जबजको सौन्दर्य शास्त्र माक्र्सवादी तथा द्वन्द्वात्मक  ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणको जगमा खडा भएको हो । जीवन जगतलाई वैज्ञानिक तथा सौन्दर्यात्मक रुपमा आत्मसात् गर्नु  यसको  सौन्दर्य शास्त्रीय आधार हो । यसले यही सौन्दर्यको मान्यता  अनुसार परम्परागत सौन्दर्य शास्त्रमा विद्यमान कुरुप पक्षहरुमा कलात्मक हस्तक्षेप गर्दै जनपक्षीय सौन्दर्यको निरुपण गर्न चाहन्छ । सौन्दर्य सम्बन्धी रुढीग्रस्त भाववादी,अयथार्थ पक्षहरुलाई सौन्दर्य सम्बन्धी तथ्य, यथार्थ र वास्तविक  पक्षहरु उद्घाटन गरी तिनलाई कलात्मक हस्तक्षेप मार्फत् विस्थापन गर्नु जबजको सौन्दर्यशास्त्रीय चिन्तन हो । निषेधको निषेध नियम अनुसार  रुपान्तरित गर्नु हो ।  

सामाजिक परिवर्तन मात्र गरेर हुँदैन, उपढाँचामा मात्र बदलाव ल्याएर हुँदैन । यस खालको परिवर्तन सतही र मात्रात्मक  मात्र हुन्छ, गुणात्मक हुन सक्तैन  । यस्तै परिवर्तन र परिवर्तित सरकार र सत्तामा  सन्तुष्ट हुने हो भने यस्तो उपलब्धि तासको घरझैँ ढल्छ र ध्वस्त हुन्छ र रगत पसिना बगाएर ल्याएको तथा प्राप्त उपलब्धि धराशायी हुन्छ र भएको पनि छ । त्यसैले प्राप्त उपलब्धिलाई जोगाउँदै त्यसलाई गुणात्मक रुपान्तरणका लागि जबजको सौन्दर्यशास्त्रीय सघन चिन्तन अपरिहार्य हुन्छ । 

जबजको सौन्दर्य शास्त्र दायाँ र बायाँ दुवै खालका अतिवादी उग्रवादी चिन्तनका  विपक्षमा रहेको छ । यसले सौन्दर्यलाई ईश्वरीय देन मान्ने र जनधनको अपार क्षतिमा  सौन्दर्य देख्ने चिन्तनलाई अस्वीकार गर्छ । जबजले सकेसम्म बिना क्षति र कम क्षतिबाट सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्न चाहन्छ । यसरी नै  बहुदलीय जनवादी हुँदै प्रतिस्पर्धायुक्त समाजवादी सौन्दर्य प्राप्तिका कियाशील रहनु जबजको उदेश्य हो । त्यसैले जबजले कला सौन्दर्यका पक्षमा मात्र होइन समग्र सामाजिक, आर्थिक, नैतिक, राजनीतिक आदि क्षेत्रमा नवीन सौन्दर्य बोधका साथ रुपान्तरण गर्न खोजेको छ । मानवले आदि कालमा देखि  लागि उपयोगी वस्तुको निर्माण ग¥यो । यसपछि मात्र सौन्दर्यसित सम्बन्ध सुरु भएको देखिन्छ । उपयोगिता सौन्दर्य चेतना भन्दा अघिको विषय हो ।  

बेलिन्स्की  सौन्दर्य सामाजिक जीवनको जीवन्त यथार्थको यस्तो प्रतिबिम्ब हो, जसले हामीलाई आनन्द मात्र होइन प्रगतिशील हुन प्रेरणा दिन्छ भनेका छन् । माक्र्सवादी विश्वदृष्टिकोण अनुसार इतिहासको निर्माणमा सामाजिक उत्पादन कार्यमा संलग्न सक्रिय मनुष्यको भूमिका सर्वोपरि महत्वको हुन्छ । त्यसैले कला र साहित्यको सिर्जना सक्रिय मनुष्यको श्रमशक्तिसित सम्बन्धित हुन्छ । कलासित सम्बन्धित श्रमको इतिहासलाई माक्र्सवादले व्यक्तिगत सम्पत्तिको उदय हुनुभन्दा अघिको अवस्था अर्थात् आदिम साम्यवादको सामूहिक श्रमको अवस्था,सामाजिक श्रम विभाजनमा आधारित अवस्था अर्थात् दासयुगदेखि समाजवाद सम्मको अवस्था र साम्यवादमा सामूहिक श्रमको अवस्था मानेको देखिन्छ । 

एङ्गेल्सले नै पनि मानव केवल श्रमेन्द्रिय मात्र होइन यो श्रमको उपज हो भनेका छन् । यसलाई पुष्टि गर्ने क्रममा उनले श्रमका नयाँ नयाँ क्रियाहरुमा सक्रिय हात विकासको लामो प्रक्रिया,आनुवंशिकता तथा जटिल श्रम क्रियाहरुमा हातको सक्रिय र सशक्त भूमिकाका कारण हात परिष्कृत हुन गएको मात्र होइन परिष्कारको उच्च स्तर प्राप्त गरेको बताएका छन् । हुन पनि मनमोहक मूर्ति,कला र चित्रकारिता श्रमशील हातकै विशिष्टता हो । अझ एङ्गेल्सका उपर्युक्त भनाइबाट हात मात्र होइन मानव नै श्रममय कठोर जीवनमा अभ्यस्त हुँदा भौतिक रुपमा मानव एउटा भौतिक मात्र होइन यसरी नै मानसिक श्रममा अभ्यस्त हुँदा बहुआयामिक शक्ति र सामथ्र्य बन्न सकेको हो । भौतिक तथा कलात्मक श्रम कर्मका कारण हात शक्तिशाली बहुआयामिक औजार बन्न सकेको हो ।  मानव हात र त्यसद्वारा गरिने श्रमले श्रेष्ठता प्राप्त गर्दै जाने क्रममा नै राफेलको महान् चित्रकारिता,थोवल्डिसेनको महान् मूर्तिकारिता तथा पँगानिनीको महान् सङ्गीतको सृष्टि हुन सकेको धारण एङ्गेल्सको रहेका छ ।              

सुन्दर असुन्दरको विपरीत होइन सुन्दरको विपरीत कुरुप हो । सबै क्षेत्रमा विपरीततका बीच संघर्ष हुन्छ त्यसैगरी सुन्दर र कुरुपका बीच पनि हुन्छ , कडबेलले प्रत्येक सुन्दर वस्तुलाई देखेर व्यक्तिको समान प्रतिक्रिया हुँदैन भनेका छन् । ऐतिहासिक भौतिकवादी द्वन्द्ववादी मान्यता अनुसार मित्रशक्तिका बीच एकता, संघर्ष र एकताको नियम तथा शत्रु पक्ष वा विपरीत शक्तिका बीच संघर्ष, एकता र संघर्षको स्थिति सार्वभौम तथा सत्य पक्ष हो र हुन्छ । द्वन्द्ववादले वैचारिक,सैद्धान्तिक,कार्यनीतिक तथा कार्यक्रमिक द्वन्द्व,बेमेल,अन्तर्विरोध,असमझदारी तथा मुठभेड निम्त्याउन सक्छ । शत्रु पक्षका बीच भएको यस्तो स्थितिको समाधानमा बल प्रयोगलाई नै प्राथमितामा राखेको पाइँदैन । किन भने हर लडाइँमा शत्रु पक्षको कित्तालाई सकेसम्म साँघुरो पार्नु पर्छ त्यसै भनेको होइन,साँघुुरो पार्नु भनेको शत्रु कित्ताकालाई पनि विचार, अन्तक्रिया,सिद्धान्त, कर्म  र रणनैतिक उपायहरुद्वारा कमजोर बनाउनु हो । लडाइ गर्दा जोणकोण मिल्यो भने कहलिएको पहलमानलाई रणमैदानमा पछार्न सकिन्छ । भएभरका सबैलाई शत्रु घोषणा गरेर कहिल्यै लडाइँ जित्न सकिन्न ।   यो सौन्दर्य युद्धकालीन माक्र्सवादमा ओझेल प¥यो र हुँदाहुँदा द्वन्द्ववाद भनेको बल प्रयोग नै सामाजिक परिवर्तनको प्राथमिक तथा सर्वोपरि हो भन्ने मान्यता स्थापित हुनगयो । त्यसैले जबजले माक्र्सवादी दृष्टिकोण अनुसार बहुदलीय प्रतिस्पर्धाको सौन्दर्यलाई पुनर्जीवित ग¥यो । जबजले समाजमा वर्ग रहे सम्म वर्गीय राजनीति रहन्छ, राजनीतिक विचार बल प्रयोग गरेर समाप्त हुँदैन । यसका लागि सबै खालको स्वस्थ्य प्रतिस्पर्धा गरेर आफूलाई श्रेष्ठ सावित गर्नुपर्छ । यसका लागि राम्रो काम पनि राम्रै तरिकाले गर्नु पर्छ र आम जनताको मन जितेर काम गर्नु पर्छ भन्ने सौन्दर्यलाई  जबजले स्थापित गर्न चाहेको हो । यो सौन्दर्य आर्थिक,सामाजिक तथा सांस्कृतिक आदि हर क्षेत्रमा लागु हुने वा गरिने पक्ष हो । यस्तो प्रतिस्पर्धा समाजवादी समाजमा पनि लागु गरिने कुरा उहिल्यै जबजले उल्लेख गरेको छ । 

आम रुपमा प्रकृति भिन्न मानवका भौतिक  र आत्मिक  श्रम,सीपद्वारा पुनःनिर्मित,प्रबर्धित,परिष्कृत प्रकृति नै संस्कृति हो ।  यसका पनि आत्मिक र भौतिक दुई प्रकार छन् । आत्मिक संस्कृति भन्नाले दर्शन, विचार, अर्थ, राजनीति, कला, साहित्य, संगीत आदिलाई आत्मिक संस्कृति भनिन्छ । भौतिक संस्कृति अर्थात् बाटोघाटो, पुलपुलेसा आदि निवर्गीय संस्कृति हुन्. भने आत्मिक संस्कृति वर्गीय हुन्छ । यसरी संस्कृतिलाई वर्गीय हिसावले वर्गीकरण गर्दा सामन्तवादी,पुँजिवादी तथा समाजवादी भनेर गर्न सकिन्छ । त्यसैले माक्र्सवादी वा जबजको सांस्कृतिक सौन्दर्यले सामन्तवादी,पुँजिवादी तथा साम्राज्यवादी संस्कृतिका कु्प्रभावलाई कलात्मक हस्तक्षेपमार्फत् परित्याग गर्ने मान्यता राख्छ । बलात् निषेध गर्नु भनेको राम्रो काम राम्रै तरिकाले सम्पन्न नगर्नु हो ।  जबजले सबै सांस्कृतिक पक्षहरुमा उचित विकल्प जनताका बीचमा प्रदान गर्ने उपाय सुझाएको देखिन्छ । नारीको शारीरिक  सौन्दर्य प्रतियोगिताका विकल्पमा नारीको प्राज्ञिक प्रतियोगिताको उचित विकल्प प्रदान गर्नु पर्छ । परम्परागत श्राद्ध,ब्रतबन्ध,पुराण,मृत्यु संस्कार आदि हरेक पक्षमा आम जनतालाई अनुकूल हुने सरल,सुगम र सहज संस्कृति र परम्पराको उचित  विकल्प दिनुपर्छ । यस लेखकले श्राद्ध समारोह,ब्रतबन्ध समारोह,अर्वाचीन पुराण तथा सात दिने क्रियाकर्म गरिसकेको छ । र यस्ता अनेक विकल्प जनताका सचेत समुदायबाट सुरु भएका छन्  । यसरी संस्कार संस्कृतिका नाममा खाए खा नखाए घिच् भने.र्झैँ गर्दा आम जनता वाक्कदिक्क भएका छन् र विकल्पको तीव्र  खोजीमा रहेका छन् । तर कतिपय उग्रवादी चेतका मानिस उपर्युक्त संस्कारलाई समग्रमा निषेध गर्ने कुरा पनि गर्छन् तर मानिसको संस्कृति हुन्छ तर  पशुको संस्कृति हुँदैन भन्ने कुरा तिनैलाई राम्ररी अथ्र्याउनु पर्ने हुन्छ । जबजमा उल्लेख गरे अनुसार परम्परागत  सांस्कृतिक पक्षहरुमा  सुधार अभियानमा सञ्चालन गर्नु पर्ने ठहर गरेको देखिन्छ । आदि कालदेखि सुरु विकसित अनेक जात,जाति समुदायमा प्रचलित सबै संस्कारहरुको परिवर्तित अवस्थालाई आम  जनतमा उपर्युक्त समय र कालमा प्रवाहित गर्दै अगाह गर्नु पर्छ त्यसपछि सुसूचित जनता आफैँ सहज सांस्कृतिक विकल्पका लागि तयार हुन्छ । जबजले जसरी जनविरोधी राजशाही पञ्चायती व्यवस्था समाप्त पार्न जनअभियान सञ्चालन गरियो तदनुसार सामन्तवादी अपसंस्कृतिलाई कलात्मक रुपमा निषेध गर्ने उपाय बताएको देखिन्छ ।

जबजमा  “...सामन्ती तथा साम्राज्यवादी साहित्य संस्कृतिका कुप्रभाव अन्त्य गरी सामाजिक कुरीति र अन्धविश्वास समाप्त पारी प्रगतिशील,राष्ट्रिय एवं जनवादी साहित्य संस्कृतिको विकास गरिने छ । त्यसैगगरी जबजमा  ...सामाजिक कुरीति,अन्धविश्वास,रुढीगत धारणाहरुलाई सामाजिक सांस्कृतिक सुधार आन्दोलन चलाई हटाउँदै लगिनेछ  भनिएको छ । 

यसरी नै जबजले ...समाजवादमा पुग्ने हतारोले कुनै पनि अनुचित जोरजवर्जस्ती गर्ने कुराको हामी विपक्षमा छौँ । ..हामी राम्रो काम पनि नरामो  तरिकाले होइन,सकेसम्म राम्रो तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा रहेका छौँ । ...हामीले कार्यक्रममा प्रतिस्पर्धा र पहलकदमीद्वारा नेतृत्व लिने विषयमा जोड दिएका छौँ  पनि भनेको देखिन्छ । तर पार्टीका अधिकांश नेताहरु सामन्तवादी संस्कार,संस्कृति,आचार र विचारमा रमाएर आजको भोलि संविधान अनुसार सांस्कृतिक रुपान्तरण जस्तो विषयमा पूर्ण बेवास्ता गर्दै समाजवाद ल्याउने सपना बेचेर जनतालाई भ्रमित पारिरहेको  देखिन्छ ।  

नेपालको संविधान २०७२ मा उल्लेख भएको सांस्कृतिक रुपान्तरण जबजमा उहिल्यै उल्लेख भएको विषय हो । यस अनुसार उचित सांस्कृतिक विकल्प दिन सकियो भने मात्र गणतन्त्रको जग बस्नेछ र जबजको सौन्दर्य शास्त्रीय मान्यता अनुसार क्रमशः अग्रगति गर्न सकिने देखिन्छ । जबजको सौन्दर्य शास्त्र मानव पुर्खाहरुले यस क्षेत्रमा स्थापित तथा विकसित सकारात्मक निधि र सम्पदामा आधरित छ । भाग्यम् फलति  सर्वत्र न विद्या न च पौरुषम् जस्ता भाग्यवादी प्रचार व्यापक रुपमा गरिन्छ तर त्यही पुराण आदि ग्रन्थमा आलश्यम् हि मनुष्याणम् शरीरस्थो महान् रिपुः भनिएको विषय ओझेल पारिएको छ । श्राद्धका अनेक विकल्प प्राचीन संस्कारहरुमा पाइन्छ । यस्ता अनेक उदाहरण पूर्वीय लगायत अनेक धार्मिक सांस्कृतिक ग्रंन्थमा पाइन्छ । त्यसैले सांस्कृतिक विकल्प प्रस्तुत गर्ने धेरै उदाहरण प्राचीन शास्त्र,ग्रन्थ र व्यवहारमा पनि पाइने हुँदा जबजको सौन्दर्य शास्त्रलाई सबल,सशक्त र प्रभावी बनाउनुपर्छ ।