थारु भएर होइन, गरिब भएर म कमलरी भएकी हुँ 


Saturday, 5 Nov, 2016 3:44 PM

शान्ता चौधरी, पूर्व सांसद 

आफूमा छिटै परिवर्तन ल्याउन सक्ने ब्यक्तिको उदाहरण दिनु परे पूर्व सांसद शान्ता चौधरीको नाम लिन्छन् । अर्काको घरमा कमलरी बसेकी शान्तालाई एमालेले सभासद् बनायो भन्न त सकिएला तर, औठाछाप उनी छोटो समयमै पढ्न लेख्न सक्ने मात्र भइनन्, पुस्तक नै लेखिन्– कमलरी देखि सभासदसम्म । फेरि अर्काे पुस्तक लेख्ने तयारीमा रहेकी शान्ता एसएलसीको पनि तयारी गर्दैछिन् । राजनीतिक र सामाजिक परिवर्तनबारे शान्ता चौधरीसँग चक्रपथ डटकमले गरेको कुराकानी– 


तपाईं एक आधारभूत तहको श्रमिक महिला, राज्यको संविधान निर्माण गर्ने ठाउँसम्म पनि पुग्नुभयो । आधारभूत तहको नागरिक र राज्यबीच दूरी कति हुँदो रैछ भन्ने थाहा पाउनु भयो होला नि ? कति रैछ दूरी ?

 

दूरी त पक्कै हुन्छ । श्रमिक मान्छे बिहानदेखि बेलुकासम्म काम गरेर कसरी पेट पाल्ने कसरी परिवार पाल्ने भन्नेमै केन्द्रित हुन्छ । समाजका लागि केही गरौं भन्ने भावना राज्यको माथिल्लो तहमा बस्ने मान्छेको भन्दा बढी नै हुन्छ । तर, के गर्ने त्यस्तो अवसर नै उसले पाउँदैन । त्यसैले अरुको अरुको मुख ताक्नु पर्ने वाध्यतामा श्रमिकहरु हुन्छन् । आफैं भित्र विभिन्न समस्या हुन्छन् । माथि बस्ने मान्छेका दुःख पनि हुन्छन् तर, अर्कै खालका । माथि रहने मान्छेलाई खाने लाउने दुःख त हुँदैन नि । 


तपाईंले कमलरी हुँदा कस्तो हुन्छ सांसद र संसदको समितिको सभापति हुँदा कस्तो हुन्छ पनि अनुभव गर्नु भयो हैन ? 

हो नि । तर, मैले आफूलाई हुर्काएर यहाँसम्म ल्याएको त्यो पुरानो जमीन छोडेको छैन । विगतमा हामीले कमैया कम्लरी लगायत विभिन्न आन्दोलन गरेका थियौं, अहिले पनि आन्दोलनमै छौं । त्यो समयको आन्दोलनमा दिनभरी आन्दोलनमा गएर बेलुका भोकै बस्नुपर्ने अवस्था थियो । आन्दोलनमा जाँदा घरको चुलो नबल्ने अवस्था हुन्थ्यो । अहिले पेट पाल्ने कसरी भन्ने समस्या छैन । अघि तपाईंले भन्नु भएजस्तो दूरी भनेको यही हो । मान्छे पदमा पुगेपछि त्यो ठाउँबाट अर्काे ठाउँमा पुगिहाल्छ । 


दुःख पाएका मान्छेको दुःख देखाएर आन्दोलनहरु भइरहन्छन् । तपाईंको अनुभवमा के ती आन्दोलन ती जनताकै लागि भए कि राजनीतिक उपयोग धेरै भयो ?  


लोकतन्त्रमा आन्दोलन गर्नु, अधिकार माग्नु स्वभाविक नै हो । तर अधिकारको नाममा जथाभावी आन्दोलन पनि भएका छन् । कतिपयको माग नै के हो भन्ने थाहा हुँदैन । सोझासाझा जनतालाई प्रलोभनमा पारेर सडकमा लैजाने अनि केहि व्यक्तिले अवसर लिने प्रवृत्ति पनि उत्तिकै छ । जनताको दुःख भजाएर आन्दोलन गरे त बरु ठीकै हुन्थ्यो अव त जात भजाएर आन्दोलन हुन थाले । प्रबृत्ति परिवर्तन गरेर दुःख मेट्न सकिएला तर जात मेट्न सकिंदैन । जे कुरा मेट्नै सकिंदैन, प्रकृतिले नै फरक फरक बनाइदिएको छ, त्यसैलाई लिएर आन्दोलन गरेपछि त्यसले विनाश मात्रै ल्याउँछ । 

 

 

 

मैले थारु भएर यी पीडा भोगेकी हुँ र ? यी सब मेरा गरिबीका पीडा हुन् । थारु जातिको मुक्ति हुँदा म मुक्त हुने होइन, गरिवीबाट मुक्ति पाउँदा म मुक्त हुन्छु ।  शान्ता चौधरीलाई कमलरी बनाएको थारु जाति भएर होइन गरिबीले हो । त्यसैले मलाई लाग्छ यो देशको सबैभन्दा ठूलो मुद्दा वर्गीय हो जातीय होइन ।

 

जस्तै, कुन आन्दोलन हो त्यो ? 

जस्तै कैलालीको टीकापुरमा भयो । जे भन्दा मान्छे भड्किन्छन् त्यही भनियो त्यहाँ । तपाईं आफैं भन्नुस् त्यसले केही राम्रो गर्यो त ? राज्य पुनर्संरचनापछिको आन्दोलनलाई पनि हामीले अनुभव गर्न सक्छौँ । मान्छे गरिव भएर, आफ्नै केही उत्पादन नभएर दुःख पाइरहेको छ । अनि कहिले कहिले परापूर्व कालको जातको कुरा ल्याएर भड्काइदिएको छ । कैलालीका जनतलाई हामीले पछि सोध्यौं । अब यहाँ थारुलाई यहाँ बस्न दिन्नन् भनेर समेत हल्ला फैलाइएको रहेछ । त्यसो भनेपछि भड्काउन सजिलो भयो नि । मान्छेको अज्ञानतालाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने प्रबृत्ति देखियो । त्यसै पनि गरिव छ मान्छे, त्यसमाथि आफ्नो स्वार्थ पूरा गर्न केही ठालुले हतियार बनाएपछि के हुन्छ भन्नुस् त ? त्यो गरिव प्रयोग मात्रै हुन्छ झन् गरिव हुन्छ, ठालुले आफ्नो स्वार्थपूर्ति गर्छ । 


त्यसो भए आन्दोलन गर्नु नै गलत रैछ होइन ? 

मैले कहाँ त्यसो भनेँ र ? आन्दोलन भन्ने वितिक्कै पहिलो कुरा त त्यसको माग के हो भन्ने हुन्छ । त्यो मागले अधिकार नपाएको समुदायले अधिकार पाउँछन् कि पाउँदैनन् राम्रोसँग बुझाउनु पर्छ । मान्छेले कुरा बुझेपछि कसैले बोलाउनै पर्दैन, जनता आफैं आउँछन् आन्दोलनमा । आन्दोलनमा हिंसा हुनु भएन ।  तपाईं हेर्नुस्, जति पनि अधिकारका लागि आन्दोलन भएका छन्, शान्तिपूर्ण आन्दोलन मात्र सफल भएका छन् । कमलरी मुक्ति आन्दोलन पनि हामीले शान्तिपूर्ण रुपमा गर्यौं । 


तपाईं त मधेसकै मान्छे, मधेसकेन्द्रित पार्टीले गरेको आन्दोलनलाई के भन्नुहुन्छ  ?

त्यो आन्दोलनको त माग के हो भन्ने पनि स्पष्ट छैन । आन्दोलनका मोर्चामा भएको एउटा दल त्यही भूगोललाई लिम्बुवान बनाउनु पर्छ भन्छ, अर्काेले त्यसैलाई मधेस बनाउनु पर्छ भन्छ । एउटा थरुहट बनाउनु पर्छ भन्छ, अर्काे मधेस बनाउनु पर्छ भन्छ । कुनै असल परिणामका लागि भएकै छैन, जात जातको झगडा र बैमनस्यताका लागि भइरहेको छ । नत्र त आन्दोलनकारीको माग एउटै हुनु पर्ने हो नि । 


भनेपछि मधेस आन्दोलनसँग मधेसका जनताको कुनै सम्बन्ध छैन ? 

मलाई त त्यस्तै लाग्छ, जातीय भन्दा वर्गीय मुद्दा महत्वपूर्ण हो । म महिला हुँ, कमलरी बसेकी महिला हुँ । महिलाले भोग्ने पीडा र एउटा कमलरीले भोग्ने पीडा आफैं भोगेकी छु । के म थारु भएर यी पीडा भोगेकी हुँ र ? यी सब मेरा गरिबीका पीडा हुन् । थारु जातिको मुक्ति हुँदा म मुक्त हुने होइन, गरिवीबाट मुक्ति पाउँदा म मुक्त हुन्छु । जति आन्दोलन गरे पनि म महिला नै हुने हो, थारु नै हुने हो, जाति लिङ्ग त बदल्न सकिंदैन । तर, गरिवीबाट मुक्त हुने आन्दोलन गरे म सम्पन्न हुन सक्छु । 

 

 


तपाईंले यही कुरा जातीय आन्दोलनका पक्षधरहरुसँग गर्नु भएको छैन ? 

गरेको छु, अव त मान्छेले धेरै कुरा बुझि पनि सकेका छन् । पहिला मलाई पनि लाग्थ्यो र धेरैलाई अझै लाग्छ– हामी थारु भएकै कारण कमलरी–कमैया बस्नु परेको हो । धेरै थारु नेताले पनि यहि भन्नुहुन्छ, किन भने थारु त सधैं थारु नै रहन्छ र यसो भनेपछि ती गरिव थारुहरुलाई सधैं थारुका नाममा प्रयोग गरिरहन पाइन्छ । 

वर्गीय मुद्दा प्रमुख भए पनि जातका कारणले पनि पछि परेका छन् नि कतिपय ? 


हो जातका कारण पनि हामी पछि परेका छौं । तर, त्यो आजको संविधान, कानुन र सामाजिक ब्यवस्थाका कारण होइन, सयौं हजारौं वर्ष अघिदेखिको सामाजिक ब्यवस्थाले हो । त्यस्तो सामाजिक ब्यवस्था एकै पटकको प्रयासले परिवर्तन हुने होइन । जनचेतनाको लामो प्रयास हुनु पर्छ । हिजोको सामाजिक ब्यवस्थामा कुन जातिले के काम गर्ने भन्ने थियो, आज त छैन नि होइन र ? हिजो कुन जातिले के गर्न नपाउने भन्ने थियो आज त छैन । जव आज छैन भने जातको भिन्नता खोजेर लडाइँ किन लड्ने ? सबैको साझा दुस्मन गरिवी हो गरिवीसँग लड्ने कुरा हुनु पर्यो । 


जनजाति–मधेसी पछाडि परे भन्ने मान्नुहुन्न तपाईं ? 

पछाडी परेका छन् तर, जातका कारणले होइन, भाषाको पहुँचका कारणले । पूर्ण रुपमा नेपाली भाषा जान्ने, अंग्रेजी भाषा जान्नेले आफूलाई माथि उठाइहाल्छन् । जातकै कारणले पछि परेको मान्ने हो भने, यदि थारु भएकै कारणले कमैया बस्नु पर्ने भए हाम्रा थारु नेता विजयकुमार गच्छेदार र राजकुमार लेखी पनि कमैया हुनु पर्ने हो नि । गंगा चौधरी, रुक्मिणी चौधरी लगायत थुप्रै व्यक्ति कमैया कमलरी बन्नु पर्ने हो नि । तर, उहाँहरु बन्नु भभएन । जो गरिव थिए, जसको सम्पर्क भाषामा पहुँच थिएन, उनीहरु कमैया कमलरी बस्नु पर्यो । 


तपाईं थारु भएर कमलरी भएको होइन त्यसो भए ? 

होइन । शान्ता चौधरीलाई कमलरी बनाएको थारु जाति भएर होइन गरिबीले कमलरी बनाएको हो । त्यसैले मलाई लाग्छ यो देशको सबैभन्दा ठूलो मुद्दा वर्गीय नै हो । जबसम्म वर्गीय समस्या समाधान हुन्न, कुनै पनि समस्या समाधान हुँदैन । 


जाति अनुसारको प्रदेश बनाएर संघीयता बनाउनु गलत चाहीँ कसरी हुन्छ त ? 

अहिलेको जमानमा प्रगतिको बाटो भनेकै के हो भने भाषा, प्रविधि, उत्पादन सबै कुरामा साझेदारी हुनु पर्यो । मैले अघि नै भनेँ भाषाको पहुँच हुनु पर्यो । एउटा प्रदेशमा धेरै भाषा बोल्ने मान्छे होउन्, धेरै जातिका मान्छे होउन्, यसले विकास निम्त्याउँछ । आधुनिक समाजमा हुने त यही हो नि । तराईलाई एक प्रदेश बनाउने कुरामा मेरो जहिले पनि विमति छ । अझ म त त्यतिमात्र भन्दा पनि बहुप्रदेश हुनुपर्छ भन्छु । पहाड पनि मिसियोस्, तराई पनि मिसियोस्, त्यसो भएपछि स्रोत साधन पनि हुन्छ सबैतिर । अहिले त झन् कोटाप्रथा छ, यो त्यति राम्रो कुरा होइन । आफैं सक्षम हुनुपर्छ । कसैलाई आरक्षण दिने हो भने जातका आधारमा होइन आर्थिक हिसावले विपन्न र कमजोर वर्गलाई केहि समय कोटा दिनुपर्छ । 

 

 


जातका कारणले पछाडि नपरेको भए किन धमाधम जातीय संगठनहरु बनिरहेका छन् त ? 

मैले अघि नै भनेँ यो पुरानो सामाजिक ब्यवस्थाको असर हो । त्यो मेटिंदै जान थालेपछि जातको नाममा फाइदा लिनेहरुलाई असर पर्यो त्यसैले उनीहरु जातीय पार्टी बनाउन थाले । 


पुरानो समाज ब्यवस्थाको असर भनेको कस्तो ? 

जस्तै दाङकै कुरा गरौं । मेरो गाउँका माथिल्लो जात भनिएकाले तल्लो जातका मानिसलाई गर्ने व्यबहार फरक छ । बच्चाले पनि दलितलाई हेप्छ । ओइ फलानो दमाई यता आउ । कामी दाई यस्तो गर भनेर सम्बोधन गर्छन् । मेरै बुवा ७५/८० वर्षको हुनुहुन्छ । तर त्यहाँका साना साना बाहुनका बच्चाले ओई बट्का कहाँबाट आयौ भन्दै 'तिमी' भनेर सम्बोधन गर्छन् । तर मेरो बुवाले उनीहरुलाई हजुर तपाईं भनेर सम्बोधन गर्नुहुन्छ । यो अहिलेको कानुनी ब्यवस्थाले वा संविधानले गरेर भएको होइन । पुरानो समाजमा यस्तो चल्थ्यो, शिक्षा छैन अनि त्यही चल्यो । अव जति शिक्षा र चेतना फैलिन्छ त्यति छिटो यो ब्यवस्था हट्छ । चेतनामा भएको दोष संविधानमा थोपरेर हुँदैन नि । चेतना विस्तार गर्नु पर्यो । 


तपाईंलाई पनि बुवालाई जस्तै ब्यवहार गर्छन् ? 

मैले अघि नै भनेँ नि, म हिजो सांसद नहुँदा पनि थारु थिएँ, अहिले पनि थारु छु । हिजो तिमी, तँ भनेर सम्बोधन गर्नेहरु अहिले नमस्कार गर्छन् तपाईं भन्छन् । थारु भएर हेप्ने भए त आहिले पनि हेप्नु पर्ने नि । पद प्रतिष्ठा, शिक्षा, चेतनाले ठूलो भूमिका खेल्छ । त्यही थारु जातिको शिक्षकलाई सर भन्छन् त्यही थारु जातिको किसानलाई तिमी भन्छन् । अव यो असमानताको दोष संविधानलाई दिने ? संविधानले सबैको बुद्धिमा गएर बास गर्ने त होइन । 


जातीय संगठन बनाउनु गलत भन्नुहुन्छ तपाईं होइन ? 

हो, मैले त हाम्रै पार्टीका नेताहरुलाई पनि भनेकी छु– किन जातीय संगठन बनाउनु भएको हो ? माओवादीको प्रभावमा परेर एमालेले पनि जातीय संगठन बनायो, त्यो मलाई मन परेन । वर्गाीय संगठन बनाएर त्यसलाई पो बलियो बनाउने हो । गिट्टी कुट्नेको संगठन, हलो जतोत्नेको संगठन, कपडा बुन्नेको संगठन बनाउँ न । जुन जातिको भए पनि ती काम गर्ने मानिसको हित मिल्छ नि । अनि पो विकास हुन्छ । जातीय संगठन बनायो, जातीय सपना बेच्यो, ती पूरा हुने कुरा होइनन् । अनि धोका पाइयो भनेर रिसाउने विद्रोह गर्ने गलत बाटोतिर हामी गइरहेका छौं । 


अव संविधान संशोधन भए पनि तराईको समस्या समाधान हुँदैन भन्ने हो तपाईंको कुरा ? 

प्रबृत्ति र चरित्र बदल्नु पर्नेमा संविधान बदलेर पनि कहीँ समाधान हुन्छ ? चरित्र उस्तै राख्यो अनि संविधानलाई दोष दियो । संस्कार फेर्नु पर्यो, संविधान होइन । राम्रोसँग पालना गर्ने हो भने संविधानमा केहि कमजोरी छैन । 


यस्तो कुरा गर्नुहुन्छ अनि तपाईंलाई थारु विरोधी भन्दैनन् ? 

मेरोबारेमा अनेक हल्ला चलाइयो । थारु विरोधी, बाहुनवादी भनियो । तर, सत्य कुरा तीतो भए पनि विस्तारै सत्य नै सावित हुन्छ । अहिले मान्छेले बुझन् थालेका छन् । मलाई वहिष्कार गर्नेसम्ममा कुरा भए । फेसबुकमा मैले पढ्नै नसक्ने फोहोर शब्दले मलाई गाली पनि गरिन्थ्यो । तर मैले भनेका कुराले थारु र सबै जातिको हित हुने कुरा पछि बुझ्दै गए । 

 

 


देश बिग्रको चाहीँ कहाँनेर रैछ ?

देश बिग्रेको भन्दा पनि सिस्टम बिग्रेको हो । आफैं कानुन बनाउँछौं तर पालना गर्दैनौं । म एउटा कमलरी जनता र सभासद दुवै भएर अनुभव गरेकी छु । जनतालाई धेरै ठूलो कुरा चाहिएकै छैन, आफ्नो जातको राज्य बनाउँला शासन गरौंला भन्ने जनताको कुरा छैन । उनीहरुलाई त केवल काम गरेर शान्तपूर्वक जीविका चलाउने अवस्था र विकास चाहिएको छ । सिस्टम पालना गरेर भएका कानुनको राम्रो पालना गर्ने हो भने विस्तारै देश फेरिन्छ । 


संविधान बनेपछि पनि जनता त निराश छन् नि ? 

संविधान बनाउने अनि पालना नगर्ने अनि निराशा हुँदैन ? ६ महिना पुग्न पाएको छैन सरकार फेर्न लाग्ने, प्रगति गर्ने विकास गर्ने कुरै छैन सरकार परिवर्तन गर्नेतिर लागेपछि निराशा हुन्छ नि । एउटा सरकार बनेर केहि काम गर्न नपाउँदै ढाल्ने प्रवृत्ति छ । कम्तिमा एक जनालाई पाँच वर्ष काम गर्न दिनुपर्ने हो । तर व्यक्तिगत स्वार्थ, कुर्सीका लागि यहाँ यस्ता अनेक खेल हुन्छन् । त्यसैले जनता निराश भएका हुन् । अहिले हेर्नुस् त सामाजिक सञ्जालमा प्रचण्डलाई कति गाली गर्छन् । जनतालाई निराश बनाउनेगरी सत्ताको खेलमा लागेपछि सरकार ढाल्ने र बनाउने काममा लागेपछिको उपज हो यो । 


केपी ओली पनि त प्रधानमन्त्री हुनुहुन्थ्यो नि, धेरै गाली सुनिएन त ? 

मेरो पार्टीको अध्यक्ष भएर भनेको होइन, म अर्कै पार्टीमा लागेको भए पनि भन्थेँ, केपी ओलीको सरकारले केही गर्न थालेको थियो । त्यसैले ढालियो । त्यसैले पनि सामाजिक सञ्जालमा उहाँको समर्थनमा मान्छे देखिएका हुन् । 


केपी ओलीले गरेका राम्रो काम चाहीँ के हो ? 

सबैभन्दा राम्रो कुरा उहाँले नेपाल सार्वभौम देश हो, देशको हित विपरित कसैको स्वार्थ तामेल गर्न वाध्य छैन भन्ने स्थापित गर्नु भयो । नेपालले संविधान बनायो भनेर नाकाबन्दी गरेरै झुकाउन खोजिएको थियो, उहाँले उल्टै नाकाबन्दी गर्नेलाई झुक्न वाध्य पार्नु भयो, देशको शीर झुकाउनु भएन । अर्काे कुरा हामीले उपभोग गर्ने सामान ल्याउने बाटो दक्षिणतिर मात्रै थियो । त्यो बाटो भारतले थुन्यो । केपी ओलीले उत्तरतिरबाट पनि पारवहन सुविधा लिने सम्झौता गर्नु भयो । अझ त्यसका लागि रेल र सडक मार्गले चीनसँग जोड्ने सम्झौता भयो । एउटा छिमेकीले बाटो थुनेपछि भोकै मर्ने हामीलाई नयाँ बाटोतिर अग्रसर गराउने र कसैको पनि दवावमा परेर आत्मसमर्पण गर्नु पर्ने अवस्थाबाट मुक्त गर्ने त केपी ओली हो नि । त्यसो नगरेको भए भारतले झन् हेप्थ्यो । आफ्नै देशभित्र इन्धन उत्खनन् गर्ने कुरा कम महत्वपूर्ण कुरा थिएन । यो योजनामा देशलाई हिंड्न दिइएको थियो भने छोटो समयमा देशले काँचुली फेथ्र्याे । 


तपाईं एमाले भएकाले यति त भन्नै पर्यो नि होइन र ? 

लौ यही कुरा अर्कै पार्टीका तर, झुठ नबोल्ने मान्छेलाई सोध्नुस् तपाईं । केपी ओलीले गरेको यो काम कसले नराम्रो भन्न सक्दो रहेछ । एकछिन् केपी ओलीको विरोध गर्न त सक्लान् र केपी ओलीले गरेका यी कामको विरोध कसले गर्न सक्दोरहेछ हेरौं त । 

 

 


हाम्रो देश कस्तो रैछ, एउटी कमलरी, सभासद् बन्न चाहीँ सजिलै सक्ने तर, देश बन्न चाहीँ नसक्ने ? 


अन्यथा नलागोस, म सभासद भएपछि धेरै मिडियाले पनि लेखे । कोहि भाँडा माझ्दा माझ्दै सभासद, कोहि चुरा बेच्दाबेच्दै सभासद रे । मलाई नै औठाछाप सभासद् भनेर लेखे । तर मलाई लाग्छ देश बन्ने नै यसरी हो । म औंठाछाप नै त होइन आफ्नो नाम लेख्न ५ मिनेट लाग्थ्यो । तर, अर्काेतिर उल्टो प्रचार के हुन्छ भने नेपालमा लोकतान्त्रिक ब्यवस्था छैन, पक्षपात छ । लोकतन्त्र नभएका ठाउँमा एउटी कमलरी सभासद हुन्थे ? यहाँ जनतालाई अधिकार छ, अधिकार प्रयोग गर्न सक्नु पर्यो कुरा त्यत्ति हो । शान्ता चौधरी कमलरीबाट सभासद् बन्न सक्छे भने यस्तो लोकतान्त्रिक अधिकार भएको देश सम्पन्न हुन किन सक्दैन ? हिजोकी कमलरी मैले छोटै समयमा एउटा पुस्तक पनि लेखेँ, अर्काे पुस्तकको तयारी गरिरहेकी छु । मलाई प्रगति गर्न अधिकार दिने हाम्रो देश किन प्रगति गर्न सक्दैन ? प्रयास गर्नु पर्यो देशले प्रगति गर्छ । 

 

कति पिएचडी गर्ने मानिस मकहाँ आउनुहुन्थ्यो । उहाँहरुको कुरा सुनेर मलाई लाग्थ्यो–  मैले कमलरी कमैयाका वारेमा पिएचडी गरेकी रैछु ।  म एउटा तीतो कुरा तपाईंसँग भन्छु, पढेका मान्छेले धेरै बिगारेका छन् । पढेको मान्छे भन्नु र बुझेको मान्छे भन्नु फरक हो, तर मान्छेले पढेका मान्छेलाई बुझेको मान्छे ठान्छन् । 

 

मान्छे यसरी एक अवस्थाबाट अर्को अवस्थामा सजिलै परिवर्तन हुने यो देशमा देश चाहिँ किन परिवर्तन हुन नसकेको होला ?

देशमा पनि परिवर्तन नै भएको छैन भन्न मिल्दैन । धेरै भएको छ तर हुनुपर्ने जति नभएको पक्कै हो । त्यति धेरै निराश भइहाल्ने स्थिति छैन । हामीले नै सबैलाई आशा देखाउने हो । केहि वर्षको अन्तरालमै नेपालमा धेरै प्रविधिको विकास भएको छ । उदाहरणको लागि मोबाइल फोन । केहि वर्ष अघि हामी घन्टौं हिंडेर टेलिफोन गर्न गइन्थ्यो । तर आज प्रत्येकसँग हातमै फोन छ । यो पनि परिवर्तन हो । गाविसबाट सदरमुकाम जान बास बस्नुपर्ने स्थिति थियो । अहिले लगभग गाविसमा मोटरबाटो पुगेका छन् । यहि समयमा देशमा धेरै ठूला राजनीतिक परिवर्तन पनि भए । निराश हुनु पर्ने छैन । 

 

 


देशमा आवश्यकता भन्दा धेरै दलहरु बनेर पनि विकास नभएको जस्तो लाग्छ मलाई त । दल धेरै भएपछि फरक फरक मुद्दा हुने नै भए । एउटा पार्टीले बहुमत ल्याएर काम गर्न पाउने स्थिति भएन । सरकार परिवर्तन गर्न पनि यस्ता दलले सजिलो बनाएका छन् । 


कमलरी हुँदै सभासद् हुनु भयो, धेरै जान्ने बुझ्ने हुनु भयो हैन तपाईं ? 

समाजमा महिलाले केहि गर्न सक्दैनन् भन्ने बुझाई छ । त्यस्तै गरिबले केही गर्न सक्दैनन् भन्ने पनि बुझाई छ । म सभासद हुँदा औंठाछाप नै थिएँ । तर कति पिएचडी गर्ने मानिस मकहाँ आउनुहुन्थ्यो । उहाँहरुको कुरा सुनेर मलाई लाग्थ्यो, मैले पनि कमलरी कमैयाको बारेमा धेरै जानेकी रहेछु । मैले त्यसैमा पिएचडी गरेकी रैछु । पढाई त ठूलो कुरा हो । तर अनुभव झन् ठुलो कुरा हो । पढेर भन्दा परेर धेरै बुझिन्छ । मलाई लाग्छः समाजमा मेरो उदाहरण यहि सन्देश दिनकै लागि दिन्छन्, मलाई देखाएर कसैले नकारात्मक सन्देश दिएका छैनन् । म एउटा तीतो कुरा तपाईंसँग भन्छु, पढेका मान्छेले धेरै बिगारेका छन् । पढेको मान्छे भन्नु र बुझेको मान्छे भन्नु फरक हो, तर मान्छेले पढेका मान्छेलाई बुझेको मान्छे ठान्छन् । मैले कमलरी बस्दा पढेकी त थिइनँ तर, बुझ्नका लागि त्यो पनि ठूलो अवसर थियो ।


जीवनमा मैले धेरै दुःख पाएँ । संसारमा धेरैले दुःख गरेरै अगाडि बढेका छन् । दुख बुझ्यो भने मात्रै सुख थाहा हुन्छ । संसारका धेरै सफल व्यक्तिको पछाडी धेरै दुःख हुन्छन् । त्यसैले दुखलाई म प्रेरणाको स्रोतको रुपमा लिन्छु । मेरो नजिकको साथि पनि दुःख नै हो । 

 

 


 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top