मुम्बईको कोठीमा १६ बर्षको उमेरमा दलालबाट बेचिनुभयो–चरिमाया तामाङ । आफ्नो उद्धारपछि त्यस्तो कसैले भोग्नु नपरोस् भनेर रातदिन लागिरहनु भएको छ । दुई छोरीकी आमा चरिमाया समाजसेवा त गरिरहनु भएकै छ, पशुपति क्याम्पस, चाबहिलमा १२ कक्षामा  अध्ययनरत् समेत हुनुहुन्छ । मानव बेचबिखन बिरुद्ध आवाज उठाउन सक्रिय उहाँ घरपरिवारलाई भन्दा पनि समाज परिर्वतनको मुद्दालाई पहिलो प्राथमिकतामा राख्नुहुन्छ । उहाँ यतिबेला थप चिन्तामा हुनुहुन्छ–बेचिनेको संख्या बढ्दो छ । लाउँखाउँको उमेरमा नारकीय जीवन बिताउन चेलीहरु बाध्य पारिदैंछन् । मुम्बईको कोठीमा २२ महिना नारकीय जीवन बिताउन बाध्य चरिमायाँ अहिले शक्ति समुहकी संयोजक हुनुहुन्छ । उहाँसँग चक्रपथ डटकमकर्मी कविता अधिकारीले वार्ता गर्नुभयो । चरिमायाँकै भाषामा : 
 
फेरिंदै बेचविखन शैली 
दिल्लीको कोठीमा बेचिंदा मैले अठोट गरेकी थिएँ–म नेपाल फर्कें भने बेचबिखन हटाउनेछु । म फर्कन सफल भएँ र त्यही क्षेत्रमा काम गरिरहेकी छु । चेलिबेटी बेखबिखन नहोस् भन्नका लागि जनचेतनामूलक कार्यक्रम, सडक नाटक, हराएका व्यक्तिको खोजीकार्य, अप्ठयारामा परेका व्यक्तिको उद्धार कार्यमा हामी लागिरहेका छांै । तर बेचबिखनको शैली फरक भएको छ, ठाउँहरुमा परिवर्तन भएका छन् । पहिला भारतको मुम्बई, दिल्ली, कलकत्ताका निश्चत ठाउँमा बेचिन्थ्यो, जुन हामीलाई पनि थाहा हुन्थ्यो । त्यसबेला मुम्बईको क्वाटीपुर, कलकत्ताको सोनागाछी, दिल्लीमा जीबी रोड, कमलापुर लगायतको ठाउँमा बेचविखन हुन्थ्यो । 

तर आज बेचबिखनको निश्चत ठाउँ तोकिएको छैन । जहाँ पनि जुनसुकै ठाउँ र जुनसुकै व्यक्ति जेसुकै कामका लागि बेचिन सक्छन् । हिजो जसरी यौन शोषणको लागि मात्र वेचविखन हुन्थ्यो आज त्यो झन् फिंजिएको छ । अहिले जान्नेसुन्ने र केही लगानी गर्न सक्ने व्यक्ति बेचिएका छन् । आफ्नै पैसा दिने अनि आफैं बेचिने समस्या बढ्दै गएकोप्रति चिन्ता लाग्छ । पढेलेखेका र राम्रै घरका दिदिबहिनी पढ्ने र कमाउने आशमा बेचिएका छन् । 
मेरो बुझाईमा स्करसीपमा अध्ययन गर्न जाने भन्ने छ, यसमा त झनै ठूलो समस्यामा फस्ने गरेका उदाहरण छन् । यहाँबाट स्टुडेन्ट भिषामा लग्ने र स्करसीप दिने भन्नेले त त्यो देश पुर्याउनेसम्म मात्र भूमिका खेल्छ । त्यसपछि त त्यसको केही भूमिका हुँदैन, त्यही भएर उच्चशिक्षाका नाउँमा पनि बेचबिखन भएको छ । शक्ति समुहमा यस्ता केस धेरै आईरहेका छन् । कुनै व्यक्तिलाई सिधै कोठीमा लगेर बेच्नुमात्र बेच्नु हैन, व्यक्तिको चौतर्फी विकासमा अवरोध गर्नु उसलाई दासत्वको अवस्थामा पुर्याउनु पनि बेचविखन भित्रै पर्छ ।

दलालको सक्रियता बढ्दो
अहिले दलालहरुले देश चलाएका छन् । मेनपावर कम्पनीको माध्यमबाट दैनिक हजारौं छोरीचेली बैदेशिक रोजगारीको नाउँमा किनबेच भईरहेको छ । अहिले नेपाललाई दलालहरुले स्रोत गन्तव्य र ट्रान्जिटका रुपमा परिचालन गरिरहेका छन् । हामीले बैदेशिक रोजगारीमा नजानुस् भन्न मिल्दैन तर त्यहाँ जानु अगाडि  कुन देशमा सरकारले श्रमको लागि जान पाउने सम्झौता छ त्यो बुझ्नु पर्यो । त्यो देशमा के काम छ, त्यो काम गर्न सक्ने ममा क्षमता छ कि छैन, त्यसमा आफू निपुण हुनुपर्यो । त्यहाँको भाषा सिक्नु पर्यो । त्यहाँको संस्कार सिक्नुपर्यो । जसले गर्दा त्यहाँ गएर काम गर्दा केही समस्या हुँदैन । यहाँ त के छ भने विदेश जाने भनेपछि जोसुकैसँग कुरै नबुझी गइहाल्छन् । त्यसले अप्ठयारोमा पर्न सकिन्छ । भोलि विदेशमा समस्या भयो भने सहयोग लिन सकिंदैन । यहाँबाट जानेले के बुझ्नुपर्यो भने विदेश जाँदा सरकारको प्रतिनिधि त्यहाँ पनि हुन्छन् ।  त्यहाँ समन्वयमा बस्न सक्यो भने मात्रै सहज हुन्छ । त्यसमा ध्यान दिनुपर्योे ।
 

नेपाली दिदीबहिनीहरुलाई नेपाल सरकाले स्वीकृति नदिएको देश तान्जानिया, साउदी, इराक, किर्किस्तानमा पुर्याइएका छन् । पहिला भारतमा मात्र बेचविखन हुन्छ भन्ने थियो, अहिले त चौतर्फी फैलिएको छ ।

घरेलु कामदारमा नजानुहोस् 
हामीसँग बैदेशिक रोजगारमा जाने महिलाहरुको यकिन तथ्यांक छैन । तर दिदीबहिनीहरु नेपाल सरकाले स्वीकृति नदिएको देश तान्जानिया, साउदी, इराक, किर्किस्तानमा पुर्याइएका छन् । पहिला भारतमा मात्र बेचविखन हुन्छ भन्ने थियो, अहिले त चौतर्फी फैलिएको छ । समयसँगै अपराधिक क्रियाकलापमा रहेका व्यक्तिले आफूलाई नयाँ ढंगले अगाडि बढाइरहेका छन् । सकिन्छ भने घरेलु श्रमिकका रुपमा काममा नजानु नै बेस । अस्ति भर्खरै शक्ति समुहमा घरेलु काममा गएकी एक महिला कपाल काटिएको र कान काटिएको अवस्थामा आउनुभएको थियोे । घरेलु काममा जाने भनेपछि त्यहाँ जे पनि हुन सक्छ । त्यही भएर सरकारले स्वीकृति नदिएको देश नजानुस् भन्ने सुझाब हामी दिन्छौं । वैदेशिक रोजगारीका नाममा दाजुभाई खुलेर आउन सक्नुभएको छैन तर, दिदीबहिनीहरुको अवस्था दर्दनाक छ । मैले विदेशबाट फर्किएका दिदीबहिनी धेरैजसोको मानसिक अवस्था बिग्रिएको, आर्थिक संकट झन् बढेको अवस्थामा भेटेकी छु । कतिपयको त फर्केर आउँदा आफनो परिवार पनि नभएको गुनासा आउने गरेकोले वैदेशिक रोजगार दुर्भाग्य बनेको छ ।
 
बेचिंदाको त्यो क्षण 
वैदेशिक रोजगारीमा जाँदा धेरै कुराको जानकारी हुनुपर्छ । म आफैं बेचिंदाको त्यो क्षण सम्झन्छु । मलाई त २५ हजारमा बेचेको रे । बेच्ने व्यक्तिले बयानका क्रममा भनेको हो । तर किन्ने बाईले चाहीँ ५० हजार भारु तिरेर तँलाई किनेको हो भन्थी । मैले कति यातना भोगें, त्यो त बयान गरेर साध्य छैन । शुरुमा तिनै महिलाले नाङेझार बनाइदिए, त्यसो नमान्दा जमिन मुनि गाडिदिन्छु भन्थे । कहिले अन्यत्रै बेचिदिन्छु पनि भन्थे । मैले त अहिलेको यो अवस्थामा आउँछु भन्ने सोचेकै थिइनँ । आफू बेचिएको थाहा पाएपछि जतिखेर पनि मर्न मात्रै मन लाग्थ्यो । एकदिन सलले पासो लगाएर झुण्डिएको थिएँ । तर सल चुँडिएर म भुईँमा खसें र बाँचें । त्यसपछि मलाई आफूप्रति मायाँ लाग्न थाल्यो । मर्न गाह्रो रहेछ भन्ने भयो । तर जे होस् इतिहास ढिलो रचिन्थ्यो होला । आफू बाँचेरै इतिहास छिटो रचियो भन्ने लाग्छ । 

दिल्लीको कोठीमा पुगेको पहिलो रात नै ४ जनाको सामुहिक बलात्कारको शिकार भएँ । २२ महिनासम्म त्यहाँ रहँदा म जिउँदो लास जस्तै थिएँ । उनीहरुले जे मन लाग्यो त्यो गर्ने, मेरो केही अधिकार नलाग्ने भनेपछि म मरेको र बाँचेकोमा के फरक भयो र ? जब म उद्धारपछि त्यो नारकीय जीवनबाट बाहिर निस्किएँ, त्यसपछि त झनै संघर्ष गर्नुपर्यो । मलाई त्यसबेला एउटा अण्डासँग दाँजिन्थ्यो । त्यो फुट्यो भने फुट्यो, जोडिंदैन भन्थे । घरपरिवारले पनि हेला गथ्र्यो, समाजले पनि हेला गर्यो । तर अहिले त्यो सोचमा परिर्वतन आएको छ ।  बेचिएर फर्किएका दिदीबहिनी अहिले शक्ति समुहमा आउँछन् । उनका परिवार पनि आउँछन् तर उहाँहरुलेसमाजले जेसुकै भनोस्, मेरो परिवार मेरो हो भन्ने पनि छन् । त्यो देख्दा चाहीँ खुसी लाग्छ ।
 
 

महिलाले नै मलाई सर्वाङ्ग नाङो बनाएर संवेदनशील अंगहरु चलाए त्यतिखेर मलाई थाहा भयो कि केटीले केटी मान्छेलाई गर्ने बलात्कार यस्तो हुँदोरहेछ । नाङ्गै बनाएर नुहाईदिने, कपाल काटिदिने र शरीरका अंगहरु मनलाग्दी चलाउने गर्थे । म सकेजति रोईकराई गर्थें तर मेरो केही लाग्दैनथ्यो । 

महिलाबाटै बलात्कृत हुनपर्दाको क्षण 
महिलाले महिलालाई कसरी बलात्कार गर्ला भन्ने मलाई बेचिने समयसम्म थाहा थिएन । तर जब बेचिएपछि महिलाले नै मलाई सर्वाङ नाङ्गो बनाएर संवेदनशील अंगहरु चलाए । त्यतिखेर मलाई थाहा भयो कि केटीले केटी मान्छेलाई गर्ने बलात्कार यस्तो हुँदोरहेछ । नाङ्गै बनाएर नुहाईदिने, कपाल काटिदिने र मनलाग्दी शरीरका अंगहरु चलाउने गर्थे । म सकेजति रोईकराई गर्थें । तर मेरो केही लाग्दैनथ्यो । उल्टै उनीहरुले मलाई धम्की दिन्थे । जर्बजस्ती गरिस् भने जमिन मुनि गाडिदिन्छु या यो भन्दा नराम्रो ठाउँमा बेचिदिन्छु भन्थे ।  त्यसबेला मलाई लाग्थ्यो यो भन्दा नराम्रोे ठाउँ भनेको कस्तो होला ? म पनि अचम्ममा पर्थेँ ।
 
सम्मानपछि पनि पीडा  
मैले त्यस्तो जीवन भोगें, धेरै पीडा भयो । सजिलो थिएन । तर यो समाज जहिल्यै पनि बलेको आगो ताप्ने हो । निभेको आगो फुकेर बालेर ताप्न खोज्दैन । त्यो कुराले मलाई अहिले पनि पछाडि छोडेको छैन ।

मैले जब नेपाल फर्किएर गरिखानुपर्छ भनेर प्रयास गरें, प्रबुद्ध व्यक्तिबाटै मेरो चरित्र हत्या गर्ने काम भयो । यो व्यक्तिले यो समयमा चरित्र हत्या गर्यो भनेर अहिले म भन्दिनँ । अहिले मैले भन्न सक्ने अवस्था पनि छैन । तर कसले मेरो चरित्रहत्या गर्यो, त्यो पछि म भन्नेछु । मलाई ठूलै हैसियतकाले पनि दुःख दिएका छन् । मैले विभिन्न राष्ट्रिय÷अन्तराष्ट्रिय रुपमा मानसम्मान पाईसक्दा पनि लाञ्छना लगाउनेहरु पनि छन् । मैले मानव बेचविखन बिरुद्ध जनचेतना फैलाईरहँदा ममाथि पनि चरित्रहत्या गर्ने अपमानित गर्ने कार्य भईरहेको छ ।