खगराज अधिकारी सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो । उहाँले नै सामाजिक स्वास्थ्य बीमा लगायतका कार्यक्रम सुरु गर्नु भएको थियो । त्यस सम्बन्धी ऐन पनि उहाँकै पालामा आएको थियो । तर, मिडियामा अत्यधिक पहुँच राख्नुहुने पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम आफूले ल्याएको वताउँदै आउनु भएको छ । पूर्व स्वास्थ्यमन्त्री अधिकारी आफूले ल्याएको कार्यक्रमलाई निरन्तरता दिएकामा गगनलाई धन्यवाद दिनुहुन्छ । तर, उक्त कार्यक्रम आफूले ल्याएको भनी झुठो प्रचार भने नगर्न सल्लाह दिनुहुन्छ । अधिकारीसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः  

स्वास्थ्य वीमा कार्यक्रम गगन थापाले आफू स्वास्थ्यमन्त्री भएर सुरु गरेको वताइरहेका पछिल्लो पटक तपाईंले उक्त कार्यक्रम आफूले ल्याएको दावी गर्नु भयो नि ? 
सामाजिक स्वास्थ्य विमा गर्ने कार्यक्रम मैले ल्याएको भन्ने मैले दावी गरेको भन्ने तपाईंको प्रश्न नै मिलेन । जे कुरा तथ्यहरु आफैंले भनिरहेका छन्, त्यसमा मैले दावी गर्नु पर्ने आवश्यकता नै छैन । मैले त बाहिर गलत प्रचार भइरहेको देखेर सच्याइदिएको हुँ । 

अहिले जे जति स्वास्थ्य सम्बन्धी काम भएका छन् ती प्राय काम २०७० फागुन १३ गते देखि २०७२ असौज सम्मका  निर्णयमा आधारित छन् । सामाजिक स्वास्थ्य बीमाको जुन कुरा अहिले गगनले गरिरहेका छन्, त्यो म स्वास्थ्य मन्त्री हुँदा थालनी गरेको हुँ । त्यसै बेला कानुन ल्याएर थालिएको हो । पहिले मैले स्वास्थ्य बीमा अध्ययन समिति बनाएँ ।  त्यसको पहिलो चरणमा कैलाली, बाग्लुङ र इलाममा नमुना स्वास्थ्य बीमा पनि गरायौं । त्यसपछि अघि बढाइएको हो ।  ल मैले भनेको कुरा पत्याउन नसक्नुहोला, मन्त्रालयमा गएर फाइल हेर्न त सक्नुहोला नि । तर, तथ्य नै नहेरी गगन थापाले स्वास्थ्य बीमाको थालनी गरेको प्रचार भइरहेको  देख्दा मलाई के लाग्छ भने मान्छेले काम गर्नु पर्दैन, मिडिया परिचालन गरे हल्लाकै भरमा हिरो हुँदा रहेछन् । त्यसमा मैले गरिव, विपन्न र पछाडि पारिएकाहरुलाई निशुल्क बीमा गर्ने प्रावधान बनाएको थिएँ । त्यसै अनुसार कानुन बनाएर लागू गरियो । 

अनि गगनजीले पत्रकार बोलाएर मैले गरेँ भन्नु भएछ । बाहिर प्रचारमा जसले ल्यायो उसैको गरेको हुने त होइन होला । म यति चाहिँ सकारात्मक रुपमा लिन्छु कि, मैले थालनी गरेको सामाजिक स्वास्थ्य बीमाको कार्यक्रमलाई काट्न सकेका कारण कार्यान्वयनमा ल्याइदिनु भएको भए पनि म उहाँलाई धन्यवाद दिन्छु । तर, मैले थालेको कार्यक्रमलाई आफूले गरेको भनेर सस्तो प्रचारबाजी नै चाहिँ नगरेको भए हुन्थो । 

गगन थापाले जस्तैगरी भन्दिनुस् न त, तपाईंले स्वास्थ्यमन्त्री भएर के के काम गर्नुभयो ? 
मैले यो गरेँ, त्यो गरेँ भनेर मिडियासँग फाँकिंदै हिंड्ने मेरो चरित्र होइन । म त मिडियालाई नै आग्रह गर्छु, स्वास्थ्य मन्त्रालयमा जानुस्, कागजहरु अध्ययन गर्नुस्, कानुनहरु हेर्नुस्, त्यो कहिले जारी भएको थियो ? मिति हेर्नुस् । त्यसैबाट पत्ता लगाउनुस् । तर, एउटाले गरेको कामलाई अर्काेले गरेको. भनी अन्यायपूर्ण प्रचार चाहिँ नगर्नुस् । म त तपाईंलाई भन्छु, सामाजिक स्वास्थ्य बीमा कार्यक्रम तपाईंले कुन मितिबाट सुरु गर्नु भएको भनेर एकपटक गगन थापालाई सोधिदिनुस् र उहाँले भनेको मिति नोट गरेर राख्नुस् । अनि मन्त्रालयको रेकर्डसँग ट्याली गरेर सत्य पत्ता लगाउनुस् । यसले दूधको दूध पानीको पानी छुट्टिहाल्छ नि  । 

तपाईंले चाहिँ के के काम गर्नुभएको थियो भनिदिनोस् न, भन्नै नमिल्ने त होइन होला ? 
पहिलो नम्बरमा हामीले समाजिक स्वाथ्य बीमा गरायौं । दोस्रो १३ बर्ष देखि नचलेको ट्रमा सेन्टर चलायौं । औषधीको मुल्य सम्बन्धी अन्यौल थियो, हामीले औषधीको मुल्य तोक्यौं । किड्नी ट्रन्स्प्लान्टको लागि ऐन बनायौं । देशैभरका २३०० उपस्वास्थ्य चौकीलाई स्वाथ्य चौकी बनायौं । ७० प्रकारका औषधी निशुल्क बनायौं । अस्पतालमा फार्मेसी नभएर बिमारीले जथाभावी औषधी किन्थे, हामीले सहुलियतमा औषधी किन्न सक्ने गरी हरेक अस्पतालमा फार्मेसी राख्नै पर्ने बनायौं । डाक्टरको शुल्क तोक्यौं । अस्पलालमा २४ घन्टा सेवा दिन पेइङ सिस्टम बनायौं, स्वास्थ्य नीति, रक्तसंचार नीति, सहरी रक्तसंचार नीति बनायौं । 

यसरी मैले मेरै पालमा २५ बर्ष देखि थाती रहेका काम टुंगो लगाएर नयाँ काम सुरु गरेको थिएँ । गगनजीले मैले त्यो बेला अघि सारेका निर्णय र कार्यक्रमलाई अगाडि बढाउनु भयो । त्यसलाई म सकारात्मक रुपमा लिन्छु । र्छ । किनभने अन्य दलका नेताले जति राम्रो काम गरे पनि नयाँ आएपछि त्यसलाई अगाडि नबढाउने र भताभुङ्ग बनाउने चलन छ । तर कमसेकम गगनजीले त्यसलाई अगाडि बढाएर ठीक गर्नु भयो । मेरो भनाई यति हो कि मैले तय गरेका कार्यक्रम अगाडि बढाएर र कतिपय मेरै पालामा सुरु भएका कार्यक्रमलाई पत्रकार बोलाएर सुनाएँ भन्दैमा मेरा कार्यक्रम भन्नु चाहिँ गलत हो । 

प्रसंग बदलौं, तपाईं चुनावी मैदानमा हुनुहुन्छ । कास्कीमा कस्तो छ माहौल ? 
म जिम्मेवारी पाएका बेला राम्रोसँग त्यसलाई पूरा गर्ने मान्छे हुँ । मैले कहिल्यै झुठको राजनीति गरेको छैन । त्यसैले यो चुनावमा कम्युनिटहरुले मात्र हैन कांग्रेसका साथीहरुले पनि मलाई भोट हाल्दै हुनुहुन्छ । यो मेरो सामाजिक कमाई हो । 

जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ? 
सय प्रतिशत ढुक्क छु । मैले भनेँ नि, काम गर्ने ठाँउमा हुँदा यस क्षेत्रको लागि पनि उत्तिकै काम गरेको छु । पोखरा देखि मेरो यहि क्षेत्रमा पनिे स्वास्थ्य र शिक्षको क्षेत्रमा धेरै काम गरेको छु । यस क्षेत्रमा मात्र पनि मैले ११ वटा स्वास्थ्य चौकी ब्यवस्था गरेको छु । यस्ता जनताकै काम गरेको हुनाले म जित्नेमा ढुक्क छु । 

त्यो त तपााईंको विश्वास होला तर चुनाव जित्ने आधार चाहिँ के छन् ? 
एक, म जहिले पनि एउटा इमान्दार सिपाही भएर काम गरिरहेको छु लगातार ३० बर्ष देखि । अर्को, मैले सरकारमा गएर पनि देशको लागि र यस ठाउँका जनताको लागि पनि धेरै गरेको छु । अर्को हामीले स्थानीय तहमा एक्लै ८० प्रतिशत मत ल्याएर जितेका छौं । अहिले त हामी सबै बाम एक ठाम भएका छौं । अनि कांग्रेसका साथीहरुले पनि मलाई भोट दिंदै हुनुहुन्छ । अरु के के दिउँ म, तपाईंलाई जित्ने आधार ?