नेपालीहरुको महान चाड बडादशैं भित्रिएसँगै मानिसहरुको मानसपटलमा खुशीका रङहरु देखिन थालेका छन् । दशैको चहलपहलसँगै फेरिएको प्रकृतिले जताततै दशै आएको आभाष दिलाएको छ । यो दशैप्रतिको बुझाई उमेर, क्षेत्र, जातजाती, वर्ग लिङ पेशा अनुसार फरक फरक हुन सक्दछ । दशैमा व्यापारिक बर्गले बस्तुहरुको बिक्रि बितरण गर्ने समय भएकाले यस समयलाइ उनीहरुले कमाउने समयका रुपमा लिन्छन् । जागिरेहरुले आफनै ढंगले बुझछन् । नेता कर्मचारी पेशा वर्गहरुले आफनै ढंगले मान्दछन् । कतिपयलाई त यो दशै जिम्मेवारी र दायीत्वबोधका हिसावले नमीठो पनि लाग्न सक्दछ । 

समयसँगै नेपालीहरुको दशैँ मान्ने प्रचलन पनि फेरिएको छ । पहिला पहिला विदेशमा भएका बा दशैमा घर फर्कन्छन भन्ने हुन्थ्यो । दशैमा सिलाएको नयाँ कपडा, रोटेपिङ्ग, जमरा, खसी, ढिकीमा कुटेको चिउरा, टीकाको दक्षिणाले रमाइलो दिलाउथ्यो । कामको चटारो हतारोका बीचमा पनि घर सिगार्ने, बढार्ने, चाेंक चौतारोमा जमघट हुने प्रचलन थियो । परदेश गएका आफन्तहरुको गाउँ फिर्ने प्रचलनले पारिवारिक मिलनको संयोग दशै बन्थ्यो । दशैमा लगाउन बुवाले सिलाइदिएको स्कुलको पोसाक अनि गाउँभरि सुनिने ढिकीको ढक ढक आवाजले साच्चै मन रोमान्चित बनाउथ्यो । 

तर पछिल्लो समय गाउँबाट शहरमा कामको खोजीमा आउने र मानिसहरु गाउँ नफर्कने प्रचलनले गाउँहरु पछाडी पर्ने र शहरहरु अगाडी आउने क्रम बढन थालेको छ । अहिले दशै मान्ने  प्रवृति फेरिएको छ । मानिसहरु शहरबाट गाउँ जानुको सटटा, गाउँबाट शहरतिर आउने क्रम बढेको छ । युवाहरुले गाउँ बिर्सिएका छन् । स–साना छोराछोरीहरुलाई दशैको महत्व नै थाहा छैन । शहरमा हुर्किएका बच्चाहरु दशैमा किनिदिएको नयाँ कपडा, खसी, दक्षिणामा खासै लोभिएको देखिदैन । बच्चाका अभिभावकहरु गाउँमा जानुको सटटा गाउँमा भएका आमा बाबुलाई पनि शहर बोलाउन थालेका छन् । विदेशतिर भएका युवा जनशक्ति चाडबाडमा देश आउने हैन, आफना वा आमालाई बिदेशतिरै बोलाउने प्रवृति बढेको छ । यो चाडबाडमा देखिएको हाम्रो यो उल्टो बाटोले गाउँलाई साहै उपेक्षा गरेको र शहरलाई केन्द्रभागमा राखेको देखिन्छ । 

यो चाडबाडको माध्यमबाट हाम्रो विगतको र अहिलेको संस्कृतिलाई पहिलाको र अहिलेको गाउँप्रतिको हेर्ने दृष्टिकोणलाई तुलना गर्ने हो भने गाउँ र शहरमा देखिएका विकासका असमानतालाई प्रष्ट रुपमा चित्रित गर्दछ । चाडबाडको अवसरमा पनि गाउँबाट शहरतिर मानिस आउनु र शहरका मानिस विदेशतिर जानु देशको विकासका लागी सकारात्मक सुंचक होइन । यो चाडबाडले परम्पराभन्दा आधुनिकता संस्कतिको सम्मानभन्दा उपभोक्तावादलाई प्रशय दिएको छ । हामी चाहन्छौं हाम्रो चाडवार्ड ईतिहासको गर्व गर्न लायक, परम्पराको सम्मान गर्न लायक, पुस्तान्तरबीचको खाडल पुर्न लायक, गाउँ र शहरलाई जोडन लायक, नेपाल र नेपाली हुँ भन्न गर्व गर्न लायक वनेर प्रत्येक नेपालीको घरमा भित्रन जरुरी छ । हामीले यो चाडलाई यही रुपमा मनाउन आवश्यक छ । 

यो पर्वका माध्यमबाट मानिसहरुले बिर्सिएको रोटेपिङ्ग र लिङ्गेपिङ्गको रमाइलो अहिलेका पब्जिमा भुलिएका नयाँ पुस्ताले पनि सिक्नुपर्दछ । मालश्रीका धुनहरु घरघरमा गुन्जिनुपर्दछ । आयुदोर्णो नसुतेका श्लोकहरुले पुस्तान्तरबीचको खाडल पुर्न सक्नुपर्दछ । हरेक झुपडी र बस्तीमा हजुरबुवा र बुढीआमाका देखिने गालाका मुझाहरुमा खुसीको बहार आउन सक्नुपर्दछ । माथिल्लो घरको दाईले पचास केजीको खसी काट्दा, तल्लो घरको कान्छाको आँगनमा पनि त्यतिकै खसी ढल्न सक्नुपर्दछ । फाँटेका आङमा नयाँ जामा र सर्ट फेर्ने सकिनुपर्दछ । 

तर यो दशैं हामीले सोचेजस्तोे छैन । मानिसहरु अभाब र पिडामा छटपटिए जस्तो मनमा कुनै असन्तुष्टि भए जस्तो अवस्थामा देखिन्छन् । दुइचारबर्ष अगाडीका दशैमा शहरबाट गाऊ फर्किनेहरुको घुँइचो हुन्थ्यो । शहरका मानिसहरु गाउँ पुगिसकेपछि बडादशैंको शुभकामना आदान प्रदान हुन्थ्यो । आफुले गरेका एकबर्षका प्रगतीका अनुभवहरुलाई एकअर्कामा साटासाट गरिन्थ्यो । गाउँका खेतहरुमा कुलो पुगेको छ की छैन, पुगेको छैन भने त्यहाँ कसरी पुरयाउने भन्ने विकास निमार्णका प्रयास दशैमा  गरिन्थ्यो । गाउँका संस्कृति र परम्पराहरु झल्किने हिसाबले गाउँका प्राथमिक विद्यालयहरुमा नाटकहरु मन्चन गरिन्थ्यो । गाउँका गोरेटाहरु कुटो  र कोदालो बोकेर खन्ने काम हुन्थ्यो । बर्खामा परेको पानीको बाछिटाले प्वाल परेका घरहरुलाई लिउन लगाएर कमेरोको रातो माटोले चिटिक्क पारिन्थ्यो । गाउँका घरहरुमा आफनै स्रोत साधनको प्रयोग गरेर रेडियोमा सकिएका व्याट्रि फुटाएर झयाल ढोका रंग्याइन्थ्यो । यो विगतका दशैले गाउँ र शहरलाई जोडथ्यो । शहरमा हुर्किएका राजनीतिक विचार सिद्धान्त वैचारिक चेतना बनेर गाउँ पुग्थे । गाउँमा चेतनाको झन्कार हुन्थ्यो । जनप्रतिनिधिले एकबर्षभित्र गरेका कामको समिक्षा हुन्थ्यो र पो दशैं दशै जस्तो हुन्थ्यो । 

त्यसैले यो बर्षको दशैँले हाम्रा विगतको पुर्नजीवन गर्न सक्नुपर्दछ । यो चाडबार्डले गाउँ र शहरलाई जोडन सक्नुपर्दछ । नेपालीहरु र आफन्तहरुका फाँटिएका मनहरु सिलाउन सक्नुपर्छ । आफु जन्मिएको ठाउँ र आफन्त बीचको माया ममता बढाउन सक्नुपर्दछ । खाली चाडबाडका नाममा उपभोगग्य बस्तुको उपभोगको बृद्धिले व्यापार घाटालाई बढाउन मात्रै होइन की यो चाडवाड विपन्नको घर आँगनमा पनि खुशी वनेर आउन सक्नु पर्दछ । अनि पो दशैँ दशैजस्तो हुन्छ ।