बुद्दिमान परियार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत असार १० बाट शुरु  स्थायी कमिटी बैठक अनेकौ उतार चढावका बावजुद भाद्र २६ गते अत्यन्तै महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो । झण्डै झण्डै विकराल रुप लिन खोजिएको नेकपा लाइ सहज ढंगले अवतरन गर्न अध्यक्षद्वयले महासचिवको संयोजकत्वमा ६ सदस्यीय कार्य दल गठन गरि पार्टीमा देखिएका समस्या समाधान गर्ने गरि खाका ल्याउन अधिकार प्रत्यायोजन गर्यो । तद्अनुरुप कार्यदलले तत्काल पार्टीमा देखिएको समस्या समाधान गरी पार्टीलाइ सहि दिशामा हिडाउने मार्गको स्पष्ट खाका ल्याइ सचिवालय, स्थायी कमिटीमा छलफलका लागि पेश गरि सर्वसम्वत् पारित समेत गर्यो । तर उक्त निर्णयको मसि पनि सुक्न नपाइ फेरि रडाको मच्चाउन थालिएको छ । भाद्र २६ गते भन्दा अगाडी जुन माग राखि प्रपोगाण्ड मच्चाइएको थियो फेरि पुनः त्यसलाइ निरन्तरता दिदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाइ अर्का अध्यक्ष प्रचण्डले १२ वटा संगीन आरोप लगाएका छन् भने प्रचण्डलाइ साथ दिने सचिवालयका केहि सदस्यले  उक्त १२ बुँदे आरोपलाइ समर्थन गर्नुका अतिरिक्त केपी ओलीले पार्टीको विधि पद्दति र निर्णय पनि मान्दैनन् भनि  आरोप लगाउदै भ्रम फैलाउने समेत काम  गरिरहेका छन् ।

२६ गते सम्पन्न पार्टी स्थायी कमिटी बैठकले विभिन्न विषयमा गम्भिर छलफल गर्दै निर्णय गर्यो भने  दुइ अध्यक्षहरुको स्पष्ट रुपमा कार्यविभाजन गरेको छ । आफैले निर्णय गर्ने अनि आफैले पालना नगरेको दृश्य देखियो । अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो तथा केन्द्रीय कमिटी बैठकका लागि कार्यसुची तयार गर्ने र बैठक बोलाउने । सम्बन्धित कमिटीको बैठकमा कार्यसूची पेश गर्ने पारित गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने । यो विधिलाइ वा यो अधिकारलाइ लत्याउदै ५ जना भेला भइ बहुमतको हवाला दिदै  कार्यकारी अध्यक्षले बोलाएको बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री उपस्थित भएनन् बैठकबाट भागे जस्ता भ्रामक हल्ला चलाए (जब कि अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्डको परामर्षमा  महासचिव विष्णु पौडेल  बैठक बोलाउने प्रावधान छ) अचम्मको कुरा त विधि पद्दतिका रटान आफ्ना अन्धभक्त लाइ रटाएर नथाक्नेहरुले पार्टीको अन्तरिम विधान र स्थायी कमिटीले  गरेको निर्णयको  धद्जी उडाएको देख्दा लज्जाबोध गराएको छ। परिभाषित काम होइन ५ जनाको नाममा दम्भ र घमण्डताको पराकाष्ठ देखिन्छ।  प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर अध्यक्ष केपी शर्मा ओलीले सरकारलाइ नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने, भनी पार्टीको स्थायी कमिटीले निर्णय गर्यो । यो निर्णयलाइ छ्याप्पै कुल्चदै एक महिना पनि बित्न नपाइ राजिनामा मागिनुलाइ के भन्ने ? यति ठूलो निकाय (स्थायी कमिटी) ले गरेको निर्णय विपरित कार्यलाइ विधि उलङ्घन भन्ने कि नभन्ने ? अनि एकोहोरो केपि ओलीले विधि पद्दति मानेन् भनेर भन्न कुन नैतिकताले दिन्छ ? अध्यक्ष कमरेड प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने । यो स्थायी कमिटीले गरेको निर्णय र अध्यक्ष कमरेड प्रचण्डले पाएको पार्टी जिम्मेवारी के खेलाची थियो ? यो विधिगत निर्णयलाइ कार्यान्वयन गर्नुको साटो दिनानु दिन गुटगत कोठे बैठकलाइ चाहि विधि पद्दति भन्न मिल्ला ? अझ चित्त नबुझ्दो कुरा त १० दिन भित्र पार्टी एकताका सम्पूर्ण काम सम्पन्न गर्ने गरि अध्यक्षद्वय र महासचिवलाइ बैठकले जिम्मेवारी प्रदान गर्यो तर कार्यकारी अध्यक्षको हैसियतमा रहेका प्रचण्डले पार्टी कामको ‘प’ र संगठनको ‘स’ को उच्चारण पनि गरेको देखिएन विधि पद्दतिको मन्त्र जप्नेले पार्टीले गरेको निर्णयको पालना गर्नु पर्छ कि पर्दैन ? किन समयसिमा भित्र पार्टी एकताको काम सिध्यिएन ? अध्यक्ष केपी ओलीले केहि गरेनन् भन्नेले आफुले चाहि नैतिक जिम्मेवार लिने कि नलिने ? यस्ता अनेकौ प्रश्नहरुका बीच कमरेड प्रचण्डले फेरि बैइमानी पूर्ण कार्य अघि सारेका छन् ।

आफुलाइ अत्यन्तै सहि इमान्दार कर्तव्यपालकको दर्जामा राखी आफ्नै समकक्षी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री विरुद्द १२ बुँदे संगीन आरोप लगाएका छन्। छलकपट, जालझेल र षडयन्त्रमुलक तरवरले लगाइएको आरोप पत्र वास्तवमा तथ्यहिन, आधारहिन र आत्मकुण्ठित अभिव्यक्ति मात्र हो भन्दा फरक पर्दैन तर यसले उब्जाएको अन्यौलता कम छैन यी आरोपका एका एक प्रमाण पुयाइ आरोप कर्ताले पुष्टि गर्नै पर्दछ । राष्ट्रियताको सन्दर्भमा होस् या भ्रष्टचारको सन्दर्भ अनि आफ्नालाइ काखि च्याप्ने अरुलाइ पाखा लगाउने सन्दर्भ होस् यी सवका केस्रा केस्रा प्रमाण चाहिन्छ र प्रमाणित गरिनु पर्दछ। यति मात्र होइन उहाँले लगाएका सबै आरोपहरुको पुष्टि हुनै पर्दछ। यदि पुष्टि गर्न नसके उहाँले नैतिकताको आधारमा पदबाट राजिनामा दिनुको विकल्प छैन साथै उहाँलाइ  साथ दिनेहरुले पनि आत्मालोचित हुदै आफुले गरेका गल्ति स्वीकार्नु नै उत्तम हुनेछ। नत्र कार्यकर्ताहरुले एकाएक हिसाव किताव गर्नुपर्ने दिन नआउला भन्न सकिन्न कि न की हिजो जनतासँग गरेका प्रतिवद्दता पार्टी एकतापछि मुलुकमा स्थिर राजनीतिक परिपाटिको थालनी र देशलाइ समृद्द बनाउने सपना  बाँडेको कुरा घाम झै छर्लङ्ग छ । पार्टीले गरेको प्रतिवद्दता र आफुले जनतासँग गरेका संकल्प पुरा नगर्दा परिणाम के हुन्छ हेक्का राख्नै पर्दछ। हाम्रा भगवान भनेका नबोल्ने ढुङ्गाका देउता होइनन् (जीवित जनता हुन, (कमरेड मदन भण्डारी) स्वः जननेता मदन भण्डारीको यो भनाइलाइ गंभिरताको साथ लिनु जरुरी हुन्छ । 

आज नेकपाका नेताहरुले जे जस्ता व्यवहार प्रदर्शन गरिरहेका छन् कता कता महाभारतका खलनायक  पात्र दुर्योधनको शैलीसँग मेल खान जान्छ–उनी हरेक प्रतिस्पर्धामा भाग लिन्थे परिणाम विजय होईन पराजय हात पर्थ्यो। फेरि भाग लिन्थे हार्थे तर उनी कहिल्यै हार स्वीकार गर्दैनथे । आफुलाई अव्वल ठान्थे, शक्तिशाली ठान्थे, आफ्नै आँखा अगाडि देखेको अरुको शक्तिलाई पनि उनी शक्ति ठान्दैनथे । उनमा अहंकार र घमण्डताको चरम उत्कर्ष थियो । त्यतिमात्र होईन उनी अति नै निर्दयी र पापी थिए । उनको मनमा दया धर्म र सकारात्मक सोच भन्ने विल्कुल थिएन । एक दिन गुरु द्रोणको ईच्छा अनुसार  पाञ्चाल राज्यमा आक्रमण गर्न जाँदा त्यहाका राजा द्रोपतले बन्दी बनाई मृत्युको मुखमा फसेको बेला  तीनै पाँच पाण्डवहरुले बचाएका थिए र यस्तैअन्य घटनाहरुमा पनि पाण्डवहरुले बचाउथे  तर आफु बाँचेपछि त्यो गुन उनले बिर्सन्थे । अनि निरन्तर उनीहरु प्रति प्रतिशोध साँधिरहन्थे । त्यति मात्र होइन उनी आफुलाइ अनुकुल हुदाँ नियम, कानुन र विधिको कुरा गर्दैनथे तर आफुलाइ प्रतिकुल हुदाँ नियम र विधिको कुरा गर्थे। उनको यीनै दुषित मनोविज्ञान र अराजक गतिविधिको परिणामले हस्तिनापुरमा अत्यन्तै ठूलो संग्राम हुन गयो । त्यसले आसपासका अन्य राज्यलाई समेत प्रभावित पार्यो  र करोडौं जन र अरबौ धनक्षति व्यर्होनु पर्यो । आज नेकपामा पनि दुर्योधन शैली बोक्नेहरुले प्रतिस्पर्धाबाट प्राप्त परिणाम पनि स्वीकारेको देखिदैन र पार्टी अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन तथा पार्टी सचालन गर्दा अघि सारेका महत्वपूर्ण कामहरु पनि देख्दैनन् वा देखि देखि पनि बुझ पचाइ रहेका छन्।यो शैली र मनोवृद्धिले पार्टीलाइ  फाइदा हुन्छ या बेफाइदा हुन्छ सोच्नु पर्ने हो तर त्यस्तो देखिदैन, यो निकै दुखद कुरा हो । त्यसकारण  इतिहास र विगतका घटनाहरु बाट पाठ सिकेर पार्टी र नेतृत्वले पाएको जिम्मेवारी पुरा गर्नु नै उत्तम विधि र सहि मार्ग हुनेछ।