माओवादी सचिवालय सदस्य अग्निप्रसाद सापकोटा अहिले दोहोरो चपेटामा हुनुहुृन्छ । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले निर्वाचित भएपछि एकातिर मतदाता र शुभेच्छुकलाई धन्यवाद दिन जिल्लामा दौडधूप गर्नुछ भने अर्काेतिर एमाले र माओवादीबीचको पार्टी एकतालाई निश्कर्षमा पुर्याउन राजधानीमा छुट्टै ब्यस्तता । बिहीवार सिन्धुपाल्चोकबाट फर्केपछि शुक्रवार बिहानै पार्टी अध्यक्ष प्रचण्डसँग पार्टी एकताबारे संवाद गर्नुभएका सापकोटासँग पार्टी एकता र यसका चुनौतिका विषयमा चक्रपथका लागि बिनु पोखरेलले गरेको कुराकानीः 

एमाले र माओवादी एकता प्रक्रिया कहाँ पुगेको छ ? 
दुई पार्टी एकता प्रक्रिया त्यतिबेलै सुरु भएको भएको हो, जतिबेला दुई पार्टीका अध्यक्ष सम्मिलित एकता संयोजन समिति बन्यो । दुई पार्टी एक हुने भएपछि नै सँगै चुनावमा जाने निर्णय भयो । त्यो चुनावमा वाम तालमेलका लागि मात्रै थिएन, यदि त्यस्तो हुन्थ्यो भने पार्टी एकता संयोजन समिति नै बन्दैनथ्यो हामीले पार्टी एकता गरेर जाने टुंगो गरेरकै चुनावमा जाने निर्णय गर्यौं र यो उचाई पनि हासिल गर्यौं । त्यसपछि पार्टी त तल कार्यकर्ताको तहदेखि, अझ चुनाव मार्फत जनताको तहदेखि एकता भइसक्यो । अव औपचारिक प्रक्रिया पूरा गरेर घोषणा मात्र गर्न बाँकी हो  । 

एकताका बारेमा पछिल्लो पटक उठेका आकंकाले केहि असर गर्दैन ?
हामीले चुनावबाटै एकताको लागि जनताको म्यान्डेट लिएर आएका छौं । जनताको म्यान्डेट लिएर आइसकेपछि जनताको निर्णय विपरित जाने छुट कसैलाई पनि छैन । इतिहासमा यस्तो अवसर विरलै पाइन्छ, यो अवसर हामीले पाएका छौं । यस अवसरलाई हामी जिम्मेवारीमा बदल्छौं । कसैंले यसमाथि शंका गर्नु पर्ने ठाउँ नै छैन । यदि यो सफल हुन सकेन भने एमाले र माओवादीलाई त धक्का लाग्छ नै देशलाई पनि धक्का लाग्छ । कम्तिमा यो कुरा हाम्रो नेतृत्वले राम्रोसँग महसुस गरेको छ । त्यसैले अव तपाईंहरुले यसको रिजल्ट केहि समयमै पाउनुहुनेछ । 

तर, तपाईंको पार्टी माओवादी भित्रै एमालेसँगको एकतामा विमतिका स्वरहरु बाहिर आएका छन्, यसलाई के भन्नुहुन्छ ?
एकाध मान्छेले नबुझेर वा निजी स्वार्थका कारणले विरोध गरेका छैनन् म भन्दिन । कतिलाई यो वाम गठबन्धन पनि चित्त नबुझेको हुनसक्छ । कतिले पार्टी एकीकरणलाई गलत ढंगले बुझेको पनि हुनसक्छ । कतिले चाहिँ आफ्नो ब्याक्तिगत हिसाव किताव गर्दा भाग नपुग्ने लागेर यसरी कुरा आएका पनि हुन सक्छन् । अर्कोतिर वाम एकता नहोस भनेर प्रयोजित समाचारहरु पनि बजारमा आएका छन् । कतिले नबुझेर आएका छन्, कतिले चाहिँ बिकाउ समाचार बनाउन पनि यस्तो हल्ला ल्याएका छन् । केहि छलफल र बहस भए भने त्यो अवरोधकै लागि भयो भन्ने अनुमान पनि लगाएका छन् । तर, जीवन्त बहसले नोक्सानी गर्दै गर्दैन । सहि उद्धेश्य र गन्तब्यमा हिंडिरहेका बेला गलत नियतले बहस भए पनि ती निस्तेज हुन्छन् । मान्छेले बुझ्दै जान्छन् । तर, यस्ता कुराले एकतामा कुनै असर पार्दैनन् । 

एकताको प्रक्रिया अघि बढिरहेका बेला भित्र कुनै न कुनै गृहकार्यहरु भइरहेको हुनुपर्ने हो नि त ? बाहिरबाट हेर्दा त्यस्तो किन देखिंदैन ? 
आज (शुक्रवार) बिहान मात्र पनि म पार्टी अध्यक्ष प्रचण्डसँग एक घन्टा छफलफल गरेर निस्केको हुँ । भित्र भइरहेका गृहकार्यबाट त म झनै उत्साहित भएको छु । कमरेड केपी शर्मा ओली र कमरेड प्रचण्डका बीचमा मिलाउनु पर्ने बाँकी बिषयमा कुरा भइरहेको छ । केहि समयभित्रै हामीले सुत्रबद्ध ढंगले केहि कुरा पाउन सक्छौं । तर यी कुराहरु औपचारिक तवरले बाहिर आउन समन्वय समितिको बैठकले निर्णय गर्नुपर्छ । क्रमैसँग गृहकार्यले निश्कर्षमा पुर्याएपछि तपाईंहरुले थाहा पाउनुहुनेछ । भित्र भएका गृहकार्यहरु अहिले म तपाईंहरुलाई भन्न त सक्दिनँ, तर यत्ति भन्न सक्छु– म आफैं निकै उत्साही र खुसी छु । 

तपाईंहरुले भित्र गृहकार्य भएका कुराहरु बाहिर नल्याइदिंदा अनुमानका आधारमा बाहिर केहि कुरा आएका छन् । त्यसले असमझदारी छ कि भन्ने पनि शंका उत्पन्न भएको छ । प्रक्रियाका हिसावले यो कहिलेसम्म टुंगोमा पुग्ला भनिदिनुस् न ? 
दुवै पार्टीका प्रमुख नेताले समझदारी गरेर एकता संयोजन समितिबाट अनुमोदन नगरेसम्म प्रक्रिया यहाँ पुग्यो भन्ने अवस्था रहंदैन । पार्टी एकता त पहिल्यै घोषणा भयो । त्यसलाई जनताले मतबाट अनुमोदन गरिसके । जनमतले त अनुमोदन गरेको थियो नै, दुवै पार्टीका कार्यकर्ताले पनि भावनात्मक रुपमै अव हामी छुट्टिन सक्दैनौं भन्ने जवाफ दिइसके । यति भएपछि बुझ्न्स् न, कार्यकर्ताको भावना, जनमतलाई क्रस गरेर नेतृत्व जान सक्दैन । अव त हामीले दुई पार्टीको नेतृत्व बसेर जनमत र कार्यकर्ताको भावनालाई लिपिवद्ध गर्ने र औपचारिकता दिने मात्रै कुरा बाँकी हो । यसलाई तपाईं किन चरणमा बाँडेर हेर्न खोज्नुहुन्छ ? विचार, रणनीति, कार्यनीति  र कार्यक्रममा पनि एउटा लिखित समझदारी गरिन्छ र एकता महाधिवेशन हुन्छ । प्रक्रियाका हिसावले कुरा यहि हो । 

यसमा खासगरी दुईवटा विषयमा क्लियर भएर अघि बढ्नु पर्छ । एउटा वैचारिक र अर्को राजनीतिक कार्यदिशाको विषय । वैचारिक बिषय भन्नाले वहुदलीय जनतावद भन्ने एकातिर छ, एक्काइसौं शताब्दीको जनवाद भन्ने अर्काेतिर छ  । तर, यी विषयमा वैचारिक भिन्नताहरु आधारभूत रुपमा छैनन्, भिन्नता भएका विषयमा क्लियर गरेर जानुपर्छ । अर्काे कुरा उहाँहरु मक्र्सवाद लेलिनवाद भन्नुहन्छ, हामीले माओवाद भनेका छौं । आधारभूत वैचारिक भिन्नता नभएपछि यी विषय मिलाउन सकिन्छ । हामीले अहिले मूलभूत रुपमा टुंगो लगाउनु पर्ने कुरा के हो भने  अब समाजवादको मोडेल के हुने  ? सर्वाधिक बहसको बिषय चाहिँ त्यो हो । यस विषयमा पनि संविधान निर्माण गर्दा हामीबीचको धेरै अन्त्य भइसकेको छ । संविभानमा समाजवाद उन्मुख राज्यब्यवस्था त भनेका छौं  । तर त्यो मोटो रुपमा भयो । समाजवादको हाम्रो मोडेल कस्तो हुने, हामी संसारका सबै ज्ञान लिन्छौं तर, यसको बाटो तयार गर्ने बेलामा हामी हाम्रो मोडलमा तयार गर्नेछौं । 

यी सबै विषयमा समझदारी गर्दा तपाईंहरु बीचमा मतैक्य हुन गाह्रो होला नि ? त्यसमाथि बाह्य पक्षले खेल्ने सम्भावना रहंदैन ? 
हामीले स्थानीय तहको चुनाव गर्दा पनि त त्यसलाई हुन नदिन प्रयास भएको थियो नि ।  अहिलेको चुनाव पनि हुन नदिने र अवरोध गर्ने शक्तिहरु थिए । तर सकेनन् । हामीले चुनाव गर्यौं । चुनाव हुन नदिन देशी विदेशी शक्ति केन्द्रहरु लागेकै हुन् । तर हामीले गरेर देखायौं । अहिले राम्रो कुरा के भएको छ भने हामीले एकपछि अर्को गरेर आत्मनिर्णयको अधिकारलाई प्रयोग गरिरहेका छौं  । हाम्रो राष्ट्रिय स्वाभिमान चाहिँ पल प्रतिपल उँचो भइरहेको छ । राष्ट्रिय राजनीतिका हस्तीहरुले देखाएको दृढ इच्छाशक्तिले । राष्ट्रको हितमा निर्णय गर्ने, जनतामा जागरण ल्याउने जस्ता काम भयो भने कसैले रोक्न सक्ने रहेनछ भन्ने उदाहरण अहिले हामी नै भएका छौं । अहिलेको यो निर्वाचन सम्पन्न हुन सबैभन्दा धेरै सहयोग जनताले गरेका छन् । 

कार्यकर्ताबीच भावनात्मक एकताको कुरा गर्नुभयो, दुई पार्टीका कार्यकर्ताबीच कटुता पनि त देखिएको थियो नि, होइन र ? 
तपाईंले भन्नुभएको कुरा विगतको हो । वर्तमानमा एमाले र माओवादीका कार्यकर्तामा कटुताको त कुरै छोडौं, दुई पार्टीका कार्यकर्तामा यो एमाले हो, यो माओवादी हो भनेर छुट्याउनै नसक्ने एकताको आधार पैदा भएको छ । कार्यकर्ता र जनताले यो एकताप्रति अग्रसरता नलिएको भए हाम्रो निर्णयले मात्र केहि हुने थिएन । बरु माथिकै केहि नेतामा के हो, के हो, भन्ने थियो । तर, बेस लेभलका कार्यकर्ता र  शुभचिन्तकले किन के हो, के हो नि, कुरो यो. हो भनेर देखाइदिए । तल कार्यकर्ता सबै यसरी लाग्नुभयो कि माथिका नेतामा भएको आशंका पनि मेटिएर गयो । कार्यकर्ता एक आपसमा यसरी हेलिए कि सवै सक्रिय भएर लाग्ने अवस्था बन्यो । चुनावमा पैसा खर्च गरेर जितौंला भन्ने सोचेकाहरुलाई पनि जनसमर्थनको त्यो बाढिले बगाइदियो । यसपटकको चुनावमा त पैसाको तुजुक देखाउनेहरु पनि तर्सिनु पर्ने अवस्था आयो । यो उचाईको जीतमा त तिनै कार्यकर्ताको भावनात्मक एकता जिम्मेवार छ नि । साँच्चै भन्नुहुन्छ भने अहिले पुरै उलटफेर नै भयो । हामीले हिजोसम्म लिने मान्यताहरुलाई यहि चुनावले पुरानो बनाइदिएको छ  । नयाँ अध्याय सुरु भैसकेको छ  । नत्र त चुनावमा पैसासँग डराउनु पर्ने अवस्था हुन्थ्यो । त्यो मान्यता यसपटक तोडियो । प्रतिस्पर्धी उम्मेदवार पैसावाला छ, हामी बिना पैसा लड्दा जितिंदैन कि भन्ने मान्यतालाई यसपटक जनताको भेलले भत्काइदियो । जनताले सबैभन्दा बढि मनोवल यसपटकको चुनावमा दिए । यो सबै कार्यकर्ता र शुभचिन्तकको भावनात्मक एकताको परिणाम हो । 

स्थिर सरकार र समृद्धिको नारा दिएर जित्नुभयो, अव त्यो सफल बनाउन सक्नु भएन भने त तपाईंहरुलाई अर्काे पटक अप्ठ्यारो पर्छ भन्ने पनि त सोच्नु भएको होला नि ?
तपाईंले भनेको कुरामा म सहमत छु । त्यसैले त हामी जनताले चाहेको राजनीतिक स्थिरता र विकास, यी दुई कुरामै केन्द्रित भएर लागेका छौं । अव नयाँ सरकार बन्न दिनुस् । अव झ्याम झ्याम काम नै गर्ने हो । जनताले दिएको कार्यभारलाई पूरा गर्ने हो । अन्त अल्मलिने ठाउँ नै छैन । हामीलाई जनताले पनि त्यहि कामका लागि पठाएका हुन्, हामी त्यहि काम गर्छाैं । अव जनताको जीवनमा समृद्धि ल्याउने, सुख ल्याउने, भ्रष्टाचार अन्त्य गर्ने काममा हामी लाग्छौं । तपाईंहरुलाई अनौठो लाग्ला । यत्रो संघीयता छ, कसरी कर्मचारी सांसद पाल्ने भन्ने होला । तर, यहाँ राज्यस्रोत नभएर होइन भ्रष्टाचारले हो विकास र जनताको जीवनमा समृद्धि नआएको । भ्रष्टाचार हुने स्रोत साधन विकासमा लगाउने हो भने प्रशासनिक खर्च त त्यहिँबाट त्यसै जम्मा हुन्छ । 

एमाले–माओवादी एकतामा चुनौती पनि त होलान् नि, त्यसलाई पार लगाउनु पर्यो स्थिरताका लागि होइन र ? 
हेर्नुस्, प्रतिद्वन्द्वीहरुले चुनौती मात्र होइन कतिपय अवस्थामा जोखिमी पनि पैदा गरिदिन्छन् । तर, हामीलाई यिनै चुनौतीले नै उद्धेश्यप्रति इमान्दार बनाउने हो । अहिले सरकार बनाउन ढिलाई गरिदिएर, एकतामा अल्मल्याएर राख्यो भने रात रहे अग्राख पलाउँछ भन्ने खालका तत्वहरु पनि छन् । त्यसो गर्यो भने स्वार्थको दुनो सोझ्याउन पाइन्छ भन्ने उनीहरुको चाहना होला । 

यो एकतामा खेल्न खोज्ने तत्व देशको आन्तरिक मात्र छैन बाह्य शक्ति पनि छ । पार्टी भित्रै पनि छन् । तर मलाई लाग्छ  जनताले दिएको जनमतको बल र दुई नेताको दृढ इच्छाशक्ति हाम्रा जितका र देशको हितमा काम गर्न सक्ने कडी हुन् । अवरोधका भन्दा एकताका पक्षहरु नै शक्तिशाली छन् । रात रह्यो अग्राख पलायो भन्ने खालको प्रयासबाट हामी सचेत छौं ।  पार्टी एकता त घोषणा गरेकै बेलादेखि सुरु भइसक्यो, अव एकता महाधिवेशन गरेपछि अन्तिम टुंगोमा पुग्छ । त्यसबेलासम्म हामी क्रमैसँग सबै कुरा मिलाइसक्छौं ।  पार्टीका शीर्ष नेताले भनेझैं हामीले पछाडि फर्किने पुल नै भत्काइसक्यौं । अब एमाले छुट्टै पार्टी र माओवादी छुट्टै पार्टी भन्ने भिन्न अस्तित्वमा फर्किन सम्भव नै छैन । त्यसकारण अव पनि एमाले र माओवादी एकता हुन्छ कि हुँदैन भन्ने प्रश्न कि नबुझ्नेले सोध्छ, कि प्रश्न सोध्नेको नियत नै सहि छैन भनेर बुझ्छु म त । यत्रो जनमत आएपछि पनि के हुन्छ, के हुन्छ भनेर अनेक प्रश्न गर्छन् । कुनै विषय यति क्लियर हुन्छन् कि जुन सबै छ्याङ्छ्याङ्ती देखिन्छ । 

तर, अहिले सरकार गठन पहिला  कि पार्टी एकता भन्ने विवाद दुई पार्टीबीच छ जस्तो देखिन्छ नि ?  
यो पनि सोधिने प्रश्न होइन । के रोकिने कुरा छ र ? जे पहिला हुँदा पनि  हुन्छ । किनकि यो दुबै कुरा गर्नै पर्ने कुरा हो । सरकार बन्ने कोर्ष अगाडि बढ्दा सरकार पहिले बन्छ, पार्टी एकताको कोर्ष अघि बढ्दा पार्टी एकता हुन्छ । दुवै काम हामीले नै गर्ने काम हुन् । अव सरकार बन्छ र सँगै पार्टी एकताको प्रोसेस पनि अघि बढ्छ । पार्टी एकीकरण गर्ने कुराले सरकार गठन गर्ने कुरा रोकिन्न, सरकार गठन गर्ने कुराले पार्टी एकता पनि रोकिन्न । यो प्रोसेसका रुपमा चल्छ । 

प्रचण्डले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको कुरा बाहिर ल्याउनु भयो, के त्यस्तै समझदारी भएको हो ? 
यस्ता कुरा कसरी आउँदो रहेछ भने मिडियाले आलोपालो गर्ने हो भनेर प्रश्न सोधिदिने रैछन् । हुन पनि सक्छ भनेर जवाफ दिएपछि के चाहियो ? आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने हल्ला चल्यो । कसैले यसरी पनि हुन्छ भन्दा हुन पनि सक्छ भन्नुभयो होला पार्टी अध्यक्षले । त्यसलाई आलोपालो भनेर लेखे । बाहिर जाओस र टेष्ट पनि हुँदै गर्छ भन्ने पनि होला । यो कुरा बाहिर आयो । तर त्यसरी जाने भन्ने कुरालाई जनताले खुलेरै विरोध गरे । यसले गर्दा यो रिजेक्ट नै भइसक्यो । अब जे कुरा हुन्छ र राष्ट्रलाई ध्यानमा राखेर दुई नेताले निर्णय गर्नुहुनेछ । निर्णय काँधमा बोकेर हिंड्ने त हामी छंदैछौ । यसको स्वागत गर्न जनता कुरेर बसेका छन्  ।