प्रा.डा. बद्रीविशाल पोखरेल  

नेकपा स्थायी समिति सदस्य तथा कृषि मन्त्री घनश्याम भुसालले एक प्रसंगमा नेकपामा जारी विवादलाई कम्युनिष्ट  आन्दोलनको भाग्य र भविष्यसित गम्भीर रुपमा सम्बन्धित रहेको हुँदा यसमा आफू बढी चिन्तित रहेको बताउनु भयो । यो अत्यन्त महत्वपूर्ण दूरदर्शी सोच, समझ र मान्यता हो भन्ने यस लेखकले ठानेको छ । तर यो लेखक चाहिँ विश्वको भूराजनीतिक अत्यन्त संवेदनशील भूभागमा अवस्थित नेपालको स्थिरता, शान्ति र समृद्धिजस्ता विषयलाई सर्वोपरि ठानेर  बौद्धिक भूमिका निर्वाह गरिरहेको छ । सेवानिवृत्त प्राध्यापक भएर  देशको महँगो नून खाइरहेको हुँदा यस्तो संङ्गीन अवस्थामा तमासे भएर बस्न पटक्कै मन मानेन र कुनै आग्रह रहित भएर तपाईंलाई सुझाव स्वरुप यो लेख लेखेको हो । भुसाल कमरेड, कुनै पनि नेताको सही पहिचान संकटका बेला मात्र हुन्छ । 

पार्टीको अन्तरिम विधान विपरीत बसेको स्थायी समितिको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओली अनुपस्थित भए पनि बहुमतले सदस्यले ओलीविरुद्ध अप्रिय निर्णय गर्न थाल्न तत्पर हुँदा घनश्याम भुसालले लिएको अडानले तत्कालका लागि संकट समाधान भएको आम कार्यकर्ता र जनताका बीच जगजाहेर भएको विषय रहेको छ । बरु त्यही बैठकमा तपाई विरुद्ध एकाध नेता ज्यान फालेर लागेको पनि थाहा भएकै हो । त्यसैगरी विगत ३ मंसीरमा बस्ने बैठकका पूर्व सन्ध्यामा भुसाल सहितले  वरिष्ठ नेता माधव नेपालसित भेटेर पार्टी विभाजनको  चरम स्थितिमा पुगेको विवाद समाधान गर्न गम्भीर चासो,पहल र प्रयत्न गरेको  अखवारबाट अवगत भयो । तर यसरी भविष्यप्रति चासो राख्ने भनेकै युवा उमेर र आँटले हो । 

केही वर्ष अघि तत्कालीन नेकपा एमाले पार्टीका उपाध्यक्ष अशोक राईसित विराटनगरमा  भेट हुँदा नेता गुरु बरालका सामु यस लेखकले राईलाई तपाईंहरुले कम्युनिष्ट आन्दोलनमा लागेबापत सोचेभन्दा धेरै शुभलाभ प्राप्त गरिसक्नु भयोे । अब तपाईहरुलाई देश र जनताका हितमा केही गर्नुपर्छ भन्ने नै छैन भन्दा उहाँ वाल्ल पर्नु भएको थियो । सक्षम नेताले सक्षम उत्तराधिकारी तयार पार्ने कुरामा पटक्कै ध्यान नदिने खनाल, नेपाल र दाहालले आफू प्रधानमन्त्री हुँदा  तुइन मार्फत् दूरदराजका जनताको सकस र संकट किन देखेनन् ? किनकि तिनमा  त आफैँ मात्र सत्ता, शक्ति र सम्पत्तिको केन्द्रमा टाँसिन मात्र  हत्तेहाल्ने प्रवृत्ति मात्र थियो, छ र रहनेछ । त्यसैले  अहिले विद्यमान पूर्वप्रधानमन्त्री भइसकेका कुनै नेतालाई देश र जनताका लागि केही गर्नुपर्छ भन्ने अन्तर्हृदयमा अलिकति  पनि भावना होला भन्ने यस लेखकले पटक्क ठानेको छैन । 

त्यसैले  घनश्याम भुसालले पार्टीमा देखापरेको सबै संकट र समस्या समाधान गर्ने कुरामा विशेष ध्यान दिनु जाती हुन्छ । किनभने जसको देश र जनताका लागि केही गरौँ भन्ने फराकिलो आयाम, उमेर र उम्मेद छ, त्यसैले यस्ता विषयमा गम्भीर चासो र चिन्ता लिएर क्रियाशील हुने हो । त्यसका लागि भुसालले आफूलाई सैद्धान्तिक, वैचारिक र सांगठनिक आदि हर हिसावले सही ठाउँमा उभ्याउनु पर्छ र आफूलाई तदनुसार तम्तयार राख्नु पर्छ जस्तो लाग्छ । 

तपाईं कहिले जबजलाई सिद्धान्त बनाउँछु भन्नु हुन्छ अनि कहिले जबजको च्याप्टर क्लोज भइसकेको बताउनु हुन्छ । तपाईं जत्तिको वैचारिक तथा अध्ययनशील नेताले आफ्ना पहिलेदेखि लिखित र मौखिक अभिमतहरुका आधारमा अहिले पनि दूरदृष्टि राख्नु पर्ने टड्कारो देखिन्छ । नेताको एउटा अत्यन्त महत्वपूर्ण पहिचान सैद्धान्तिक दूरदर्शिता हो । कुहिराको काग भएर लक्षित उद्देश्य तय गर्न सकिन्न । यस्तो दूरदृष्टि सब कोहीमा हुँदैन । जननेता मदनले भनेझैँ सिद्धान्तका सबालमा घुमाउरो कुराको कुनै अर्थ छैन । 

तपाईंले तत्कालीन नेकपा एमालेको आठौँ महाधिवेशनमा प्रस्तुत नेपाली क्रान्तिको बाटो भनेर छलफलका लागि ०६५ मार्ग ३० गते प्रस्तुत दस्तावेजको मुख पृष्ठमा जबजलाई सिद्धान्तमा विकसित गरौँ भन्नु भएको थियो । नवौँ महाधिवेशनमा एउटा विचार समूहको नेताका रुपमा जबजलाई अहिलेसम्म कसैले सिद्धान्त नबनाएको हुँदा म बनाउँछु भन्नु भएको थियो पृ. ९५ । उक्त दस्तावेजमा  भुसालले तत्कालीन पार्टी नेतृत्वले ....राजाको सरकारमा समेत जान तयार हुनु, सरकार बनाउने खेलमा जोड दिनु, राजा ज्ञानेन्द्रलाई दाम चढाउनु, बहुदलीय जनवादलाई विकसित गर्न ध्यान नदिनु जस्ता तत्कालीन पार्टी नेतृत्वका गल्ती औल्याउनु भएको छ ,पृ.५। त्यसैगरी तपाईंले बहुदलीय जनवादप्रति भक्ति भाव मात्र व्यक्त गरेर हुँदैन पनि भन्नु भएको छ । 

कमरेड भुसाल, तपाईंले माक्र्सवादको पुनः सृजित जबजलाई कासेढुङ्गो भन्नु भएको छ, पृ. ४० । त्यसैगरी तपाईले हिजो हामीले नेकपा बनायौँ... हामीले बनाउँदा बन्छ र बिगार्दा बिग्रन्छ भन्नु भएको छ, पृ.५ । तपाईंले विश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनका अनुभवहरुका आधारमा प्रजातान्त्रिक प्रतिस्पर्धाबाट अगाडि बढ्दै समाजवादमा संक्रमण गर्ने विचारका रुपमा जबज आएको थियो । जबजले नेकपा माओवादी जस्तो उग्रवादी पार्टीलाई समेत एक्काइसौँ शताब्दीको जनवादमा आउनु पर्ने र आउन सक्ने वैचारिक भूमि दिएको थियो भन्नु भएको छ , पृ.८० ।

त्यसैगरी माक्र्सवाद तथा जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न जान्छ भन्नु भएको छ, तर यो मार्गदर्शक सिद्धान्त जबज इतिहासको सन्दर्भ नै नभएको मौलिक आविष्कार हो भन्नु गलत हुन्छ, किनकि यसमा  क्रान्तिका आजसम्मका अनुभवहरु समेत समाहित छन् भन्दै  त्यसैले यसमा विकास र परिवर्तनको कुनै गुन्जायस नै छैन भन्ने हिसावले जडसूत्रका रुपमा बुझ्नु हुँदैन पनि भन्नु भएको छ पृ. ८१  । माओले सही सिद्धान्त भएर पनि हामी त्यसलाई खालि पाठ गछौँ, दराजमा थन्क्याउँछौँ, र कार्यमा प्रयोग गर्दैनौ भने त्यो सिद्धान्त जतिसुकै राम्रो भए पनि महत्वहीन हुन्छ भनेझैँ भयो भने त्यो भन्दा दुःखदायी के हुन्छ भुसाल कमरेड ।

घनश्याम भुसालले राजेन्द्र गौतमद्वारा सम्पादित नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवाद पुस्तकमा  संगृहीत ’जबजसँगको मेरो यात्रा’ शीर्षक आफ्नो लेखमा जबज सम्बन्धित महत्वपूर्ण विचार व्यक्त गर्नु भएको छ । भुसालका   अनुसार उहाँलाई पाचाँै महाधिवेशन सकिएको केही दिन पछि एक भेटमा मदन भण्डारीले आफूसित कुरा गर्ने तत्परता देखाउनु भयो र भेटमा भण्डारीले संक्षेपमा जबजको मान्यतामा आधारित भएर ...जीवनको यो सत्यलाई स्वीकार गरौँ,यसमा म खुल्ला छु भन्नुभयो तर फेरि मदनसित गएर कुरा गर्नु भनेको आत्म समर्पण ठानिने छ र स्वाभिमान विरुद्ध हुनेछ भन्ने ठानेर  आफूले भेट्ने काम नगरिएको भुसालले बताउनु भएको छ ।  भुसालले जबज क्रान्तिकारी छ भन्ने विश्वास थिएन भन्दै  ... यसको पुष्टिका लागि अध्ययन आरम्भ गरेको थिइँन तर अध्ययन गहिरो बनाउँदै लगेपछि जबजलाई इतिहास र सिद्धान्तको प्रकाशमा विकसित गर्न सकिन्छ भन्ने लाग्दै गएको बताउनु भएको छ  । ... अन्ततः गहन अध्ययनबाट के टुङ्गोमा पुगियो भने शान्तिपूर्ण तथा प्रजातान्त्रिक बाटोबाट समाजको रुपान्तरण गर्ने सिद्धान्त नै आजको क्रान्तिको माक्र्सवादी सिद्धान्त हो । यस अनुसार सूत्रबद्ध गर्दा निचोडमा भुसालले जबज नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त बन्छ भन्नु भएको छ, पृ.१२९ देखि १४६ । 

त्यसैगरी घनश्याम भुसालले आजको माक्र्सवाद र नेपाली क्रान्ति शीर्षक आफ्नो अर्को पुस्तकाकार कृतिमा पनि जबजको तर्क संगत पक्षपोषण गरेको पाइन्छ,  पृ.२२३ । 

यसरी घनश्याम भुसालले जबज न्यूनतम कार्यक्रम, र कार्यदिशा पूरा गर्ने मात्र होइन,रणनैतिक लक्ष अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद सम्म पुग्न मार्ग  निर्देश गर्ने सिद्धान्त हो भन्नु भएको छ । तसर्थ उहाँले जबजको च्याप्टर क्लोज भएको भन्नुको अर्थ   न्यूनतम कार्यक्रम वा अध्याय पूरा भएको भन्न मिल्ने तर  अर्को अध्याय   समाजवाद स्थापना,विकास र सुदृढीकरण गर्ने काम बाँकी रहेको यथार्थ भुसालले  अब खुलस्त पार्नुपर्छ । 

अहिले जननेता मदन भण्डारी र जबजलाई नामेट पार्ने दुराशयबाट केही उपल्ला तहका नेताहरु लागिपरेका छन् ।  जबजको सही तथा सपाट व्याख्या फाउण्डेशन र त्यस मातहत मात्र भएको देखिन्छ । तर  वरिष्ठ नेता झलनाथ खनाल लगायत नेताहरु मूलतः जबज विरोधी भड्काउ अभिव्यक्ति दिइरहनु भएको देखिन्छ । तर प्राप्त उपलब्धि, सरकारका सकारहरु  र जबजसित सम्बन्धित सही र सन्तुलित विषय प्रवाह गर्नेहरुको पनि खासै कमी भने छैन तर सामाजिक सञ्जाल र मिडियाहरुमा भड्काउ चिन्तन र चरित्र व्यापक बनेको देखिन्छ । अर्कातिर सुरुदेखि नै ओलीविरुद्ध एकोहोरो रुपमा सक्रिय रहेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे  पार्टी विभाजनमा के कसरी सञ्चालित र सक्रिंय रहँदै देश दौडाहामा हुनुहुन्छ भन्ने लेखो यस लेखकले राखेको छ । ओली सरकारलाई पूर्व राजाको शासनभन्दा कमजोर भनेर शत्रुवत् कटाक्ष गर्ने पार्थ उपनाम थरिलाई अब नेता भन्न भारी सरम हुन थालेको छ । पार्टीको नवौैँ महाधिवेशनका सम्मुख स्वास्थ्य लाभ गरिरहनु भएका  अध्यक्षका प्रबल प्रत्यासी ओलीलाई परलोक जान तयार रहेको भनेर सत्तोसराप गर्ने उदयपुरतिरका  खतिवडा थरिका नेतालाई थाहा होस् । त्यतिबेला ओच्छयानमा सुतीसुती अध्यक्षमा विजय हासिल गर्ने ओली अहिले देशव्यापी दौडाहामा पार्टी र सरकारका सबै सकारहरु प्रवाह गर्दा तपाईंहरुको के हालत हुन्छ ? बेलैमा सोच्नु होला ।  यदाकदा सन्तुलित खालको अभिव्यक्ति दिने विष्णु रिजालजस्ता अत्यन्त जिम्मेवार तहका नेता  गुटगत निर्देशनकै आधारमा होला राष्ट्रपतिप्रति नै असंयमित र अमर्यादित अभिव्यक्ति दिँदै हुनुहुन्थ्यो  । फेक र पेड मिडियाकी सदाबहार ओली विरोधी मजेदार चटपटे मसला बनेकी रामकुमारी झाँक्री पत्रकारले फुक्र्याएकै भरमा राष्ट्रपति, प्रधानमन्त्रीप्रति सदावर्त आरोप तथा आक्षेपपूर्ण रोइलो गरिरहेकी छिन् । तिनले आफू प्रतिक्रियावादीको खिलौना बनेको अलिपछि थाहा पाउलिन् तर हजार झुटलाई एउटै सत्यले सत्यानाश पारिदिन्छ झाँक्रीजी । त्यसैले घनश्याम भुसालले आफ्ना वरपरका ढोडका तोक्माका मात्र भरमा नपरी तिनलाई पनि अर्को कित्तामा पर्न दिनबाट बचाउनु पर्छ । मानिस त कहिल्यै कुनै जुनीमा बुद्धि विवेक नपलाउने पशु होइन, यो नरपशु हो । नरपशुको  ढिलो चाँडो अवश्य बुद्धि  र विवेक पलाउँछ । त्यसैले अलि धैर्य गर्नुपर्छ तर  संकटको सराथी बन्ने हो भने भुसाल कमरेडले सबै विषय र क्षेत्रमा  सही अडान लिन सक्नुपर्छ ।