प्याराग्लाइडिङको आन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा पहिलो पटक बुधवारदेखि सुरु हुँदैछ । प्याराग्लाइडिङको वल्र्डकप नेपालमै गर्ने उद्धेश्यले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि नेपालमै हुन लागेको हो । स्याङ्जाको स्वरेकमा तीन दिनसम्म २५ देशका ३०० प्रतियोगीहरुले भाग लिने यो खेल आयोजक प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ नेपालले आयोजना गरेको हो । स्याङजा पर्यटन ब्यवसायी समितिका उपाध्यक्ष समेत रहेका अनन्त श्रेष्ठसँग चक्रपथका लागि बिनु पोखरेलले गरेको कुराकानीः 


नेपालमा पहिलो पटक प्याराग्लाइडिङ प्रतियोगिता गर्न लाग्नु भएको रहेछ, यो कस्तो प्रतियोगिता हो ?  
फूटवलको जस्तै यसको पनि वल्र्डकप हुन्छ । प्याराग्लाइडिङको वल्र्डकप हामी २०२० मा गर्दैछौं  । यसका लागि त्यो भन्दा अघि तीनवटा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गरेको हुनुपर्छ । त्यसैको तयारीका लागि हामीले यो प्रतियोगिता गर्न लागेका हौं । फिफा भनेजस्तै यसको फाई भन्ने संस्था छ । यसको फूलफर्म फेडेरेशन आफ इन्टरनेशनल एरोनेटिकल हो । त्यसैले गराउने हो यो प्रतियोगिता । रेफ्रीदेखि सबै उनिहरुनै आउने हुन् । नेपालमा यो वल्र्डकपका लागि सम्भावना छ भन्ने जानकारी गराउन प्रतियोगिता गर्न लागेका हौं । 

प्याराग्लाइडिङका लागि यो भन्दा स्तरीय ठाँउहरु विश्वमा होलान्, नेपालमा नै यो प्रतियोगिता किन ?
हामीले स्याङजाको पर्यटनको विषयलाई लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्याराग्इडिङ खेलका पारखी र अध्येतासँग छलफल गर्यौं । उहाँहरुको कुरा सुनेका छौं । उहाँहरुले भन्नुभए अनुसार नेपाल प्याराग्इडिङ खेलको लागि उपयुक्त छ । त्यसमा पनि स्याङजाको स्वेरक सबैभन्दा उत्कृष्ट ठाउँ हो भन्ने भयो ।

स्याङ्जाको यो ठाँउ उपयुक्त भन्नुभयो, यसका लागि चाहिने कुरा के के रहेछन् ? पहिले देखि नै प्याराग्लाडिङमा प्रख्यात पोखरा किन छनौटमा परेन ? 
पहिलो कुरा त यो खेलको प्रतियोगिताको लागि फूटबललाई चाहिए जस्तै ठूलो मैदान चाहिन्छ । पोखरामा त्यस्तो ठाँउ छैन । पोखरामा एयरपोर्ट देखि अन्य कारणले एक किलोमिटर भन्दा वरपर जानै सकिंदैन । स्याङजामा पनि स्वरेकलाई केन्द्र बनाएर रहेको ६० किलोमिटर वरिपरीको क्षेत्र सुरक्षित मात्र हैन यहाँ प्याराग्लाइडिङको लागि चाहिने दुई तिरको हावा खेल्ने ठाँउ छ । खुल्ला आकाश, चाहिने, हावाको वहाव पर्याप्त भएको ठाउँ चाहिन्छ । केही घटना घटिहाले भने पनि नजिकै हाइवे र एयरपोर्ट छ । यस्ता हरेक कारणले यो ठाउँ सबैभन्दा उत्कृष्ट भएको उहाँहरुकै कुराबाट हामीले सुनेका हौं । 

अन्तर्राष्ट्रिय स्तरकै कार्यक्रम आयोजना गर्न लाग्नु भयो, यसको योजनाकार चाहिँ को हो ? कसरी यति ठूलो आयोजना गर्न सम्भव भयो ? 
हामी स्याङजामा पर्यटन कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर लागेका थियौं । त्यसै बीचमा हामीले सानुबबु सुनुवारलाई भेट्यौं । उहाँ अन्तर्राष्ट्रिय पाइलट हुनुहुन्छ । उहाँले नेपालका सबै ठाँउबाट उडेरै अध्ययन गर्नुभएको छ । उहाँ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा पनि प्याराग्लाइडिङबाट उड्दै जानु भएको छ । उहाँले नै हो, संसारमा नभएको सुन्दर प्ले ग्राउण्ड छ हाम्रो माथीको आकाश यहाँ भनेर अध्ययन र रिपोर्ट प्रस्तुत गर्नुभएको । उहाँको नेपालमै पहिलो प्याराग्लाइडिङको स्कूल पनि छ । देशी बिदेशी विद्यार्थीलाई सिकाइरहनुभएको छ । उहाँबाट नै प्रेरणा पाएर हामीले यस्तो कार्यक्रम आयोजना गरेका हौं । 

यसको अध्ययन कहिले देखि भयो ? 
अध्ययन त हामीले पहिले देखि नै गरेका हौं । स्याङजामा पहिले मन्दिर देखि बाहेक जाने ठाँउ थिएनन् । धार्मिक, कृषि तथा ग्रमीण पर्यटन, अनेक सम्भावना यहाँ छन् । तर विकास कसरी गर्ने भनेर योजना बनायौं । सबैभन्दा पहिले हामीले प्याराग्लाइडिङकै बारेमा सोचेका थियौं । ढिलो भए पनि अहिले हामी यसको विकास सँगै प्रचार गर्न पनि सफल भएका छौं । 

यो प्रतियोगिताले के के कुरामा फाइदा पुग्नसक्छ ? 
एक त नेपाल विश्वमा चिनिन्छ । विदेशी पर्यटकको घुईंचो हुनेछ । विदेशीहरु रिस्की खेल खेल्न रुचाउँछन् । तर सुरक्षा सबैभन्दा पहिलो च्वाइस हुन्छ । त्यो नेपालमा छ । अनि ती पर्यटक आएपछि खेल्नको लागि डाँडासम्म पाइलट जानु पर्छ । खेलाडीहरु जानु पर्छ । त्यो जाने बाटो बन्नु पर्यो । त्यसको लािग सुविधा चाहियो । विदेशी मात्र हैन नेपालको आन्तरिक पर्यटनको पनि त्यसैगरि विकास हुन्छ । स्वेरेक मा यति धेरै विकास हुने थिएन । तर अहिले हेर्नुस् अहिले विकास हुँदैछ । यसरी हरेक हिसावले विकास हुँदा यहाँको ग्रामीण पर्यटन फस्टाउने छ । अनि कुनै युवा विदेश जानु पर्नेछैन । अहिले विकास भएका होमस्टे र ग्रमीण पर्यटनको विकासलाई चुलीमा पुर्याउँदै   नेपाललाई खेल पर्यटनको केन्द्र बनाउनेगरी यो काममा लागेका छांै । 

खेल पर्यटनले ग्रमीण पर्यटनमा विकास कसरी हुन्छ ? 
स्याङजा होमस्टेको अन्तर्राष्ट्रिय ट्रेनिङ सेन्टर जस्तै हो । नेपालमा होमस्टे सम्बन्धी सरकारले प्लान बनाउनु भन्दा धेरै अघिदेखि स्याङजाको सिरुवारीमा होमस्टे संचालनमा थियो । घलेगााउँ पनि सिरुवारीबाट सिकेर बनाएका हुन् ।  सिक्किमले पनि यहिँबाट हामस्टेको पाठ सिकेको हो । अहिले यहाँ कस्तो खालको होमस्टे खोज्नुहुन्छ त्यस्तै हामस्टेहरु छन् । होमस्टेमा रमाउने भए सुन्तलाबारी हामस्टे छ । सुर्योदयको मज्जा लिंदै रमाउनु छ भने खसु्रमा त्यति नै सुन्दर होमस्टे छ । जसले नगरकोट बिर्सिन्छ । सूर्य नै ठूलो सानो भएको हेर्न पाइन्छ । गुरुङ कल्चरमा रमाउँदै होमस्टे गर्छु भन्ने हो भने सिर्सिकोट छ । त्यसैगरी मगर कल्चरमा रमाउँछु भन्दा बजकोट होमस्टे त्यति नै सुन्दर छ । कृषिमा रमाउँछु भन्नुहुन्छ भने पिकेटमा छ । जहाँ सोलारबाट पानी निकालेर तरकारी खेती गरेका छन् । र्याफ्टिहङ गर्दै होमस्टे बस्नुहुन्छ कि ? त्यो पनि रत्नपुरमा छ । यसरी पहिले देखि नै पाहुनाको लागि तयारीमा रहेको स्याङजाका सुन्दर गाउँ विकासले यो खेल पर्यटनलाई झनै ठूलो टोवा पुर्याउनेछ । 

यसले स्थानीय विकास भन्दा माथि के को सम्भावना रहन्छ ? 
एक्ट लोकल्ली भ्यु ग्लोबल्ली भनिन्छ नि । हेर्ने भनेको मान्छेले दुनियाँ र त्यसको अनुभव स्थानीयमा लागू गर्ने हो । हाम्रो यो अभियानले स्थानीय स्तरको विकास र रोजगारी मात्र हैन होमस्टेको विकास जस्तै सिंगै देश र अन्तर्राष्ट्रिय स्तरमा पनि अनुकरण हुनेछ । विकासका अनेक ढोका खुल्नेछन् । त्यस्ले समृद्ध स्याङजा मात्र हैन समृद्ध देश बन्नेछ । विश्वमा नेपाली भनेर चिनिने प्रशस्त बाटाहरु हुनेछन् ।