पुष्कर कडेल

शिक्षाको चरित्रले नागरिकको चेतना, संस्कार र व्यवहारसँगै देशको चित्र कस्तो बनाउने भन्ने कुराको निर्क्योल गर्छ। यो पक्षालाई ख्याल गरेर हामी अघि बढ्न नसक्दा हिजोभन्दा आज हामी झन पछाडि पर्दैछौं। संस्कृति र प्रकृति मानव जीवन विशिष्ट बनाउनका लागि उपयोग गरियोभने त्यो दिगो हुन्छ। तर मानव जीवनलाई नै सङ्कटमा पारेर न संस्कृति न त प्रकृति नै जोगाउन सकिन्छ। यति सामान्य पक्ष पनि नबुझ्ने नागरिकदेखि नेतृत्वको चेतनालाई समयले तिरस्कार गर्छ र गर्नुपर्छ।

प्रगतिशील चेतनासहितको गतिशीलता र लोकतान्त्रिक राजनीतिक संस्कार असल प्रणालीको जग होभने सम्वृद्धिको मुख्य आधार अनि असल शिक्षा त्यसको मुख्य पूर्वाधार हो। फेरि विज्ञान, सुचना तथा प्रविधिको विकास र प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउँदै प्रगतिको माध्यम बनाउन सकियोभने त्यसले सम्वृद्धिको यात्रा सहज र दिगो बनाउन सहयोग पनि गर्छ। तर यी आदर्शहरू व्यवहारमा लागु हुन सकेका छैनन्। गाउँघरदेखि सिंहदरबारसम्म यसले समस्या नै समस्या सिर्जना गरिरहेको छ। जबकी हाम्रो सोच र व्यवहार समस्याहरू समाधानको गतिलो माध्यम बन्नुपर्थ्यो।

भदौ १९ गते शुक्रबारको घटना आमाले बिहान मोबाईल चलाउँदै गरेको १३,१४ वर्षको छोरालाई अहिले पढ पछि खेल्लास् भनेर छोरासँग मोबाईल मागिन्। उसले मोबाईल नदिएपछि आमाले अब त अति भो भनेर मोबाईल खोसिन्। आमाले मोबाईल खोसिदिएको झोकमा आमालाई तर्साउन छोराले विष खाईदियो। अहिले भरतपुर मेडिकल कलेजको आईसियुमा उ उपचारत छ। ग्याजेटले देशको भविष्य बिगार्दैछ भन्ने प्रमाण हो, यो घटना।

भदौ १८ गते दिउँसो पाटनमा मछिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप, एकजना ट्राफिक प्रहरी माथि गरिएको आक्रमण अनि एक युवाले मेयरको घाँटी छिनाउँछु भनेर दिएको धम्कीले युवा पुस्ताको मनोविज्ञान, चेतना र चरित्र कस्तो छ भनेर चिनाउँछ। अब प्रश्न उठ्छ, सुविधाहरूको प्रयोगका सवालमा हामी निराक्षर कि साक्षर ? हाम्रो शिक्षा त्यस्तो कि चेतनाको स्तर ? अथवा हाम्रो सामाजिक अनुशासन नै त्यस्तो ? हामीले नयाँ पुस्तालाई कस्तो बनाउँदैछौं ? आदि प्रश्नहरूमा केन्द्रीत भएर समाधान खोजिएनभने हामी आजभन्दा भोलि झन ठूलो समस्यामा पर्नेछौं। हामीले व्यवस्थित रूपमा अग्रगमनको यात्रा अघि बढाउन सक्ने छैनौं।

वामदेव गौतम र नारायणकाजी श्रेष्ठ २०७४ सालको आम निर्वाचनमा बर्दिया र गोरखाबाट संसदमा पराजित पात्रहरू हुन्। पाँच वर्षसम्म जनताले सांसद नबन्ने जनादेश दिएका थिए। नारायणकाजी जनमतको अवज्ञा गरेर राष्ट्रियसभा सदस्य बनिसकेका छनभने वामदेव राष्ट्रिय सभा सदस्य बन्न मनोनित कोटा कुर्दैछन्। यसले नेकपाको राजनैतिक दर्शन र नीतिको अवज्ञा गरिरहेको छ। जबकी यी दुई पात्रहरू पार्टीका सचिवालय सदस्य हुन। नेकपा सचिवालयको निर्णयलाई लिएर जनस्तरबाट विरोध भइरहेको अवस्था छ। जनताले गलत निर्णय सच्याउन भन्दैछन्। “नेकपाले क्षयिकरणबाट पार्टीलाई जोगाउने होभने गलत निर्णय सच्याउनु नै पर्छ। जनभावनानुसार वामदेव राष्ट्रिय सभामा नजान तयार होउभने नारायणकाजी राष्ट्रियसभाको सदस्य पदबाट राजिनामा देउ।” नेकपाभित्रको शक्ति संघर्ष र घेराबन्दीमा पर्दा प्रम तथा पार्टी अध्यक्ष केपी ओली सचिवालय बैठकमा वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्न बाध्य देखिए। विधि पद्धतिको दुहाई दिएर नथाक्ने माधव नेपाल पनि पार्टीभित्र ओलीलाई कमजोर देखाउन वामदेवलाई राष्ट्रियसभामा लैजानु पर्छ भन्दैछन्। तर यो निर्णयले प्रम ओली होइन नेकपा नै कमजोर हुन्छभन्ने कुरा बुझेनन्।

यी माथिका तीन उदाहरणहरूले हाम्रो चेतना र राजनीतिको स्तरलाई बुझाउँछ। जसले गर्दा स्वभाविक गतिमा न सरकारले काम गर्न सक्दैछ न त सम्वृद्धिको परिकल्पना पूरा हुनेगरी पार्टी र राज्य संयन्त्रहरू परिचालित हुन सकेका छन् । नागरिकदेखि राजनीतिक नेतृत्वको चेतना र व्यवहार नै अहिले देश सम्वृद्धि बनाउने यात्राको व्यवधान बनेको छ।

हाम्रो चेतना र अपेक्षा अनि व्यवहार र अभ्यासबीच किन तालमेल भएन ? यो प्रश्नको उत्तर नखोजी अन्य उपाय तथा प्रयासहरूले देशको परिस्थिति र नागरिकको मनस्थितिलाई सकारात्मक र रचानात्मक बनाउन सकिने स्थिति देखिएन। आज हाम्रो  मुख्य समस्या भनेकै भुटेको मकै खाएर भएपनि घरको काम गर्नेभन्दा अलिकति मिठोमसिनो खानाको लोभमा परेर पराईको उन्नतिका लागि कार्यशील हुन रमाउनु हो। त्यहि रमाउने क्रममा हामी नेपालीहरू कोही भारततिर त कोही मलेसियालगायत खाडी मुलुकतिर पुग्यौं। अहिले कोभिड १९ को माहामारीपछि घर फर्कन आतुर छौं। समयको बाध्यता बुझ्दैनौं र देशकै बेईज्जत हुनेगरी घर फर्कन पाउँ भन्दै दुतावास घेर्न पुग्छौं। आज घर फर्कन आतुर भएकाहरू भोलि फेरि परदेशिन हतार नगर्लान भन्न सकिंदैन्। यसको पछिल्लो उदाहरण हिजो ठेलमठेल गरेर भारतबाट नेपाल फर्किनेहरू आज भारततिर लर्को लाएर जाँदैछन्।

“नागरिकको चेतना, व्यवहार र संस्कार उसले प्राप्त गरेको शिक्षा [Informal, Formal and Non-formal] को चरित्र र अभ्यासको प्रतिबम्ब हो।” आज त्यसको प्रतिबिम्ब कहिले काठमाडौंको सडकमा देखिन खोज्छ त कहिले विदश स्थित कुटनीतिक नियोगको परिसरमा । कहिले ति सामाजिक सञ्जालहरूमा छरपस्ट हुन्छन् त कहिले सञ्चार माध्यमहरूमा। कहाँ कसरी ति चरित्रहरू देखिएभन्दा पनि किन र कसरी देखियोभन्ने कोणबाट समस्याहरूलाई बुझ्न सकियोभने मात्रै समस्याहरूको दिगो समाधान गर्न सकिन्छ।


गाउँका जनताभन्दा

सहरका जनता

सामान्य जनताभन्दा

पढेलेखेका जनता

लोकतन्त्रका लागि 

खतरा बन्दैछन् ।१।


गाउँका कार्यकर्ताभन्दा

सहरका कार्यकर्ता

तलको नेताभन्दा

केन्द्रको नेता

संवैधानिक व्यवस्थाका लागि

मुख्य समस्या बन्दैछन्।२।


खेतीपाती गर्नेभन्दा

कार्यालयमा काम गर्ने

साना कर्मचारीभन्दा

ठूला कर्मचारी

सुशासनका लागि

बाधक बन्दैछन्।३।


पाटनका जनता र मछिन्द्रनाथको रथ यात्रामा देखिएको विवाद, पराजित वामदेव गौतम र नारायणकाजी श्रेष्ठको राष्ट्रियसभा सदस्य मोह अनि केन्द्रदेखि पालिकाको सिंहदरबारमा बसेर काम गर्ने कर्मचारीहरू। यी तिन सन्दर्भहरूले हामीलाई देशको परिवेसलाई बुझ्न सहयोगमात्र गरेको छैन् समस्याहरू चिन्न र त्यसको समाधानमा उपाय खोज्न पनि मद्दत गरेकोछ। आजको मुख्य समस्या शिक्षा तथा सामाजिक व्यवस्था, राजनीतिक चरित्र, प्रशासनिक र न्यायिक संरचना होभन्ने कुरा राम्ररी बुझाएको पनि छ। यसर्थ “राजनैतिक तथा संवैधानिक व्यवस्था स्थिर बनाउन नागरिकको मनस्थिति र देशको परिस्थिति सकारात्मक बनाउनुका साथै शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणाली पनि प्रगतिशील र जनमुखी हुनैपर्छ।”  

हामीले देशमा दिगो विकास अर्थात सम्वृद्धिको कुरा गरिरहँदा यसले आज दिने प्रतिफलमात्र होइन भोलिका सन्ततीहरूलाई के छोेडेर जान्छौै वा के दिन्छौं भन्ने कुरामा विशेष ख्याल गर्नुपर्छ। आज हामीले विकासे प्रतिफलमा रमाईरहँदा हाम्रा सन्नतीहरू पीडित हुनुपर्छभने त्यो विकासलाई आज अस्विकार गर्नु पनि पर्छ। बर्न्टल्याण्ड कमिसनले भन्छ, “दिगो विकास भनेको भविष्यको पुस्ताहरूको आफ्नै आवश्यकताहरू पूरा गर्ने क्षमतामा सम्झौता नगरी वर्तमानको आवश्यकताहरू पूरा गर्ने विकास हो।” वर्ल्ड कमिसन अन इन्भाइरोन्मेण्ट एण्ड डेभलपमेण्ट १९८७, पाना ४३ आज हामीले दिगो विकासको कुरा गर्दा भोलिको पुस्ताको आवश्यकतालाई पूरा गर्न सहयोग गर्छ कि गर्दैन भनेर विश्लेषण पनि गर्न सक्नुपर्छ।

आजको राज्यले जनअपेक्षाबमोजिम काम गर्न नसक्नुको मुख्य कारण आदर्श, चेतना र अभ्यासबिचको सम्बन्ध नबुझ्नु र सन्तुलन कायम नगर्नु नै हो। हामी नागरिकदेखि नेतृत्वले आफ्नो जिम्मेवारी र दायित्व बुझ्न जति ढिलो गर्छौं त्यति बढी राज्यले क्षति व्यहोर्नु पर्छ अनि नागरिक पीडित भइरहनु पर्छ। कोभिड १९ माहामारीले पारेको प्रभाव र दबावको समय मै आँकलन नगर्दा र नागरिकको तहबाट राज्यलाई सहयोग नहुँदा आज राज्य र नागरिकहरूको काम र कुराको लय मिल्न सकेको छैन्। “शारिरिक स्वास्थ्य ठीक राख्न खानाको स्तर र मानसिक स्वास्थ्य राम्रो बनाउन शिक्षाको स्तर र चरित्र राम्रो हुनुपर्छ भन्ने कुरालाई ठीक ढङ्गले नबुझ्दा खेतीपातीको अभ्यास र शिक्षा प्रणालीमा आधारभूत परिवर्तन गर्ने सवालमा हामीले ठीक नीति बनाउन र अभ्यास गर्न सकेनौं।” उदाहरणको रूपमा रासायनिक मलको अभाव र बन्द शैक्षिक संस्था र बालबालिकहरूको अवस्थालाई लिन सक्छौं।

समय मै मल आएन धानको उत्पादन घट्ने भो हामी सबैलाई चिन्ता छ। यो चिन्ता अस्वभाविक पनि होइन तर शैक्षिक गतिविधि नियमित नहुँदाभने धानको उत्पादन घट्ने जस्तो चिन्ता देखिएन। यसको मतलब हामीमा अल्पकालिन सोच हावी भो, दूरदर्शिता भएन भन्ने नै हो। त्यसैले “बालाको लागि रासायनिक मल नहुँदा वर्ष दिन पिर्ला तर लालाको शिक्षादिक्षा रोकिंदा पुस्ता नै पिरोल्छभन्ने यथार्थ स्विकार्न ढिला नगरौं। शैक्षिक गतिविधि नियमित गर्न वैकल्पिक  विधि खोजे झैं बालीनालीको उत्पादन बढाउन र गुणस्तर राम्रो बनाउन पनि रासायनिक मलको विकल्प खोजौं।”

जहाँ जसरी सम्वृद्धिको सम्भावना छ, त्यहाँ त्यसरी नै आर्थिक गतिविधि नियमित गर्न दिनुपर्छ। हिंडेर सम्वृद्धि आउने ठाउँमा हिंडेर नै सम्वृद्धि ल्याउने गतिविधि गर्न प्रोत्साहित गर्नुपर्छ। दौडेर सम्वृद्धि आउने ठाउँमा दौडेर, गुडेर सम्वृद्धि आउने ठाउँमा गुडेर र उडेर सम्वृद्धि आउने ठाउँमा उडेर सम्वृद्धि ल्याउने र उपभोग गर्ने अवसरलाई राज्यले संरक्षण र सिर्जना गर्नुपर्छ। तर पछिल्ला दशकहरूमा विकासका नाममा ति सम्भवनाहरूलाई सङ्कुचनमा पार्न खोजिएको छ। सडक सञ्जालको विस्तारको नाममा पैदल यात्रा गर्ने क्षेत्र मासिदैछ। जसले गर्दा जोमसोम मूक्तिनाथ, कागबेनी लोमान्थाङ, कागबेनी दामोदर कुण्डजस्ता ट्रेकिङ रूट सडकका कारण मासिदै छन्। त्यो क्षेत्रमा पर्यटकहरूले बिताउने समय घट्दा होटल व्यवसाय, ट्रेकिङ गाइडको पेसा पनि सङ्कटमा पर्दैछ। त्यो क्षेत्रमा मालसमान ढुवानी गर्न परेको समस्या टार्न र चीनको नाकाबाट आयात निर्यात सहज बनाउन रोप वे बनाउनु पर्थ्यो। तर हामीले विकल्प र सम्भावनाहरूको विस्तृत अध्ययन नै नगरी सडक सञ्जाल विस्तार मै रमायौं। 

सम्वृद्धि खोज्दै गर्दा आफ्नो मौलिकता, ऐतिहासिकता र भाषिक, सांस्कृतिक तथा भौगोलिक विविधताको सम्वर्द्धन र प्रवर्द्धन गर्नैपर्ने आवश्यकतालाई पनि ख्याल गर्नु पर्नेछ। प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उचित प्रयोग  गर्दै आर्थिक गतिविध अघि बढाउनु पर्नेछ। सम्वृद्धि भन्ने वित्तिकै ठूला भौतिक संरचना, चौडा सडक अनि गगनचुम्वी भवनमात्र हैन, दूरदर्शी, चेतनशील, विवेकशील र उत्पानशील नागरिकदेखि लिएर नेतृत्व पनि होभनेर बुझ्नुपर्छ। देशले अहिलेको जस्तो युवा नागरिक निर्यात गर्ने मुलुक भनेर चिनिने छैन्। देशको अर्थव्यवस्था आत्मनिर्भरमुखी प्रकृतिको हुनेछ। अनि देशको राजनीति आफ्नो दर्शन, असल र सबल पक्षहरूमा केन्द्रीत हुनेछ।