बिनु पोखरेल
यदुनाथ खनाल पराष्ट्र मन्त्रालयका सचिव थिए । सुस्तामा भारतीय पक्ष र नेपालको सीमामा विवाद थियो । त्यसबेला परराष्ट्र मन्त्रालयका  सह–सचिव नारायणप्रसाद कोइरालाको नेतृत्वमा त्रिलोकप्रताप राण, नारायण शमशेर थापा सहित राजेन्द्र मरहठ्ठा सुस्ताको फायर साइडको अध्ययन गर्न भनेर त्यता लाग्यो । टोलीमा सँगै थिए एकजना बृटिश नागरिक जेएच हर्ज । हर्ज नेपालको नापी विभागका डाइरेक्टर थिए भने राजेन्द्र मरहठ्ठा अमिन । टोलीमा गएका नारायण शमशेर थापा भने परराष्ट्र मन्त्रालयकै सेक्सन अफिसर थिए । सुस्तामा कति भूभाग नेपालको र कति भारतको पर्छ भनेर छुट्याउनु पर्ने टोलीको काम थियो । 

सुस्ताको सीमा सम्बन्धी अध्ययन गर्न गएको टोली पुग्नासाथ भारतीय पक्ष उनीहरुमाथि आइलाग्ने संकेत त्यतिखेर देखियो । त्यस्तो अवस्था देखिएपछि अध्ययन टोली फर्कने भयो । ‘हामी खासमा सुस्ताकै अध्ययन गर्न गएका थियौं तर, त्यसरी जाँदा सिधै आइलाग्ने थाहा पाएपछि फायरसाइड अध्ययनको लागि आएका हौं भन्यौं’ राजेन्द्र मरहठ्ठाले भने, ‘यस विषयमा पनि कुरा मिलेन । अनि मलाई  तपाईं यहिँ रहेर कहाँ कति मिचिएको छ रेकर्ड राख्नु भन्दै अरु काठमाडौं फर्किए ।’ टोलीमा गएका सबै काठमाडौं फर्के पनि राजेन्द्र त्यहिँ बसे । एकजना खनाल र अर्काे गुरुङ थरका स्थानीयबासीको घरमा बसेर उनले सीमाना सम्बन्धी अध्ययन गर्ने काम थाले । 

भोलिपल्ट उनी उभिएर भारतीयहरुले नेपाली भूमिमा बनाएको फायरसाइडको नाप गर्दै थिए । त्यसैबेला भारतीय सेना आएर उनलाई पक्रेर लग्यो ।  ‘हाम्रो सिमानामा भारतले बनाएको फायरल्याण्ड डिटक्सन गर्न खोज्दैथिएँ, एकहुल भारतीय सैनिक आइहाले’ राजेन्द्रले त्यसदिनको घटना सुनाए, ‘मलाई उनीहरुले समातेर लगे, त्यहाँ हाम्रो तर्फका सेनाको त कुरै नगरौं प्रहरी पनि नजिक थिएनन् ।’ 

०२६ सालमा भारतीय सेनाले त्यसरी नेपाली भूभागबाट पक्रिंदा राजेन्द्र २३ वर्षका जवान थिए । अहिले ७१ वर्षको उमेरमा आइपुग्दा उनको अनुहारमा बुढ्यौलीका रेखा त छन् देशको सीमाना रक्षाको चेतना भने युवाकालको झैं लाग्छ । आफ्नो सीमाना अध्ययन गर्न गएको नेपाली प्राविधिक कर्मचारीलाई पक्रेर हातमा भएको नक्सा समेत खोसेको उनले बिर्सेका छैनन्, बिर्संदैनन् पनि ।

 

‘हाम्रो सिमानायता भारतले बनाएको फायरल्याण्ड डिटक्सन गर्न खोज्दैथिएँ, एकहुल भारतीय सैनिक आइहाले । मलाई उनीहरुले समातेर लगे । मसँग भएका नापीका सामान र नक्सा समेत उनीहरुले खोसेर लगे । पानी पास गर्न उनीहरुले नेपाली भूमीमै ढ्वाङसोता र ढ्वाङनाला बनाएका थिए । मलाई ढ्वाङसोता नाघेर किन आइस् भनेर हप्काए । – राजेन्द्र मरहठ्ठा

‘कसरी बिर्सनू ? भारतीयहरु अति नै अशिष्ट, मेरो हातमा भएको नक्सा पनि खोसेर लगे र लगेका नापीका सबै सामान पनि खोसेर लगे’ उनले घटना सुनाए, ‘देश हेपिनुको पीडा मैले त्यहाँ प्रत्यक्ष महसुस गरेँ ।’ त्यो बेला त्यहाँको पानी कटाउन ढ्वांङ सोता र ढ्वांङनाला भन्ने संरचना  बनाएको थियो, जुन नेपालकै भूभागका पथ्र्याे । भारतीय सेनाले निकै अशिष्ट भाषामा ढ्वांङसोता नाघेर आइस् भनेर कराएको उनी सम्झन्छन् । ‘भाषा ज्यादै अशिष्ट, तँ ढ्वाङसोता किन आइस् भन्यो । तर, ती संरचना हाम्रै भूभागमा थिए, म भारतीय भूभागमा गएको थिइनँ’ राजेन्द्रले भने, ‘आफ्नो जमीनमा उभिएरर उनीहरुले हामीतिर बनाएका संरचना  अध्ययन गर्दा बोल्ने कोही भएन ।’ त्यसबेला नवलपरासीमा सीताशरण नाम गरेका सीडीओ रहेछन् । उनलाई पनि सोधिएछ, सुस्तामा के भएको हो भनेर । तर, उनले जवाफ पठाएछन्– नेपालको जमीनमा केही बनेको छैन ।

सुस्तामा त्यस दिन राजेन्द्रलाई पक्राउ गरेपछि एकजना नेपाली गएछन् उनलाई छुटाउन । गण्डक परियोजना बन्दै गरेकाले त्यस इलाकामा भारतीय सेना २४ सै घण्टा खटिएका हुन्थे । गण्डक परियोजनामा काम गर्ने तिनै नेपालीले राजेन्द्रलाई छुटाए । कुरा गर्ने भए नेपालको सरकारसँग गर्नुस् उसलाई थुनेर केही हुन्न भने ती नेपाली युवाले भारतीय सेनासँग । त्यसरी छुटेपछि उनी एकरात सुस्तामा सुतेर भोलिपल्टै काठमाडौं आए । ०२६ सालमा भारतीय सेनाले थुन्दा नेपाली राष्ट्रियता कमजोर भएको महसुस गर्नै तिनै राजेन्द्र अहिले त झन् भारत खुलेआम हस्तक्षेपमा उत्रेको अनुभव गरिरहेका छन् । ‘यहाँका नेता नै भारतको हात बलियो बनाउन कस्सिएका छन्, सबै कुरामा उनीहरुको स्वार्थ अनुसार गर्छाैं भनेर सही गर्छन्’ किन नहेपोस् भारतले ?’ उनले भने, ‘जंगलमा हुँडारको राज जस्तै भएको छ, भारतले हुँडारको ब्यवहार गर्छ ।’ 

 

उनी काठमाडौंको खानलाउन पुग्ने परिवारमै जन्मेका थिए । देशका सीमाना काठमाडौंमा हुर्किंदा उनको दिमागमा त्यति गढेको थिएन, जतिबेलासम्म उनी अमिन बनेर जग्गा नाप्न हिंडेका थिएनन् । जव उनी सीमानामा भूमि मिचिएको ठाउँमै नाप्न पुग्थे, त्यहाँ भारतीय पक्षले गर्ने ब्यवहारले मुटु दुखेर आउँथ्यो । ‘जव म सीमामा आफ्नो भूमि मिचिएको अध्ययन गर्न जान्थेँ, मट्टितेल खन्याएको सर्पझैं छट्पट्ी हुन्थ्यो’ मरहठ्ठाले भने, ‘आफूलाई दुख्नु र देशलाई दुख्नु फरक कुरा रहेछ, फिल्डमै गएर हेरेपछि हुने छट्पटी यहाँ बसेर महसुस नै हुन सक्दैन ।’ 

नापीको कर्मचारी हुँदा नै लाग्थ्यो, देशको सीमाना नापेर छुट्याउँछु । तर, उनले सोचेजस्तो नहुने रहेछ । यो त राजनीति, देश हाँक्ने नेतृत्व, देशको स्वाभिमान र आत्मबलसँग गाँसिएको कुरा रहेछ । उनको मनमा त देशको सीमानामा ताजरबार लगाउने थियो, तर त्यो हुन सकेन । उनी देशको सीमाना नाप्न चाहन्थे, त्यसैले उनलाई फायर ल्याण्ड डिटेक्सनको तालिम दिइयो र सुस्तामा खटाइयो । त्यहाँ उनी पक्राउ परे । अहिले उनलाई देश सीमानाबाट मात्र मिचिएजस्तो लाग्दैन । राजनीतिको केन्द्रमा बस्नेले नै देशमाथि खुलेआम हस्तक्षेप गर्न आमन्त्रण गरेको उनी महसुस गर्छन् । ‘देशको अस्मिता समाप्त पार्ने ब्यवहार यहाँकै सत्तामा बस्नेले गरिरहेका छन्’ उनी भन्छन्, ‘तर, हामी नेपाली विभाजित भइरहेका छौं, आफ्नो पार्टीको नेताले गरेको काम भनेर जनता चुप लागेर बस्नुजस्तो दुर्भाग्य केही हुँदैन ।’