुटफुटको श्रृङ्खलाले गर्दा नेपाली कांग्रेस देशको ठूलो पार्टीको रुपमा दरिन पुग्यो । अब यो समीकरणमा बदलाबको संकेत देखिएका छन् । 

कम्युनिष्टहरुले दुई तिहाई बहुमत सहितको सरकार बनाए भने देश राजनीतिक स्थिरतातर्फ जान्छ । आर्थिक र सामाजिक विकासका योजना कार्यन्वयन हुन थाल्छन्, जसले जनताको जीवनस्तरमा परिवर्तन दिन्छ । रोजगारीकै लागि विदेशिनुपर्ने बाध्यता हट्दा जनता रुँदैनन् बरु मुस्कुराउँछन् । करीब तीन दशकदेखि कांग्रेसले नेपाली जनताको पीडामा खेल्दै आएको थियो । अब ती दिन सकिने भए भन्ने प्रधानमन्त्री देउवाले समयमै बुझे र भने– अब कम्युनिष्टहरुले जनतालाई रुन पनि दिदैनन्, कांग्रेस सकिने भयो । 

(पत्रकार थापा बेइजिङ स्थित युनिभर्सिटी अफ इन्टरनेशनल विजनेश एण्ड इकोनोमिक्स(यूआइबीइ)मा इन्टरनेशनल फाइनान्स विषयमा मास्टर्स गरिरहेका छन्)