खेमचन्द्र ढकाल

हाम्रो देश नेपाल र नेपाली समाज सनातन धर्म, संस्कृति र अतिप्राचीन मानव सभ्यताको अनुपम जगमा उभिएको छ । विश्वका प्राचीन सभ्यता र ती सभ्यताको जगमा विकास भएका अन्य राष्ट्रहरुभन्दा यो भूमिले पृथक पहिचान बोकेको छ । पृथिवी सृष्टिसंरचना, मानवसृष्टि र मानवसभ्यता यो भूमि र हामी  अति प्राचीनकाल देखिनै थिए  र थियौं भन्ने अनेकौं मानवशास्त्रीय र ऐतिहासिक प्रमाणहरु छन् ।

हजारौं हिमश्रृंखला र शिखरहरु, अधित्यका, उपत्यका, पहाड, बेंसी र फाँटहरु, मैदान तराई तथा सयौं नदी—नाला एवं महानदीहरुको अपार प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो दिव्यभूमिमा र सरिताका किनारहरुमा प्राचीन पूर्वजहरुले सभ्यता, संस्कृति निर्माण र विकास गरेर हामीलाई दिएका हुन् । पशुचारी एवं यायावरीय जीवनलाई नदीहरुका किनारहरुमा बिसाएर हाम्रा पूर्वजहरूले आफ्ना अमूल्य अनुभूति ज्ञान, विज्ञान कलालाई सभ्यताको रुपमा सजाएका थिए । 

सामाजिक, धार्मिक र जातीय सहिष्णुता, विविधता र संस्कृतिक समन्वयको बलियो जगमा उभिएको नेलाली समाज बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक हुनुमा गौरव गर्दछ । नेपाल राष्ट्र र नेपाली समाजले उच्च आचारण र आदर्शको अनुशीलन गर्दै आएको छ । हाम्रा ऋषि—मनिषीहरु र पूर्वजहरु प्राचीन सभ्यता संस्कृति निर्माणकर्ता मात्र थिएनन्, विश्वका लागि महान् र सफल अभियन्ता थिए । हिमालयको सभ्यता अतिप्राचीन सभ्यता हो । यही सभ्यताले आदिकाल देखि नै पाशुपत सभ्यताको समेत प्रतिनिधित्व गरिरहेको छ । प्राचीन युगमा रोम, ग्रीक, युनान आदि सभ्यता निर्माण हुनुभन्दा पूर्व नै यो हिमालयीय सभ्यताको सम्पन्नता विश्वका कुनाकुनामा गाइन्थ्यो । यो सभ्यताले भगवान् शिवको संरक्षणमा शिवका पार्षद् नन्दी र नन्दीगणको नेतृत्वमा प्राप्त गरेको सम्पन्नता र नन्दीको शौर्य पराक्रमलाई मन पराएर ग्रीक, युनानी र रोमवासीहरुले आफ्नो सभ्यता निर्माणको प्रारम्भमा हिमालयीय सभ्यताबाट प्रभावित भई शिवसँग नन्दीको प्रतीक मागेर लगेका थिए भने सिन्धुघाटीको सभ्यता निर्माण पूर्वदेखि नै भगवान् शिवसँग नन्दीको पूजामहिमा आष्ट्रिक, द्रविड र किराँतहरुमा पनि कम थिएन । उनीहरुका मुख्य देवता शिव थिए भने नन्दी उनीहरुका वास्तुदेव थिए । 

हाम्रो पाशुपतक्षेत्रका नन्दी सिन्धुघाटी, द्रविड–अष्ट्रिकहरु र किराँतहरुका मूर्धन्य देवता हुँदै मिश्र, ग्रीस र यूनानका विशाल महलहरुमा एपिक् नामको साँढेको रुपधारण गरेर त्यहाँका निवासीहरुले उनलाई पखेटा लगाई दिन्छन् र बाबुलका जनकविलाहरुमा घुम्दै निनब्बे, ओसिरीका महलहरुको रक्षकको रुपमा पंखधारी पुंगव, अपादानका खम्बाहरुमा विराजमान हुँदै त्यहाँका निवासीहरुले उनलाई मानवमुखी दाह्री लगाइदिन्छन् । मिश्रका गूम्बजदार अस्थिसंचयक पुण्यगार(पिरामिड), मिश्रका चमत्कारिक खम्बा र स्तूपहरु, पारसी–पोलिसका र बेहिस्तूनका स्मारकहरुमा तिनै नन्दी अशोकका विष्मयकारी स्तम्भमा विकसित भएको इतिहास हामीसंग साक्षी छ । यसलाई हामीले सम्राट अशोकद्वारा लुम्बिनीमा स्थापित गरिएको अशोकस्तम्भमा देख्न सकिन्छ । यो संस्कृति र सभ्यता निर्माण र विकासको एउटा अनुपम उदाहरण हो ।  

आजको मध्य एसिया, दक्षिण एशियाको उत्तरपूर्वी समुद्रका किनार र उत्तर हिमालयका काखमा मंगोलीयन र म्न्खमेर (किराँत) सभ्यताको उदय र विकास भइसकेको थियो । त्यस समयमा (किराँत म्न्खमेर) र मंगोलीयनहरुका देवाधिदेव महादेव शिवको सान्निध्यमा पाशुपत खण्डको दक्षिण पूर्वी मैदानमा इषीरथ र त्यसको पश्चमी मैदानी भागमा महान् मनीषि पुलह, और्व, भृगु आदि ऋषिहरू कौशिकी र गण्डकी सभ्यताको निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै थिए । इषीरथ–कुशिक वंशका विश्वाममित्रका पिता कान्यकुब्जपति गाधीले प्राचीन मनुभरत पुरुकुत्सकी कन्यासँग विवाह गरेका थिए । तीदेखि सत्यवती नामकी कन्याको जन्म भयो र ती कन्याको जमदग्नि ऋषिका पिता ऋचीकसँग विवाह भएको थियो । तिनै सत्यवतीको नामबाट आजको सप्तकोशीको नाम पनि सत्यवती राखिएको थियो । यो भूमिको नाम पनि सोही आधारमा सत्यवती राखिएको थियो । 

यथा —गाधेः कन्या महाभागा नाम्ना सत्यवती शुभा ।

तां गाधि काव्यपुत्राय ऋचीकाय ददौ प्रभुः ।।
                                          ब्रह्मपुराण_ १० /२८/२९ ।
ततःसत्यवती पुत्र जनयामास भार्गवम् ।
तपस्याभिरतं दान्तं जमदग्नि समात्मकम् ।।
कभृगोर्जगत्यां वंशे कमिन् जमदग्निरजायत ।
                                               ब्रह्मपुराण _१० /४८ /४९।
   सा हि सत्यवती पुण्या सत्यधर्मपरायणा ।
     कौशिकीति समाख्याता प्रवृतेयं महानदी ।।
                                                        ब्रह्मपुराण _१०/ ५०।

यी श्लोकहरुको अर्थ _इषीरथ–कुशिक वंशका विश्वामित्रका पिता कान्यकुब्जपति गाधीले प्राचीन मनुभरत पुरुकुत्सकी कन्यासँग विवाह गरेका थिए । तीदेखि सत्यवती नामकी कन्याको जन्म भयो र ती कन्याको जमदग्नि ऋषिका पिता ऋचीकसँग विवाह भएको थियो । तिनै सत्यवतीको नामबाट आजको सप्तकोशीको नाम पनि सत्यवती राखिएको थियो । यो भूमिको नाम पनि सोही आधारमा सत्यवती राखिएको थियो । यहाँ मैले सन्दर्भबस मात्र यी श्लोकहरु उत्धृत गरेको हूँ । अन्य सबैजसो इतिहास र पुराणहरुमा यसरी नै वर्णन गरिएको छ । त्यस समयमा पाशुपत क्षेत्रको समेत नामकरण सत्यवतीका नामले आजको नेपालले ख्याति पाएको थियो । गाधीपुत्र विश्वामित्रका पुत्र गालब, संस्कृति, मधुच्छन्दा र अजीगर्तका छोरा शुनःशेफ आदि थिए । आफ्ना पुत्र र शिष्यहरुलाई साथमा लिएर कौशिकी सभ्यता सम्पन्न बनाउने महान् ऋषिहरु विश्वामित्र र जमदग्नि मामा भान्जा नेता थिए भने  गालब शुनःसेफ आदि सहयोगी  थिए । 

प्राचीन प्राग्वैदिक युगमा वर्तमान नेपालभूमिको भौगोलिक संरचना हिमालय, नदीहरु, कबिलायी जन, जनगण ग्राम र जनपदमामा आधारित थियो । पछि कुल, गोत्र वंशमा विकास हुदै वैदिकयुगमा स्वराज्य, राज्य, गणराज्य  राष्ट्रराज्य, वैराज्य र साम्राज्य आदिमा विभाजित थियो । मध्ये युगमा वंशीय, कलीय राज्यहरुमा विकास हुदै नेपाल एकीकरणभन्दा पूर्व बाईसे चौबीसे र कहिं कहिं जातिय गणराज्य रहेका देखिन्छन् । नेपाल एकीकरण पछि मात्र राजनीतिक, प्रशासनिक ईकाईहरु तीब्ररुपमा निर्माण र विकास भएको देखिन्छ । जहानीयाँ निरंकुश राणाशासन, निरंकुश राजतन्त्र र पंचायती शासनको तीब्र दमन उत्पीडन र लोकतान्त्रिक सामाजिक परिवर्तनका आन्दोलनहरुको चेतनाले नेपाली जनतामा क्षेत्रीय जातिय जागरण पैदा भयो । लोकतन्त्र र सामाजिक परिवर्तनका आन्दोलनहरुको उठानसंगै जातिय, क्षेत्रिय भाषिक साँस्कृतिक आन्दोलनहरु पनि संगै उठेका थिए । त्यसलाई मत्थर बनाउनका लागि पंचायती राजतन्त्रले २००७ सालपछि राजनीतिक, प्रशासनिक भौगालिक विभाजन गाउँ, जिल्ला, अंचल र क्षेत्रमा विभाजित गर्दा अधिकांश अंचल, जिल्लाहरु र गाउँहरुको नामकरण नदी, पहाड, पर्वत र धार्मिक साँस्कृतिक ऐतिहासिक सन्दर्भहरुलाई स्मरण गराउने र गौरुवबोध हुनेगरि नै गरिएको थियो । तर पंचायती व्यवस्थाको अन्ततिर निरंकुश राजतन्त्रको तीब्र दमन उत्पीडनले जातिय क्षेत्रिय भाषिक साँस्कृतिक असन्तोषहरु व्यापक बन्दै गईरहेका थिए ।

२०४६ सालको संयुक्त जनआन्दोलनले निरंकुश पंचायती व्ववस्था अन्तगरि बहूदलीय व्यवस्थाको स्थापना भयो । तर ती जनअसन्तोषका मुद्दाहरु यथावत नै रहेकाले तिनै असन्तुष्टिका बीचमा र त्यसैका जगमा २०५२ सालदेखि माओवादी युद्ध शुरु भयो र त्यसैमा माओवादीले राजनीतिक शक्ति आर्जन गर्ने आधार बनायो ।  

२०६२÷०६३ सालको संयुक्त जनआन्दोलनको समयमा लोकतान्त्रिक गणतन्त्रको मुद्दा अहम् भएकोले जातिय क्षेत्रिय मुद्दाहरु राजनीतिक आन्दोलनमा नै समेटिएका देखिन्थे । तर ती मुद्दाहरुमा बाह्य शक्तिकेन्द्रहरुको चलखेल भएकोले आन्दोलनको सफलता पछि पनि ती शक्तिहरुका स्रोत र समर्थनमा मधेश आन्दोलन उठाइयो र त्यसका वरिपरि जातिय आन्दोलन पनि उठाइयो । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सँगै २०६४ सालको निर्वाचनद्वारा संविधानसभा निर्माण भयो र संविधान रचनाको क्रमसंगै अनेक जातिय, क्षेत्रिय, भाषिक र साँस्कृतिक प्रदेशहरु प्रस्तावित थिए । तर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका संविधान जारी गर्नु पूर्व जनआन्दोलनका प्रमुख राजनीतिक शक्तिहरुको सहमतिमा सातवटा प्रदेश बनाउने निर्णयसहित अंकमा प्रशासनिक भौगोलिक विभाजन गरि सबै प्रदेशहरुको नामकरण र स्थायी राजधानीको टुंगो गठन हुने प्रदेशसभाले गर्ने अधिकार संविधानले नै प्रदेशसभालाई प्रत्यायोजन गरेको थियो । 

गत २०७४ सालको निर्वाचनभन्दा पूर्व नेपालका ठूला दूईटा कम्युष्टि पार्टीहरु नेकपा (माओवादी) र नेकपा (एमाले) एकीकृत भई नेपाल कम्युनिष्ट पार्टीले उक्त निर्वाचनमा नेपालको राजनीतिक इतिहासमा नै प्रथम पटक दुईतिहाईको सरकार बनाउन सफल भयो । राष्ट्र, राष्टियता स्वाभिमान र स्वाधीनताको आन्दोलनको इतिहासमा पनि नेपाली जनता र नेपाल राष्ट्रलाई एकताबद्ध बनाउन वर्तमान राजनीतिक नेतृत्व र सरकारले कुशल भूमिका निर्वाह गरेको छ । 

नेपालको संविधान २०७२ घोषणा हुनुपूर्व अस्थायीरुपमा अंकमा सम्बोधन गरिएका सात प्रदेशहरुको नामकरण र स्थायी राजधानीको टुंगो लगाउने  निर्णय पाँचवटा प्रदेशले कुशलतापूर्वक सम्पन्न गरेका छन् र प्रदेश नम्बर एक र दुईको निर्णय गर्न बाँकी छ । सुदूरपश्चिम प्रदेशबाहेक तीनवटा प्रदेशले प्राचीन सभ्यता संस्कृति र ऐतिहासिक महत्त्वलाई झल्काउने गरि नेपालका प्रसिद्ध नदीहरुको नमामा आधारित भएर प्रदेशको नाम र राजधानीको टुंगो लगाए भने भरखरै पाँच नम्बर प्रदेशले पनि प्राचीन लुम्बिनी सभ्यता संस्कृति र महात्मा भगवान् बुद्धको महिमामा गौरान्वित हुनेगरि प्रदेशको नाम लुम्बनी र नेपालको प्रकृतिको वरदान मानिने दांङ्ग देउखुरीको अतिसुन्दर भूमिमा राजधानी तोकेको छ ।   

बाँकी रहेका एक नम्बर र दुई नम्बर प्रदेश पनि नाम र स्थायी राजधानीका टूंगो लगाउन प्रयत्नरत छन् । प्रदेश दुईको नाम र स्थायी राजधानीको निर्णय गर्न नसक्नुको पछाडि मधेशवादी राजनीतिक दलहरुको चरम स्वार्थको  परिणाम हो । एक नम्बर प्रदेशमा नै विश्वको सर्वोच्च शिखर सगरमाथा र  समुद्र सतहदेखि विश्वको सबैभन्दा होचो भूमि केचनाकबच यहीँ पर्दछ । प्रदेश एकको नाम र स्थायी राजधानीको निर्णय गर्न अरु प्रदेशका भन्दा अति सहज देखिन्छ । प्रदेशको नाम प्राचीन सभ्यता संस्कृति र भूमि र नदीहरुका ऐतिहासिक महत्त्व दर्शाउने गरि सप्तकोशी राख्दा कसैलाई पनि अन्याय होला भन्ने लाग्दैन । तर किन ढिलाई गरेको हो भन्ने जिज्ञासासहित कौशिकी प्रदेश नामाकरण गरिनु पर्ने ऐतिहासिक आधारहरु मैले पस्कन खोजेको छु ।

विश्वका मानव सभ्यताहरुमा कौशिकी सभ्यता अतिप्राचीन र सम्पन्न सभ्यता मानिन्छ । नेपालको झण्डै १५ प्रतिशत भूभागलाई छेकेर साना ठूला सयौं खोला र अन्य नदीहरुलाई आफूमा समाहित बनाउदै प्रत्येक कोशी नदीहरु अलग अलग हिमालको चुचुरोबाट निस्किएर नदीप्रणालीमा एकाकार भएर हिमाल, पहाड, फाँट र पहाडका मैदानहरु र मानव बस्तीहरुलाई सुशाोभित बनाउदै आफ्नो प्रवाहका आसपासका भूक्षेत्रलाई उर्बरा र सुसम्पन्न बनाउदै महाभारत पर्वतश्रृंखलाहरु पार गर्दै नेपालको कौशिकी सभ्यताको धरोहर मानिने धार्मिक साँस्कृतिक र ऐतिहासिक धाम बराहक्षेत्र निकट आई पुग्दा विशाल सप्तकोशी महानदी प्रणालीमा एकाकार भएर पूर्वी तराईको चतराधाम हूँदै प्राचीनकाल देखिनै सप्तकौशिकी नामले विख्यात हुदै नेपालको सीमा पार गरेर भारतमा प्रवेश हुन्छ ।    

अरुण वरुण तोमर सुनकोशी आदि सबै कोशी नदीहरुभित्र पर्ने हिमाल, पहाड र तराईका मानव बस्तीहरु अतिप्राचीन सभ्यता र संस्कृतिसंग सम्बन्धित छन्् । सनातन शिवकीराँत सभ्यता र संस्कृतिसंग सम्बन्धित जनगण, जाति जनजातिहरु मूलतः सम्पन्न सभ्यता र संस्कृतिका द्योतक हुन् । गंगा यामुना र सिन्धू सरस्वती नदीदेखि उत्तर पूर्वमा अवस्थित सबै भूभाग मूलतः अतिप्राचीन हिमालय कैलाशको सभ्यततको क्षेत्रमा पर्दछ । यसभित्र हाम्रो कौशिकी सभ्यता विश्वको दोस्रो सभ्यता मानिन्छ । यो सभ्यता र संस्कृति शिवकिराँतेश्वर र माता अम्बाद्वारा संस्थापित संरक्षित र प्रबद्र्वित थियो भन्ने विषय वेद, पुराण र मानवशास्त्रीय इतिहासहरुमा वर्णन गरिएका छ । पृथिवीमा १२ वर्षसम्म पानी नपरेर सम्पूर्ण वनस्पति,जीव जगत्को बिनासकोे अवस्थामा पुगेको हुनाले त्यसलाई रोक्नका निम्ति महर्षि विश्वामित्रले कौशिकीको  तिरमा १२ वर्षसम्म घोर तपस्या गरि वर्षा गराएको वर्णन सबै वेद पुराण र इतिहासहरुमा वर्णन छ । 

नकिंचिदवदत् विप्र मौनव्रतमुपास्थितः ।
अथ वर्षसहस्रं च नोच्छवासन् मुनिपुंगव ।
 तस्य वर्षसहस्त्राणि घोरं तप उपासतः ।। बालकाण्ड ६३ र १५
कौशिकीतीरमासाध्य तपस्तेपे दुरासदम् ।  बालकाण्ड । ६३ ।१४

कौशिकीका तिरमा आएर ऋषि विश्वामित्रले घोर तपस्या गरे । ऋषिको तपस्याका प्रभावलले इन्द्रको आसन डोलायमान भएको थियो । पटक पटक इन्द्रले विघ्न खडा गरेका थिए । तर ऋषि विश्वामित्रले ईन्द्रको शक्तिलाई निस्तेज बनाउदै १ हजार वर्षसम्म स्वासै नफेरी कठोर मौनव्रतधारण गरि तपस्या गरेको हुनाले ब्रह्मर्षि तथा मुनि कहलाइए .......।

यजुर्वेदमा ऋग्वेदका मन्त्रहरुको समायोजन, यजुर्वेदका अधिकांश सुक्तहरुका रचना र गायत्रीमन्त्र, मन्त्रतत्वको आवीष्कार तथा साधना उपासना पद्दति महर्षि विश्वामित्रले यहि भूमिमा संस्थापित र विकसित गरेका थिए । त्यतिमात्र होइन, विश्वकल्याणको संकल्पसहित महर्षि कुशिक, विश्वामित्र, दधीचि, और्व, ऋचीक, जमदग्नि आदि सयौँ ऋषि मनीषिहरुले गायत्रीमन्त्रतत्वसँग माहेश्वर पाशुपत महायोगलाई एकाकार गरि विश्वमानवको आध्यात्मिक, भौतिक, उन्नति, प्रगति एवं समृद्धिमा अद्वितीय योगदान गरेका थिए । 

मानवजातिले इतिहासको जगमा उभिन्छ, गौरव गर्छ, वर्तमानमा पौरख गर्दछ र उसले सुदूर भविष्यको समृद्विको सपना देख्दछ, जीवनयात्राको मार्ग निर्माण गर्दछ । वर्तमान समयमा हामी नेपाल राष्ट, नेपाली जनता उन्नति समद्धि र नेपालभूमिको गौरव बढाउने महाअभियानमा दृढसंकल्पित छौँ । उपरोक्त कौशिकी सभ्यता र संस्कृतिको गौरवमय इतिहासको जगमा उभिएर प्रदेश नम्बर एकको  नामकरण सप्तकोशी गर्नु बांछनीय छ । यो नाम राख्नाले यहाँको दिव्य पवित्र भूमिको महिमालाई अझ अभिवृद्धि गर्नुका साथै प्राचीन सभ्यता र संस्कृतिको उत्खनन र उन्नयन गर्ने अविछिन्नतालाई प्रकट गर्दछ । यो सनातन सभ्यता धर्म र संस्कृति गौरवको प्रतिबिम्ब भएको हुनााले यसले नेपाल र नेपालको सम्मान र गौरव बढाउँने छ । अस्तु ।