केन्द्रीय राजनीतिक वृत्तमा वैचारिक र शालीन नेताका रुपमा चिनिने एमाले स्थायी समिति सदस्य शंकर पोखरेलको भूमिका यसपटक बदलिएको छ । चुनाव हुनु अगाडि नै उनी प्रदेश ५ को मुख्यमन्त्रीका रुपमा निश्चित ठानिएका थिए । पोखरेल एमालेको केन्द्रीय नेतृत्ववृत्तमा विकास र समृद्धिको नीतिगत खाका कोर्ने पात्र मध्ये एक हुन् । तर, उनी अव त्यो भूमिकाबाट त्यसलाई निश्चित क्षेत्रमा लागू गर्ने भूमिकामा अग्रसर हुने तयारीमा छन् । अन्य प्रदेशमा मुख्यमन्त्री बन्न नेताहरुबीच दौडधूप चलिरहेका बेला उनी त्यस्ता नेता बने, जो निर्विवाद मुख्यमन्त्री बन्दैछन् । मुख्यमन्त्रीको दौड अन्य प्रदेशमा चलिरहेका बेला उनले भने प्रदेश ५ का लागि विकासको गुरुयोजना बनाइसकेका छन् । ५ नम्बर प्रदेशका भावी मुख्यमन्त्री पोखरेलसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको संक्षिप्त कुराकानीः 

तपाई प्रदेश नम्बर ५ को मुख्य मन्त्री बन्दै हुनुहुन्छ । कस्तो बन्दैछ प्रदेश सरकार ? 
यहाँ एउटै पार्टीको सरकार बन्ने अवस्था छैन । यस्तो अवस्था नरहेपछि दुई वा त्यो भन्दा बढी पार्टीहरुको सहमतिबाट सरकार बनाउने कुरा अगाडि बढ्छ । हामी दोस्रो प्रक्रिया अर्थात् दुई दल मिलेर सरकार बनाउने प्रक्रियामा छौं । एमाले र माओवादी मिलेर यो प्रदेशमा सरकार बनाउँदैछौं । अहिलेसम्म माओवादी केन्द्रले दलको नेता छानेको छैन । उसले दलको नेता छान्ने काम सकेपछि विधिवत आगाडि बढ्छ । 

प्रादेशिक सरकारले समृद्धिको योजना ल्याउने त वताइरहनु भएको छ । तर, जिल्ला र क्षेत्रका झुण्डहरुले क्षेत्रीय माग राखिरहेका छन् । यस्ता स–साना असन्तुष्टिहरुलाई कसरी ब्यवस्थापन गर्नुहुन्छ ? 
तपाईंले भन्नु भएजस्ता कुराहरु यदाकदा देखिएको छ । तर खासमा पाँच नम्बर प्रदेशमा त्यस्ता संकीर्ण स्वार्थहरु टकराएका छैनन् । यहाँका जनता धेरै जागरुक र संयम छन् । त्यो कुरा उनीहरुले नाकाबन्दीका बेला पनि देखाए, प्रदेश टुक्र्याउने प्रयास हुँदा पनि एकजुट भएर देखाइसकेका छन् । हामी पनि यस प्रदेशको केन्द्रीय मनोविज्ञान तयार गरेर यी सबै कुरालाई मिलाएर लिएर जान्छौं । राजधानी कहाँ बनाउने भन्ने कुरा प्रदेशसभालाई अधिकार छ । हामी अध्ययन गरेरै निर्णयमा पुग्छौं । त्यसैले यी समस्या  अस्थायी हुन् । हामी अन्य भन्दा अब्बल प्रदेश बनाएर देखाउँछौं ।

अब्बल प्रदेश भन्नु त भयो, त्यो कसरी बन्छ ? 
तपााईंलाई भनौं, हामी पाँच नम्बर प्रदेशलाई मिनी नेपालको रुपमा विकास गर्दैछौं । यो एउटा यस्तो प्रदेश हो जहाँ लुम्बिनी, राप्ती, र भेरीका जिल्लाहरु छन् । भनेको हिमाल पहाड र तराई सबै मिसिएको छ यस प्रदेशमा । सबल छ । यहाँ जडिबुटी उत्पादन देखि कृषिमा आधुनिक प्रणाली भरपुर प्रयोग गर्न सकिने तराईका फाँट पनि छन् । त्यतिमात्र होइन, मुसलमानहरुको बसोवास पनि यहि ठाउँमा छ । हिन्दुहरुको तीर्थस्थल स्वर्गद्वारी देखि वुद्धको जन्मभूमि लुम्बिनीसम्म यहिँ पर्छ । धेरै ऋषिमुनीहरुको तपोभूमि पनि यहि ठाउँमा पर्छ र मुसलमानहरुको पनि उत्तिकै बसोवास भएको प्रदेश हो यो । हामी सांस्कृतिक हिसावले यति अब्बल छौं र इकोनोमिकल डाइभर्सिटी भएको क्षेत्र पनि यहि हो । यी सम्पूर्ण कुराहरुका आधारमा बृहत योनजा बनाएर  हामी यो ठाउँलाई मिनी नेपालको रुपमा विकास गर्ने तयारीमा छौं । 

के बन्छ अन्य प्रदेशको तुलनामा फरक यो प्रदेशमा ? 
अरुले कसरी बनाउँदै हुनुहुन्छ त्यो हामीले जान्ने कुरा भएन । हामी पाँच नम्बर प्रदेशलाई तीन सेन्टरमा केन्द्रित गरेर महानगरको रुपमा पुग्नेगरी विकास गर्छौं । एउटा दाङ भयो । अर्को वुटवल र भैरहवालाई समेट्दै लुम्बिनी हाम्रो केन्द्रमा पर्ने छ भने अर्को बाँके बर्दिया र कोहलपुरलाई केन्द्र बनाएर महानगर स्तरमा पुर्याउने कार्ययोजना बनाएका छौं । यो क्षेत्र सबै धर्मका आन्तरिक पर्यटक देखि बाह्य पर्यटक भित्रयाउन सक्ने क्षमता राख्छ । त्यस्तै यहाँ तीनवटा निकुञ्ज र आरक्षण क्षेत्रहरु छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके, र ढोर पाटन आरक्षण क्षेत्र छन् । 

तपाईंले अघि भन्नु नै भयो, यो क्षेत्रको कृषिलाई आधुनिकीकरण गरी विकासमा दौडाउन सकिन्छ भनेर । के छन् कृषि र अन्य विकासका आयोनजाहरु तपाईं हरुसँग ? 
हामी पहिलो त भेरी बबई डाइभर्सनको काम गर्नेछौं । अर्को सिक्टा परियोजना छ । लुम्बिनी विकास गुरुयोजना छ । कालीगण्डकी, तिनाउ डाइर्भसन, ग्वार खोला हाईड्याम र पहाडी जिल्लामा हिल स्टेशन तयार गरेर पर्यटक गन्तब्य बनाउने योजना हामीसँग छन् । धेरै भन्दा धेरै धार्मिक पर्यटक भित्र्याउँछौं । रिडी सभ्यता, पाल्पा, स्वर्गद्वारी लगायत क्षेत्र विभिन्न ऋषिहरुको तपोभूमि हुन् । ६ मध्ये ४ स्थान भगवान वुद्धको तपोभूमिका रुपमा लिइन्छन् । तिलौराकोट जस्ता धार्मिक स्थलहरु छन् । तिनलाई विकास गर्ने उत्कृष्ट योनजा हामीसँग छन् । 

यस प्रदेशमा विकासका ठूला आयोनजा चाहिँ के के छन् ? अनि राज्य चलाउन आर्थिक भार पनि त ह्वात्तै बढेर जान्छ, ब्यवस्थापन कसरी गर्नुहुन्छ ? 
विकासका ठूला हुन् या साना, हरेक योनजा त्यो ठाउँको लागि प्रमुख नै बन्छन् । कुनाका विकास देखि लिएर शहरका विकास सबै प्रमुख हुन्छन् हाम्रा लागि । किनकी हामीले त त्यो ठाउँको विकास गर्नुछ । यस क्षेत्रका जनताको जीवनस्तरमा परिवर्तन ल्याउनु छ । माथि मैले भनेका योजना सँगै तराईका जिल्लाहरुमा कृषि आधुनिकीकरणको उच्चतम सदुपयोग गर्नेछौं । अन्य प्रदेशलाई पुग्ने कृषि उपज सप्लाई गर्न सक्ने अवस्थामा पुर्याउँछौं । यो हाम्रो गुरुयोजना हो । यो गाह्रो छैन पनि । जब हामी माथि भनिएका डाइभर्सन र सिंचाईका काम पूरा गर्नेछौं, तव यी कामहरु सजिलै अघि बढ्छन् । विकाससँगै आर्थिक भार ब्यवस्थापन आफैं हुन्छ । यो कुरामा ढुक्क हुनुस् । तर काममा निगरानी जरुरी हुन्छ । त्यो हामी गर्छौं । 

राज्य संघीयता कार्यान्वयन गर्न लागि परेको देखिन्छ । तपाईंहरु पनि यतिको तयारीमा हुनुहुन्छ । तर केहि प्रदेशका पहिलो बैठकमै प्रदेश राजधानी, भाषा लगायतका विवाद आउन थालेका छन् । तपाईंलाई लाग्छ, यो संघीयता सोचे जसरी टिक्ला ? 
यो हाम्रो पहिलो अनुभव हो । यसलाई कार्यान्वयन गर्न चुनौतिपूर्ण छैन म भन्दिन । तर चुनौति भन्दा धेरै सम्भावनाहरु छन् । हामी सबै औजार बोकेर तयारी भएर शिकार गर्न हिंडेपछि बाघ नभेटिएला भन्दै पुग्ने बेला बाटैबाट फकर्ने कुरा गर्नु हुन्न । हामी त बाघले चिथोरे पनि शिकार गरेर ल्याउने गठ्ठा लिएर हिंडेका हौं नि । खुट्टामा काँडाले घोच्यो, अब सम्भव होला र ? भन्नेजस्तो कुरा गर्नु हुन्न । जे छ त्यसको प्रयोग गरेर, जे छैन त्यसलाई अन्य प्रदेशसँग सहकार्य गर्दै अघि बढ्नु पर्छ । हाम्रो क्षेत्रमा एउटा उत्तरको नाका छैन । तर हामी अन्य प्रदेशसँग घनिस्ठ सम्बन्ध राखेर त्यो आवश्यकता पूरा गर्नेछौं । कालीगण्डकी करिडोर प्रयोग गरेर पनि यो प्रदेशको विकासलाई कमी हुन दिन्नौं । अरुले पनि त्यसै गर्लान्, आफ्नो प्रदेश विकासको लागि । यो त आफ्नो क्षेत्र विकासका लागि एउटा प्रतिस्पर्धा पनि हो । हेरौं को अब्बल आउँछ ।