गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा जितेर भर्खरै काठमाडौं फर्किनु भएका एमाले सचिव प्रदीप ज्ञवालीले चुनावी अभियानका क्रममा एमाले र माओवादीका कार्यकर्ता छुट्याउनै नसक्नेगरी मिलेको अनुभव गर्नु भएको छ । एमाले र माओवादीले चुनावमा कार्यगत एकता र चुनाव लगत्तै पार्टी एकता गर्ने उद्घोष गरेका थिए । चुनावी सफलतापछि दुई पार्टी एकीकरणको तयारीमा छन् । एकीकरण कसरी हुन्छ र यसका चुनौति के हुन् भन्ने विषयमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले ज्ञवालीसँग गरेको संवादः 

चुनावमा सहकार्य गरेका एमाले र माओवादीले चुनाव लगत्तै पार्टी एकता गर्ने कुराले वजार गर्माएको थियो । तपाईंहरुको पार्टी एकता प्रक्रिया कहाँ पुग्यो ? 
हो, तपाईंले भनेजस्तै दुई ठूला कम्युनिस्ट पार्टीहरु एक हुने कुराले स्वदेशी र विदेशी राजनीतिक वजार तातेको थियो । त्यति मात्र होइन, यो खवरले नेपाली जनतामा अपूर्व उत्साह पनि छ । त्यसो त नेपालमा पार्टीहरु धेरै भए, एक भएर जाउन् भन्ने जनताको आवाज पहिल्यै देखि आएको थियो । जनताको त्यो चाहनालाई सम्बोधन गर्ने प्रयास हामीले गर्यौं । सबै बाम एक ठाम भनेर धेरै पहिले देखि धेरै पटक प्रयास गरेका थियौं । तर सफल हुन सकिरहेको थिएन । नेपाल यस्तो देश हो जहाँ कम्युनिस्टहरु बहुमतमा हुने तर उनीहरु एक हुन नसक्दा अन्य पार्टीले शासन गरिरहने भइनै रह्यो । सशस्त्र संघर्षपछि शासन गरेका देशहरुको अवस्था छोडेर अन्य देशमा कम्युनिस्टको शासन हराउँदै जाँदा पनि यहाँ भने कम्युनिस्टहरुको लोकप्रियता झन् बढ्दै गएको देखिन्छ । वामपन्थीको यति बलियो उर्र्भर भूमी संसारमा कमै छ । 

तर कम्युनिस्ट आन्दोलन विभाजित हुँदा यसको असर सिंगो देश र कम्युनिस्ट आन्दोलनमा र जनतामा परेको छ । कम्युनिस्टहरुले हासिल गर्न सक्ने लक्ष्यहरुलाई समेत यसले आँच पुर्याएको छ । यो कुरालाई अनुभरत गरेर सबै कम्युनिष्टहरु एक हुन कसरी सकिन्छ भनेर पहल हुँदै आएको हो । त्यसमाथि एमालेको हकमा यसको इतिहास नै कम्युनिस्ट पार्टीहरुको एकता गर्ने अभियानबाट निर्माण भएको हो ।  तर २०६२– ०६३ को जनआन्दोलन भन्दा अघि र शान्ति प्रक्रियामा जानु अघिसम्म चाहेर पनि दुई कम्युनिस्ट एक हुने अवस्था थिएन । किनभने कम्युनिस्ट पार्टी दुई धारमा थिए । जनमत लिएर, लोकतान्त्रिक पद्दति मार्फत समाज विकास गर्न लागेको एमाले र सशस्त्र आन्दोलनबाट देश परिवर्तन गर्छु भनेर लागेको माओवादी । यी दुईटा कम्युनिस्ट एकै ठाउँमा आउने कुरा कल्पना पनि गर्न सकिंदैनथ्यो । 

तर शान्ति प्रक्रिया अघि बढेपछि हामीले पटक पटक यस्ता अभ्यासहरु पनि गर्यौं । कति पटक सरकारमा सँगै बसेर पनि काम गर्यौं । सरकारमा हुँदा होस् या सरकार बाहिर हुँदा होस् हामीले राष्ट्रिय एजेन्डामा एक ठाउँमा रहेर निर्णय गर्ने गराउने काम गर्यौं । 

विषेशगरी माओवादी नेतृत्वभित्र एउटा मनोविज्ञान के थियो भने देशमा दुईवटा कम्युनिस्ट पार्टी रहन सक्दैन । एकको अस्तित्व समाप्त नपारी अर्को ठूलो दल रहन सक्दैन, एउटाको विनाश हुँदा मात्र अर्काको विकास हुन्छ भन्ने बुझाइले लामो समयसम्म काम गर्यो र दुई पार्टी दुईतिर फर्केर हिंड्ने अवस्था रह्यो । धेरै लामो उताव चढावपछि उहाँहरु पनि के निश्कर्षमा पुग्नु भो भने यसरी अर्को कम्युनिस्टलाई निषेध गरेर जानु हुँदैन । निषेध गरेर जाँदा तत्कालको लागि केहि लाभ त होला तर सिङ्गो कम्युनिस्ट आन्दोलनको लक्ष्य र कार्यनीतिमा पुग्न त सकिंदैन नै, दुबै कम्युनिस्ट मासिएर जाने खतरा देखियो । अनि त्यसको लाभ चाहिँ अर्को पक्ष जसले लामो समयदेखि देशलाई अस्थिरतामा धकेल्यो । गरिव र धनी बीचको खाडल झनै बढाउँदै लग्यो, उसैको हातमा सत्ता गइरहने भएपछि हामी एक नभई हाम्रा लक्ष्य र नेपालको भविश्य पनि खस्किने देखेपछि हामी एक हुने निर्णयमा पुगेका हौं । 



तपाईंहरुले पनि देख्नु भएकै छ, हामीले राष्ट्रिय हितका कुरामा अर्को दलसँग कसरी लड्नु परेको थियो । त्यस्ता अनेकौं मुद्दा छन् जो हामी एक हुन सके देशले जित्ने अवस्था छ । त्यसैले हामीले दुई पार्टीका नेता, दोस्रो तहका नेतादेखि संयुक्त बैठक आदि गर्दै बहस गर्यौं र लामो प्रयासपछि चुनाव लगत्तै पार्टी एकीकरण गर्नेगरी असौजको १७ गते संयुक्त घोषण गर्यौं । त्यसैले यो हाम्रो पार्टी र नेतृत्वको लामो समय देखिको अनुभव र त्यसको निश्कर्ष हो । धेरै बैठक र छलफल पछिको निर्णय हो । र यो हाम्रो परिपक्व निर्णय हो । बाहिर भनेजस्तो सर्डेन्ली भएको कुरा होइन । अब हामी निकट भविश्यमै एकतालाई पूर्णता दिनेछौं । 

तर, अहिले एमालेले माओवादीलाई निल्नलाग्यो, यो एकता होइन माओवादी एमालेमा विलय हुन लागेको चर्चा पनि हुन थालेको छ । के भन्नुहुन्छ तपाईं ?
पहिलो कुरा हामीले हेर्ने भनेको सम्बन्धित पक्ष र त्यस पार्टीको संस्थागत निर्णयलाई नै हो । ठूलो पार्टीभित्र त्यस्ता विचारहरु नै आउँदैनन् भन्ने हँुदैन । हामीले पनि त्यस्ता विचारहरुलाई नजिकबाट हेरिरहेका छौं । जसले यस्तो चर्चा गर्छन्, ती उनीहरुका निजी विचारहरु हुन् । ती सबै निजी आग्रहबाट प्रेरित छन्  । तर, यो एमालेले माओवादीलाई निल्न खोजेको वा एमालेलाई माओवादी भित्र विलय गराउन खोजेको यी दुवै कुरा होइनन् । अहिले एमाले माओवादीको कार्यदिशा अनुमोदन गरेको पनि होइन, माओवादीले एमालेको कार्यदिशा अनुमोदन गरेको पनि होइन । यी दुवै दल एउटै कार्यदिशामा हिंडिरहेको हो । फरक पार्टी रहनु पर्ने आवश्यकता नभएको हो । 

एउटा कुरा के भुल्नु भएन भने दुबै पार्टीका नेता तर्था कार्यकर्ताले र यी दुबै धारले नेपालको राजनीतिमा योगदान गरेका छन् । दुबै पार्टीले नेपालमा माक्र्सवाद लागू गर्ने क्रममा सकारात्मक र नकरात्मक अनुभवहरु संगालेका छन् र नेपाली क्रान्तिका निश्चित मुल्य, मान्यता, यसका केहि मौलिक अनुभवहरु आर्जन गरेका छन् । ती हामीले निर्माण गरेका मौलिक सिद्धान्त र अनुभवमाथि आधारित रहेर गरिने वैचारिक एकता हो यो । पार्टी एकता हुँदा एमाले माओवादीमा विलय पनि हुँदैन, माओवादी एमालेमा विलय पनि हुँदैन । दुबै पार्टी एक हुन्छन् र एउटा नयाँ उचाईमा उठ्छ । त्यसो भएको हुनाले एकताका विपक्षमा छिटफुट सुनिएका त्यस्ता स्वरहरु या त तिनीहरु देशले लिने अबको नयाँ मोड र नयाँ उचाईको विषयमा जानकार छैनन् या त उनीहरु निश्चित स्वार्थबाट निर्देशित छन् । 
पार्टी एकताको कुरा त जनताबाट पनि अनुमोदित भैसक्यो । यो त अब कमरेड प्रचण्ड र केपी ओलीको मात्र एजेण्डा रहेन । अहिले हाम्रो पक्षमा मत खसाल्ने ५० लाख भन्दा बढि मतदाताको साझा एजेण्डा बन्यो । यसको बारेमा अन्यथा टिप्पणी गर्नु अत्यन्त गलत कुरा हो । 



एमालेमा पनि पार्टी एकीकरण नचाहाने छन् र एकीकरण भाँड्न लागेका छन् भन्ने कुरा बाहिर आएका छन् नि त ? 
यस्तो समाचार बाहिर आएको मैले त अहिलेसम्म थाहा पाएको छैन ।  यो अत्यन्त हास्यादपद कुरा हो । नेकपा एमालले अहिले होइन, असौजमै, दशैंको भोलिपल्ट बसेको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत ढंगले चुनावी तालमेल गर्ने र पार्टी एकीकरण गरेर अघि बढ्ने निर्णय गरेको छ । यसरी बैठकबाटै पहिलो संस्थागत निर्णय गरेर अघि आएका छौं । अनि कसरी यस्ता समाचार आउन सक्छन् ? तपाईंलाई म सुनिश्चित रुपमा भन्छु– पार्टी एकताको विपक्षमा एमालेमा एउटा मान्छे पनि उभिएको छैन । बाहिर आएका कुराहरु सबै निराधार र कपोलकल्पित हुन् । 

एउटा बुलेट हुँदै देश चलाउने उद्धेश्यले आएको र अर्को ब्यालेटबाट जनताको मत लिंदै देश हाँक्न अघि आएको, दुई विपरित धारका पार्टी एकतामा जाने निर्णय साँच्चै चुनौतिपूर्ण छन् । एकतामा जाँदाका चुनौतिहरु चाँहि के के देख्नु भएको छ ? 
मुख्यतः चुनौतिका तीनवटा पक्ष देख्छु मैले । एउटा केहि वैचारिक, राजनैतिक पक्षहरु छन्, जसमा स्पष्टताको जरुरत छ । खासगरी मार्गदर्शक सिन्द्धान्तको सन्दर्भमा केहि अस्पष्टताहरु छन् त्यसलाई स्पष्ट पार्न जरुरी छ । 

मैले अघि भनेँ, नेपालको कम्युनिस्ट आन्दोलनलाई सफल बनाउने र मुलुकमा आमूल परिवर्तन गर्ने सन्दर्भमा हामीले जे अनुभव आर्जन गरियो र सिद्धान्तको रुपमा जे कुरालाई स्वीकृत गरियो, त्यो सिद्धान्तलाई कसरी परिभाषित गर्ने, कसरी ब्याख्या गर्ने र अहिलेसम्मका उपलब्धीहरुलाई कसरी निश्कर्षमा पुर्याउने या संस्थागत गर्ने भन्ने लगायतका कुरा । या भनौं एकीकृत पार्टीका संस्थागत र वैचारिक आधारहरुलाई प्रष्ट बनाएर लैजाने कुरा । दोस्रो भनेको यसको संगठनात्मक ब्यवस्थापन हो, चुनौती । नेकपा एमालेको महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी छ ।

माओवादीको पनि महाधिवेशनबाट निर्वाचित केन्दीय कमिटीलाई उहाँहरुले आयोजक कमिटी बनाउनु भएको छ । त्यो आयोजक कमिटी निकै ठूलो आकारको छ । त्यसो हुँदा छरितो आकारको केन्द्रीय नेतृत्व निर्माण गर्ने, एकतालाई तल तलसम्म पनि संगठनात्मक ढाँचामा बदल्ने कुरा अलि मेहनेत गर्नुपर्ने विषय छ । र तेस्रो भनेको दुई फरक स्कुलिङबाट जन्मेर आएका नेता तथा कार्यकर्ताहरुको संस्कारलाई भावनात्कम रुपमा कसरी एक बनाउने भन्ने चुनौति हामीमाझ छ । 

तर यस बीचमा हामीले धेरै काम गरिसकेका छौं । शान्ति प्रक्रियाबाट यता आएका १२ वर्ष हामीले धेरै काम गरेका छौं । र संविधान निर्माण गरेर यहाँसम्म आइपुग्दा हामीले धेरै कुरालाई टुंगो लगाइसकेका छौं । उदाहरणको लागि अब नेपाली क्रान्ति मौलिक बाटोबाट अगाडि बढ्छ, नेपाली क्रान्तिको निम्ति कुनै हिंसात्मक बाटो अबलम्बन गर्नु पर्दैन, शान्तिपूर्ण र वैधानिक बाटोबाट समाजवादसम्म पुग्न सकिन्छ भन्ने विषयमा जनता र हामी पनि अनुभवी भैसकेका छौं । र हामी दुबै दल यस विषयमा प्रष्ट छौं । अब कसरी अघि बढ्ने भन्ने कुरा हामीले बनाएको संविधानले नै गाइड गरेको छ । त्यसैले धेरै कुरा हामीले हिजैदेखि मिल्दै मिलाउँदै आएका छौं । अहिले शब्दमा बोल्नलाई ठूलो देखिए पनि वास्तवमा हामीले ती सबै कुरा सल्ट्याएर आइसकेका छौं ।

त्यसैले अगाडि बढ्ने बाटोमा हामीसँग ठूलो समस्या छैन । संघीयताको स्वरुप, आत्मनिर्णयको अधिकार, पहिचानका प्रश्न पनि संविधानमा समेटिएपछि अब रह्यो भावनात्मक एकताको कुरा । तर, तपाईंलाई म भनौं,  यो निर्वाचनको करिव डेढ महिने अभियानमा यो एकता यति बलियो जगमा खडा भएको छ कि अब पार्टीकै अध्यक्षहरुले चाहेर पनि भत्काउन सक्ने अवस्थामा छैन । पहिलो त मैले भनेँ, यो जनताबाट अनुमोदित भयो । दोस्रो, हामी चुनावमा हिंड्ने क्रममा को माओवादी र को एमाले हो भन्ने कुरा विर्सने अवस्था बन्यो । नेतृत्व भन्दा धेरै कार्यकर्तामा एकताको खुसी छाएको छ । कार्यकर्ताले एकदमै हार्दिकताका साथ एकतालाई स्वीकार गरेका छन् । 

एमाले अध्यक्ष ओलीले धेरै ठाउँमा भन्नु भएको छ पार्टी एक भएपछि दुई दल भन्ने कुरा मेटिन्छ र नयाँ दल बन्छ । त्यो कस्तो स्वरुपको हुनेछ ? 
हो, अध्यक्षले भन्नु भए जस्तै दुई पार्टी मर्ज भएपछि यसबाट अर्को नयाँ पार्टी बन्नेछ ।  त्यो यसअर्थमा बुझौं कि हिजो एमाले छुट्टै थियो, माओवादी छुट्टै थियो । ती छुट्टा छुट्टै रहेका पार्टीका नाम, संरचना मेटिएर नयाँ संरचना र नाम जुराएर अघि बढ्ने कुरा उहाँको आशय हो । नयाँ पार्टी यहाँसम्म आइपुग्नुका आधारहरुलाई टेकेरै अघि बढ्ने एउटा बेग्लै उचाइको पार्टी बन्ने छ, त्यो पनि अर्को सच्चाई हो । किनकि इतिहास भुलेर त कहिँ पुगिन्न ।

हाम्रा साझा बाटा चाहिँ हामी लिएरै अघि बढ्नेछौं । त्यो नयाँ उचाइको एकता हुनेछ । विचारलाई कसरी हामी सूचीकृत गर्छाैं, त्यो हाम्रो महाधिवेशनले तय गर्ला । तर के प्रष्ट छौं भने नेपाली क्रान्तिबाट जे अनुभव संगालेका छौं, सिद्धान्त आर्जन गरेका छौं, आज जे विचारले लिड गरिहेको, ती खास सिद्धान्त, खास विचार र खास मान्यताहरुले नेपाली समाजलाई र कम्युनिस्ट आन्दोलनलाई यहाँ ल्याइपुर्याएको छ । संसारभर कम्युनिस्ट आन्दोलनले धक्का खाँदा नेपालमा चाहिँ यसको उपादेयता बढिरहेको छ । त्यति मात्र हैन, देशको पहिलो शक्ति नै बनेको छ । त्यो विचारको सन्देश, त्यो विचारको गाइडलाइन सबैभन्दा महत्वपूर्ण हो । तर अब यसलाई के नामाकरण गर्ने भन्ने चाहिँ हामी छलफल गर्छौं । 

एमालेले त्यसलाई जनताको बहुदलीय जनवाद भन्दै आएको छ । माओवादीले त्यसलाई  २०६१ सालतिर  २१औ शताब्दीको जनवादको विकास भनेर बाटो तय गरेको थियो । तिनै विचार पनि करिव करिव मिल्दोजुल्दो नै थिए । हेटौंडा महाधिवेशनमा आइपुग्दा माओवादी आफ्नो बाटो फेर्दै झण्डै जनताको बहुदलीय जनवादसँगै  आइपुगेको छ । यसरी हेर्दा करिव करिव वैचारिक सामिप्यतामा छांै । अब चाहिँ कम्युनिस्ट आन्दोलन शान्तिपूर्ण बाटोबाट लोकतान्त्रिक मुल्य मान्यतालाई आत्मसात गर्दै अघि बढ्छ ।  

दुई पार्टीका आ–आफ्नै संगठनहरु छन्, शहर देखि गाउँसम्म । यो सबै मिलिहाल्न त समय लाग्दैन र भन्या ? त्यसमा पनि ब्यवस्थापनको कुरा प्रमुख होला, यसलाई कसरी मिलाएर लैजानु हुन्छ ? 
हामीले केन्द्रीय स्तरमै पार्टी एकता संयोजन समिति बनाएका छौं ।  त्यसमा एमालेको तर्फबाट पाँच जना र माओवादीको तर्फबाट तीन जना सदस्य हुनुहुन्छ  । त्यसको छिटै मिटिङ बस्छ । असोज १७ गते ६ बुँदे आधार तयार गर्यौं । धेरै मान्छेले विश्वास नै गरेका थिएनन् । १६५ प्रतिनिधि सभाका र ३३० प्रदेशसभाका सिट बाँडफाँड एकदमै कुशलता पूर्वक गर्यौं । साझा घोषणापत्र तयार गरेर रत्तिभर असन्तुष्टि बेगर यो परिणाम ल्यायौं । यो ढंगले हामी अगाडि बढेका छौं । त्यसैले यहाँ कतै शंका गर्नु पर्ने ठाउँ छैन । पार्टी एकीकरणको काम अब छिट्टै सम्पन्न गरेर हामी अघि बढ्छौं । 

एक्लै हुँदा बाह्य अवरोध खेपेर आउनु भयो । पार्टी एक हुनलाई पनि बाह्य चुनौति फेस गरिरहनु भएको होला । त्यस्तो प्रेसर आएका होलान् नि ?
नेपाल बलियो भएको, नेपालमा वामपन्थी शक्ति सुदृढ भएको, वामपन्थीले जितेको, नेतृत्वमा पुगेको मन नपराउने शक्तिकेन्द्रहरु पनि छन् यहाँ । बाहिर मात्र हैन भित्रैबाट पनि यस बिरुद्ध लागि परेका छन् । दोस्रो, पार्टी भित्रै पनि भोलि एकता हुँदा म कहाँ हुन्छु भन्ने आत्मकेन्द्रित सोच राख्नेहरु पनि छन् । देशले निकास पाएको, कम्युनिस्ट आन्दोलनले जितेको भन्दा पनि आफू कहाँ रहने भन्ने विषय महत्व राख्नेहरुको पनि एउटा चलखेल बढेको हुनसक्छ । त्यस्ता गुनासा बाहेक अब हरेक चुनौति पार गरेर अघि बढिसकेका छौं । जनताको अभिमतले अनुमोदित भएको पार्टी एकताको यो बेग अब जुन शक्ति लागे पनि  रोक्न नसक्ने म विश्वस्त पार्न चाहन्छु ।