महेश मास्के

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल र जनवादी गणतन्त्र चीनले आपसमा कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वार्षिकोत्सव मनाइरहेका छन् । दुवै देशका साथै एसिया र विश्वको इतिहासमा यी ६५ वर्ष अत्यन्त महत्वपूर्ण छन् । यी वर्षमा चीन र नेपालले सामन्ती प्रणालीबाट गणतन्त्रसम्मको परिवर्तनकाल देखेका छन् तथा विगतमा प्रत्यक्ष र अप्रत्यक्ष औपनिवेशिक प्रभावबाट मुक्त रहन दृढ सङ्कल्प र प्रयास दुवै देशबाट भएको छ । स्रोत–साधन कमी भएका कैयौँ विकासशील देशका लागि विशेष गरेर चीन एउटा प्रकाशपुञ्ज भएको छ । चीनको सामाजिक, आर्थिक विकासको जुन रूपरेखा छ ती उसको परिवर्तन भइरहेका परिस्थितिका उपज हुन् । मध्यम आय भएका देशको वर्गमा समावेश हुने प्रयासमा अग्रसर नेपालसमेत स्वास्थ्य र वातावरणीय संरक्षणको क्षेत्रमा अनुकरणीय बन्न सफल छ । नेपाल र चीन दुवै आ–आफ्नो विशेषतायुक्त समाजवाद विकासको आकाङ्क्षा राख्दछन् ।

यस परिवर्तनकालमा दुवै देशबीचको मित्रता प्रगाढ हुँदै आएको छ तथा सहयोगको नवीन मार्ग खोजिएका छन् । दुवै देशबीच सीमासम्बन्धी मुद्दालाई सौहार्दपूर्ण तवरले समाधान गरिएको छ । अनेकखालका दबाब भए पनि नेपाल एक चीन नीतिमा दृढ निश्चयी छ तथा चीनको विश्वास र सम्मान हासिल गर्न सफल छ । चीनको अत्यन्त संवेदनशील र महत्ववपूर्ण भाग तिब्बत स्वशासित क्षेत्रको सिमाना नेपालसँग जोडिएको छ । नेपाल र चीनले यस संवेदनशील सिमानामा जसरी शान्ति बनाइराखेका छन्, त्यो कुनै सानो उपलब्धि होइन । अर्कोतिर नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताप्रति चीन सदैव प्रतिबद्ध छ तथा आवश्यक परेका बेला एक सच्चा मित्रको भूमिका निर्वाह गर्दछ ।

विगतका दशकमा दुवै देशका कैयौँ शीर्षनेताहरूको भ्रमणबाट हामीबीचको सहयोग थप सुदृढ भएको तथा हाम्रो मित्रताले नयाँ उचाइ लिएको छ । पछिल्लोपटक राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको चीन भ्रमण तथा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण तथा ती भ्रमणका अवसरमा भएका सहयोगसम्बन्धी विभिन्न सम्झौता विशेष गरेर मल्टी–डाइमेन्सनल ट्रान्स–हिमालयन कनेक्टिविटी बहुपक्षीय हिमालय पारसंयोजकता ले यस अविच्छिन्न यात्रामा अर्को कोशेढुङ्गा थपेको छ ।

साँस्कृतिक सम्बन्ध : मिथक र विज्ञान
दुई देशका जनताबीच समझदारी प्रोत्साहन गर्नमा जे–जस्ता उपलब्धि प्राप्त भएका छन्, तिनले नेपाल–चीन सम्बन्धलाई “समस्यामुक्त” र “चिरस्थायी” बनाएको छ । मित्रताका यी विशेषतामात्र ६५ वर्षमा सीमित हुँदैनन् । नेपाल र चीन प्रभावशाली हिमालय र ठूला नदीहरू जोडिएका छन् तथा यी दुई देशका जनताबीचको सम्बन्ध प्राग् ऐतिहासिककालदेखिको छ । काठमाडौँ उपत्यकाको संस्कृतिमा पौराणिक दिव्य चरित्र मञ्जुश्री (उहाँलाई चीनमा वेन सु भनिन्छ) लाई विशेष स्थान प्राप्त छ । त्यतिबेला एउटा विशाल पोखरीका रूपमा रहेको काठमाडौँ उपत्यकामा स्वप्रदीप्त स्वयम्भूनाथको पूजाअर्चना गर्न चीनको वु ताई पहाडबाट मञ्जुश्री नेपाल आएको मान्यता रहिआएको छ । चलनचल्तीमा रहेको किंवदन्तीले काठमाडौँ उपत्यकामा सर्वप्रथम मानव बस्ती मञ्जुश्रीद्वारा नै बसाइएको र मञ्जुपाटन नामको सो बस्ती उहाँको तरवार आकारको भएको बताउँछ ।

मिथकलाई पृथक राखेर हेर्दा विभिन्न मतका मानवशास्त्रीले उत्तर–पूर्वको तिब्बत–बर्मिज–मङ्गोलाइड वंशबाट तथा उत्तर–पश्चिमबाट आएका खस जाति मध्यएसिया र पश्चिम चिनियाँमूलका मानिसको देशान्तर गमनमाथि प्रकाश पारेका छन् । तिनीहरू नेपालको आदिवासी किरातसँग अन्तरमिश्रित बन्दै विभिन्न जाति–जनजाति बन्न पुगे । नेपाल र चीनलाई साँस्कृतिक रूपमा नजिक ल्याउनमा बौद्ध धर्मको ठूलो भूमिका छ । यो चीनका तीन महत्ववपूर्ण दर्शनमध्येको एक हो, अन्य दुई हुन्– ताओवाद र कन्फुसियसवाद । भगवान् बुद्धको जन्मथलो लुम्बिनी इसापूर्व पहिलो शताब्दीदेखि नै चिनियाँ धर्मावलम्बीहरूमाझ परिचित छ । सेङ साई, फा सियान, सुआन चाङजस्ता चिनियाँ प्रबुद्ध भिक्षुले लुम्बिनी भ्रमण गरे, काठमाडौँको समेत अवलोकन गर्नुभयो । नेपालका धार्मिक गुरु बुद्धभद्रले इसापूर्व पाँचौँ शताब्दीतिर चीन गएर साओलिन मन्दिरमा प्रथम महन्तका रूपमा जिम्मेवारी सम्हाल्नुभयो र चिनियाँ बुद्ध धर्मका प्रवर्तक बन्नुभयो । पछि भृकुटी र अरनिकोले तिब्बत र चीनमा बौद्ध धर्म, संस्कृति, कला र शिल्पकला विस्तारमा महत्ववपूर्ण योगदान गर्नुभयो । नेपालको चीनका कैयौँ बौद्ध मन्दिरमा नेपालको रञ्जना लिपि देख्न सकिन्छ तथा नेवारहरूको पौभा चित्रहरूद्वारा थाङ्का चित्रहरू प्रेरित थिए ।

प्राचीन रेशममार्ग र नेपाल
बेल्ट एन्ड रोड इनिसिएटिभ मुख्यतया आधुनिक युगमा प्राचीन रेशममार्गको पुनर्जीवन हो, जो भूमि र समुद्र हुँदै गएको थियो । नेपाल त्यस मार्गको भाग थियो र अनुसन्धानकर्ताहरू के दाबी गर्छन् भने कम्तीमा तीन रेशममार्ग नेपाल हुँदै गएका थिए । मुस्ताङका गुफामा फेलापारिएका ममी (पुराना वस्तु)हरूका बारेमा हालैको खोजका आधारमा क्याम्ब्रिजका विद्वान् माग्र्रेटा ग्लिबा र जापानको मकोगावा विश्वविद्यालयका सुसन हैदीले तिनले रेशममार्गको अस्तित्व देखाएको सुझाव दिएका छन् । दक्षिणमुखी रेशममार्ग नेपाल हुँदै चीन र भारतबीच रेशम, ऊन, नुन, सुन र चामलको व्यापारिक प्रयोजनका लागि मात्र नभएर लुम्बिनीमा तीर्थयात्राका लागि समेत थियो । सर्वाधिक प्राचीन र बहुप्रचलित ती रेशममार्गमध्येको मुस्ताङ र कालीगण्डकी करिडोरबाट चीन र भारतबीच व्यापारिक सम्बन्ध रह्यो । काठमाडौँनजिकको दोस्रो मार्ग चिनियाँ दूत वाङ षुुवान से (सन् ६४३) र महान कलाकार अरनिको ९१३औँ शताब्दी०ले पार गरेको देखिन्छ । तेस्रो, खस मल्ल साम्राज्य अवधि (१२–१५औँ शताब्दी)मा हुम्ला÷जुम्लाबाट गएको थियो । आधुनिक युगमा चीन, नेपाल र भारत आर्थिक करिडोरले यस महान् परम्पराको पुनरुत्थान गर्न सक्छ ।

स्थायी राजनीतिक सम्बन्ध
सन् २०१२ मा म नेपालको राजदूत भएर चीन जाँदा ड्रागन वर्षको समय थियो । ड्रागन वर्षमा केही महत्वपूर्ण घटना हुन्छ भन्ने विश्वास चिनियाँ जनताले गर्छन् । उनीहरू गलत थिएनन् । कम्युनिस्ट पार्टी र चीनका नेताका रूपमा सी चिनफिङको उदय भयोे । चीनमा मेरो कार्यकाल अवधिमा मैले राष्ट्रपति सी चिनफिङको उदय तथा जनवादी गणतन्त्र चीनलाई विश्व राजनीतिको केन्द्रमा ल्याउने उहाँको दूरदर्शी नेतृत्व क्षमता देख्न पाएँ । राष्ट्रको कायाकल्प गर्ने चिनियाँ सपनाको अभिव्यक्ति तथा सबैको समान समृद्धि– यसको केन्द्रमा छन् । उहाँद्वारा अगाडि सारिएको बेल्ट एन्ड रोड इनिसिएटिभले विश्वको विकाससम्बन्धी सबै तर्कलाई नयाँ मोड तथा विश्व गठबन्धनलाई नौलो आकार दिएको छ । नयाँ युगमा चिनियाँ विशेषताको समाजवाद सिकाउने विचार उहाँको नामसँग जोडिएर मार्गदर्शनको एक सुस्पष्ट सङ्ग्रहमा विकास हुन पुगेको छ । हालै कोभिड–१९ महामारीलाई उहाँले जसरी व्यवस्थापन गराउनुभयो त्यसले समेत चीनको प्रशंसा भयो । विश्वमा आफ्ना अगाडि आउने विभिन्न चुनौती सामना गर्न वर्तमानमा चीनसँग बलियो नेतृत्व र विश्वासिलो स्थायित्व छ । नेपालको शान्ति र समृद्धिको सपनालाई समेत चीनको स्थायित्वले ठूलो प्रोत्साहन मिलेको छ ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित गरिँदा त्यतिबेलाको राजनीतिक परिदृश्य नितान्त फरक देखिन्छ । द्वितीय विश्वयुद्धपछि पुनर्विचारको, पुनःसङ्गठित हुने र पुनःनिर्माणको अवधि थियो त्यो । औपनिवेशिक फासिवादी शक्तिहरू पराजित भएका तथा उपनिवेशहरूले निर्र्णायक सङ्घर्षका माध्यमबाट स्वतन्त्रता हासिल गरेका थिए । संयुक्त राष्ट्रसङ्घ तथा उसको घोषणापत्र अस्तित्वमा आइसकेको थियो । उपनिवेशवादको विरोधमा तथा भर्खरै स्वतन्त्र भएका देशहरू स्वयम्को पहलमा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ सन्तुलन खोज्न जोडदार भावना जागृत भएको समय थियो त्यो । सन् १९५४ मा चीन, भारत र म्यानमारको पहलमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त अर्थात् पञ्चशील अस्तित्वमा आयो, जुन पछिल्लो वर्षमा बाङडुङ सम्मेलनबाट १० आदर्श सिद्धान्तमा विस्तारित भए । यस पृष्ठभूमिमा बाङडुङ सम्मेलन सम्पन्न भएको केही महिनापछि नेपाल र जनवादी गणतन्त्र चीनबीच सन् १९५५ अगस्त १ मा कूटनीतिक सम्बन्ध स्थापना भयो । पञ्चशीलका सिद्धान्तका सन्दर्भमा, सन् २०१६ मा प्रधानमन्त्री केपी ओलीसँगको उच्चस्तरीय बैठकमा राष्ट्रपति सी चिनफिङद्वारा अभिव्यक्त गरिएका शब्दहरू, “यी सिद्धान्तहरूकै कारण नेपाल–चीन सम्बन्धमा हाम्रो कुनै समस्या छैन ।” मलाई राम्रोसँग सम्झना छ ।

सम्झौता, सन्धि र आर्थिक सहयोग
दुवै देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि कैयौँ सन्धि, सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएका छन् । केही यहाँ उल्लेख गरौँ– सन् १९५६ सेप्टेम्बर २० मा चीनको तिब्बत क्षेत्र र नेपालबीच व्यापार तथा पारस्परिक व्यवहारका लागि जनवादी गणतन्त्र चीन र नेपालबीच मैत्री सम्बन्ध कायम राख्न सम्झौता भएको थियो । सन् १९६० अप्रिल २८ मा शान्ति र मित्रताको सन्धि भएको भयो । दुवै देशबीचको सीमाबारेमा सन् १९६० मार्च २१ मा सम्झौतामा हस्ताक्षर गरिएपछि सन् १९६१ अक्टोबर ५ मा जनवादी गणतन्त्र चीन र ‘नेपाल अधिराज्य’ले सीमा सन्धिमा हस्ताक्षर गरेका थिए । यसैगरी, सन् १९६१ अक्टोबर १५ मा राजमार्ग निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो । प्रधानमन्त्री वेन जिआ बाओको नेपाल भ्रमणको अवसरमा साँस्कृतिक सहयोगसम्बन्धी सम्झौता तथा आर्थिक सहयोगसम्बन्धी सम्झौतालगायत आठ सम्झौतापत्रमा दुवै देशले सन् २०१२ जनवरी १४ मा हस्ताक्षर गरेका थिए । सन् २०१६ मा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका अवसरमा व्यापार र पारवहनसम्बन्धमा एउटा ऐतिहासिक सम्झौतासहित अन्य नौ सम्झौता भए तथा १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरियो । के कुरा विचारणीय छ भने यी सम्झौताले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहयोगका रूपरेखालाई सैद्धान्तिक रूपमा स्वीकार गरेको छ, जसमा सन् २०१७ मा औपचारिक रूपमा हस्ताक्षर गरिएको थियो । अन्य छ सम्झौतासँगै ट्रान्जिट प्रोटोकलमा सम्झौता भयो तथा सन् २०१८ मा राष्ट्रपति भण्डारीको चीन भ्रमण अवधिमा नेपाल र चीनबीच बहुआयामिक ट्रान्स–हिमालयन कनेक्टिभिटीलाई उही बीआरआई सम्मेलनमा एक प्रस्तावका रूपमा पेस गरियो । यसैगरी, सन् २०१९ मा राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला २० सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सन् १९६३ मा काठमाडौँ–कोदारी अरनिको राजमार्गको निर्माणकार्य सुरु भयो । नेपाल र चीनबीच व्यापार र वाणिज्य प्रवद्र्धनमा यो मैत्री राजमार्गको ठूलो महहत्व थियो । सडक, हवाई र समुद्री मार्गबाट व्यापार सम्बन्ध स्थापना भएपछि नेपाल र चीनबीचको व्यापारले अभैm बढी गति लियो तथा वर्तमानमा नेपाल र चीनबीचको व्यापार परिणाम १.७ अर्ब अमेरिकी डलरको छ । नेपाललाई प्राप्त हुने कुल सहायताका लागि द्विपक्षीय विकास साझेदारहरूको सूचीमा चीन शीर्षस्थानमा छ । चीनबाट आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ तथा नेपालमा पर्यटक पठाउनेमा चीन दोस्रो ठूलो देश भएको छ । अहिले सीमापार रेल्वेको निर्माण अर्को यस्तो महत्वकाङ्क्षी योजना हो, जो नेपाली जनताको कल्पनामा बसेको छ । भीमकाय भूखण्ड भएरमात्र यसलाई असाधारण प्रयास र रेखदेख आवश्यक पर्ने होइन, त्यस प्रक्रियामा वातावरण संरक्षणको पर्याप्त सुनिश्चित गरिनु जरुरी छ । साथै यो सम्पर्कको लाभ सर्वप्रथम त्यस मार्गमा पर्ने जनतालाई विशेषगरेर कमजोर आर्थिक अवस्था भएकालाई पुग्ने प्रत्याभूति गरिनुपर्दछ । नेपाल–चीन सीमापार रेल्वे बेल्ट एन्ड रोड इनिसिएटिभले जोड दिएको हरित विकासको मोडेलमा हुनुपर्छ ।

लिपुलेक विवाद
भारतका प्रधानमन्त्री मोदी सन् २०१५ मा चीन भ्रमणमा गएका बेला जारी गरिएको संयुक्त विज्ञप्तिमा लिपुलेकलाई द्विपक्षीय व्यापार केन्द्र र तीर्थमार्गका रूपमा उल्लेख गरिएपछि एउटा विवाद उत्पन्न भयो । नेपालले यसमा आपत्ति जनायो र लिपुलेक नेपालको त्यतिबेलाको औपचारिक नक्साका आधारमा चीन, भारत र नेपालको ट्राइ–जङ्क्सनको नेपालतिर पर्ने भएको बतायो । यस दाबीका बारेमा चिनियाँ पक्षलाई अवगत गराइयो र उहाँहरूले यसबारेमा समुचित अध्ययन गर्ने आश्वासनसहित यदि लिपुलेक मामिलामा नेपाल र भारतवीच सौहार्दपूर्ण समाधान निस्कन्छ भने त्यो चीनलाई स्वीकार्य हुने बताउनुभयो । सुगौली सन्धिले उल्लेख गरेको पश्चिमी सीमा नै एकमात्र आधिकारिक सीमा हो । पाँच वर्षपछि अहिले नेपालले त्यसअनुसार आफ्नो नक्सा सच्याएको छ तथा तद्अनुसार ट्राइ–जङ्सन लिपुलेकभन्दा अभैm पश्चिमसम्म लिम्पियाधुरा भन्ने ठाउमा पर्न गयो । सुगौली सन्धिअनुसार लिपुलेक भनेको नेपाल र चीनबीच नेपालतिर पर्ने सीमा बिन्दु हो । भारतसँगको यस मुद्दालाई समाधान गर्न नेपालले कूटनीतिक पहल गरिरहेको छ ।

आवश्यकताको साथी
एक विश्वासिला मित्रका रूपमा चीन र नेपालले सदैव एक–अर्कालाई सहयोग र समर्थन गरेका छन् । सन् २०१५ अप्रिल २५ मा ७।९ रेक्टर स्केलको भुइँचालो नेपालमा गयो, यसले नेपालमा निकै ठूलो विनाश ग¥यो । यस्तो अवस्थामा चिनियाँ सरकार र चिनियाँ जनताले तत्काल अगाडि बढेर उद्धार र राहत तथा सम्भावित महामारी रोकथाम कार्यमा नेपालको प्रयासमा होस्टेमा हैँसे गरे । चीनले करिब ४८ अर्ब रुपियाँ अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनायो, कुनै देशद्वारा यो सर्वाधिक ठूलो प्रस्ताव थियो । भारतले नाकाबन्दी गर्दाको समयमा नेपाली जनताले चीनबाट भएको समर्थन र सहायता सम्झन्छन्, विशेष गरेर पेट्रोलियम पदार्र्थको आपूर्ति बिर्सन सकिँदैन । दुवै समयमा म चीनमा थिएँ तथा नेपाललाई कसरी चीनले सहयोग उपलब्ध गराउँछ भन्ने राम्रोसँग बुझ्ने अवसर पाएँ । अहिलेको कोभिड महामारीसँग जुध्न गरिएको सहयोग चीनको अर्को प्रशंसनीय अनुकरणीय कदम हो, जसलाई मित्र नेपालले सदा सम्झनेछ । यो स्वास्थ्य रेशममार्ग परियोजनाको एक भाग भएको छ, जसबारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी वाङ यीबीच छलफल भएको थियो ।

छिमेकी देशहरूसँग मैत्री सम्बन्धका माध्यमबाट चीनले शान्तिपूर्ण उत्थान हासिल गरिरहँदा उसको गन्तव्यमा पुग्न नेपालको मित्रता उत्तिकै महत्ववपूर्ण छ । नेपालले समेत शान्ति र समृद्धिको आकाङ्क्षा राखेको छ, जो दुवै देशको साझा अभिलाषा हो । दुवै देश कैयौँ नयाँ चुनौती बेहोरिरहेका छन् । यसर्थ, दुवै देश आपसी समझदारीलाई प्रगाढ गर्ने र मित्रता गहिरो बनाउनतर्फ लाग्नु जरुरी छ । (गोपबाट साभार)

(लेखक चीनका लागि नेपालका पूर्व राजदूत हुनुहुन्छ ।)