पुष्कर कडेल

जीवनको मुल्यमा सिद्धान्तको कुरा गर्नु, स्वतन्त्रता र आर्थिक प्रगति खोज्नु मूर्खता होेभनेर नबुझ्दा आज मानव जीवन सङ्कटमा पर्दैछ । अहिले कोभिड १९ ले ल्याएको सङ्कटका कारणले आर्थिक गतिविधि ठप्पमात्र छैन् मान्छेदेखि मान्छे टाढा बनाएको छ । यसले देशमा लोकतान्त्रिक विधिबाट प्रगतिशील रूपान्तरण गर्ने हाम्रो सदिच्छामाथि व्यवधान खडा गरिरहेको छ । यो यथार्थलाई नबुझेर हामीभने भ्रमपूर्ण तर्क र भिंडको आवाजलाई सुन्दैछौ । अपेक्षित गतिमा हाम्रा सदिच्छाहरू पूरा गर्न विवेकसम्मत तरिकाबाट आफ्ना धारणाहरू राखिरहेका छैनौं । असल परिणामका लागि प्राकृतिक तथा सामाजिक नियम र समय परिस्थितिलाई बुझेर प्रतिक्षा गर्नु बाहेक हामीसँग तत्काल कुनैपनि विकल्प छैन् भनेर बुझ्दैनौं । तर दुर्भाग्य नै भन्नुपर्छ, यतिखेर हामी प्रधान विषय जीवनलाई गौण बनाएर दलीय राजनीति, स्वतन्त्रता र आर्थिक गतिविधिको वकालत गर्दै जानेर नजानेर आफूले आफैलाई अप्ठ्यारोमा पार्दैछौं।

सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणका लागि नागरिकदेखि नेतृत्वमा विवेक, विधि र विचारमा सन्तुलन मिलाएर अघि बढ्ने क्षमता हुनुपर्छ । आफ्नो वास्तविक जीवनमा आदर्शअनुरूपको व्यवहार गर्न र समाजलाई असल विचार र व्यवहारबाट निर्देशित गरिरहन सक्नुपर्छ । अनिमात्र समाजमा असल अभ्यासहरूले प्राथमिकता पाउन थाल्छ । अब प्रश्न उठछ, के यस्तो समाज निर्माण गर्न सम्भव छ ? सम्भव छभने कसरी सम्भव छ ? पहिलो प्रश्नले विश्वास खोजेको छभने दोस्रो प्रश्नले असल प्रणालीको अपेक्षा गरेकोछ । तर आजको हाम्रो सामाजिक चेतना र अभ्यासले अपेक्षित विश्वास र प्रणालीको विकास गर्न अवरोध गरिरहेको छ ।

आजको मूल समस्या नेतालाई पद र सुविधा, व्यापारीलाई जसरी भएपनि बढी नाफा, कर्मचारीलाई हाजिर गरेवापत तलब सुविधा र काम गरेवापत भत्ता अनि जनतालाई श्रम नै नगरी आय चाहिएको छ । पत्रकारहरू नकारात्मक बेचेर कमाउन पल्किएको छन् । अव्यवस्था र अस्थिरताको जगमा दाताहरू आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । जसले गर्दा हामीमा सकारात्मक चेतले प्राथमिकता नै पाएन र हाम्रा गतिविधिहरू रचनात्मक हुन सकेनन् । यसर्थ हामीमा आलोचना र विरोध बीचको अन्तर चिन्ने सामार्थ्यको विकास गर्न, श्रम गरेर कमाउने मनोविज्ञान बनाउन र सहयोगी भावनाको वातावरण तयार गर्न नयाँ शिक्षा तथा सामाजिक व्यवस्थाको आवश्यकता झन बढेकोछ । तर मुख्य सरोकारवालाहरू भने यथास्थितिमा अल्झिएर शिक्षा तथा सामाजिक व्यवस्थामा आमूल परिवर्तनको आवश्यकतालाई नजरअन्दाज गर्दैछन् र यो मुद्दालाई कमजोर बनाउँदै छन्।

हामीमा आत्मसम्मान त्यतिखेर मात्र बढ्छ, जब हाम्रो राष्ट्रिय स्वाभिमान बलियो हुन थाल्दछ । व्यक्ति–व्यक्तिको आर्थिक हैसियत र भौतिक सेवा तथा सुविधा उपभोग गर्ने क्षमता बढ्ने तर देशको आर्थिक तथा राजनीतिक हैसियत घट्ने जुन खालको परिस्थिति कायम छ, यसले कुनै पनि असल नागरिक र नेतृत्वलाई सन्तुष्टी दिदैन । बरू यस्तो प्रगतिले उसलाई पीडामात्र दिईरहन्छ । तर आजको सामाजिक चेतनाले त्यो पीडा अनुभूत गर्न दिएको छैन् किनभने खराब शिक्षाको प्रभावले सामाजिक मनोविज्ञान पनि खराब बन्दैछ । अब खराब चेतना र मनोविज्ञान विकास गर्ने शिक्षा व्यवस्था र सामाजिक अभ्यासमा आमूल परिवर्तन गर्ने अभियान चलाउनु पर्ने भएको छ।

हामीले उज्यालो र असल खोज्दै गर्दा अध्याँरो र खराब देखेको र चिनेको हुनुपर्छ । प्रभाव, भावनात्मक दबाव र भिंडहरूबाट प्रभावित भएर होइन, सत्यतथ्य र न्यायमा अडिएर धारणाहरू बनाउने आँट र सोअनुरूपको बानी पनि विकास गर्नुपर्छ । यसका लागि सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा सम्पर्कहरूलाई सकारात्मक तरङ्ग पैदा गर्नेगरी उपयोग गरिनुपर्छ। व्यक्तिगत लाभहानीलाई हेरेर होइन, राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर क्रियाशील हुनुपर्छ । देशप्रति बेइमानी गरेर प्राप्त हुने सेवा, भौतिक सुविधा र उन्नतिले सामाजिक प्रतिष्ठा दिगो बनाउँदैन भन्ने बोध हामी सबैमा विकास गर्ने शिक्षा तथा सामाजिक व्यवस्थालाई अभ्यासमा ल्याउनु पर्छ।

मूल कुरो राज्यले पनि आफ्ना नागरिकहरूलाई देशभित्रै सेवा तथा उत्पादन क्षेत्रमा क्रियाशील हुने वातावरण बनाउँदै तिनलाई नियमित रूपमा सहयोग र प्रोत्साहन गर्नुपर्छ। हामी प्रत्येक नागरिकमा देशप्रतिको मोह, राज्यप्रति विश्वास र आफ्नो असल कामप्रति गर्व गर्ने र सहयोगीहरूप्रति कृतज्ञ हुने बानीको विकास हुनुपर्छ। यसर्थ आफ्ना असल विचार र योजनाहरूलाई गाउँघर समाजमा जानकारी गराउनु पर्छ । यसले सम्बन्धित पक्षको बुझाई सकारात्मक र सहयोग रचनात्मक बनाउन भूमिका खेल्छ । अनि मात्रै चुनौतीहरूलाई सजिलै अवसरमा बदल्न र अपेक्षित प्रतिफल हासिल गर्नेगरी अघि बढ्न सकिन्छ । अपेक्षित प्रतिफल हासिल गर्न व्यक्तिको ईच्छा र प्रयास मात्रै पर्याप्त हुँदैन । सहयोगी हातहरूको भूमिका पनि प्रधान हुन्छ। अन्यथा हाम्रा क्षमता र प्रयासहरू निरर्थक हुन्छन् । यो कोणबाट समस्या र सम्भावनाहरूलाई चिन्ने र बुझ्ने क्षमता हामीमा हुनुपर्छ । व्यक्तिको प्रगतिमा समुहको भूमिका पनि प्रधान हुन्छभनेर बुझ्नुपर्छ । व्यक्तिको चेतना र सम्वेदनशिलता अनि समाजको सामुहिकतालाई एकिकृत ढङ्गले बुझेर अघि बढ्न खोजियो भने असम्भवहरूलाई पनि सम्भव बनाउन सकिन्छ ।

नागरिकलाई असल, सबल र नैतिकवान बनाउने शिक्षा तथा सामाजिक व्यवस्था विकास नहुने होभने भोलिको राजनीति र अर्थनीति आजको भन्दा खराब हुनेछ । सामाजिक परिवेस विकृत बन्नेछ । चुनौतीहरू अझ बढ्नेछन्। प्रशासनिक तथा न्यायिक क्षेत्र अझ बढी विवादित र भ्रष्ट हुनेछ । शिक्षालयहरूले तल्लोस्तरको श्रमिक तयार गरेर युवा निर्यातमा सहयोग गरिरहरने छन् । मूल कुरो “नयाँ पुस्ता आफ्नो सदिच्छा, बाआमाको अपेक्षा र देशको आवश्यकता बीच सन्तुलन मिलाएर जीवनलाई गुणात्मक बनाउन सक्ने हुँदैनन्।” यो खालको स्थिति कायम भएसम्म देशलाई सम्वृद्धिको यात्रामा अघि बढाउन सकिंदैन्। यसर्थ समय मै सबै पक्षहरूलाई ख्याल गरेर कुन–कुन क्षेत्रमा के–के परिवर्तन गर्नुपर्ने हो ? त्यसमा परिवर्तन गर्न हामी मन बचन र कर्मले तयार हुनुपर्छ ।

 

समस्या देखाउन सक्ने, समाधान के हो भन्न नसक्ने जमातको सहयोगमा कुनैपनि शक्तिले अपेक्षित गतिमा परिवर्तन र विकासको यात्रालाई प्रभावकारी बनाउन सक्दैन् । आजको मुख्य नेतृत्वको समस्या नै समस्याको जडलाई बुझ्न र त्यसको समाधानमा आफुलाई ईमानदारपूर्वक क्रियाशील गराउन नसक्नु नै हो । २१ औं शताब्दीको आवश्यकता र मागलाई सम्बोधन गर्न राज्य संयन्त्रहरू बाधक भइरहेका छन् भन्ने यथार्थलाई नेतृत्वहरूले ठीक ढङ्गले मनन गर्न सकेका छैनन्। 

परिणामस्वरूप सामाजिक–आर्थिक रूपान्तरणमा आसातित सफलताको सङ्केत देखिएको छैन् । भलै हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई राजनीतिक पद्धति बनाउन खोज्दैछौं।

आज हामी स्वतन्त्रताको उपभोग गर्दा गर्दै स्वछन्द हुन थालेका छौं। लोकतान्त्रिक गणतन्त्रका मूल्यमान्यता, मर्यादा र सिमाहरूको ख्याल नगरी व्यवहार गर्दैछौं । हिजो विद्रोह र ध्वंसको दर्शनबाट दिक्षित हाम्रो मनोविज्ञानले शान्ति र निर्माणको पथ समात्नै सकेन । जसले गर्दा हामीलाई राज्यले त हामीले राज्यलाई प्रतिद्वन्द्वी देख्ने अचम्मको खराब अभ्यासले प्राथमिकता पाउन खोजेको छ । यसले वर्तमान संवैधानिक र राजनैतिक व्यवस्था जनमुखी बनाउने प्रयासलाई कमजोर बनाउन खोज्दैछ । जुन अस्थिरताको मुख्य कारण बन्दैछ।

सम्वृद्धिको यात्रालाई सहज रूपमा सफल बनाउन आदर्श, ईच्छाशक्ति, व्यवहार र अभ्यासहरूबीच सन्तुलन मिलाउन सक्नुपर्छ । तर राजनीतिक नेतृत्वले आफ्नो प्रतिबद्धताबमोजिम राज्य संयन्त्रबाट सेवा प्रवाह र नागरिकले आफ्नो अपेक्षानुसारको व्यवहार गर्न नसक्दा बेग्लै प्रकृतिको तनावको स्थिति बनेकोछ । त्यसमाथि दलहरूभित्र देखिएको अस्वस्थ, अलोकतान्त्रिक र गुटगत राजनीतिले आसालाई निरासामा बदल्छ कि भन्ने संसय बढेकोछ । यो खालको स्थितिबाट फाईदा उठाउन वर्तमान व्यवस्था विरोधीहरू विभिन्न रूपमा सक्रिय हुन खोजेका छन् । जसलाई मुलधारका सञ्चार माध्यमले बढावा दिंदा आमजनमन भ्रमित हुन खोजेको देखिन्छ। भुषण दाहालको द डेल्टा ब्राभो शो अनि उनको पोसाकले दिएको सङ्केतलाई बुझ्न सकियोभने व्यवस्था विरोधीहरूको चाललाई असफल बनाउन र वर्तमान व्यवस्थालाई अझ प्रगतिशील लोकतान्त्रिक र जनमुखी बनाउँदै “सम्वृद्ध नेपाल सुखी नेपाली” बनाउने परिकल्पनालाई व्यावहारिक रूपमा साकार बनाउन सकिन्छ।

अपेक्षा, जिम्मेवारी र दायित्वबीचको अन्तरसम्बन्ध बुझेर हामीले हाम्रा गलत अभ्यास, व्यवहार र संस्कारहरूलाई सुधार गर्ने चेतना र क्षमता हामीमा विकास गर्न सक्नुपर्छ । मेरो बुझाई र भोगाईमा समस्या हाम्रो शिक्षा व्यवस्थामा नै छ । नागरिकले निष्पक्ष भएर विषयवस्तु र मुद्दाहरूको बारेमा लेख्ने र बोल्ने क्षमताको विकास गर्न सिकाउने मुख्य माध्यम शिक्षा [informal, formal and non-formal] नै हो। तर सहि शिक्षाको अभ्यास नहुँदा हामी भ्रमहरूमा अलमलिन्छौं, भिंडको आवाज र लहलहैमा दौडन्छौं । अनि त हामी आफ्ना लागि आफै समस्या बन्दैछौं । नेपाललाई अस्थिर बनाउँदै आफ्ना चाहानाहरू पूरा गर्न चाहनेहरूका लागि सुवर्ण अवसर बनाउँदैछौं । त्यसैले देशमा स्थिरता, शान्ति र सम्वृद्धि सुनिश्चित गर्न सबभन्दा पहिला हाम्रो मनस्थितिलाई सकारात्मक र व्यवहारलाई रचनात्मक बनाउनु पर्छ । यसका लागि शिक्षा व्यवस्थामा नै आमूल परिवर्तन गर्नुपर्छ।

“गुणस्तरीय शिक्षा विकासको उच्चतम रूप होभने असल नागरिक, स्तरीय सार्वजनिक शिक्षालय, यातायात, सेवा र संस्थाहरू त्यसको सूचक।” भनेर बुझियोभने नागरिकदेखि राज्यले शिक्षा व्यवस्थामा गुणात्मक परिवर्तन गर्न, शिक्षामा लगानी बढाउन र सार्वजनिक क्षेत्रको सेवा सुविधा स्तरीय बनाउन तयार हुन्छ। आज त्यो बुझाईको अभावमा हामी अलमलिएका छौं।  एक व्यक्तिको समर्थन वा विरोधमा समय खेर फाल्दैछौं।

नागरिकको अपेक्षा सदिच्छामा परिणत गरेर त्यसलाई पूरा गर्ने वातावरण बनाउनु नेतृत्वको दायित्व होभने आफ्नो सदिच्छलाई पूरा नभइञ्जेल खबरदारीसहित प्रतिक्षा गर्नु नागरिकको कर्तव्य हो । आफ्नो दायित्व पूरा गर्न नेतृत्वले जिम्मेवारीपूर्वक ईमानदार भएर राज्य संयन्त्रलाई क्रियाशील बनाउनु पर्छभने नागरिकले पनि आफ्नो कर्तव्य पूरा गर्दा सकारात्मक भएर राज्यलाई सहयोग गर्नुपर्छ । आज राज्य देखेर नागरिक त नागरिक देखेर राज्य डराउनु पर्ने स्थितिको विकास गर्न खोज्ने वर्गहरूबाट नागरिक र राज्य दुबै जोगिनु पर्छ।

२०६२/६३ को जनआन्दोलनले बढाएको जनअपेक्षा र नेपालको संविधान २०७२ जगाएको जनताको सदिच्छाहरूलाई सम्बोधन गर्न राजनैतिक तथा संवैधानिक व्यवस्था बमोजिमको प्रशासनिक, न्यायिक र शैक्षिक संरचनाहरू तयार नहुँदा जनप्रतिक्षाको समय लम्बिदैछ । जनप्रतिक्षाको समय जति लम्बिन्छ त्यसले वर्तमान व्यवस्था विरूद्ध लाग्न चाहने वर्गहरूका लागि राम्रो वातावरण बन्दै जान्छ भन्ने ज्ञान राजनीतिक नेतृत्वमा अहिलेसम्म आएको देखिएन । अहिले संविधान दिवस मनाउँदै गर्दा राजनीतिक नेतृत्वले प्रशासनिक, न्यायिक, आर्थिक र शैक्षिक संरचनाहरूमा आमूल परिवर्तनको आवश्यकतालाई बोध गरेर विधिसम्मत तरिकाबाट निर्णयहरू गर्दै कामहरू अघि बढाउन संविधान दिवसले नेतृत्वमा सामर्थ्य र प्रेरणा पनि दिन सकोस्।