मनोक्रान्तिका अभियन्ता तथा योग गुरु विकासानन्द समाज अव सत्ययुगमा प्रवेश गर्ने दावी गर्छन् । उनी मानिस भित्रका समस्यालाई भौतिक नभएर मनको समस्याका रुपमा चित्रण गर्छन् । समाजभित्र मानसिक अन्तरविरोध, द्वन्द्व र डिप्रेशनका कारणबारे पनि विकासानन्दले अन्तरवार्ता क्रममा खुलस्त कुरा गरे । चक्रपथ डटकमका लागि उनीसँग बिनु पोखरेलले गरेको कुराकानीः 

मनोक्रान्ति के हो ? 
दुनियाँको समस्या भौतिक समस्या होइन, मनको समस्या हो । किनकी दुनियाँमा भौतिक कुरा यति उत्पादन भैसक्यो, हुदैछ र अझै स्पिडमा जान्छ । मैले नकमाए पनि अरुले कमाएकोले मलाई पुग्छ । तर मान्छे त्यो समस्या भन्दा माथि उठ्न सकेन । हो त्यहि मनको सिमित घेरा तोड्ने क्रान्ति हो मनोक्रान्ति । मनोक्रान्ति भनेको मनको क्रान्ति हो । मनको क्रान्ति भन्नाले चाहिँ संसारका सबै समस्यामा केहि न केहि समाधान र उज्याला पाटा जोडिएर आएका हुन्छन् । अगाडि आएका समस्या मात्र देख्नु दिग्भ्रान्ति भयो । त्यो समस्यामा आएका समाधान र उज्यालो अवसरलाई देख्नु मनोक्रान्ति हो । युग बदलिइरहन्छ, युग नबदलिंदा पनि जहाँ समस्या छ, त्यहाँ समाधान पनि छ । त्यो देख्न सक्न हुनु अवसरलाई ठम्याउनु नै मनोक्रान्ति हो । 

हरेक मान्छे धन कमाउनै लागेको छ । त्यहि कारणले मान्छे दुखी छ । यसको कुनै सीमा हुन्छ  कि मान्छेमा यसको  पारो अझै बढ्दै जाने हो ?  
मैले भनेँ नि , दुनियाँमा भौतिक कुरा यति उत्पादन भैसक्यो, हुँदैछ र अझै स्पिडमा जान्छ । मैले नकमाए पनि अरुले कमाएकोले मलाई पुग्छ । अब हामी कली युुगलाई छोडेर सत्य युगमा जाँदैछौं । युगको कुरा गर्दा यो अलि विवादास्पद कुरा पनि हो । तर यदि मैले वेष्टन क्यालेण्डरलाई प्रयोग गर्ने हो भने यो विवादास्पद हुँदैन । वेस्टन क्यालेण्डरमा चाहिँ पाइसेज भनेको मीन । यो युगकै अन्तिम एरा । मीन भनेको माछा । माछा अत्यन्त स्वार्थी प्राणी हो । उसको अरुलाई खानु र आफू बाँच्नु बाहेक अरु कुनै काम हुँदैन । संसार त्यो युगमा थियो अहिलेसम्म, अब सकियो । मीन राशिको युगबाट अहिले हामी कुम्भ राशिको युगमा प्रवेश गरेका छौं । त्यो २०१२ बाट सुरु भएको हो । अन्तिम मीनको २००० बर्ष कटेर हामी अर्को एरामा प्रवेश गरिसकेका छौं । कुम्भमा तपाईंले हेर्नु भएको होला, कुनै केटीले भाँडोबाट पानी खन्याई रहेको हुन्छ । केटी संसारको प्रतीक र पानी खन्याएको भन्या अब म हैन मेरो पनि तिमी लैजाउ भनेको हो । अबको युग भनेको अरुका लागि बाँच्ने हो । हिजोसम्म लिएर वा थुपारेर महान हुने थियो । अबको युग भनेको दिएर महान हुने हुन्छ । त्यो युगमा हामी प्रवेश गरिसकेका छौं । यसलाई ब्रह्मकुमारी वालाहरुले कलीयुग अगाडि नै सकियो, अहिले संगम युग चलिरहेको छ, अब सत्य युगमा जाँदैछौं, केही बर्ष बाँकी छ भन्छन् । सबैका क्यालेण्डर अनुसार फरक भए  पनि सबै जोडेर भन्दा आउने २०२७ सालबाट हामी सत्य युगमा प्रवेश गर्छौं ।  

हामी सत्य युगमा किन जाँदैछौं भन्ने युगान्तरको प्रमाण चाहिँ धेरै छन् । त्यसमा पहिलो कुरा इन्टरनेटले ग्याङको एकाधिकार समाप्त पारिदिएको छ । ज्ञान माथिको एकाधिकार समाप्त भइसक्यो । स्कूल, कलेजमा गुरुहरुको खासै आवश्यकता पर्दैन । अब तपाईंलाई चाहिने सबै इन्फर्मेसन तपाईंको औंलाभित्र छन् । त्यसो भएपछि हामी ज्ञानको युगमा आयौं । यो सत्ययुगको पहिलो लक्षण हो । त्यसलाई कसरी पनि बुझौं भने मैले ७५ हजार रुपैयाँ हालेर १५ वर्षअघि ब्रोटानिका किनेको थिएँ । अहिले दुई हजारको मोबाइलमा नै यो सवै कुरा पाइन्छ । त्यति मात्र होइन  रेडियो, टिभी देखि लिएर सबै कुरा इन्टरनेटमा एक क्लिकमा पाइन्छ । 

मान्छेले अव जागिर होइन आफ्नो काम गर्छ । लाखौं मान्छेको काम रोबोटले गरेर १० जनामा सीमित गरिदिन्छ । यी दुबै काममा संलग्न नहुनेलाई अहिले सरकारले बृद्धभत्ता दिएजस्तै तिनलाई पनि भत्ता दिन्छ । खानपान र अन्य कुराको लागि मान्छे जन्म्यो कि भत्ता । यसको मतलव अब मान्छेलाई रोवोटले पाल्छ । मान्छे फाल्टु हुन्छ । अनि मान्छेले आफ्नो लागि काम गर्ने बाहेक समय क्रिएशनमा लगाउँछ । किनकि उ काम गर्न बाध्य हुँदैन । त्यसैले उसले आफूले चाहेको वर्क क्रिएट गर्छ । यस्तो बेला कि साइन्टिस्ट हुनुस् या अध्यात्मिक हुनुस्, दुईटा कुरा । कि त्यस्तो हार्डडिक्सको काम गरेर ऐसमा रमाउनुस् । कि शान्त जे जति छ, त्यसैमा रहेर अध्यत्मिक हुनुस् । ज्ञान, ध्यान, मुक्ति जे कुरा छन्, ती पहिला बुद्ध ब्याक्तिहरुका लागि मात्र प्राप्त हुन्थे, दरवारीयाहरुलाई मात्र सुलभ हुने कुरा अब सवैलाई सुलभ हुन्छ । 

यति भएपछि बसीबसी पैसा आउने भयो । पैसाले समय किन्न सकिने भयो । त्यसलाई तपाईंले स्प्रिचुअल ट्रान्स्फेर्मेशनको लागि प्रयोग गर्दा भयो । यस्तो समयमा मान्छे लिन भन्दा दिन रुचाउँछ, ज्ञान होस् या सम्पत्ति । त्यसैले यो  कुराले अब हामी सत्य युगमा प्रवेश गरिरहेको जनाउँछ । 

तेस्रो उदाहरण, पश्चिमाहरुले तयार गरेको सेक्स रोवर्ट हो । मान्छेलाई चाहिने अर्को कुरा भनेको सेक्स हो ।  अहिले पश्चिमा मुलुकमा सेक्स रोवर्टको प्रयोग भइसकेको छ । सेक्स रोवर्टहरु दुरुस्त मान्छे हुन्छन् । उसले काम पनि गर्दिने र मान्छेको सेक्स प्रतिको चाहना पनि पूरा गरिदिने गर्छ । बच्चा जन्माउने काम बाहेक अन्य सबै काम गरिदिन्छन् । मान्छेको सबैभन्दा ठूलो कमजोरी भनेको सेक्स हो । त्यो पनि रोवर्टले समाधान गरिदिन्छ । अनि तपाईंले बिहे गरिरहन पर्दैन । श्रीमती–श्रीमानको काम रोवर्टले गर्ने भएपछि श्रीमती–श्रीमान किन चाहियो ? मान्छेसँग झमेला छ नि । मान्छेले त डिमाण्ड गर्छ । तर रोवर्टले त त्यो गर्दैन । अनि त्यो पनि सर्बसुलभ भइदिन्छ । 

ल हेर्नुस है, मजदुरको माग रोवर्टले पूरा गरिदिन्छ, सेक्स देखि अन्य कुरा पनि रोवर्टले पूरा गर्छ । सूचना र ज्ञानको लागि मान्छेले न समय खर्चिनु पर्छ, न सेक्स र पैसाको लागि मान्छे चाहिन्छ । मान्छे त फ्रि भयो । अब तपार्ईं आर्टिस्ट बन्ने, साइन्टिस्ट बन्ने या स्प्रिचुअल बन्ने निर्धारण गर्न सक्नुहुन्छ । त्यसकारण अब हामी सत्य युगमा जाँदैछौं । अबका मानिसको समस्या भौतिक नभएर मानसिक हुनेछ भनेर जानेरै हामीले मनोक्रान्ति अर्थात् मनलाई परिर्वतन गर्ने भनेर लागेका हौं । 

कोही धार्मिक बढी देखिन्छन् केही अध्यात्मिक बढी देखिन्छन् । अमेरिकाको एकजना लेखकले पनि भर्खरै एउटा लेख मार्फत ५४ प्रतिशत अमेरिकीहरु धार्मिक जीवन छोडेर अध्यात्मिक जीवनमा प्रवेश गरे भनेर लेखेका छन्  । के फरक छ अध्यात्मिक जीवन र धार्मिक जीवनमा ? 
योग धर्म दर्शनकै एउटा तत्व हो । योग जन्मेकै यहिँबाट हो । तर फरक के छ भने धर्म भनेको सिद्धान्त हो । जस्तै हिन्दुहरुको सिद्दान्त, बौद्धहरुको सिद्धान्त, त्यस्तै मुसलमन र क्रिश्चिनहरुको सिद्धान्त फरक छ । तर, योग भनेको सिद्धान्त होइन । योग भनेको साइन्स हो । योग भनेको मेथोडोलोजी हो । धर्म भनेको फिलोसोफी भयो । फिलोसोफी सबैको फरक फरक हुन्छ । 

अध्यात्मिक हुन थाल्यो नि त मान्छे धार्मिक हुन छोडेर । यो चाहिँ के भएको त ? अथवा म धार्मिक चाहिँ होइन भन्छ तर, अध्यात्मिक चाहिँ हुँ भन्छ किन ? 
त्यो भनेको के हो भने सबै धर्म अहिले सम्प्रदाय बनेर बसेको छ  । अध्यात्म चाहिँ जसले पनि अपनाउन सक्ने भयो । तर धर्म चाहिँ आफ्नो परम्परा रीतिरिवाजले गाइडेन्स भएको हुन्छ । धर्मबाट चाहिँ मान्छे चाहेर पनि बाहिर आउन नसक्ने छ । तर अध्यात्मिक बन्न कुनै कुराले रोक्दैन । उ सजिलै अध्यात्मिक बन्न सक्छ । किनकि यसमा कुनै ट्याग या सीमा छैन । धर्म कमन ग्राउण्ड होइन तर अध्यात्म कमन ग्राउण्ड हो । यसलाई सजिलो रुपमा भन्दा मान्छे धर्मको घेराम बस्न रुचाउन छोड्यो । उ शान्त बुद्ध त बन्न खोज्छ तर त्यो धर्मको घेरा भन्दा बाहिर रहेर । धर्मले कोरेको रेखाभन्दा बाहिर आएर ईश्वर खोज्नु अध्यात्म हो । यसलाई मान्छेले आफूभित्र हेरेको र खुसी खोजेको भन्न सकिन्छ । 

धर्म भन्दा पनि माथि उठेर मान्छले आफू भित्रको खुसी खोन्ने कुरा गर्नुभयो,  त्यो खुसी के हो ? र यो कसरी प्राप्त हुन्छ ? 
यसको जवाफ धेरै तरिकाबाट दिन सकिन्छ । पहिला यसलाई केमेष्ट्रिको पाटोबाट जवाफ दिउँ । हाम्रो ब्रेनमा केमिकलहरु बन्छन् । म खुसी हुँदाखेरी मेरो खोपडीबाट एण्डरफिल उत्पन्न हुन्छ । त्यो हाम्रो शरिरभरी फैलिन्छ र हामी खुसी हुन्छौं । त्यस्ता खुसी उत्पादन गर्ने सयौं यस्ता केमिकलहरु हाम्रा शरिरमा छन्, ती विभिन्न अवस्थामा उत्पादन हुन्छन् । हामीले निस्वार्थ भनिने आमाको मायाँ पनि कुनै एउटा केमिकल हो । अक्सिटोसिन भन्ने हर्मोन उत्पादन भएन भने आमाले गर्ने भनिएको त्यो प्रेम नै उत्पादन हुँदैन । यसैले मायाँ, खुसी यी सबै हर्मोन भन्दा बढि केही होइनन् । ती केमिकल उत्पादन गरेर आउने खुसी क्षणिक हुन्छन् । अर्को खुसी कुर्न फेरि त्यहि हार्मोनको उत्पादन हुने समय कुर्नुपर्छ ।  तर, ती उत्पादन हुने कारण अनेक हुन्छन् त्यस मध्येको राम्रो बाटो अध्यत्म हो  । त्यहाँबाट इन्द्रीय नियन्त्रण देखि त्यस्ता धेरै हार्मोनहरु उत्पादन गर्न सकिन्छ । त्यसरी प्राप्त हुने हार्मोन लामो समयसम्म रहन्छन् ।  

आमाले वच्चा पएपछि सहजै प्रेम उत्पन्न हुन्छ भन्छौं हामी । हार्मोनको कारणले वच्चाप्रति प्रेम उत्पन्न हुने भए र यदि त्यो हार्मोन शरिरमा उत्पन्न नहुँदो हो त आफ्नै वच्चाप्रति पनि प्रेम उत्पन्न हुँदैन त ? 
हो, हुँदैन । किनकि मैले जन्माएको बच्चा भन्ने बित्तिक्कै आमाको शरिरमा अक्सिटोसिन हर्मन बढ्छ । यसले दुईवटा काम गर्छ । एउटा, भौतिक अर्को अभौतिक । पहिलोले दूध उत्पादन गर्छ । दोस्रो साइकलोजीमा प्रेम उत्पादन गर्छ । दूध नखाएको बच्चाप्रति कम प्रेम हुने हामीले देखेका छैनौं र ? गाउँघरमा भन्ने चलन छ नि, आमाको दूध नखाएको वच्चाले आमालाई मायाँ गर्दैन रे । हो त्यो प्रमाण बोलेको हो । त्यसैले प्रेम भनेको पनि एउटा भ्रम हो । 

यो सबै भ्रम हो भने मान्छे चाहिँ मायाँमा खुसी किन भएको ? 
सबै कुरा भ्रम हो भनेर हामी त्यति टाढा नजाउँ । त्यसो भन्दा हामी धेरै टाढा पुग्छौं । छोटोमा जाउँ । त्यसो भन्दा पनि सबै कुरा केमिकल हो भन्ने कुरामा जाउँ । किनकि बिना केमिकल केहि हुँदैन । जस्तो, अहिले हामी कुरा गरिरहेका छौं । अहिले तपाईंको खोपडीमा रिल्याक्स हर्माेन उत्पादन भएको छ । जसलाई सेरोटोनिन भनिन्छ । एर्नोफिन बेलाबेला चलिरहेको छ । त्यसले खुसी उत्पादन  गरिरहेको छ र तपाईंले मलाई सुनिरहनु भएको छ । तर यहि बेला स्ट्रस हर्मोन चल्यो भने तपाईंले मेरो केहि पनि कुरा सुन्नुहुन्न । भनाइको मतलब यो सबै केमिकल हो । 



भनेपछि मान्छेमा आउने हरेक मुडहरु रीस, सेक्सुअल, मायापन सबै केमिकलले निर्धारण गर्छ होइन ? 
हो । मान्छेले बाहिरबाट देख्ने खुसी, रीस, सबै संबेग उत्पादन गर्ने काम हार्मोनले गर्छ । टेष्टोटेरियन ग्रन्थी एक्टिभ नभई सेक्सुयल फिलिङ आउँदै आउँदैन । त्यस्तै ती ग्रन्थीहरु एक्टिभ नभई हाँस्ने, रुने केही काम हुँदैन । तर त्यो सबै कुराको नियन्त्रण र त्यसलाई बढि प्रभाव पार्न सक्ने काम अध्यात्मले गर्नसक्छ । 

पछिल्लो समय मान्छे मायालु भन्दा बढि झगडालु देखिन्छ नि, यसमा बाहिरी कुराको पनि प्रभाव हुन्छ कि भित्री उत्पादनले नै निर्धारण गर्ने हो ? 
मान्छे जति विकसित हुँदै गयो त्यति नै मान्छेमा धेरै मात्र होइन असीमित डिजायर भरिएर गयो । यो कारणले मान्छेमा प्रेमका भन्दा धेरै अन्य खालका केमिकल उत्पादन हुन थाल्यो र मान्छे यस्तो भयो । अन्य कुनै कारण नै छैन । बस् मान्छेमा आएको महत्वाकांक्षाले यो सबै आएको छ । 

जस्तो गाउँमा जाउँ एकछिन् र  एकजना बूढा बालाई सोधौं– बा तपाईंलाई के चाहिन्छ ?  बाले भन्नुहोला एक हल गोरु, अलिकति कमाउने खेत र बिमारी हुँदा उपचार खर्च । तर, त्यो कुरा बजारमा बस्ने मान्छेलाई सोधौं त । उसलाई आज किनेको कुरा भोलि मन पर्न छोड्छ । भोलि फेरि अर्को कुराको लागि रहर पलाउँछ । डिमाण्ड बढेपछि पैसा चाहियो । पैसाको लागि मान्छेले अनेक कुरा गर्छ । जस्तो, तपाईंले विज्ञापन हेर्नुहुन्छ । त्यसले तपाईंलाई आवश्यक नै नभएको चिजमा पनि नकिनी नहुनेगरी मनोकांक्षा बढाइदिन्छ । सहरमा असीमित आकांक्षा बोकेका मान्छे छन् । उनीहरुमा प्रेमका हार्मोन भन्दा धेरै अन्य संबेग उत्पादन गर्ने हार्मोन बढि छ । 

एकातिर हामी सत्य युगमा प्रवेश गर्दैछौं पनि भन्ने अर्कोतिर मान्छेमा यस्तो महत्वकांक्षा पनि बढेर गएको छ पनि भन्ने । यो दुई कुरा त विरोधाभाष भएन र भन्या ?
यो कस्तो भन्दाखेरि हामी सत्स्ययुगमा प्रबेश गरि नै सकेका त होइनौं नि । यो त्यसको झिसमिसे हो । यो बेला अंध्यारो पनि हुन्छ, उज्यालो पनि हुन्छ । भर्खरै वेस्टर्न क्यालेण्डर अनुसार हामी अलिकति प्रवेश गरे पनि नयाँ क्यालेण्डर अनुसार हामी केहि नजिक छौं । यस्तो बेला पहिलाका केहि कुरा बाँकी हुन्छन् । बिस्तारै यो पनि हराएर जान्छ । उज्यालो पनि उत्तिकै छ । हामीजस्तो मान्छेले त्यो उज्यालो बढि देखिरहेका हुन्छौं । तर अरु चाहिँ अँधेरो मात्र छ भनेर त्यसैमा रुमल्लिरहेका हुन्छन् । किनकि यो अवस्थामा मान्छे अत्यधिक भड्कन सक्छ । जसलाई संक्रमणकाल भनिन्छ । युगको हिसावले अहिले संक्रमणकालमा छौं । 
सेक्सले मान्छेको खुसीको कति भाग ओगटेको हुन्छ ? किन सेक्सको चाहना बढि रहन्छ मान्छेमा ? सेक्सबाट आउने खुसी र अरु खुसीमा के फरक छ ?
हामीले कसरी पनि बुझ्नु पर्छ भने खुसी केमिकलको इन्टरप्लेका कारणले हुन्छ । सेक्सबाट आउने खुसी, आनन्द र अन्य कुराले आउने खुसी, आनन्द भनेको एउटै हो । जुन तरिकाले खुसी र आनन्द हुँदा पनि एउटै किसिमको केमिकल उत्पादन हुन्छ । लालमोन खाँदा आएको खुसी र सेक्सुअल्ली इन्भल्भ हुँदा आएको खुसी फरक हुन्छ । त्यो के भने सेक्सुअल्ली इन्भल्भ हुँदा त्यहाँ थुप्रै हर्मोनहरु एकैचोटी उत्पादन हुन्छन् । अलिकति रोमान्सको, अलिकति डरको, अलिकति धेरै एक्साइट गर्ने डोफामाइन जस्तो, अलि अलि स्ट्रेस दिने हर्मोन पनि । इन्भल्भमेन्ट कम्प्लिट भएपछि केही चिज नचाहिले सन्तुष्टिको हर्मोन प्रोल्याक्टिन पनि उत्पादन हुन्छ । अनि प्रेमको अक्सिटोसिन हर्मोन उत्पादन हुन्छ । त्यसरी सेक्सुअल इन्टरकोर्सको समयमा पाँच–छ किसिमको हर्मोन एकैपटक उत्पादन हुन्छ र मान्छे खुसीको माथिल्लो अवस्थामा पुग्छ । लालमोन खादा त प्रेमको हर्मोन एक्टिभेट हुँदैन । अन्य चिजले एक एकवटा हर्मोन उत्पादन हुन्छ भने सेक्समा धेरै भन्दा धेरै हर्मोनहरु उत्पादन हुन्छन् । यसलाई ग्यामुट अफ हर्मोन अर्थात् हार्मोनको ककटेलका रुपमा लिन सकिन्छ । हार्मोनको एकैचोटी बाढी आएजस्तो हुन्छ ।  त्यसैले धेरै खुसीहरुको एकमुष्ट रुप हो सेक्स ।  तर फेरि त्यो प्रियपात्र वा केहि चिनेको मान्छे वा नचिनेको मान्छेहरुमा, समझदारीमा, जबरजस्त अनेक अवस्थामा फरक फरक हार्मोन उत्पादन हुन्छन् । त्यता नजाउँ अहिले ।

तर सेक्सुअल्ली इन्भल्भ कति समय होला ? धेरै भए १५ मिनेट यसको आनन्द लिन सक्छ मान्छेले । अथवा सेक्सबाट मान्छे १५ मिनेट त्यही खुसीमा रहन सक्ला । तर त्यसपछि मान्छे उहि अवस्थामा आउँछ । एउटा कुरा तपाईंलाई भनौं– यदि तपाईं तन्त्रमा आउनुभयो भने यो आनन्दको समय लम्ब्याएर १५ घण्टा, १५ दिन, १५ महिना वा १५ वर्षमा पुर्याउन सक्नुहुन्छ । किनकि इजाकुलेशन इज प्रोब्लम, सेक्स इज नट प्रोब्लम । 

पुरुषको इजाकुलेशन भएपछि एक पटकको कोर्स सकियो, अनि पुरुष पनि सकियो । त्यसैले हामी भन्दैछौं अब अध्यात्ममा आउनुस्, तन्त्रमा आउनुस् । यो सुखलाई चाहेसम्म लामो बनाउन सकिन्छ ।

हामी त अध्यात्म भन्दै थियौं तपाईं त फेरि तन्त्र भन्दै हुनुहुन्छ । के हो यो तन्त्र भनेको चाहिँ ? 
तन्त्र भनेको पनि अध्यात्म नै हो । अध्यात्ममा मात्र योगको कुरा हुन्छ । तर तन्त्रमा योग सँगै माया र सेक्सको पनि साथ हुन्छ । अर्थात् स्खलन बिनाको सेक्स । योगको युग सकियो अब तन्त्रको युग सुरु भएको छ । स्खलन भएन भने यो जति पनि लामो जान्छ । स्वस्थानी ब्रतकथाको इपिसोड चलिरहेको छ ।  त्यसमा महादेवले एक हजार बर्ष पार्वतीसँग सहवास गरेको कुरा छ । त्यो कथा होइन, त्यो सत्य थियो । एक हजार वर्ष मान्छे बाँच्दैन त्यो बेग्लै कुरा भयो । तर संकेत के भने, स्खलन भएन भने सेक्स क्यान एज लग एज यु वान्ट । तपाईं बिहान सेक्स इन्टरकोर्सको लागि तयार हुनु भो । कति घण्टा गरेपछि तपाईंलाई भोक लाग्यो, खाना खानुभो र फेरि सुरु गर्नुभयो । र एउटा बिन्दुमा गएर इट बिकम्स दि समाधी । 

तपाईं अध्यात्म, योग र तन्त्रबाट सेक्सको इजाकुलेशन नै नहुने, सामाधीसम्म पुग्ने कुरा गर्नुहुन्छ । यता मान्छे दिन प्रतिदिन क्षणभरकोसुखको अनुभुति नपाएर डिप्रेशनमा छन् त ?
खान पाउने नपाउने दुबैलाई हुन्छ डिप्रेसश । सबैको कारण एउटै हुन्छ  । त्यो के भन्दा एउटै नेगेटिभ विचार चार महिनासम्म लगातार आइरह्यो भने डिप्रेसश सुरु हुन्छ । त्यो अमीरलाई पनि हुन सक्छ, गरिवलाई पनि । डिप्रेशनको फाइनल कज इज नेगेटिभ थट । एक जना मान्छेलाई डिप्रेशन हुन्छ कि हुँदैन भन्ने कुरा उसले एक महिना भन्दा लामो एउटै नेगेटिभ थट राख्छ कि राख्दैन भन्ने कुराले निर्धारण गर्छ  । कारण जेसुकै होस्, कारण जे पनि हुन सक्छ । पैसो नभएर, श्रीमानले छोडेर, श्रीमतीले छोडेर, घर नभएर, आफ्नो अनुकुल काम नभएर, या सबै भएर, देशमा परिर्वतन नभएर । जेसुकै कारणले होस्, नेगेटिभ विचार लामो समयसम्म खेलाउनु भयो भने ग्यामुट अफ केमिकलस् उत्पादन हुन्छ ।  मैले अघि भनेँ नि सेक्समा एकैपटक पाँच–छ वटा पोजेटिभ हर्मोनहरु उत्पादन हुन्छ भनेर ।  हो यो डिप्रेशनमा पनि पाँच–छ वटा नेगेटिभ हार्मोनहरु उत्पादन हुन्छन्  । जस्तै कटिसोल, क्यालाकोलमाइन्स्, एडिनलीन जस्ता अनेक नेगेटिभ हार्मोन उत्पादन हुन्छन् । यी जम्मै उत्पादन भएपछि खान नसक्ने, सुत्न नसक्ने बनाउँछ । त्यो एक महिना मात्र चल्यो भने त्यसले सिध्याइदिन्छ । चार महिना कन्टिन्यु गयो भने त्यसले ब्रेन ड्यामेज गर्छ । सुरुमा नेगेटिभ थिंकिङबाट सुरु हुन्छ । लामो नेगेटिभ थिंकिङ भयो भने ब्रेन ड्यामेज हुन सुरु हुन्छ । पहिला साइकोलोजिक प्रब्लम ,पछि इट इज ब्रेन प्रोब्लम । यसले ब्रेनको सेप नै बिगारिदिन्छ । अनि ब्रेन ड्यामेज भएपछि त यु क्यान नट कम ब्याक । जति सम्झाए पनि बुझिंदैन । द्याट इज डिप्रेशन ।  

यो नेगेटिभ पाटो भयो  ।  अब यसको पोजेटिभ पाटोमा जाउँ । डिप्रेशनको ठ्याक्कै लक्षण चाहिँ पीडा, दर्द, संकट, गाह्रो, मर्ने बिचार हुने भयो । यता सेक्स अथवा स्खलन बिनाको सेक्समा त्यसैको उल्टो, प्रेम आनन्द, एक्साइटमेन्ट, सबै कुरा बनिरहन्छ त्यहाँ । यसरी लामो समय तपाईं सेक्स या इजाकुलेशन विनाको सेक्समा रहंदा तपाईंको ब्रेन फुकेर काउली जस्तो एक्सपान हुनथाल्छ । नयाँ सेलहरु बढ्छ । यसले सबै कुरा नयाँ बनाउँदै लैजान्छ । नयाँ पर्सेप्सन बन्छ । हामीले त्यसलाई समाधीको अवस्था भन्छौं । तन्त्र भनेको पनि त्यहि हो । त्यसकारण लामो समयसम्मको प्रेम, त्यसलाई सेक्स पनि भन्न सकियो । तर सेक्समा स्खलन हुन्छ । यसमा त स्खलन अर्थात इजाकुलेशन पनि हुँदैन । 

योग भौतिक कुरा छोडेर जाने विज्ञान हो भने तन्त्र भौतिक कुरालाई पनि साथै लिएर जाने विज्ञान हो । योगले यो पनि छोड, त्यो पनि छोड भन्छ र छोड्दा छोड्दा तिम्रो मनमा परमात्मा आउँछ । त्यो ज्ञान भयो । तर तन्त्रले हैन सबै कुरा साथैमा राखेर परमात्मा जोड दिन्छ । 

फिजिक्समा चाहिँ यो कसरी बन्छ भने एटमलाई तोड्यो भने इनर्जी निस्कन्छ । त्यो एटम तोडेर बम बनाइन्छ । अर्को हाइड्रोजन बम चाहिँ दुई वटा न्युक्लियस जोडेर बन्छ । बम त दुबै बम हो । एउटा जोडेर बनाइएको अर्को तोडेर बनाइएको बम । यहि हो तन्त्र र योग भनेको पनि । 

तन्त्रमा आउन चाहिँ मान्छेले के के गर्नुपर्छ ? 
तीन चारवटा मुद्राको कुरा हो । योगाशन भनिन्छ नि त्यस्तै मुद्रा हुन्छ त्यहाँ । त्यो भनेको अर्गान माथिको नियन्त्रण । त्यो भयो भने इजाकुलेशनमा नियन्त्रण हुन्छ । महिलाहरुलाई सेक्सुअल एक्साइटमेन्टमा जानु भन्दा पनि त्यसलाई ध्यानमा लान सकिन्छ । त्यहि सिक्ने कुरा नै तन्त्र हो । त्यो चाहिँ विज्ञान बन्छ । तर मान्छेमा आउने निड र डिजायरमा चाहिँ फरक छ । भोक लाग्यो, त्यो निड भयो । गाँस, बास, कपास र सहवास त्यो भन्दा बेसी के चाहिन्छ र ? त्यो भन्दा बेसी नभएर के फरक हुन्छ ? अब जुन चिज भएर फरक हुँदैन त्यो चिज भएर पनि फरक हुँदैन । अनि मान्छेले त्यो कुरा खोज्यो, जुन कुरा उसको साथमा हँुदा पनि उसलाई सुख हुँदैन । किनकि त्यो सुखको साधन नै होइन ।

के हो त सुखको साधन ? 
सुखको साधन ज्ञान हो । अलिकति माइण्डको कुरा गरौं । माइण्डका लेभलहरु फरक फरक हुन्छन् । पहिलो लेभलमामा माइण्ड विचार हो । दोस्रो लेभलमा माइण्ड भावना हो । तेस्रो लेभलमा अवेरनेश हो, चौथो लेभलमा माइण्ड परमात्मासँग जोडिएको हुन्छ । अहिले पहिलो र दोस्रो लेभलमा मात्र मान्छे घुमिरहेको हुन्छ । विचारबाट भावनामा, भावनाबाट विचारमा । तेस्रो लेभलमा मान्छेको विकास गर्नुपर्ने, त्यो भएन । त्यो के त भन्दा अवेरनेस अर्थात् बोध । बैथरी, मध्यमा, पश्यन्ती र पराग चार तह हुन्छ । यो पश्यन्ती भन्या देख्नु । जस्तै मलाई गाडी चाहियो । तर, त्यो डिजायर हो या आवश्यकता हो भन्ने कुरा छुट्याउनु पर्यो । सिम्पल छ, यदि मसँग पैसा छ भने त्यो आवश्यकता भयो, छैन भने त्यो डिजायर । 

एउटा अर्को प्रश्न गरौं, अहिले परिवार परिवारमा फ्याग्मेन्टेशन किन बढेको छ ? 
हो, मैले भने नि मान्छे सामान्य ज्ञानमा नै बाँचीरहेको छ । पहिलो कुरा त परिवारमा कन्डीसशल लभ छ । जब माया नै कन्डीशनल हुन्छ त्यहाँ कसरी निकटता हुन्छ ? सर्त राखेर केही काम गर्दा त पूरा हुन्न भने माया जस्तो कुरामा कसरी कन्डिशसन खप्छ ? तपाईंको श्रीमानको कुरा गरौं या छोरा छोरीकै कुरा गरौं । उनीहरुले जे गर्न खोज्छ दिनुस् न । पार्टनरको कुरालाई रेस्पेक्ट गर्न सक्नुहुन्न भने तपाईंले माया नै गर्नुहुन्न । यदि तैँले यो यो चाहि गर्नुहुन्छ र यो यो चाहिँ गर्नुहुन्न भन्नुहुन्छ भने बुझ्नुस् तपाईंको श्रीमानलाई तपाईं माया नै गर्नुहुन्न । होयर दियर इज रुल, दियर इज नो लभ, होयर दियर इज नो रुल दियर इज एक्टिम लभ ।  उसको खुसीमा तपाईंलाई खुसी लाग्दैन अनि त्यो कसरी माया हुन्छ ? घिउ के मा पोखियो थालैमा । तपाईंको श्रीमान खुसी छ त तपाईंकै लागि फाइदा हैन ? उ खुसी हुनु राम्रो या डिप्रेसनमा हुनु ? खुसीमा हो नि होइन र ? नभए कसरी परिवार एक हुने कल्पना गर्नुहुन्छ ? मिलेको परिवार हेर्नुस् त एक पटक । त्यहाँ यस्तो अनकण्डीशनल लभ फष्टाएको हुन्छ कि श्रीमानले के गर्यो या श्रीमतीले के गरी कोसँगको संगतमा छ श्रीमानलाई चासो हुँदैन । मलतव उनीहरु एक अर्काको खुसीमा खुसी छन् । त्यो हो अन कण्डीशनल लभ, अर्थात् बिनासर्त प्रेम ।