दुर्गा भण्डारी 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बहुमतको आडमा फेरी प्रधानमन्त्री केपी ओलीलाई हटाउने षडयन्त्र उत्कर्षमा पुगेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम, नारायणकाजी श्रेष्ठ लगायतका सचिवालयका पाँच जना सदस्यले बहुमतको ध्वास दिएर प्रधानमन्त्री ओलीलाई हटाउने र पार्टी फुटाउने सम्मको अपराध गर्न लागेका देखिन्छ । नेकपा एकिकरण प्रकृया टुङ्गोमा नपुग्दासम्म बहुमत र अल्पमतको खेल खेल्नु विधीसम्मत छैन । यो खेलले, कम्युनिष्ट पार्टीहरु अनन्तकालसम्म सहकार्य गरेर अगाडी बढ्छन् भन्ने कुरालाई गलत साबित गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्धयको सहकार्यमा पार्टी एकिकरणको थालनी भएको थियो । आगामी दिनमा हुने महाधिवेशनलाई सहमति र सहकार्यको महाधिवेशनको रुपमा लिइएको थियो । तर अहिले दुई पार्टी एकिकरण प्रकृया टुङगोमा नपुग्दै बिवाद झिकेर बीचैमा सहमति तोड्न खोज्नु दुर्भाग्य निम्त्याउनु पनि हो । दुई बर्षका लागि कोहि अमुक ब्यक्ति प्रधानमन्त्री बन्ला तर त्यसपछिको अवस्था कस्तो हुन्छ भन्ने कुराको हेक्का राख्न सक्नु पर्छ ।

गत भदौमा स्थाई समितिले गरेका निर्णय बिपरित गएर हुँदै नभएका आरोप लगाई त्यसबेला भएका सहमति तोड्ने प्रयास गरिएको छ । अहिले एकपक्षिय रुपमा प्रधानमन्त्रीबिरुद्ध मात्रै आरोप लगाईएको छ । स्थाई समितिले दिएको काम जिम्मेवारपूर्वक नगर्ने र पार्टी भित्र भर्टिकली पोलोराईजेशन गर्ने अर्का अध्यक्ष प्रचण्डको टीमबाट भएको छ । जसले पार्टीको गरिमा र लोकप्रियतामा समेत आँच पुग्ने काम गरेको छ । आफुलाई दिएको जिम्मेवारी पुरा नगर्ने तर प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित काममा हस्तक्षेप गर्ने गरिएको छ । जसरी हुन्छ प्रधानमन्त्री ओलीलाई बद्नाम गराउन फर्जी समाचार दिने गरिएको छ । दाहाल नेपाल समुहका नेताहरुको दाउ केवल सत्ता हत्याउने मात्रै हो भन्ने कुरा आम कार्यकर्ता र जनताले थाहा पाएका छन् । नेकपा एमाले एमाओवादी एकिकरणको स्प्रिट बहुमत र अल्पमतको आधारमा होईन । अंकगणितिय मापदण्डका आधारमा तय गरिएको थियो भने स्थानिय तहको चुनावको मत परिणमले नै देखाई दिएको छ । संघिय संसदको प्रत्यक्ष र समानुपातिक परिणामलाई हेर्दा पनि ७५ प्रतिशत एमाले र २५ प्रतिशत माओवादीको मत हो । सबै कुरालाई त्याग गरेर एमालेले माओवादीलाई समान जस्तै हैसियत प्रदान ग¥यो । आफ्ना क्षमतावान कार्यकर्ता समेतलाई पाखा लगाएर माओवादीलाई एमालेले स्थान दिएको थियो । आफ्नो हैसियत बिर्सेर नेकपा भित्र पूर्व माओवादी र नेपाल गुट मिलेर मूल नेतृत्वलाई पाखा लगाउने तानावान बुनिरहेका छन् । जुन अभिष्ट पुरा हुने वाला छैन ।  

इतिहासमै पहिलोपटक बहुमत प्राप्त कम्युनिष्ट पार्टीको बलियो सरकार बनेको छ । सरकारले दिर्घकालिन महत्वका कामहरुको शुरुवात गरेको छ । तर आफ्नै भित्र क्षणिक सत्ता स्वार्थका लागि बिदेशीको ईसारामा दाहाल नेपाल समुह मिलेर प्रधानमन्त्रीले गरेका राम्रा कामहरुको बिरोध गर्नु जस नदिनु दिनचर्या बनेको छ । गलत कुराको बहाना बनाएर प्रधानमन्त्रीलाई पाखा लगाउन खोज्नु भनेको दुभाग्य निम्त्याउनु हो । नेकपा भित्र अहिले आठ लाख भन्दा बढि संगठित सदस्य पुर्व एमालेका छन् । पूर्व माओवादीका कति छन् उनिहरुसंग कुनै तथ्याङ्क नै छैन । प्रधानमन्त्रीलाई हटाउन षडयन्त्र स्वरुप अहिले नेकपाको सचिवालय प्रधानमन्त्रीबिरुद्ध राजनैतिक प्रतिवेदनको नाउमा अभियोग पत्र पेश गरिएको छ । अर्का अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत अभियोगपत्रमा प्रमाण त के कुनै तथ्य पनि मेल खादैन । यति ठूलो पार्टीलाई भविश्यमा एकल नेतृत्व प्रदान गर्ने भनिएको ब्यक्तिबाट निहित स्वार्थका लागि यो हद सम्म षडयन्त्र गरिनुले अन्ततः पार्टी मात्र होईन देश पनि अस्थिरता तर्फ धकेलिनेछ । पार्टी भनेको केहि थान नेता, सचिवालय, स्थाई समिति र केन्द्रिय कमिटीका केहि स्वार्थी नेताहरुको बपौती होईन । जो आफु पदमा जानका लागि षडयन्त्रको खेल खेलिरहने ? यो पार्टी बहुसंख्यक कार्यकर्ताको पनि हो । जस्ले गुटपरस्त स्वार्थी नेता र कार्यकर्तालाई कहिल्यै साथ दिने छैनन् । पार्टी भित्र र आम चुनावको कहिल्यै फेस नगरेका नेताको खल्तीबाट कोटामा परेका केहि कार्यकर्ताले स्वार्थका लागि साथ दिनु स्वभाबिक नै हो । स्वाभिमानी कार्यकर्ता आफ्नो भबिश्य नेकपा मै देख्नेहरुले अवश्य पनि गलत कुरालाई साथ दिने छैनन् । 

नेपालको राजनैतिक पार्टीहरुमा मूल नेतृत्वले अहिलेसम्म नेतृत्व पुस्तान्तरणको सवाल उठाएका छैनन् । पूर्व एमाले भित्र माधव नेपाल यस्तो पात्र हो । जो पन्ध्र वर्ष महासचिव बन्नुभयो । उहाँ २०५० सालदेखि महासचिव हुनुभयो र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पराजित हुँदाको अवस्थामा समेत जवरजस्ती षडयन्त्रपूर्वक पार्टी र राज्य सत्ता हत्याउने प्रयत्नमा लाग्नु भएको छ । नेता नेपालले राजाको पालामा मंत्री बन्नका लागि दरखास्त हाल्नु भएका कारण बिवादित हुनुभयो । त्यसैगरी आफु दुई ठाउँबाट चुनावमा पराजितहुँदा समेत प्रधानमन्त्री बन्नु भयो । उहाँले त्यो बेला कुनै महत्वको काम गर्न सक्नु भएन किन भने उहाँको शिर उचो थिएन । त्यहि माओवादी हो जस्ले उहाँको सरकार बिरुद्ध दिनै पिच्छे प्रदर्शन गर्दथ्यो । तर त्यो बेलामा उहाँलाई आड भरोसा दिने यिनै केपी ओली हुनुहुन्थ्यो । पार्टीको महासचिव बनेको २६ बर्षपछि पनि अहिले उहाँले नेतृत्वमा दावी मात्र होईन षडयन्त्र गरेर हत्याउन खोज्नु भनेको सत्ता प्रतिको लालसा कति धेरै रहेछ भन्ने प्रमाणित गर्छ ।

दोस्रो पुस्ताका नेताहरु नेता नेपालको साथमा सधै किन रहनु भ¥याङ मात्रै बन्नका लागि ? त्यसो भए म देश हाक्छु भन्ने ह्याउ भएकाहरुले किन उहाँको पछि लाग्न हुदैन । अव दोस्रो पुस्ताले सोच्नु पर्ने बेला आएको छ । त्यसैगरी झलनाथ खनालले पनि १२ बर्षसम्म पार्टीको मुख्य जिम्मेवारी सम्हाल्नु भयो । एक पटक बन्नका लागि मात्रै प्रधानमन्त्री बन्नु भयो । अर्का पात्र पुष्पकमल दहाल प्रचण्ड जो ३२ बर्षसम्म आफ्नो पार्टीमा निरन्तर अध्यक्ष हुनुभयो । उहाँको पार्टी भित्रका उतार चडाव थुप्रै छन् । कहिले कोसंग मिल्ने कहिले जवरजस्ती आफ्ना समकक्षीलाई प्रतिस्पर्धी ठानेर खेद्ने प्रबृति भएका ब्यक्ति । वास्तवमा पार्टीभित्र उहाँहरुको राज्य सत्ता केन्द्रित संर्घष मात्रै हो । कम्युनिष्ट नेताका नाम मात्रै बिचार र सिद्धान्त छाडेर भागबण्डामा उत्रिने प्रबृति, यो प्रबृतिले कहिल्यै पनि पार्टी चल्न सक्दैन । यस्ता ‘कु’ पात्रहरुलाई स्वाभिमानी कार्यकर्ताले यो बेलामा चिन्ने अवसर पनि हो । आफुलाई र आफ्नालाई मात्रै सबै पद चाहिन्छ भन्ने संकिर्ण सोचले पार्टी र देश चल्दैन । पार्टी फुटाएर भए पनि यहि दुई बर्ष पालो गरी गरी प्रधानमन्त्री हुने, चुनाव आए पछि अर्को पार्टीमा प्रवेश गर्ने र मिलिजुली सरकार बनाउने हो भने केहि भनाई छैन । त्यसो हो भने घर पोलेर खरानी बनाउनु शिवाय केहि हैन । स्वार्थमा आधारित दाहाल नेपाल समुहले पार्टी फुटाए पनि यो समुहको सहकार्य निरन्तरता चल्नेवाला छैन । 

नेकपा भित्रको यो लोकप्रिय मत पूर्व एमालेको हो । नेकपा एमालेका अध्यक्षमा केपी ओलीले नेतृत्व गरेकै कारण र अघिल्लो पटकको राष्ट्रियता प्रतिको अटल अडानका कारण मत प्राप्त भएको हो । जनताले केपी ओलीलाई नै पाँच बर्षका लागि प्रधानमन्त्रीको आइकन मानेर मत प्रदान गरेका हुन् । राजनैतिक स्थायीत्व प्रदान गर्ने, बिकास गर्ने वाचा (नारा) बोकेर केपी ओली नै चुनावमा जानु भएको हो । यो दाहाल नेपाल समुहलाई लुछाचुडी गरेर खान दिएको जनमत हाईन । बिचैमा जनताको मत अपदस्त गर्ने चेष्टा नगरियोस । यो अपमानको बदला जनता कार्यकर्ता आफैले लिन्छन् । त्यसकारण के हेक्का रहोस भने मुलुकको राजनीतिलाई अस्थीर बनाउने तत्वलाई जनताले फेरी चुनावमा जवाफ दिनेछन् । यो तहमा पुगेका नेताहरुबाट आफ्नो ईज्जत प्रतिष्ठाको ख्याल त गरिएन नै । यो हदै सम्मको निकृष्ट स्वार्थमा लाग्दा आफ्नो लामो समयको राजनैतिक करिअर खेर पनि नजाओस । त्यसकारण पार्टी भित्र राम्रो सम्भावना बोकेका युवा नेताहरुले यस्तो खालको दुर्घटना हुनबाट बचाउन सक्नु पर्छ ।