नेपाल कम्युनिष्ट पार्टी नेकपाका केही उपल्लै तहका नेताहरुले सरकार र पार्टीका ससाना छिद्र खोजीखोजी खिल्ली उडाउने काममा अर्जुन दृष्टि लगाएको देख्दा ती नेतालाई कार्यकर्ताहरुले कसरी नेता मान्दा हुन् भन्ने प्रश्न उठ्न थालेको छ । 

प्रतिक्रियावादीलाई खपत हुने खालका तिनका मिडियाबाजी र रुन्चेपिन्चे  र्याइँर्याइँ बारबार सुन्दा कानै पाक्ने अवस्था उत्पन्न भएको हो ।

कमरेड कार्की उर्फ पार्थले कान्तिपुर एफ.एम. हेडलाइनरमा त केही दिन अघि ओली सरकार पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकाल भन्दा कमजोर रहेको सम्म भन्न भ्याए । तर तिनै नेता कम्युनिष्ट आन्दोलन,अनुशासन र आदर्श मिडियामा फलाकी रहन्छन् । 

मन्त्री मण्डल पुनर्गठन अघि र पछि बारबार प्रदीप नेपाल, भीम  रावल र युवराज ज्ञवाली लगायत केही नेता उत्तेजनात्मक प्रतिक्रियामा व्यस्त देखिन्छन् । सामान्य शरम समेत नराखी यिनले गरेको प्रतिक्रिया सुन्नु परेको छ । 

एक समय नेपाली काङ्ग्रेसका सर्वमान्य नेता गणेशमान सिंहलाई र तत्कालीन एमाले नेता प्रदीप नेपाललाई जे बोल्न पनि छुट छ भनिन्थ्यो । नभन्दै बहिगर्मित मन्त्री गोकर्ण बिष्टका  पक्षमा टिप्पणी गर्दै नेपालले ओली सरकारमा दलाल पुँजिवादको पकड रहेको भन्न भ्याए ।

रोगको पहिचान नगरी र थाहा नै नपाई यसैत्यसै टिप्पणी गर्नु हतार हुन्छ भन्ने नेपालले कहिल्यै बुझेनन् । 
एक समय वरिष्ठ बामदेव गौतमलाई आफुखुसी खुल्ला सभामा आक्षेपपूर्ण संगीन आरोप लगाएका थिए तथापि नेपाल मन्त्री बनेका  उनै गौतमका पिए भएका थिए ।

अर्का नेता युवराज  ज्ञवाली कुप्रचारबाट प्रभावित जनता नामको सतही विचारको हुलिया दिँदै सदाबहार पार्टी र सरकारका कटु आलोचक रहेका छन् । टेलिभिजनको एक कार्यक्र्रममा  नेकपालाई लोकतान्त्रिक पार्टी नै नभएको सम्म पनि भन्न तिनले भ्याए ।

 पार्टीको उपल्लो तहका नेता ज्ञवालीलाई सरकार र पार्टीका बारेमा जिम्मेवार नेताका हैसियतले  बेलाको बोली र मौकाको काम गर्न कसले सिकाइदिने हो ? 

यसरी कतिपय मिडियाले क्षणिक रुपमा आफूलाई फुक्र्याएर वार्तामा बोलाएकै भरमा बोलेर आफ्नै कन्दनी समेत खुस्किएको थाहा नपाउने नेता देख्दा सरम लाग्छ । 

नयाँ मन्त्रीहरुलाई पूर्वमन्त्री लालबाबु पण्डितले मात्र बहानाबाजी गर्दै खोटीमन राखेर शुभकामना दिने नयाँ संस्कृतिलाई पूर्णतः बहिष्कार गरे । प्रधानमन्त्री ओलीले नयाँ तथा पुराना मन्त्रीहरुलाई संयुक्त रुपमा मैत्रीभोजमा वा पुनर्मिलनमा आमन्त्रण गरे पनि पुराना वा बहिर्गमित मन्त्रीले भोज बहिष्कार गरेको समाचार भाइरल भएको छ ।

बोलाउने कुरामा नै त्रुटि भएछ कि  सद्भावलाई  दुर्भाव देख्ने मति हाबी भएको बुझ्न सकिएन ।  

अघिल्लो सरकारका कारण देशको ढिकुटी झण्डै  रित्तो भएपछि सरकारले सार्वजनिक  श्वेतपत्र जारी नै गर्नुपर्ने अवस्थाका समयमा आजै र अहिल्यै घोषणा पत्र अनुसार ज्येष्ठ नागरिक भत्ता वितरण नगरिएकामा  इटहरीतिर आएर रोइलो गर्ने टुप्पै तहका नेता पनि देखिए ।

 तिनले भत्ता दिन नसकिने स्थितिसम्म पनि कार्यकर्ता सामु बताएनन् । यस लेखकले  उमेरको हिसावले ५५ वर्ष कटेका उपर्युक्त नेताहरुका अद्वन्द्ववादी, अवस्तुवादी र अराजक खालका बोली वचन,बानी र बेहोरामा अब सुधार आउला भन्ने कम आशा गरेको छ । बसौँदेखि लागेको बानी त्याग्न सजिलो हुँदैन ।

तर पूर्व मन्त्री  नेतृ थममाया थापाले प्रधानमन्त्रीसित मन्त्रालय सम्बन्धी कामका बारेमा सुझाव र सल्लाह लिन जाँदा समय नपाएको भन्ने गुनासो भने स्वाभाविक लाग्छ ।

प्रायः नेकपाका नेता, बुद्धिजीवी र स्रष्टा लगायतहरुमा सिर्जनात्मक रुपमा आ–आफ्ना जिम्मेवारी विषय, विधा, क्षेत्र, मन्त्रालयका  काम गर्ने क्षमताको अभाव देखिएको  छ । तिनले पाइला–पाइलामा उपल्लो नेताको आदेश पर्खिन्छन् । यसले पनि काममा समस्या सिर्जना गरेको देखिन्छ । 

तिनले विषय विज्ञ तथा विद्वान्को सही सल्लाहलाई चरम  बेवास्ता गर्लान् तर केन्द्रीयताका नाममा नेताका हर कुनै आदेश सिरोपर गर्छन् । तर यत्तिबेला नेता भीम रावल अत्याधिक चर्चामा रहेर प्रतिक्रियावादी खपतका लागि बोलिरहेका छन् । आजै अर्थात् मंसिर ८ गते एक रेडियो वार्तामा नेपाली कांग्रेसका सभापतिले लिपुलेक वा कालापानी सम्बन्धी विषयमा प्रधानमन्त्री ओलीलक्षित निहित निकृष्ट तथा भद्दा आक्षेपलाई रावलले देउवाले प्रमाणित गरिदिए ओलीलाई हामीले के गर्नुपर्छ गछौँ पो भनिदिए । 

यसलाई बरु नेपाली काँग्रेसकै नेता शेखर कोइरालाले प्रतिवाद स्वरुप दुःख व्यक्त गरे । के.पी.शर्मा ओली नै संयोजक रहेको अध्ययन  कार्यदलले कालापानी लिपुलेख लगायत विषयलाई सबैभन्दा पहिले उजागर गरेको थियो । यो विषय प्रतिवाद गर्नु पर्ने विषय हो कि देउवासित प्रमाण पत्र माग्ने  विषय हो । 

एउटा उपल्लो तहको जानिफकार नेताले लबिगत चरम दुराग्रहबस  बारबार राष्ट्रियताको संरक्षण र सम्बर्धनमा परीक्षित डाँडाको घामजून हुनलागेको  उदाहरणीय नेतृत्वप्रति यस खालको घृणित आशंका सुहाउने कुरा  हो ? 

हुँदाहुँदा स्थायी समिति सदस्य तथा पूर्व मन्त्री भीम रावलले त महामहिम राष्ट्रपतिसम्मलाई नेकपा पार्टीलाई निर्देर्शित र नियमन गरेको सम्मको भद्दा आरोप तथा  बच्कनापन देखाए ।  
बेतुकी विरोधको  यही परम्पराको प्रतिदान स्वरुप इटहरी उपमहानगरपालिकाले आयोजना गरेको शुभकामना कार्यक्रममा पश्चिमदेखि आएर  कमरेड गैरेले सरकारका नकारहरु भलिभाँती फलाकेका थिए  । मन्त्री बनेर सहयोग गर्न गरिएको आग्रह अस्वीकार गर्ने डा. शिवमाया तुम्बाहाम्फेको घमण्ड देख्दा आठौँ आश्चर्य लाग्यो ।  

वयोवृद्ध नेता कमल कोइरालाले ओलीले अरुण जलविद्युत आयोजना मोदीको पाउमा सुम्पिएर कसरी राष्ट्रवादी हुन सकिन्छसम्म भनेको थाहा भयो । उनले त पूर्व मिडिया मार्फत् पूर्व  राजा महेन्द्रलाई पो ठूलो राष्ट्रवादी भनेका रहेछन् ।

 कार्लमाक्र्सले भनेझैँ हरेक युगमा शासकका विचार हावी हुन्छन् र त्यसको प्रभाव नेता,जेता र बुद्धिजीवीमा पनि जवर्जस्त परेको हुन्छ भनेझैँ यही प्रभावका कारण केही माक्र्सवादी नेता सामन्तवादको पाउमा अझै लम्पसार नपर्लान् भन्न सकिने अवस्था देखियो । 

    सदियौँदेखि अनेक असमान र अपमान सहेर रहेको मुलुकले  हिजोको आजै कुम जोरेर बस्न नसकेको भनेर  तिनतमासे बोली बोल्न सकिन्छ । त्यसमा पनि भारतसित सदासर्वदा पाखुरा सुर्केर नै बस्नु पर्छ भन्ने पनि होइन र छैन  । राष्ट्रहरु र छिमेकीसँग ‘गिभ एण्ट टेक’ हुन्छ ।   सदियौँ देखिका अपमानलाई आजको भोलि  छुमन्तर तरिकाले समाधान गर्न सकिन्न भन्ने पनि नबझ्ुने नेतालाई कसरी अनुभवी, ज्येष्ठ र वरिष्ठ भन्ने होला ।

हरेक विषयमा मात्रात्मक हुँदै गुणात्मक उपलब्धि हासिल हुन्छ । यो खाली बोक्ने, घोक्ने र खोक्ने विषय हो.र ?   टिप्पणी नै गरे पनि अलिकति धैर्य गरेर त गर्नु । छिनछिनमा उठ्ने र फुट्ने पानीका फोका सरहका टिप्पणीको के अर्थ छ ? 

स्व. भरतमोहन अधिकारीले मृत्युको आखिरी अवस्थामा पनि बाख्रापालन, पशुपालन  व्यवसाय हुन्छ र तिनमा कर लाग्छ  भन्ने जान्दाजान्दै पनि एउटा लेखमा एउटा  बाख्रो देखाएर बाख्रामा ओली सरकारले कर लगाएको धारावाहिक लेख लेखेका थिए । त्यसैले रगतको थोपाथोपामा मिश्रित आग्रह, आक्षेप र द्वेषपूर्ण मति र मनस्थिति रगत सुकेपछि मात्रै मर्दो रहेछ जस्तो लाग्छ । तर पनि नेता भीम रावल अहिले प्रतिक्रियावादीलाई हँसाउने गरी मिडिया खपतमा गरिरहेका छन् । उनले आफू मन्त्री हुँदा मात्र कार्यकर्ताको मान सम्मान भएको भनेझैँ गरी मन्त्री परिषद् पुनर्गठनले कार्यकर्ताको अपमान भएको जिकिर गरेछन् ।

मानिस जन्मजात कम्युनिष्ट हुँदैन । एउटा न एउटा कालखण्ड, समय, परिस्थिति, उमेर र अवस्थामा  कुनै पनि मान्छे कम्युनिष्ट हुनसक्छ । कसैले एक समय विभिन्न कारणले  संविधान निर्माणमा अवरोध ग¥ंयो होला , कुनै समय  कम्युनिष्ट पार्टीको उछित्तो पनि काढ्यो होला ( अहिले  कम्युनिष्टको उपल्लो नेताका आवरणमा केही कथित नेताले कम्युनिष्ट पार्टी र सरकारको आबरु राखेर बोलेका छन् ?)   

तर जे भए अमुक व्यक्ति  कम्युनिष्ट पार्टीमा आबद्ध भयो, काम ग¥यो, समय बितायो, प्रतिबद्ध पनि भयो र सभासद भयो । अनि उसले  एउटा मन्त्री पाउँदा यत्रो उखर्माउलो ? गर्ने भए हिजै पार्टी प्रवेशका बेला र  सभासद् हुँदा विरोध गर्नु पथ्र्यो नि त । 
बहुमत वा दुईतिहाइ  ल्याउन ताली लगाएर पार्टीमा प्रवेश गराउने अनि अहिले एउटा अवसर पायो वा दिइयो भनेर सडक रोइलो गर्ने ?  के कुनै पनि मानिसले सुध्रिएर र सप्रिएर जिउन पनि नपाइने ? समय क्रममा नेकपामा लागेका र क्रियाशील भएका सबै नेताहरु तपाईंको खेताला मात्र भएर बस्लान् ?  

साँच्चै पार्टीका पुराना, प्रतिबद्ध, योग्य र अनुभवीहरुले जिम्मेवारी पाउन् ती  पछि नपरुन्  भनेको हो र ? यसो हो भने पहिले कहाँ को बोल्यो ? अहिले नै मुख तिखार्नु चाहिँ किन परेको होला ? सरकारमा देशको समग्र तस्वीर आउनु पर्छ, त्यो समावेशी हुनुपर्छ । नेपाल जस्तो देशलाई एकताबद्ध पार्न सकिएन भने देशलाई सुरक्षित गर्न पनि सकिन्न ।

प्रधानमन्त्री ओलीले नेपालीहरुले नेपालको अस्तित्व रक्षा गर्न अड्न सक्नु पर्छ , लड्नु पर्दैन एकताबद्ध हुनुपर्छ भन्नु भएको छ । हुन पनि नेपालीको बल नै एकता हो । झिँजाले मुढो डढाउँछ, सय थुकी नदी हुन्छ । थोपा थोपा मिलेर सागर बन्छ । सत्यको एक दिन जित हुन्छ । सानो चित्तले सगर डढ्दैन ।

कहीँ कसैमा पनि बत्तिस लक्षण हुँदैन रावलजी तपाईं हाम्रै घर परिवार अनेक कमजोरी र समस्याले पिरोलिएका छन् । कोट्याँउँदै जाने हो आफ्नै लाज छोप्न गाह्रो पर्नसक्छ ।

पार्टीका शीर्षस्थ बहुआयामिक प्रभावशाली शिखर व्यक्तित्वलाई समयमा नै सन्तुलित सही मूल्याङ्कन गर्नुहोस् । कृतज्ञ बन्नु होस्, कृतघ्न नबन्नु होस् । आज भरमार गाली गरेर भोलिका दिनमा पछुताउने बेहोसी नगर्नु होस् । विगततिर फर्किने हो भने माओवादी र एमाले एकता नै अमिलो र टर्रो लाग्नसक्छ । 

वर्तमान हेर्नुपर्छ । प्रचण्ड थैव दुवै गोडा विहीन अपाङ्गता जीवन व्यतीत गरिरहेका छन् । अर्को खाल्टो खन्न उद्यत नहुनुहोस् । खोटो  विगत सिक्न मात्र काम लाग्छ । त्यसलाई दोहो¥याउने गल्ती कसैले गर्नु हुन्न ।  अहिले यो लेखक नेकपाका नाकको खोजीमा रहेको छ र त्यस्ता नाक, आवरु र इज्जत भेटेको पनि छ । 

यस्ता नाकहरुमा दीनानाथ शर्मा, लीलामणि पोखरेल, मणि थापा, अग्नि सापकोटा, शक्ति बस्नेत, लालबाबु यादव, महेश बस्नेत, राजेन्द्र गौतम, खगेन्द्र राई र सुमन प्याकुरेल लगायतहरु पार्टी र सरकारका रक्षा कवच हुन् ।

यिनले सन्तुलित, शालीन, तथ्य र तर्कपरक  रुपमा प्रतिरक्षा गरेको देखिन्छ । दरवार, घरबारका टाट्नामा झुण्डिएकाहरु त पार्टी र सरकारको उछित्तो काढ्ने मात्र होइन जननेता मदन भण्डारीलाई नै केही दिन अघि सराप्तै थिए ।

देशी विदेशी प्रतिक्रियावादी   सबै सरकार र पार्टी विरुद्ध एकमुख भएका बेला आफ्नै आङ कन्याएर छारो उडाउन उद्यत नेता देख्दा उदेक लाग्छ ।