नवराज सिलवाल, ललितपुर १ बाम गठबन्धनका उम्मेदवार
नवराज सिलवाल प्रहरी सेवाको ख्यातिप्राप्त नेतृत्वकर्ता थिए । कार्यसम्पादन मुल्यांकनलाई लत्याएर र प्रचलित विधि प्रक्रियालाई समेत मिचेर उनी विरुद्ध सरकारले पक्षपात समेत गरेन । विधिपूर्वक योग्य ब्यक्तिलाई प्रहरी प्रमुख नियुक्त गर्नु भनेर सर्वाेच्च अदालतले आदेश दिएपछि सत्तारुढ नेपाली कांग्रेसले प्रधानन्यायाधीश विरुद्ध समेत महाभियोग लगायो । गृह मन्त्रालय आफैंले सर्वाेच्च अदालतसमक्ष बुझाएको कार्यसम्पादन मुल्यांकन रिपोर्ट किर्ते रहेको भन्दै उल्टै सिलवालमाथि नै किर्ते मुद्दा चलायो । कानुनी लडाईंमा सर्वाेच्च अदालतलाई समेत सत्ताले प्रभाव पारेपछि प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा हामफालेका सिलवाल आसन्न प्रतिनिधिसभाको चुनावमा ललितपुर क्षेत्र नं १ बाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । उनी उम्मेदवार बनेपछि कांग्रेस उम्मेदवार तथा अर्थराज्यमन्त्री उदय शमसेर राणाले सिलवाल विरुद्ध लेनदेनको फर्जी मुद्दालाई उपयोग गरे, जुन अदालत लगायतका न्यायिक निकायले दुःख दिने नियतले गरिएको भनेर फैसला गरिसकेको छ । चुनावी अभियानमा रहेका सिलवालसँग गरिएको कुराकानीः 

प्रहरी कमाण्डरको रुपमा आदेश दिएर नेतृत्व सम्हाल्नु र एक एक मतका लागि नमस्कार गर्दै मत माग्दै हिंड्नुमा कस्तो फरक अनुभव गर्नुभयो ? 
जसरी पनि राष्ट्र र जनताको सेवा गर्ने हो । उहाँहरुको मनमा बस्ने हो । मैले प्रहरी हुँदा पनि करोडौं जनताको मन जितेको छु । साहसिक र अरुले नसकेका थुप्रै केसहरुको अनुसन्धान गरेर न्याय दिएको छु । युएन अन्तर्गत र नेपाल प्रहरीका अन्य विभिन्न जिम्मेवारीमा बसेर थुप्रैको मन जितेको छु । अहिले जनताको बीचमा अझ प्रत्यक्ष पुग्न पाउँदा म निकै आनन्निदत भएको छु । भेट्न नपाएको भेट्न खोजेको मान्छे आँगनमा आइपुग्नुभएछ भन्दै शीर छोएर आशिर्वाद दिने भगवानजस्ता बुबाआमा, मेरा सहपाठी साथीभाइ, शुभेच्छुकहरुसँग राजनीतिमा भेट भएको छ । राष्ट्रका लागि यो भूमिकामा पनि गौरवपूर्ण छ । व्यक्तिगत रुपमा भन्नुपर्दा हाम्रा सबै भूमिका रंगमञ्चका कलाकारका भूमिकाजस्तै हुन् । हिजो प्रहरी अधिकारीको भूमिकामा थिएँ । आज राजनीतिक कार्यकर्ता वा नेताको रुपमा हुँला । यस बाहेक साहित्य साधनामा म साहित्यकारको भूमिकामा छु । नव सिलवालको नाममा साहित्य सिर्जना गर्छु । यसबाहेक सामाजिक अभियन्ता पनि हुँ । थुप्रै सामाजिक अभियानमा पनि संलग्न छु । जानेका कुरा सिकाउँछु । शिक्षक प्रशिक्षक पनि हुँ । 

तपाई पहिलेदेखि नै एमालेलाई प्रहरी संगठनको सूचना लैजाने गर्नुहुन्थ्यो र आइजीपी नबनाएको भन्ने पनि आरोप छ नि ? 
आरोपका लागि आरोप लगाउनेहरुले के आरोप लगाएनन् र ? मलाई के सम्म गरेनन् ? मेरो घर परिवारका अगाडि प्रहरी पठाएर, हिजो मेरै कमाण्डमा बसेकाहरुलाई पठाएर घेरिएन कि ? मैले न्याय नपाउने गरी थुप्रै हर्कतहरु ममाथि भए । प्रहरी संगठनमाथि ज्यादतीका रुपमा नै सरकारमा सहभागी भएको एउटा दलले प्रतिशोधका आधारमा गरेको हो । यसरी अन्यायमा परेको देखिएको व्यक्तिलाई उसको योग्यता, क्षमता, स्थापित विधि मापदण्ड र न्यायिक तर्कका आधारमा सम्मान गर्नु, अवसर दिनु उपयुक्त ठान्ने दलहरु पनि त छन् । त्यस्तो सोच्ने करोडौं नागरिकहरु पनि त छन् । मेरो क्षमताको मूल्यांकन गरेर, ममा सम्भावना देखेर र मलाई अन्याय भएकाले न्याय दिने भनेर नेकपा एमालेका नेताहरु अझ अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको व्यवहारले प्रभावित भएर एमाले प्रवेश गरेको हुँ । 


मुद्दा चल्दैगर्दा तपाईंलाई एमालेले उचालेको भन्ने आरोप के हो ? 
सर्वोच्च अदालतले समेत योग्यता क्षमताका आधारमा नियुक्त गर्नु भन्ने आदेश दिएको अवस्था थियो । सरकारले अदालतको आदेश मानिरहेको थिएन । अर्कै नियुक्ति गरिरहेको थियो । यस्तो अवस्थामा प्रतिपक्षले विधि मिचियो, लोकतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्त मिचियो भनेर आवाज उठाएको हो । मलाई राज्यसत्ताले भीरबाट लडाउँदै गर्दा प्रतिपक्षीले लौरो दिएर हात समात्ने मौका दिएर जोगाएकै हो । अन्याय परेको महसुस गरेर राजीनामा दिएको थिएँ । त्यो राजीनामा समेत स्वीकृत नगरेर राजीनामा नै हरायोसम्म भनियो । हरायो भनेपछि अर्को लेखेर राजीनामा बुझाएँ । गृहमन्त्रीले राजीनामा स्वीकृत गरिदिनुभयो । साहित्य साधना वा समाजसेवामा काम गर्ने सोच नै थियो । अन्यायको विरुद्ध एक्लै ७ महिना लडेको अदम्य साहस देखेर एमालेले अनुग्रह राख्यो । मेरो नेचर पनि अन्यायका विरुद्ध लड्न सक्ने खालको छ, त्यसपछि एमालेले लिदएको जिम्मेवारी सम्हालें । 

तपाईंले राजनीति बुझेको छैन, प्रहरीबाट सिधै राजनीतिमा आएको भन्नेहरु पनि होलान् नि ? 
एउटा सफल प्रहरी अधिकृत हुन स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीति राम्रोसँग बुझेको हुनुपर्छ । आइजीपी बनाउने निर्णय गर्नुभन्दा अगाडि त त्यो पूर्वाग्रह राख्नेहरुले पनि पहिलो नम्बरकै अधिकृतको रुपमा त मलाई नै मानेकै थिए । सीआइवीमा बसेर, युएनमा बसेर मैले काम गर्दाको मेरो कार्यदक्षताले पनि त्यो प्रष्ट्याएकै थियो । प्रहरीको नेतृत्व सम्हालेको व्यक्तिले राजनीति र कुटनीति पढेकै हुनुपर्छ । बुझेकै हुनुपर्छ । आर्थिक परिदृश्य र समाज बुझेकै हुनुपर्छ । म यी सबैमा लडेर अनुभव गरेर आएको छु । हिजो प्रहरीको पदीय जिम्मेवारीमा हुँदा कुनै दल निकट भएर पूर्वाग्रही हुनु प्रहरी अधिकारीको मर्यादाको कुरा होइन, म भइन पनि । 



पार्टी प्रवेश गर्ने वित्तिक्कै निर्वाचनमा, त्यो पनि ललितपुरमा नै किन उम्मेदवारी दिनुभो ? 
म ललितपुरको टौखेलमा जन्मे हुर्केको, खेलेको मान्छे हुँ । अहिले पनि टौखेलमै बस्छु । पारदर्शी जीवनशैली सहित सामान्य नागरिक सरह बसिरहेको छु । जब पार्टी प्रवेश गरेँ, एमालेको केन्द्रीय अध्यक्षले पनि प्रत्यक्षमा चुनाव उठ्नुस् भन्नुभो । ललितपुरका साथीहरुले पनि तपाईं आउनुपर्छ, यहाँबाट चुनाव उठ्नुपर्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध भएर पनि आफ्नो क्षेत्रलाई माया मार्नुभएको छैन भन्ने अनुरोध भएपछि मैले प्रत्यक्षमा नै ललितपुर १ बाट उम्मेदवारी दिएको हुँ । म आफूलाई पनि जन्मेकै ठाउँमा सेवा गर्ने सम्भावना हुँदा त्यो राम्रो भन्ने लाग्यो । 

तपाईंले त जिल्लाको भूगोल नै जान्नुभएको छैन भन्ने आरोप पनि छ नि ? 
जो यो खोलाको पानी पिउन गाह्रो मान्छ, जो हाम्रो जिल्लाका गाउँ वस्तीमा हिँड्न गाह्रो मान्छ, जो गाउँका दाजुभाइकोमा बस्न, सँगै हिँड्न गाह्रो मान्छ, उसैले यस्तो आरोप लगाउनुमा के तुक रहन्छ ? म त्यस्ता आरोपको पछि लाग्न चाहन्नँ । यही ठाउँमा जन्मेँ, हुर्केँ, जिल्लाको सम्पूर्ण भूभाग मलाई राम्रोसँग थाहा छ । जनताको घर आँगनमा गएर अहिले जुन दुखमा रहनुभएको छ, त्यो अवस्थाबाट मुक्त गराउने विषयमा हामी धेरै पछाडि रहेछौं भन्ने अनुभुत भएको छ । अव भूगोल चिन्ने भन्दा वत्तीमुनिको अँध्यारोको रुपमा रहेकोलाई परिवर्तनको सुरुवात यहाँबाट गर्नुपर्छ भन्ने सोचेर अगाडिको बाटो बनाउँदैछौं । हिजोका जनप्रतिनिधिले गर्न नसकेको काम गर्नु पर्ने र न्याय दिनुपर्ने दायित्व ममाथि छ । 

प्रमुख विपक्षी देखिएका काँग्रेस उम्मेदवार र स्वतन्त्र उम्मेदवारले तपाईको विरोध गर्नुको कारण के हो ? 
मुद्दामा दोषी देखिएर थुनामा रहेको व्यक्तिलाई मेरो विरुद्धमा हिजो कसैले प्रयोग गरेको थियो । आज मेरा मुख्य प्रतिस्पर्धी उदयशमसेर राणाजीले स्वतन्त्र उम्मेदवार गुनबहादुर थापालाई आफ्नो संरक्षणमा मेरो विरुद्धमा प्रचार गराईराख्नुभएको छ । सक्नुहुन्छ भने एजेण्डामा प्रतिष्पर्धा गरौं । तर उदयजीले एजेण्डामा सक्नुभएन । उहाँले एक कार्यकाल जितेर काम नै गर्नुभएको छैन । जनताको साथमा नै जानुभएको छैन । सिंगो कार्यकाल जनताको भावना नबुझ्ने अनि चुनावको एक महिना जनतामा गएर त चुनाव जितिन्न । त्यही भएर एजेण्डा सकिएर प्रोपोगाण्डा गर्न उहाँले गुनबहादुर च्याप्नुभो । गुनबहादुर भन्ने व्यक्तिले मलाई जुन आरोप लगाएको छ त्यो आरोप तपाईंलाई पनि लाग्न सक्छ त । त्यो भन्दा संगीन आरोप लाग्न सक्छ, अब तपाई पनि दोषी हो भन्ने ? उसले लगाएका आरोपहरुलाई जसरी स्पेश दिने काम गरिएको छ त्यसबाटै देखिएको छ त्यो मेरा विरुद्ध, बाम गठबन्धनका विरुद्ध र ललितपुरवासी जनताका विरुद्धको षड्यन्त्र हो । 

चुनावमा जाँदै गर्दा के एजेण्डा सार्नुभएको छ ? 
म अन्यायका विरुद्ध लडेको मान्छे । महिलाहरु विदेशिएका छन् । विदेशमा लुटिएका छन् । त्यसमा बोल्ने कोही छैन । ४४ डीग्री सेन्टीग्रेटमा विदेशमा काम गर्ने युवा छन् तिनको लागि वोलीदिने राज्य छैन । यस्तो अवस्थामा मेरो पहिलो प्राथमिकता सुशासन हुनेछ । नागरिकले न्याय पाउनुपर्छ पहिला । सुखी र खुसी हुन न्याय र समानता आवश्यक पर्छ । त्यसपछिको प्राथमिकताको एजेण्डा समृद्धिको हो । तथ्यांकमा २१ प्रतिशत गरिवी भनिएको छ तर, त्यो भन्दा धेरै जर्जर अवस्था छ मुलुकको । रेमिट्यान्सबाट आएको अर्थतन्त्र उद्योगमा नगएर उपभोेगमा गएको छ त्यसलाई उद्योग क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन जरुरी छ । समृद्धितिर जान सकिरहेका छैनौं । संविधान बनेर भएको निर्वाचनले स्थायी सरकार ल्याउनेछ र त्यो सरकारको एजेण्डा नीति र कार्यक्रमका आधारमा मुलुक समृद्धिको बाटोमा हिँड्नेछ । 

ललितपुर क्षेत्र नं १ मा प्राथमिकतामा राखेर गर्ने कामहरु के के हुन् ? 
ललितपुरका काँठ र पहाडी क्षेत्र पर्यटनका हिसावले अत्यन्तै महत्वपूर्ण छन् । पर्यटन उद्योगमा लगानी बढाएर राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकको ध्यान तान्ने कार्यक्रम ल्याइनेछ । कृषिमा अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको कफी र चिया तथा जडिबुटीलाई मूल प्राथमिकतामा राखेर ५ वर्षभित्र बेरोजगारी अन्त्य गर्ने कार्यक्रम बनाइन्छ । संसारका थुप्रै विकसित मुलुकहरुको नजिकबाट अध्ययन गरेको र ती देशसँग सम्बन्ध भएका आधारमा पनि कृषि, उद्योग र पर्यटनमा आधारित भएर बेरोजगारी अन्त्य र आर्थिक बृद्धिको खाका निर्माण गरिएको छ । पूर्वाधारको क्षेत्रमा सडक तथा यातायातको व्यवस्थापन गरी राजधानीको एउटा जिल्ला भनेर गर्व गर्न लायक बनाउँछु । प्रहरी सेवामा नेतृत्वमा रहँदा जसरी मेरो सोच र कामले प्रहरी संगठनको मनोवल उठेको थियो, त्यसैगरि ललितपुरवासीको राजधानीवासी भनेर मनोवल उठ्ने बनाउँछु । विकासका नाममा हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न मात्रै सकियो भने पनि धेरै विकास हुने रहेछ भन्ने कुरा यहाँका योजनाहरुमा विनियोजन भएको बजेटले देखाउँछ । त्यस्तै अनियमितताले यहाँ काम भएको देखिंदैन, म त्यसलाई लाइनमा ल्याउँछु ।