महेश बस्नेत नेकपा एमालेका चर्चित युवा नेता हुन् । कानुनमा स्नातक बस्नेत २०४९ सालमा नेकपा एमालेको साधारण सदस्य भएका थिए । उनी २०५५ सालमा युवा संघ नेपालको जिल्ला अध्यक्ष र एमाले जिल्ला सदस्य भए । २०५६ सालमा युवा संघ नेपालको केन्द्रीय सदस्य, २०६३ मा कोषाध्यक्ष हुँदै उनी ०६५ सालमा युथ फोर्सको प्रमुख भए । बस्नेतले २०६६ सालदेखि दुई कार्यकाल युवासंघको नेतृत्व लिए ।  २०४९ सालमा गुण्डु गाविस वडा नम्वर– ४ को वडा अध्यक्ष  भएका बस्नेत ०५४ सालमा २३ वर्षकै उमेरमा गाविस अध्यक्ष भएर काम गरे । एमालेभित्र क्रियाशील युवा नेताको रुपमा गनिएका बस्नेत दोस्रो संविधानसभा चुनावमा पराजित भए पनि उद्योगमन्त्रीका ेरुपमा काम गर्ने अवसर पाए । उनी विवादमुक्त भएर मन्त्रालयबाट निस्किए । आगामी प्रतिनिधिसभामा भक्तपुर– २ बाट पूर्वसभामुख दमनाथ ढुंगानासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका बस्नेतसँगको कुराकानीः 

प्रतिनिधिसभामा उम्मेदवार भइरहँदा तपाईंका चुनावी एजेण्डा के–के छन् ?
आगामी योजना विगतमा योजनामा पारिएका यी बजेटहरु तीब्रता दिनु हाम्रो मुख्य काम हो । त्यो बाहेक अब हामीले बाँकी रहेको क्षेत्र जस्तै–  सेटलाइट सिटी, ननसेटलाईट सिटीमा व्यवस्थित आवास बनाउनु छ र घना बस्ती भएका ठाउँहरुमा पनि हामीले व्यवस्थित आवसको व्यवस्था गर्नुछ र विशेषगरी जनताको सडक ढल, खानेपानीको समस्या छ त्यसलाई सम्बोधन गर्नुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारी आवास खाद्य समस्यालाई हामीले मौलिक हकको रुपमा र संविधानमा लेख्यांै त्यो कार्यान्वयन गर्नका लागि चाहीँ एउटा कानुनको बाधा हामीलाई छ  । अर्को चाहीँ हाम्रो स्रोत, साधन र शक्तिको सदुपयोग गर्न नसक्दा हामीलाई त्यो पनि एउटा बाधा हुनसक्छ । यी दुईटा कुरालाई ब्यालेन्स गर्न युवाहरुका रोजगारीका समस्या सम्बोधन गर्न कुरा हाम्रो अर्को समस्या छ । भक्तपुर जिल्लालाई एउटा धार्मिक पर्यटकीय हिसाबले अगाडी बढाउन सकिन्छ । नगरकोटदेखि घ्याम्पे डाँडा, पाइलटडाँडा, रानीकोटदेखि लिएर हामीकाहाँ डोलेश्वर, चाँगुनारायणदेखि विभिन्न मठमन्दिरहरु एउटा हिन्दु धर्मालम्बीहरु तिर्थस्थलहरु छन् । साँस्कृतिक र पर्यटकीय हिसाबले पनि अगाडी बढाउन सकिन्छ । नगरका प्रत्येक वडाहरुमा एउटा गरिबले उपचार गर्न सकिने स्वास्थ्य केन्द्र, एउटा गरिबले पढ्न सक्ने सामुदायिक विद्यालय नमूनाको रुपमा सञ्चालन गर्न र एउटा प्राविधिक विद्यालय पनि सिपमुलक तालिम अथवा सिपमुलक पढाई पढाउने शिक्षा दिने योजना अघि सारेका छौं ।  आईटीलाई व्यापक उपयोग गरेर डिजिटल उपयोग गरेर भक्तपुरलाई लैजाने योजना छ । 

तपाईंले परिकल्पना गरेको भक्तपुरको स्याटेलाइट सिटी कस्तो हुन्छ ?
यसमा चाही एउटा ग्लोबल टेन्डर भइसकेको छ । स्वदेशी तथा विदेशी कम्पनीहरुले यसमा आवेदन दिइसकेको स्थिथि छ ।  नेपाल सरकारले यहाँ जग्गा कित्ताकाट गर्न रोकिसकेको छ । तीन वर्षमा डीपीआर तयार भइसक्छ । जनताको सहभागितामा आधारित भएर डीपीआर तयार हुन्छ ।  जग्गालाई ‘ल्याण्ड पुलिङ’को मोडलमा लैजाने त्यो मध्य आवास क्षेत्र कति, खुल्ला क्षेत्र कति, कृषि क्षेत्र कति, औद्योगिक क्षेत्र कति, विद्यालय क्षेत्र कति अस्पताल लगायतका यी तमाम आजका पूर्वाधारहरु सबै भएको र पूर्वाधार आधुनिक पूर्वाधारहरुको सहरका रुपमा यसलाई विकास गर्न खोजेका छौं । सडकका छेउमा परेका जग्गाहरुलाई १०÷१२ प्रतिशत कट्टा होला सडक नभएको ठाउँमा ३०÷३५ प्रतिशत कट्टा होला त्यसका कारण यहीँका जग्गाहरु कट्टा गरेर त्यसबाट बनेका प्लटको जग्गा बेचेर त्यही जग्गाको पैसाले लगानी गरेर चाही यसको भौतिक विकास पूर्वाधार विकास गर्ने हो । 

तपाईंले आफ्नो प्रतिस्पर्धीको रुपमा पुराना नेता दमननाथ ढुंगानालाई पाउनुभएको छ । प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने लागेको छ ?
उहाँको उम्मेदवारीले मलाई धेरै सहज बनाएको छ । उहाँलाई ‘हेभिवेट’ भनेर कांग्रेसले पठाएको हो भने गलत हुन सक्छ । काठमाडौं सहर केन्द्रित क्षेत्र भए अलग कुरा हुन्थ्यो, भक्तपुरमा यो लागू हुन सक्दैन । ०५६ सालमा युवराज कार्कीलाई ल्याएर उठाउँदा एमालेको संगठन १८ वर्षसम्म कमजोर भयो । ‘टुरिस्ट’ उम्मेदवारको नारा चुनावमा सबैभन्दा घातक हुन्छ । ०५४ सालको स्थानीय निकाय हामीले जितेका थियौं । त्यो बेलाको प्रभाव अहिलेसम्म छ भन्ने लागको छ १८ वर्षपछि फेरि जित्ने ठाउँमा पुगेका छौं । मलाई लाग्छ । दमननाथ ढुंगानाज्यू पनि आउन नहुने थियो । मैले जसरी भक्तपुरको बारेमा विकासका कुराहरु निर्धक्क राख्न सक्छु, उहाँमा त्यो ज्ञान नै छैन । भक्तपुरमा कतिवटा वडाहरु छन्, कुन ठाउँमा के हो, कहाँ कुन जातको बसोबास छ भन्ने पनि ज्ञान छैन ।

२०७० सालको संसदीय चुनावी परीक्षामा असफल हुनुभएको थियो, अबको चुनावमा असफलतालाई सुधार गर्न के गर्नुभयो ?
म ०५४ सालमा कम उमेरमा गाविस अध्यक्ष भएँ । र अब त्यतिखेर गुण्डु गाविसलाई एउटा नमुनाको रुपमा लगियो । हामीले जिविसबाट पनि दुई पटक पुरस्कार पायौं । महिलाहरुको सन्दर्भमा हामीले अन्तर्राष्ट्रिय अब्राहम लिंकन पुरस्कार पनि पायौं सामुदायिक वनको क्षेत्रमा । बाटोघाटो, खानेपानीलगायतका क्षेत्रमा उल्लेखनीय काम भयो । फरक परिस्थितिमा युवा संघको जिम्मेवारी निर्वाह गर्नुपर्ने भयो पार्टीले दिएको दिशानिर्देशअनुसार नै त्यो जिम्मेवारी पूरा गरेँ । द्वन्द्वका समयमा कहिलेकाँही राम्रो गर्दागर्दै पनि लाञ्छित गरिन्छन्, भएको त्यतिमात्रै हो । सुशील कोइराला सरकारमा उद्योगमन्त्री हुने सौभाग्य पाएँ ।

सलाई पनि कुशलतापूर्वक निर्वाह गरेँ । कान्तिपुरलगायतका ठूला मिडियाबाट नै निश्कलंक मन्त्री पद छाडेको भन्नेजस्ता सकारात्मक टिप्पणीहरु भए । ०७० सालमा पराजित भए पनि भूकम्पका बेलामा होस् वा जनताका अरु कुनै पनि काममा मैले निरन्तर काम गरेँ । हारेपछि झन् जिम्मेवारीवोध भएको महसुस भयो । प्राविधिकरुपमा म सांसद भइनँ तर जनताले जिताएको सांसदलाई भन्दा बढी भारी बोकाउनुभयो, मैले कुनै दिन पनि झर्कोफर्को नमानी काम गरेँ । तर अहिले ०७० सालको अवस्था छैन । संगठन सुधार भएको छ । स्थानीय तहमा राम्रो नतिजा ल्याएका छौं । जीतका लागि यी सबै कुराहरु प्रयाप्त छन् ।

तपाईंको क्षेत्रमा धमाधम पार्टी प्रवेश भइरहेको छ, तपाईंको कारणले हो कि एमालेप्रतिको आकर्षणले हो ?
दुवै कुरा छ । केपी ओली राष्ट्रियताका लागि लिनु भएको अडान, विकासका लागि गरेको प्रतिबद्धता हो । राष्ट्रिय राजनीतिको प्रभाव हुने नै भयो ।  मान्छेको मनमा एमाले ठिक हो भन्ने त परेको छ तर त्यसलाई भोटमा परिर्वतन त गर्न सकिदैन । भक्तपुरमा हामीले विगतमा खेलेको भूमिकाले पार्टीमा अझै आकर्षण थप्यो ।  एउटा कुरा तपाईले उठाएको कुरा के हो भने आज चाहिँ एमालेको महेशलाई भोट हाल्ने मतदाता भन्दा महेशको एमालेलाई भोट हाल्ने मतदाता अलि बढी भएको देखिन्छ ।

देशभर बामपन्थी गठबन्धन हुँदा भक्तपुरमा नेमकिपासँग किन सम्भव भएन ?
नेमकिपाले हामीसँग कहिले पनि इन्ट्रेस्ट देखाएन । हामीले पटक पटक गर्न खोज्यौ । पटक पटक प्रस्ताव गर्यौं । उसले ‘इन्ट्रेस्ट’ देखाएन । एमालेले नेमकिपालाई छोडेको होइन । बामगठबन्धनले चाहिँ नारायणमान विजुक्छेलाई छाडेको हो । उहाँ आफू उम्मेदवार नभएपछि गठबन्धनको कुरा भएन ।
०५४ सालदेखि यताको निर्वाचन तपाईं प्रत्यक्षमा संलग्न हुनुहुन्छ । दलका चुनावी एजेन्डा २० वर्षअघिकै छन् कि परिवर्तन भएका छन् ।

परिवर्तन त भएकै छन् । तर धेरैजसो मुलभुत रुपमा दोहोरिएका छन् । विकास र समृद्धिसँग जोडिएका मुद्दा उस्तै छन्, किनभने १० वर्षे द्वन्द्वले विकास ठप्पै बनायो । समृद्धिसँग जोडिएर नयाँ नयाँ विषयहरु पनि आएका छन् ।

तपाईंले जितेपछि भक्तपुरको विकासका लागि कस्तो परिकल्पना गर्नुभएको छ ?
एक वाक्यमा भन्दा– भारत गएको पर्यटक एकपटक गुडगावँ जान्छ । नेपालमा आएको पर्यटक एकपटक भक्तपुर ल्याउने ध्येय मेरो छ । धार्मिक साँस्कृतिक सहरको रुपमा चिनाउनेगरी विकास गर्ने मेरो लक्ष्य रहेको छ । 

त्यसका लागि केही कामहरु गर्नुपर्ने छ । पूर्वपश्चिम लिंक छ, उत्तर दक्षिणतिर छैन । काठमाडौं–ललितपुर जोड्ने राजमार्ग बनाउनुपर्नेछ । स्याटेलाइट सिटीलाई तत्कालै अगाडि बढाउनुपर्ने छ । हामीसँग दुइटा खोला छन् । एउटा मनहरा खोला भक्तपुर र काठमाडौंको सिमानामा बग्छ । अर्को हनुमन्ते खोला । दुवै खोला हामी सफा गर्छांैं । खोलाको दुवैतिर ग्रीन करिडोर बनाउने, सडक व्यवस्थित गर्ने काम गर्नुपर्नेछ । यहाँको उज्यालो भक्तपुर र सुरक्षित भक्तपुरको एउटा नारा पनि हामी दिन्छौं ।  साक्षरता जिल्ला घोषणा गरेको भक्तपुर जिल्लालाई शिक्षित जिल्ला घोषणा गर्ने योजना रहेको छ । शिक्षित, प्राविधिक र दक्ष जनशक्ति उत्पादन गर्ने योजना छ । कोसी, करेसाबारी खेती, सेफ्टी ट्यांकीबाट ग्यास उत्पादन,  आकाशवाट खसेको पानीलाई संकलन गरेर ट्यांकी बनाउनेलगायतका योजनाहरु छन् । यहाँका वनहरुलाई व्यवस्थित वन प्राणी उत्थान केन्द्र भएपछि त राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकीय आकर्षण केन्द्र पनि बनाउछांै । ठमेलदेखि एयरपोर्टसम्म पर्यटक बस ल्याएर हामीले ढोलेश्वर, अनन्तलिंगेश्वयर, कैलाशपति महादेव यी सबै ठाउँहरुमा पुरै धुमाउँछौं । बनभोज स्थलहरु बनाउने, नगरकोटमाबाहेक भक्तपुरका अन्य ठाउँमा पर्यटकको बसोबास मिलाउने, घ्याम्पेडाँडालाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्नेलगायतका थुप्रै योजना छन् । मेरा योजनाहरु छुट्टै पुस्तिका बनाएर मतदातासमक्ष पु¥याउँछौं ।

एमालेले अहिलेसम्म नजितेको भक्तपुर– २ मा अघिल्ला जनप्रतिनिधिको कामको मूल्यांकन कसरी गर्नुहुन्छ ?
२०४६ सालको परिवर्तनपछि पाँचवटा निर्वाचन भए । तीमध्ये तीनपटक कांग्रेसले र दुई पटक नेमकिपाले जित्यो । नेमकिपाको त सैद्धान्तिक मान्यता नै गलत छ । त्यसलाई भोट हाल्नु नै हाम्रो कमजोरी हो भन्ठान्छन् जनताहरुले । संसदीय व्यवस्थालाई भण्डाफोरमात्रै गर्ने भन्ने उहाँहरुको दृष्टिकोण छ । शासकीय जिम्मेवारी नलिने भनेपछि विकासको नेतृत्वबाट सिधै पछाडि परिहाल्नुभयो । सांसद भनेका विधि निर्माता हो, विकास निर्माता होइन भन्नुहुन्छ । विकास नै नगर्ने भए सांसद भएर के अर्थ भयो । कानुन बनाउन बहुमत चाहिन्छ । ६०१ जनामा समानुपातिकसमेत जोडर चार सिट भयो । उहाँहरुले कानुन बनाउन त के सुझावसम्म पनि कार्यान्वयन नहुने भयो । सुगा रटाईजस्तो लेखेर बोल्ने सांसदको प्रभाव नै के हुन्छ र ? यहाँबाट जितेका जगन्नाथ आचार्य भूमिसुधार मन्त्री हुनुभयो, जनताको विकास होइन, श्रीमती विमली उपाध्यायको नाममा बालकोटमै खोला छेउको ७८ रोपनी जग्गा पास गर्नुभयो । ०७० मा जित्नुभएका रामेश्वरजीको त पहल र पहुँच पनि भएन । नेमकिपा धर्तीमा छ भन्ने कुरा कहिलेकाँही विरोध गरेर मान्छेले थाहा पाए, कांग्रेसको केही थाहा भएन । तसर्थ, यहाँबाट विगतमा निर्वाचित जनप्रतिनिधिसँग जनताको गुनासो व्यापक छ । –सम्बोधन साप्ताहिकबाट साभार