शिक्षा व्यवस्थामा निशुल्किकरण र व्यापारीकरण, स्वास्थ्य सेवालाई माफियाकरण, अर्थतन्त्र खुला र उदारीकरण, न्यायलय र सामान्य प्रशासनमा भ्रष्टिकरण र राजनीतिकरण, नागरिकता ऐनलाई खुकुलिकरण अनि दर्शन, धर्म र नीति व्यवस्थामा पश्चिमीकरण बढ्दा हामीले देश कमजोर बनायौं। देश कमजोर हुँदा सुरक्षा निकायहरूले पनि प्रभाव र दबावमा परेर समयको मागअनुसार आफूलाई व्यावसायिक बनाएर परिचालित गर्न सकेनन्। यो यथार्थहरूलाई हाम्रा राजनीतिक, प्राज्ञिक, न्यायिक, प्रशासनिक र धार्मिक नेतृत्वहरूले आत्मबोध गर्न सकेका छैनन्। जसले गर्दा नागरिकहरू पनि विवेकशील भएर भन्दा भ्रम र भिंडको प्रभाव र दबावमा परेर आन्दोलित भइरहने अवस्था बनिरह्यो।

“अन्धो मान्छेलाई आँखा दिनु कुनै ठूलो कुरो हैन। मुख्य रहस्यको कुरो त आँखा हुनेहरूलाई देख्ने कला सिकाउनु नै हो।” ृओशोे मतलब शिक्षित मान्छेलाई साक्षर, विवेकशील र असल परिणामका लागि कार्यशील बनाउनु नै हो। अब त्यो कलाको विकास कसरी गर्न सकिन्छ ? चिन्तन मनन र क्रियाशीलता आवश्यक भएको छ। यसका लागि हामीले संवैधानिक व्यवस्थालाई सफल र परिणाममुखी बनाउने आधार अनि पूर्वाधार के के हुनभन्ने सवालमा वैचारिक र नीतिगत रूपमा स्पष्ट, कानुनी रूपमा व्यावहारिक अनि राजनीतिक रूपमा प्रतिबद्ध हुनुपर्छ। राजनीतिक संक्रमणको चरण सकिएकाले शैक्षिक, न्यायिक, प्रशासनिक र आर्थिक क्रान्तिलाई प्राथमिकतासाथ समानान्तर रूपमा अघि बढाउनु पर्छ।

अहिले हामी जसरी एउटा अनुदानमा आधारित परियोजना एमसिसिलाई लिएर दिग्भ्रमित र विभाजित भइरहेका छौं, यसले हामीलाई कहिं पुर्याउँदैन्। बरू हामीलाई समय, श्रोत र साधनहरूको सदुपयोग हुन नदिएर सम्भावना र अवसरहरूबाट बञ्चित पारिरहन्छ। हाम्रो ध्यान र सामार्थ्य परनिर्भरताबाट अन्तरपरनिर्भरता हुँदै आत्मनिर्भर बन्ने नीति र विधि स्थापित गर्न केन्द्रीत हुनुपर्थ्यो। आज एमसिसि ठीक कि बेठीक भन्ने मुद्दामा हैन, वैदेशिक सहयोग, ऋण र लगानीलाई कस्तो नीति, विधि र प्रणालीले देशको स्वार्थमा भित्र्याउन सकिन्छ भन्ने मुद्दामा बहस केन्द्रीत गरिनु पर्थ्यो। तर हामी विवेक बन्धक राखेर भ्रम र भिंडको प्रभाव र दबावलाई स्वीकारेर रोामञ्चित भइरहेका छौं।

कोभिड १९ का कारणले विश्व हतियारविहिन युद्धमा छ। हामी त्यसबाट अछुतो हुन सकेका छैनौं। तीन महिनादेखि सार्वजनिक क्षेत्रमात्र हैन सामान्य जनजीवन पनि माहामारीबाट प्रभावित र भयभित छ। नागरिकको चेतना र व्यवहार अनि राज्यको क्षमता र प्रभाव सकारात्मक र प्रभावकारी नहुँदा माहारमारीको प्रकोप बढ्दो छ। यसबाट स्पष्ट हुन्छ, राज्य प्रणाली र संयन्त्रहरू सक्षम र व्यावहारिक छैनन् अनि हामी नागरिकका व्यवहार गतिविधिहरू परिपक्व र न्यायोचित हुन सकेका छैनन्। जसले गर्दा २०६२÷६३ को जनआन्दोलन पछिका डेढ दशकमा भएका प्रयासहरूले देश सम्वृद्ध बनाउने बलियो आधार र पूर्वाधार तयार गर्न सकेन। तर दुर्भाग्य नै भन्नुपर्छ, हामी नागरिकदेखि नेतृत्वको चेतले अझैपनि शैक्षिक, आर्थिक, न्यायिक र प्रशासनिक प्रणालीमा भएको नीतिगत त्रुटी र कमजोरीलाई बुझ्न बुझाउन सकिरहेका छैनौं। परिणाम स्वरूप भ्रम र भिंडको प्रभावमा समाज तरंगित भइरह्यो।

नेपालको भौतिक पूर्वाधार विकासमा भएका प्रयास तथा लगानीहरूलाई हेर्दा यसले देशको दीर्कालिन स्वार्थभन्दा पनि दाताहरूको ईच्छा र प्रभाव अनि भारतको दबावबाट निर्देशित भएको देखिन्छ। राष्ट्रिय आवश्यकतानुसार क्षमता र दक्षता विकास नगरी लहलहैमा सुरू गरिएका परियोजनाहरूको अवस्था र प्रगतिलाई हेर्दा स्पष्ट हुन सकिन्छ। जस्तैः मेलम्ची खानेपानी परियोजनामा लागत बढी रहने र समय मै सम्पन्न किन भएन ? सिक्टा र बबई सिंचाई परियोजना खर्चिलो किन बन्दैछ ? द्रुत मार्ग निर्माण कार्यलाई किन विवादित बनाइयो ? निजगढ अन्तराष्ट्रिय विमानस्थल अझै बन्ने वातावरण किन बनेन ? भैरहवामा बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न भएपछि यसको प्रयोग गर्न भारतले सहयोग गर्दैन कि भन्ने चिन्ता किन कायम छ ?

विपी राजमार्ग धुलिखेल–सिन्धुली–बर्दिबास खण्डे जापान सरकारको सहयोगमा बन्यो। तर यो बाटो फोटोमा राम्रो र साना सवारी साधनका लागि उपयुक्त भएतापनि ठूला सवारी साधनका लागि असुरक्षित भएपछि सरकारले यसको चौडाई बढाउने काम गर्दैछ। त्यतिखेर नै दुई लेनको सडक निर्माण गर्न राज्य किन चुक्यो ? सुनिन्थ्यो, भारतको दबावमा परेर सडक साँघुरो बनाइयो। यदि त्यसै होभने हामी भारतको दबावमा किन पर्यौं ? प्रश्नहरू अनुत्तरित छन्। अहिले पूर्वाधार विकासका लागि नेपालले लिने भनेको अमेरिकी सहयोग एमसिसि विवादित बन्नुका पछाडि नीतिगत त्रुटीसँगै भारतीय राजनीतिक दृष्टिकोण हावी भएको देखिन्छ।

चीन सरकारको सहयोगमा चक्रपथ विस्तारको काम दोस्रो चरणमा प्रवेस गरेको छ। पहिलो चरणको निर्माणमा प्रविधिक त्रुटी भएको निर्माण सकिने बित्तिकै थाहा लाग्यो। त्यस त्रुटीलाई सुधार गर्न सडक विभागले काम गर्दैछ। यस्तो किन भयो ? यो त्रुटी नियतवस भएको हो कि नीतिगत ? विस्तृत परियोजना प्रतिवेदन तयार गर्दा नै दीर्घकालिन रूपमा फाईदा हुनेगरी अध्ययन किन गरिएन ? आदि प्रश्नहरू उठेका छन्।

हाम्रा विकास निर्माणका परियोजनाहरू एकातिर समय मै सम्पन्न नहुने र लागत बढाउने अर्कोतिर त्यसको गुणस्तर  पनि नहुने परम्परा जस्तै बनेको छ। राज्यले पनि समय, गुणस्तर र लागतलाई तुलनात्मक रूपमा अध्ययन गर्न नै सकेन। बेथिति, भ्रष्टाचार र ढिलासुस्ती परम्परा जस्तै भएको छ। नागरिकदेखि नेतृत्वको तहबाट यो परम्मरा तोड्ने गरि क्रियाशिलता नै देखाइएन अनि चासो पनि दिईएन। फेरि नकारात्मक पक्षलाई सहजै ग्रहण गर्ने अनि सकारात्मक हुन नसक्ने हाम्रो चेतनालाई जागृत पनि बनाइएन। जसका कारणले सम्भावना, साधन श्रोतहरू पर्याप्त हुँदाहुँदै पनि  हामीले अपेक्षित गतिमा भौतिक प्रगति गर्न सकेनौं। भएका प्रगतिहरू पनि दिगो भएनन्।

आजसम्म हाम्रो विकास जङ्गलमा साल उम्रने र बढ्ने शैलिको भयो। कुनैपनि व्यवस्थित दीर्घकालिन योजना नै बनेन। जति योजना बने र कार्यान्वयन गरिए ति दाताहरूको स्वार्थ र नेतृत्वको प्रभाव अघि बढे। शासन व्यवस्था र नेतृत्वको खराब चरित्रलाई जोगाउन विकासका मोडलहरू अपनाइए। राष्ट्रिय आवश्यकता, जनअपेक्षा र क्षमतालाई पूर्णरूपमा बेवास्ता गरियो र गरिंदैछ। चितवनमा बन्दै गरेको अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला यसको राम्रो प्रमाण हो। क्रिकेट रङ्गशाला देशको लागि आवश्यक थियो। तर कसरी र कहाँ बनाउने अनि राज्यले कति लगानी गर्ने भन्ने सवालमा कुनै विवेक पुर्याइएन। अध्ययन गरिएन। एउटा परिवारको राजनीतिक लाभलाई प्राथमिकतामा राखियो। पूर्वाधार विकासमा खेति योग्य जमिन मास्ने गलत नजिर स्थापित गरियो। देशमा असल प्रणाली स्थापित गर्ने र त्यसलाई मानेर अघि बढ्न न नेतृत्वले आँट देखाए न राज्य संयन्त्रहरूले सुझबुझ देखायो न त नागरिकले नै सकारात्मक र रचनात्मक भएर राज्यलाई सहयोग गर्न चाहे। राजनीति पनि आफ्नो सकारात्मक पक्ष र क्षमताका आधारमा भन्दा अर्को पक्षको नकारात्मक देखाएर गरिंदा नयाँ पुस्ताहरू नकारात्मकभित्र आफ्नो प्रगति खोज्ने भए।

देशको परिस्थिति र नागरिकको मनस्थिति सकारात्मक र रचनात्मक कसरी बनाउनेभन्ने प्रश्नको ठीक उत्तर दिनुभन्दा अघि हामीले तलका प्रश्नहरूमा स्पष्ट हुनु जरूरी छ।

१. दिगो विकास भनेको के हो ?

२. शिक्षित मान्छे कस्तो देखिनु पर्छ ?

३. शिक्षा र साक्षरताको वास्तविक अर्थ के हो ?

४. प्रश्नहरूको सान्दर्भिक र ठीक उत्तर के के हुन सक्छन् ?

५. प्रत्येक व्यक्तिमा निहित सम्भावनाहरूको प्रयोग र क्षमताहरूको विकास कसरी गर्ने ?

हामीले विकासको अर्थ र आवश्यकता बुझ्न र शिक्षित जनशक्ति तयार गर्न शिक्षा र साक्षरताको प्रयोग किन र कसरी गर्नेभन्ने बारेमा स्पष्ट हुनैपर्छ। सम्वृद्ध नेपाल सुखी नेपाली बनाउन अपेक्षित गतिमा देशको प्रगति र दिगो सम्वृद्धि निश्चित गर्ने आधार शिक्षा र पूर्वाधार असल नागरिक र नेतृत्व होभन्ने बुझेर नीतिगत र व्यावहारिक त्रुटीहरू सच्याउनै पर्छ। व्यक्तिको प्रभावमा हैन प्रणालीमा रहेर नीति र कार्यक्रम तय गरिनु पर्छ।