कमलमणिको अन्तरवार्ताः रानी जगदम्बाकै कृपाले ‘दालभात र डुकु’को चिन्ता गर्नु परेन


Thursday, 29 Dec, 2016 4:31 PM

•कमलमणि दीक्षित
कमलमणि दीक्षितको जन्म वि.सं. १९८६ भदौ, कुशे औंसीमा काठमाडौंको गैरीधारामा भएको थियो । उनका बुबाको नाम केदारमणि दीक्षित र आमाको नाम विद्यादेवी दीक्षित हो । उनले काठमाडौंको दरबार हाइस्कुलबाट सन् १९४५ मा एसएलसी, त्रिचन्द्र कलेजबाट आईए र बनारस हिन्दू विश्वविद्यालयबाट सन् १९४९ मा बीए पास गरेका थिए ।

 

उनका मौलिक कृति ५२ वटा, सम्पादन २२ वटा, बालसाहित्य अनुवाद ३ वटा गरी ७७ वटा पुस्तक प्रकाशित छन् । कमल दीक्षितका पुस्तकमा यस्तो पनि २०१३, कालो अक्षर २०१७, पर्खंदै बित्ला कि ? २०२६, भन्ने कुरा २०३१, बुकी सुन २०३६, उखान मिलेन २०३७, जंग गीता २०४०, विद्यादेवी दीक्षित एउटा कथा २०४१, ज्यूँदा कुरा २०४५, सग्लो अक्षर २०४८, चार कन्था २०५३, महाचीन २०५५, मदन गाथा २०६०, मुडखुले बाहुन २०६१, जंगबहादुरको बेलाइती कापी २०६४, गुरुभेटी महाकविमा २०६६, आशीर्वाद २०६६, बाजेको बिहे २०६८, समेत कृतिहरू प्रकाशित छन् ।

 

सम्पादनमा नेपाली त्रैमासिक (२०१६ देखि) जंगबहादुरको बेलाइतयात्रा २०१४, बुइँगल २०१८, मानव मूल्यका कविताहरू २०४६, गोरखापत्र सयवर्षका १०१ कथा सह–सम्पादन र अनुवादमा सान्बाबुका चराहरू (बंगालीबाट) २०५५, समेत छन् ।

 

तिनताका एसएलसी पास गर्नेलाई ‘रानी पोखरी तर्ने’ भनिन्थ्यो । रानीपोखरी तरेपछि त्यसबेलाको एक मात्र कलेज त्रिचन्द्र कलेजमा पसियो । बीएमा ‘पलिटिक्स’ पढ्न पाइँदैनथ्यो । राणा शासनलाई ‘पलिटिक्स’ भन्ने नामैसँग  ‘एलर्जी’  थियो  । त्यसैले मैले रोईकराई  गरी  इण्डिया  जाने    प्रबन्ध मिलाएँ  । 

 

क. दी. सम्बन्धमा लेखिएको पुस्तकमा क. दी. का केही आँखा केही परिभाषा २०५५, केही परख क.दी.का २०५५ र कमल दीक्षित कालो अक्षरदेखि सग्लो अक्षरसम्म – २०६०, प्रकाशित छन् ।

 

मदन पुरस्कार पुस्तकालयको स्थापना गरी नेपाली भाषाका बत्तीस हजार आठसय भन्दा बढी पुस्तक भएको संसारकै ठूलो नेपाली भाषाको पुस्तकालय (आर्काइभ) खडा गर्ने दीक्षित ऐतिहासिक व्यक्तित्व हुन् । मदन पुरस्कार पुस्तकालयको संस्थागत संरक्षणको व्यवस्था मिलाउने र नेपाली भाषामा लेख्ने संसारभरिका कवि, लेखक र स्रष्टालाई लेख्न अभिप्रेरित गर्ने र पुरस्कृत गर्ने कमल दीक्षित नेपाली भाषा–साहित्यका प्रबुद्ध लेखक र भाषासेवी हुन् ।

 

प्रस्तुत छ प्रसिद्ध साहित्यकार तथा भाषासेवी कमलमणि दीक्षित र सूर्य सुवेदीबीच २०६५ साल मंसिर १० गते मदनपुरस्कार पुस्तकालयको अफिस ललितपुरमा भएको कुराकानीको सम्पादित अंश ।

कमलमणि दीक्षितज्यू, तपाईंंलाई लेखपढले कसरी तान्यो ?
हाम्रो परिवार, ‘मणि’    भन्नुस् ‘दीक्षित’ भन्नुस् पढे–लेखेकै अर्थात् पढ्ने लेख्ने नै परिवार हो । त्यसै हुँदा पाँच वर्षको उमेरमा अक्षरारम्भ भएपछिदेखि नै पढ्नु–लेख्नु त परिहाल्यो नि । पहिले गुरुहरूसँग पढियो, अनि स्कूल र कलेजमा । मैले ८ वर्षमै स्कूल प्रवेश गरेको हुँ  दरबार  स्कूलमा । एठ्थ  क्लास     भन्थे  त्यसबेला ‘क्लास  थ्री’  लाई, त्यसमा भर्ना भएँ अनि विस्तारै क्लास चढ्दै गएँ । सन् १९४५ मा मैले एस.एल.सी को जाँच दिएर पास भएँ । ‘रानी पोखरी तर्ने’ भनिन्थ्यो, तिनताका एस एल सी पासलाई । रानीपोखरी तरेपछि त्यसबेलाको एक मात्र कलेज त्रिचन्द्र कलेजमा पसियो । दुई वर्षमा आई.ए. पास गरेपछि मलाई भारतमा गएर पढ्ने धून लाग्यो । त्यसको कारण के थियो भने  त्रिचन्द्रमा    ‘पलिटिक्स’  भन्ने  विषय  थिएन  ।  त्यहीँ आई ए गर्दा पढेको ‘सिभिक्स’ पछि त्यहीँ बी.ए.मा ‘पलिटिक्स’ पढ्न पाइँदैनथ्यो । राणा शासनलाई ‘पलिटिक्स’ भन्ने नामैसँग  ‘एलर्जी’  थियो  ।  त्यसैले मैले    रोईकराई  गरी  इण्डिया  जाने    प्रबन्ध मिलाएँ  ।  ‘रोईकराई’  किन  गर्नुपर्यो भने नेपालमै  पढ्दा  खर्च  लाग्दैनथ्यो, बाहिर  जाँदा खर्च चाहिन्थ्यो । मेरा पितामातासँग त्यो खर्च बेहोर्ने क्षमता थिएन । मलाई अलिकति खर्च जुटाइदिने हुनुभयो उहाँहरू । अनि, कलकत्ता त होइन म काशीसम्म जान सक्षम भएँ र गएँ । बी.ए पास गरें मैले त्यहाँ । एम.ए. र एल.एल.बी गर्दै थिएँ । पूरा गर्न सकिनँ । आँखा खराब भएर कलकत्ता गएँ । फर्कन धेरै समय लाग्यो र पढाइ छुट्यो । 

 

 

कमलमणिको व्यक्तिगत पुस्तकालय नै पछि मदन पुरस्कार पुस्तकालय भएको हो ? तपाईंले यो कुरा कतै लेख्नुभएको छ जस्तो लाग्छ, हो ?
मैले यो कुरा कतै होइन  धेरैतिर लेखिराखेको छु र    बोल्दै  पनि आएको    छु । तर त्यो ‘कमलमणिको व्यक्तिगत पुस्तकालय’ होइन, ‘कमलको नेपाली सङ्ग्रह’ भन्ने सानो सङ्कलन मात्र हो । मैले स्कूलमा पढ्ने बेलामा खाजा खाने पैसा बचाएर केही    किताबहरू किन्ने गरेको थिएँ । अङ्ग्रेजी किन्न धेरै पैसा लाग्ने भएकाले    म धेरै जसो नेपाली  नै  किन्थें  । अरूतिर  पनि  भेटेका  पाएका  नेपाली  किताबहरू म ल्याएर थुपार्थें । तिनलाई मैले फुर्ती गरेर बनाएको यौटा रबर स्ट्याम्प नै ठोकेर राखेको थिएँ । त्यही    सानो सङ्कलनलाई २०१२ सालमा रानी जगदम्बाले मदन पुरस्कार खडा    गरेपछि त्यसको नाम चलाउन भनी मैले पनि आफ्नो त्यो सानो सङ्ग्रहलाई  भव्य नाम दिई ‘मदन पुरस्कार पुस्तकालय’ भनिदिएको हो    । त्यो नाम पाएपछि मेरो सङ्ग्रहले ठूलाठूला सहयोग पाएर त्यो बढ्दै गएको हो ।

 

त्यो जगदम्बा अतिथिभवन पनि सारै प्रेमले लगानी गरेर निर्माण गरिएको थियो । त्यसले सेवा पनि प्रशस्त गरेको हो । तर किन हो माओवादीलाई त्यो मन परेनछ र निर्ममतापूर्वक त्यो जलाइयो । हामीलाई त त्यसले  ‘पर्नु  पीर  परेको  थियो’  नि  ।

 

तपाईंका कालो अक्षर, जंगबहादुरको बेलाइत यात्रा लगायत धेरै पुस्तकहरूले नेपाली भाषा–साहित्य र संस्कृतिलाई नै संवर्धन गर्न खोजेको हुन्छ । यस्तो व्यसन तपाईंलाई कसरी लाग्यो ?
ठीक भन्नुभयो । अब त यसलाई ‘व्यसन’ नै भने पनि हुन्छ । भाषाको चस्का मलाई बालककालदेखि नै रहेछ । त्यो पुर्खाको देन होला । २००० सालमै मैले कविता लेख्न थालेंछु ।    काशीको ‘उदय’ले त्यो छापिदिएपछि मेरो हौसला बढ्यो । पछि २०१२    सालमा    रानी  जगदम्बाले     मदन पुरस्कार  खडा  गर्न  स्वीकृति  दिएपछि त भाषा र साहित्यमा एकमना भएर लाग्न मलाई ढोका खुलिहाल्यो नि । त्यसपछि त मैले पछाडि फर्कनै परेको छैन । रानी जगदम्बाकै कृपाले मैले ‘दालभात र डुकु’ को चिन्ता गर्नुपरेन र एकोहोरो भएर भाषा र साहित्यको सेवामा मैले लाग्न पाएको हुँ । मदन पुरस्कार पुस्तकालयले जम्मा गरिदिएको सामग्रीले मलाई लेखक, शोधक, अन्वेषक र अरू के के बन्न  सघायो  भनौं  । यो  पुस्तकालयमा भित्र  पसेर  खोज्ने  हो  भने जो  पनि  लेखक बन्न सक्छ भन्ने मेरो दावा छ ।

मदन पुरस्कारले खास गरी नेपाली साहित्यमा कस्तो प्रभाव पारेको अनुभूत गर्नुभएको छ ?
मदन पुरस्कारको नेपाली साहित्यमा कस्तो प्रभाव पारेको छ भन्ने कुरा मैले कसरी भन्नु ? यो  त तपाईंंहरू  जस्ता बुद्धिजीवी  र पत्रकारहरूले  जान्ने    कुरा हो  भन्ने पो लाग्छ मलाई त । म खालि के भन्न सक्छु भने मदन पुरस्कार साहित्यिक पुरस्कार होइन । यो त   नेपाली भाषामा लेखिएर त्यस वर्ष प्रकाशित भएका जुनसुकै विधाका पुस्तकहरूमा  सबभन्दा  नौलो  र  उत्कृष्ट ठहरिएको लाई  दिइन्छ  । मैले  यी ५६ वर्षमा अनुभूत गरेको भन्दा पनि ‘देखेको’ चाहिँ तथ्य हो – हाम्रा प्रकाशनहरूको स्तर बढेको छ, गुणमा पनि गरिमामा पनि ! यो स्तर बढ्नुमा मदन पुरस्कारको कुनै हात छ कि छैन थाहा छैन । तर रूप, रङ्ग र ओज बढ्दै गएको भने प्रत्यक्ष छ ।

 

दीक्षितज्यू, तपाईंं आफ्नो लेखनबारे केही बताइदिनुहुन्छ कि ?
सूर्यप्रसादजी मेरा नामका धेरै किताब प्रकाशित भएका छन् । गन्ती नै गरेर भन्नुपर्दा ७७ भन्नुपर्छ । तीमध्ये २०÷२२ वटा सम्पादित कृति हुन् बाँकी लिखित । लिखितमा सबै जस्तो सङ्ग्रहहरू हुन् । मैले सग्लो किताप अझैसम्म कुनै निकाल्न सकेको छैन । सङ्ग्रह पनि सबै नै निबन्धहरूका छन् । अरू विधामा म जान सकेको छैन । तर ती निबन्धहरूमा अनेकौं विषय परेका छन् । नेपालको राणाकालीन विषयमा मैले निकै लेखेको रहेछु । नेपाली साहित्यमा खोजखाज गरेर पनि मैले धेरै ओटा निबन्ध लेखेको छु । अतिकति नियात्रा पनि छन् संस्मरण र व्यक्तित्व–चर्चा केही छन् त्यत्ति हो ।

 

तपाईंको लेखनमा प्रभाव पार्ने नेपाली तथा विदेशी लेखकहरू को को हुन् ?
निबन्ध लेख्ने हुँदा विदेशीमा मैले बी.ए पढ्दा पढ्नुपरेका चाल्र्स ल्याम्ब र विलियम हयाजलिटबाट म प्रभावित छु । नेपालीमा, सरल र छोटाछोटा वाक्य लेख्ने भेषराज शर्मा (खनाल) लाई शुरूमै मैले पछ्याउन खोजें । पछि भने शोधपरक निबन्ध लेख्दा चित्तरञ्जन    नेपालीको   स्टाइल ‘चोर्न’ र साधारण निबन्ध लेख्न मैले शंकर लामिछानेलाई अनुकरण पनि गर्ने कोशिश गरें । त्यत्ति    नै होला ।    

 

नेपालीमा, सरल र छोटाछोटा वाक्य लेख्ने भेषराज शर्मा (खनाल) लाई शुरूमै मैले पछ्याउन खोजें । पछि भने शोधपरक निबन्ध लेख्दा चित्तरञ्जन नेपालीको स्टाइल ‘चोर्न’ र साधारण निबन्ध लेख्न मैले शंकर लामिछानेलाई अनुकरण पनि गर्ने कोशिश गरें ।

 

दीक्षितज्यू, २००७ अघि नै स्थापित भइसकेका लेखनाथ, सम र देवकोटाहरू नेपाली साहित्यमा जति प्रभावकारी भए त्यो स्तरको साहित्यकार अहिले अरू जन्मिएनन् भन्छन् धेरै जना । तपाईंं के भन्नुहुन्छ । पछिल्लो पुस्ताका पाँच जना छान्नुपरे तपाईं कसकसको नाम लिनुहुन्छ ?
ऊ बेला मान्छे पनि थोरै थिए । कवि लेखकहरू झन् कम थिए । भएकाहरूमध्ये तपाईंले भन्नुभएका ती तीन जनालाई हामीले मान्यौं । हुन पनि उहाँहरू महान् हुनुहुन्थ्यो नै, स्रष्टा पनि व्यक्ति पनि । अब यता पढ्ने पनि धेरै भए, पढिने पनि उत्तिकै जन्मेका छन् । त्यसैले ‘भिन्नरुचिर्हि लोकः’ भनेअनुसार सबैले एकैनास मन पराउने या मान्ने मान्छे ठम्याउन गाह्रो छ । मलाई भन्नुहुन्छ भने ५ जना छान्नुपर्दा यी  यी नाम लिन्छु होला माधव घिमिरे, मदनमणि, आईबी राई, पारिजात, र जगदीश घिमिरे ।

 

तपाईंले नेपाली भाषाको विराट् पुस्तकालय, मदन पुरस्कार पुस्तकालय खडा गर्नुभयो । तपाईंको शेषपछि यो कसरी चल्छ ? यसको निरन्तरताबारे केही सोच्नुभएको छ ? यस विषयमा धेरैलाई चिन्ता लागेको छ ।

 

मदन पुरस्कार अव संस्था भइसकेको छ । यसको साधारण सभा छ, प्रबन्ध समिति छ । सक्षम कार्यकर्ता छन् । सम्पत्ति छ । केही कोष पनि छ । धेरै अघि बढ्न नसके पनि यसको अस्तित्व नै भने संकटमा पर्नेछैन । म भए पनि नभए पनि । 

 

आजभन्दा ५० वर्षपछि नेपाली भाषाको र साहित्यको अवस्था कस्तो होला ?
यो त ज्योतिषीलाई    सोधिने प्रश्न हो, म जवाफ नदिऊँ । तर हाम्रो भाषाको कुरामा म अत्यन्तै  सकारात्मक र  आशावादी मनुवा  हँु ।  म  त  हाम्रो  भाषा  र  साहित्य  अझ ऊर्जावान् र समृद्ध भएर जाने देख्छु । यो अब ‘कमाउने’ भाषा भइसकेको छ । कमाउने भाषा हत्तपत्त लोप हुँदैन । अनि, भाषा बाँचिरहेपछि साहित्यले पनि नफस्टाई सुखै छैन भन्ने मेरो धारणा हो ।    

 

मदन पुरस्कार अव संस्था भइसकेको छ । यसको साधारण सभा छ, प्रबन्ध समिति छ । सक्षम कार्यकर्ता छन् । सम्पत्ति छ । केही कोष पनि छ । धेरै अघि बढ्न नसके पनि यसको अस्तित्व नै भने संकटमा पर्नेछैन । म भए पनि नभए पनि । 


    
पूर्वको तेह्रथुममा मदन धारा,  जगदम्बा औषधालय    इतयादि गरी सामाजिक सेवा गर्न तपाईं   कसरी    प्रेरित हुनुभयो ? त्यहाँको जगदम्बा अतिथिगृह    जलाइँदा तपाईंलाई कस्तो चोट    पर्यो?
म कहाँ प्रेरित हुनु ? रानी जगदम्बाको कार्य हो । म त निमित्त मात्र भएको हुँ । नभन्दै आठराईको संक्रान्ति डाँडामा रानी जगदम्बाको त्यस बखत करिब ३÷४ लाख भारु लगानी भएको थियो र ती कार्यहरूमा म पूर्ण संलग्न भएको थिएँ । सुब्बा भानुभक्त सिटौला र मैले निकै सहकार्य गरेका छौं त्यहाँ । त्यो जगदम्बा अतिथिभवन पनि सारै प्रेमले लगानी गरेर निर्माण गरिएको थियो । त्यसले सेवा पनि प्रशस्त गरेको हो । तर किन हो माओवादीलाई त्यो मन परेनछ र निर्ममतापूर्वक त्यो जलाइयो । हामीलाई त त्यसले  ‘पर्नु  पीर  परेको  थियो’  नि  । सौभाग्यले रानीसाहेबले त्यो  देख्नु–सुन्नु परेन  । उहाँको स्वर्गवास भइसकेको थियो ।      

 

दीक्षितज्यू,  तपाईंको  नेपालका  धेरै  कम्पनीहरूमा    संलग्नता  थियो ।  त्यसरी  ३०-४० ओटा संस्थामा काम गर्न कसरी भ्याउनुभयो तपाईंले ? बताइदिनुस् न ।
ती सबै कम्पनीहरूमा एकै पटक कहाँ काम गरेको हो र ? विभिन्न समयमा विभिन्न कम्पनीहरूमा सञ्चालक हुन चुनाव लडेर    पुगेको हुँ   । केही वर्ष काम गरिन्थ्यो । संचालकको कामै के हुन्थ्यो र ? उही मिटिङमा उपस्थित हुने, ‘फी’ बुझ्ने खाने र आउने ! हो, नेपाल ब्याङ्क र साल्ट ट्रेडिङमा म अलि बढी सक्रिय थिएँ । तिनमा हाम्रो लगानी पनि अलिक बढी थियो । जगदम्बा प्रेस त आफ्नै भैहाल्यो । 

 

 

तपाईंले विदेश भ्रमण पनि निकै गर्नुभयो । किन र कसरी जानुभयो ? तिनबाट उपलब्धि के कस्तो रह्यो बताइदिनुस्  न । 
सन् १९५९ देखि म विदेश जान थालें । त्यो यात्रा युरोपको मात्र थियो । (पूर्वी युरोप बाहेक) १२÷१३ देशका १६ सहर घुमियो २ महिनामा विशुद्ध टुरिस्ट भएर । एक जना भारतीय साथी र म, हामी दुई जना थियौं । ५०० पाउण्ड थियो खल्तीमा । त्यतिले के कस्तो घुमिन्छ बुझ्नोस् न । त्यसपछि रानी जगदम्बाका ‘सवारी’ साथ संसारको एक फन्को लगाइयो । नेपाल ब्याङ्कले एक पटक र साल्ट ट्र्ेडिङ्ले पटक–पटक विदेश पठायो काममा । रमाइलो होइन, कामै गरियो । रोटरी क्लबको कन्भेन्सनहरूमा ५ पटक विभिन्न सहरमा पुग्यौं धेरै जना साथमा । त्यो सबै चाहिँ आफ्नै खर्चमा भयो । हो, सन् १९८० मा भने रोटरी इन्टरनेशनलको खर्चमा अमेरिकाको टेक्सासमा टीम लीडर भएर ६ हप्ता भ्रमण गरें । त्यसमा भने मैले धेरै कुरा देखें । धेरै सिकें पनि । त्यत्ति नै हो मेरो उपलब्धि भने पनि जे भने पनि ।
    
 

बालकृष्ण पोखरेलले ‘खस जातिको इतिहास’ को भूमिकामा तपाईंबारे यस्तो भन्नुभएको छ  ‘आफ्ना  कृतज्ञताको  एउटा  ठूलो  अंश  साहित्यकार  र  समाजसेवी  कमल  दीक्षितका लागि सुरक्षित राख्नु पनि    मेरो दायित्व हो’ । उहाँको यो अभिव्यक्ति    सुन्दा तपाईंंको साहित्यकारहरूलाई उत्प्रेरणा दिने कार्य असल काम रहेछ भन्ने लाग्दैन ?
बालकृष्ण  पोखरेलजीले कसरी  त्यसो  भन्नुभयो  मलाई  थाहा  भएन  ।  तर  त्यो  पुस्तक छाप्नलाई  त  होइन  त्यो  लेख्ने तयारीका    क्रममा  उहाँलाई  भ्रमण  इत्यादिका  लागि भनेर  ‘बीपीकेएफ’  (भारत  नेपाल  बी.पी कोइराला  फाउण्डेसन)  बाट  उहाँलाई  एक लाख रुपियाको ‘ग्रान्ट’ उपलब्ध गराउन म सफल भएको थिएँ । त्यसैका लागि हो कि यो कृतज्ञता ? अथवा २०२० सालमा जगदम्बा प्रकाशनबाट उहाँको ‘पाँच सय वर्ष’ छापिदिएकाले हो कि ? या गुठीबाट मदन पुरस्कार ‘दिलाएको’ भनेर पनि हुन सक्छ । अथवा धेरै  अघि  उहाँलाई  काठमाडौं बस्दा  आर्थिक संकट परेका बेला एकमुष्ठ  ६ हजार रुपियाँ रानी जगदम्बाबाट  दिलाइदिएको  ‘उपकार’ सम्झिएर  त्यसो  भनेको  पनि हुन सक्छ  । नत्र भने, उहाँलाई  कुनै  त्यस्तो गुन    लगाएको    मैले सम्झेको छैन । सोध्नुभएको प्रश्नको अर्को अंशका बारेमा यति भनूँ साहित्यकार हरूलाई सहायता गर्न या उत्प्रेरणा दिन सके राम्रै हो । तर त्यो मैले कहाँ सकेको छु र ?

 

मदन पुरस्कार पाउने हुन् कि नपाउने, मैले अन्तर्वार्ता लिएका प्रायशः सबै    कवि लेखक  साहित्यिकले  यो  पुरस्कारले  लेख्नेहरूलाई  प्रेरणा  दिएको  छ  नै  भनेका    छन्  । त्यस्तै मदन पुरस्कार पुस्तकालयले गरेको भाषासेवाको    पनि सबैजसोले प्रशंसा गरेका छन्  । मलाई  यस  पटक  मात्र  गहन  रूपमा  ज्ञात  भयो तपाईंका यी  दुई    कार्य कति महत्वपूर्ण  रहेछन्  भन्ने  ।  अझ  पनि  यी  दुवै  कामले निरन्तरता पाउँछन् होइन  त, दीक्षितज्यू ?                
अवश्य  निरन्तरता  पाउँछन्,  सुवेदीजी  । किनभने  दुवै संस्था मजबूत  जगमा उठेका छन् । साथै यी सुदृढ संरचनामा अडेका छन् र बलिया काँधहरूले बोकेका छन् । तपाईंले मेरा दुई कार्य भनेर गुठी र पुस्तकालयको गणना गर्नुभयो । त्यो ठीक भएन । यी दुईमध्ये गुठी (मदन पुरस्कार गुठी) मेरो कार्य होइन, म त्यसको कार्यकर्ता मात्र हुँ, संस्थापक होइन । ३६ वर्ष जति मदन पुरस्कार गुठीको सदस्य सचिव भएर काम गरें, त्यसपछि ऐले म गुठीको अध्यक्ष छु । सचिव र अध्यक्ष भएर काम इमान्दारी साथ गरियो,    त्यो पक्का हो  । तर  गुठीको  सबै  सफलताको    जश मलाई दिनु उचित  होइन    ।  सबै  मिलेर काम गरियो  त्यसैले  पुरस्कारको  गरिमा बढ्दै    गएको हो    ।  म एक्लैको कार्य होइन    मदन पुरस्कार । मदन पुरस्कार पुस्तकालयबारे पनि    मैले ऐजन    ऐजन नै    भन्नुपर्छ    ।  तर हो, त्यसको  चाहिँ  संस्थापक  संजोगले    म  हुनपुगें     र शुरूमा     अध्यक्ष    ३२  वर्ष    जति रानी जगदम्बा, त्यसपछि ३ वर्ष मेरा पिताजी, केदारमणि भएपछि म सदस्य–सचिवबाट माथि उक्लेर अध्यक्ष भएको हुँ । यो पुस्तकालय बीज रूपमा मैले स्कूले जीवनमै बनाएको ‘कमलको नेपाली सङ्ग्रह’ बाट खडा भएको हो । २०१२ सालमा रानी जगदम्बाले मदन  पुरस्कार खडा गरेपछि    त्यसैको  नाम  प्रचार  गर्ने उद्देश्यले मैले मेरो सानो सङ्ग्रहलाई भव्य नाम दिई मदन पुरस्कार पुस्तकालयमा परिणत गरिदिएको हुँ । 


अहिले यसको सदस्य–सचिव मेरो छोरा कनक दीक्षित छन् र उनैको योजनानुसार राम्रो र योग्य ‘टीम’का साथ यो सञ्चालित छ र प्रगतिपथमा छ । यति हो मैले भन्न सक्ने ।

 

रानी जगदम्बाकै कृपाले मैले ‘दालभात र डुकु’ को चिन्ता गर्नुपरेन र एकोहोरो भएर भाषा र साहित्यको सेवामा मैले लाग्न पाएको हुँ । मदन पुरस्कार पुस्तकालयले जम्मा गरिदिएको सामग्रीले मलाई लेखक, शोधक, अन्वेषक र अरू के के बन्न  सघायो  भनौं  ।

 

मसँगको अन्तर्वार्तामा थुप्रै कवि, लेखक, साहित्यकारहरूले गुनासो पोखे– नेपालमा राज्यस्तरबाट नेपाली भाषा र साहित्यलाई संरक्षण तथा उत्प्रेरणा प्राप्त भएन भन्ने । सरकारले केही गरेन भने उनीहरूले । तपाईं पनि एक जना ठूलो भाषासेवी हुनुहुन्छ, तपाईं यस किसिमको अभिव्यक्तिसँग सहमत हुनुहुन्छ ?
सरकारले  भाषा र साहित्यका  लागि  केही  गरेन भन्ने  भनाइ मलाई ठीक लाग्दैन  । एकलकाँटे  लाग्छ  ।  के  २०१३  सालमै  नेपाल  प्रज्ञाप्रतिष्ठानको स्थापना केहीहोइन  ? अनि १९६९ सालमा (गोर्खा÷नेपाली) भाषा प्रकाशिनी समिति खडा गरिनु के ठूलो सेवा होइन भाषाको ? राज्यका उच्च सम्मान (तक्मा र ओहोदाहरू) प्रदान गरेर विभिन्न समयका सरकारहरूले नेपाली भाषा र साहित्यको सेवा गरेकै भरमा कवि लेखकको कदर गरेको होइन र ? मलाई के लाग्छ भने आफ्नो भाषा र साहित्यको सेवा सरकारका साथै जनता आफैंले समेत गर्नुपर्छ । साहित्यिकहरूले राम्रो लेखेर, साथै देशका धनीमानी महाजनहरूले  चाहिँ त्यस्ता अमूल्य कृति र त्यसका स्रष्टालाई मान र माया गरेर । कुरो बुझियो होला ।    

 

आजको मिति सम्ममा मदन पुरस्कार पुस्तकालयमा कति पुस्तक छन् ?
२०७० साल भदौ १४ गते सम्ममा मदन पुरस्कार पुस्तकालयमा ३२०८२० (बत्तीस हजार आठसय बीस) पुस्तक दर्ता भएका छन् । प्रत्येक दिन पुस्तकको संख्या बढ्दै गएको छ । तर धेरै लेखक र प्रकाशकले मदन पुरस्कार पुस्तकालयमा पुस्तक नपठाएकोले अझै धेरै पुस्तक हामीले जम्मा गर्न सकेका छैनौं ।

 

(हिमालयन बुक्स स्टलले प्रकाशित गरेको वरिष्ठ साहित्यकारहरुको अन्तरवार्ता संग्रह ‘सिर्जना र दृष्टिकोण’ बाट साभार)

सूर्य सुवेदी
 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top