नेपालको संविधान २०७२ संविधानसभाबाट घोषणा गर्दा भारतको सुझाव नमानेको, मधेशवादी दलले उठाएको मुद्दा सम्बोधन नभएको कारण मोदी सरकारले नेपालको संसद र संविधानसभाको अपमान गरेको थियो । मधेशवादी दललाई उक्साएर सिमानामा आन्दोलन गराए र यही बहानामा भारत सरकारले नाकावन्दी लगाएको थियो । त्यति मात्रले नपुगेर अन्तराष्ट्रिय मञ्चमा नेपाललाई अलग्याउन जापान, बेलायत, युरोपियन युनियन लगायतसँग लविङं गर्दै नेपालको संविधान  संसोधनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयत्न गरे । तिनै मोदीको फेरि राजकीय भ्रमण बैशाख २८ र २९ मा भयो ।  भ्रमणले नेपाल र नेपालीको मात्र होइन सारा विश्वको ध्यान नेपालतिर खिच्यो । पानीको छाल झै यो भ्रमणको बारेमा पक्ष र विपक्षमा बहस भइरहेको छ । सामाजिक सञ्जाल र संचारमाध्यममा  प्रधानमन्त्री ओलीको राष्ट्रवादी चरित्र उदांगो भएको, लम्पसार परेको, राष्ट्रियहित विपरित काम गरेको, राष्ट्रवादको नारा दिने ओलीले नेपाली जनतालाई झुक्याएको आदि आदि आइरहेका छन् ।  

मैले रिठ्ठो नबिराई ओली र मोदीको बडी ल्याङंवेज र अभिव्यक्ति अत्यन्त धैर्यताका साथ सुक्ष्म विश्लेषण गरेको छु । हाम्रा प्रधानमन्त्री स्वागत, सत्कार, व्यवहार र अभिव्यक्तिमा कहाँनेर चिप्लिन्छन् ? नेपालको स्वाभिमान र अखण्डतामा कहाँ प्वाल पारिन्छ ? नेपाल र नेपालीको स्वाभिमान कहाँ बन्दकी रहन्छ ?  अझ प्रम ओलीका काम कारवाही र अभिव्यक्तिको सुक्ष्म अध्ययन गर्दैछु । अध्ययनको निश्कर्षमा ओलीमा राष्ट्र र राष्ट्रप्रतिको जिम्मेवारीबोध देखिन्छ । परराष्ट्रनीतिमा सन्तुलन र स्थिरता छ । व्यवहारमा सांस्कृतिक लचकता छ । 

भारतीय प्रधानमन्त्री एतिहासिक, धार्मिक, सांस्कृतिक र मानवीय सेन्टिमेन्टको व्यापारीको रुपमा जनकपुरको बाह्बिघामा नागरिक अभिनन्दन समारोहमा देखापरेका थिए । विश्वव्यापी मानविय आकांक्षा एउटै हुनसक्छन् । तर नेपाल र भारतको चहाना र सपना एउटै छैनन् । नेपाल र भारत सार्वभौमसत्ता सम्पन्न मुलक हुन । नेपाल नेपाली भाषा, हिन्दु दर्शन र बुद्ध दर्शनको उद्भव थलो र सगरमाथाको देश हो । मोदीले भनेजस्तै नेपालको स्वाभिमान सगरमाथा भन्दा पनि अग्लो छ ।

यो इतिहासमा कहिल्यै कसैबाट शासित भएन । नेपालबाट भरतले धर्म, संस्कृति र ज्ञान सिकेको छ । भारतको धर्म, संस्कृति र ज्ञानको स्रोत नेपाल हो । स्वच्छ पानी र प्राकृतिक स्रोतको मुहान पनि नेपाल हो । मानिस जिउनको लागि चाहिने अक्सिजन र पानी भारतले नेपालबाटै पाउँछ । हिजोदेखिनै नेपाल–भारत बीचको खुला सीमानको कारण नेपालको तराई मधेशका जनताकाबीच रोटी र बेटीको सम्बन्ध छ । आज विवाह र व्यापार, बसाँइसराईको प्रभाव भूमण्डलीकरण भएको छ । हाम्रा छोरी भारतमा दिन्छौ, चीनमा दिन्छौ, युरोप र अमेरिकामा दिन्छौं र उताबाट पनि बुहारीको रुपमा भित्र्याउँछौं । अब सम्बन्धको परिभाषा रोटी र बेटीमा हुन सक्दैन । सम्बन्धको भूमण्डलीकरण भइसकेको छ । रोटी बेटीको बसाईसराई रोजगारीको कुरा ग्लोबलाइजेसन भएको छ । अब २१ औं शताब्दीमा सेन्टिमेन्टको व्यापार  र मुखमा रामराम बगलीमा छुरा सरह हो । 

राम्रो वक्ता र अपिलकर्ताको छवी बनाएका मोदी बाह्विघामा बोल्दै गर्दा स्वरमा कम्पन थियो । बिषय प्रस्तुतीमा क्रमभंगता थियो । नेपाली प्रधानमन्त्रीलाई ओलीको सट्टा कोली कोली भनेर सम्बोधन गर्दै थिए । सार्वभौमसत्ता  सम्माननीय नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गर्दा “भाइसाहेव” को शब्द प्रयोग गर्दै थिए । दुई देशबीचको राजकीय भ्रमणको मर्यादा विर्सेर प्रधानमन्त्री मोदी तिर्थयात्रीको धार्मिक भ्रमण भएको भन्दै थिए । 

हो, नेपालको तराई  मधेशमा थुप्रै समस्या छन् । अहिले पनि तराईमा सामन्तवाद, जातिवाद, छुवाछुत र बोक्सीजस्ता अमानवीय समस्या थुप्रै तराईका आदिवासी जनताले भोगिरेहेका छन् । तराईका गरिव, विपन्न अछुत भनिने जातले सामान्य मानवीय अधिकार पाएका छैनन् । भारतले नेपालको दक्षिण सिमानमा बनाएको बाँधको कारण तराई डुब्छ । कृषीबाली, घर, स्कूल डुवानमा पर्छ, मानविय क्षती हुन्छ । भारतसँग भएको कोशी र गण्डक सम्झौताको कारणले नेपाली जमिनमा पानी छैन । हिउँदमा पानी भारतमा खेतीको लागि आपूर्ति गरिन्छ । बर्षामा नेपाललाई डुवानमा पारिन्छ । सिमाना दिनदिनै मिचिएका छन् । सिमानाका नेपाली असुरक्षित छन् । धनसम्पती, चेलीबेटी र गाईगोरु, खसी बाख्रा लुटिन्छ । त्यसको बारेमा हामी मौन छौं । यो अपराधको हामी मौन दर्शक भएका छौ । यो सबको कारक  भारतीय शासक गुट र नेपाल विरोधी ताकत नै हो । 

ओली प्रधानमन्त्री भएपछि नेपाल–भारतको सम्बन्धमा सकारात्मक परिवर्तन आएको छ । मोदीले भाषामा नभनेपनि व्यवहारमा नाकाबन्दीको प्रायश्चित गरेका छन् । नेपालीको स्वाभिमान उच्च भएको छ । संविधान संसोधनको मुद्दालाई भारतले छोडेको छ । समग्रमा भन्दा मोदी विगतमा गरेको गल्ती सच्याउन अग्रसर भएका छन् । प्रधानमन्त्री ओलीले पाहुनाको स्वागत गर्न कुनै कसुर बाँकी राखेनन् भने नेपाल र नेपाली जनताको हितको पक्षलाई सवैभन्दा प्राथमिकतामा राखेर वार्ता गरेका छन् । यो सरकारको कुटनीतिक सफलता हो । अनि कसरि भयो लम्पसारवाद ?  

यसको बाबजुद नेपाल सरकारको निम्तामा मोदी तिर्थ भ्रमणमा आएका हुन् । मोदीलाई अभिभावक ठान्ने राजनीतिक दल नेपालको सत्तामा हुँदा जनकपुरधामको जानकी दर्शन, मुक्तिनाथ र बुद्ध जन्मथलोे लुम्बिनीको दर्शन गराउन सकेनन् । मोदीबिरोधी भनिएका ओलीले राजकीय सम्मानका साथ मोदीको सपना पूरा गरिदिए । राजकीय सम्मान मात्र होइन, जनताले समेत सम्मान दिए । बुद्ध दर्शन र हिन्दु दर्शनको उद्भव थलो नेपालले आफ्ना पाहुनालाई इश्वर ठान्दछ । शत्रुलाई थप्पडको बदला फूलले स्वागत गर्दछ । त्यही दायित्व सरकारले पुरा गरेको छ । “मिस्टर मोदीको नाकावन्दी अपराधीक कार्य हो” युरोपियन युनियनकी राजदुत रेन्जे तिरिङको भनाइलाई सापट लिएर बुझ्ने हो भने देवोभूमिका नेपाली जनताले मोदीजीलाई विगतमा मानवताबिरोधी कार्यगरेको भएपनि माफी दिएका छन् । उनको प्रस्तुतिमा विगतको गल्तीको पश्चाताप झल्किन्थ्यो । 

ओलीमा आत्मविश्वास प्रष्ट देखिन्थ्यो, राजकीय मर्यादा र कुटनीतिक क्षमता देखिन्थ्यो । नेपाली जनताको स्वाभिमान र सार्वभौमिकताको रक्षाको लागि कुनै पनि कमी हुन्छ की भन्नेमा ओली सचेत हुनुहुन्थ्यो । नेपालको संविधानका आलोचक भएपनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको बकवासपूर्ण अभिव्यक्तिलाई मोदीले ध्यान दिएनन् । उल्टै नेपालका प्रधानमन्त्री ओली दुरदृष्टी बोकेको समृद्ध नेपाल र सुखी नेपालीको चाहना पुरा गर्न सक्ने व्यक्तिको रुपमा चर्चा गर्दै थिए । नेपाली जनताको स्वाभिमान सगरमाथा भन्दा अल्को भएको अभिव्यक्ति दिइरहेका थिए । 

मोदीले मञ्चबाट त्यहाँको विकासको लागि १ सय करोड सहयोग दिने भनेर बोलिरहँदा नेपाली जनताले विगतमा नेपालको संसदमा र भूकम्पको पूनर्निमाणमा दिने भनेको सवा खर्ब रुपैयाँ अहिलेसम्म नपाएकोलाई पनि विर्सनु हुँदैन । हुलाकी रोड, जलविद्युत लगायतका योजना, नेपाली कृषि उत्पादन चिया, अदुवा, अलैची, कफी र मौसमी  तरकारी  जस्ता सामान भारतीय नाकामा रोकिएको पनि भुल्नुहुँदैन । 

मोदीको भाषण सुन्दै गर्दा नेपाल–भारतबीचको आधारभूत समस्या–  सुगौली सन्धी, नेपाल–भारत मैत्रि सन्धी, कोशी, गण्डक र अन्य सन्धी, डुवान र सीमाको समस्या एकपटक फेरी वहसमा तानिदैथिए । भ्रमण धार्मिक र सांस्कृतिक भएकाले यसमा अन्य मुद्दाका बारेमा छलफल भएन भन्न सकिएला । सबै मानिसलाई आफ्ना इष्टदेवता र मठ मन्दिरामा जान पाउने अधिकारको प्रत्याभूति हुनुपर्दछ । राजकिय भ्रमणको रुपमा अरुण तेस्रो जलविद्युत अयोजनाको शिलान्यास्, जनकपुर– अयोध्या वस सेवा सञ्चालन र रामायण सर्किट निर्माण शुरुवात गर्नु सकारात्मक हो तर यसले भ्रमण धामिर्कभन्दा बढी नै हो भन्ने देखिन्छ । 

मोदीले यो भ्रमणमा उठाएका ‘पाँच–टी’ महत्वपूर्ण बिषय हुन । सांस्कृतिक परम्परा, व्यापार, पर्यटन, यातायात र प्रविधि(टी–५) धेरै राम्रो अवधारणा हो । परम्पराको रक्षाको लागि हिन्दु दर्शन र बुद्ध दर्शनको नेपालको उद्भव हो । यस तत्थ्यलाई भारतले स्विकार्नुपर्छ । नेपाल–भारतको वैज्ञानिक व्यापार व्यवस्थापन जरुरी छ । पर्यटन मूलत् धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धन नेपालको समृद्धिको आधार हो । आर्थिक पूर्वाधारको विकासका लागि यातायात महत्वपूर्ण आधार स्तम्भ हो । त्यसैले रक्सोल–काठमाण्डौं रेलको कनेक्टिभिटीको लागि ट्रान्सपोर्ट छुट्याउनै नसकिने बिषय हो । टेक्नोलोजीको क्षेत्रमा भारतले फड्को मारेको छ । यो प्रबिधि नेपाल भित्र्याउने र कार्यान्वयन महत्वपूर्ण पाटो हो । मोदीले भनेका यि पाँच मुद्दामा भारत कति इमान्दार छ अव थाहा हुन्छ । 

तराई, पहाड, हिमालको सामाजिक सद्भाव मजबुत बनाउने, नेपालको स्वाभिमान उच्च बनाउँदै, भारत–चीन दुवैमा सन्तुलित सम्बन्ध बनाउनेमा प्रधानमन्त्री ओली पूर्णप्रतिवद्ध छन् । नेपाली समाजको लहडी चरित्रबाट नेपालका राजनीतिक दल, प्राज्ञिक समुदाय, युवाविद्यार्थी, सामाजिक सञ्जाल प्रयोगकर्ता सजग हुनुपर्दछ । नेपाली राष्ट्र र राष्ट्रियताको पर्यायवाची रुपमा आफ्नो छवी निर्माण गरिरहेका ओलीलाई बदनाम गर्न खोज्नु उचित हुँदैन । नेपालका प्राज्ञिक वर्ग र समिक्षकहरुले सरकार प्रमुखको इज्जत र स्वाभिमान जोगाउनु, ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्नु नै राष्ट्रको स्वाभिमान जोगाउनु हो ।  

ओली प्रधानमन्त्री भएपछि नेपाल–भारतको सम्बन्धमा सकारात्मक र ठूलो परिवर्तन आएको छ । नेपालीको स्वाभिमान उच्च भएको छ । भारतद्वारा नेपालको संविधानको अनुमोदन भएको छ । भारत विगतमा गरेको गल्ती सच्याउन अग्रसर भएको छ । नेपाल भरतको सन्धी संझौतामाथि प्रबुद्ध समुहको सिफारिसमा सच्याउने प्रतिवद्धता जाहेर गरेको छ । भारतीय पक्षले सम्झौता गरेका योजना सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । यो सरकारको कुटनीतिक सफलता हो । 
लेखक पूर्वमन्त्री हुन् ।