अहिले देशमा कोरोना भाइरस संक्रमणको जोखिम झन् झन् बढेको छ । देशभर वाढी, पहिरो र डुवानका कारण सयौंले ज्यान गुमाएका छन्, सयौं घरवार विहिन हुन पुगेका छन् । तर चोक–चोक, चिया पसल, कार्यालय र मानिसहरु भेट हुँदा यी कुराको चर्र्चा भन्दा अर्कै विषयको चिन्ता र चासो सुन्न र देख्न पाइन्छ । अहिले जमघट, कुराकानी र चिया चौतारो सबैतिर सत्तारुढ दल नेकपाको भविष्य के होला ? पार्टी विभाजन त हुन्न ? नेकपाको ताजा समाचार के छ ? के हुदैछ ? नेताहरु के गर्दैछन् ? सहमति होला त ? सहमती नभए के हुन्छ ? सहमती भए कसरी हुन्छ ? निर्णायक अवस्था आए को कता, कता लाग्लान् ? यी र यस्ता प्रश्नले नेकपाका नेता कार्यकर्ता मात्र होइन सवै जसोमा कौतुहलता देखिन्छ । त्यो भन्दा बढी नेकपाका नेता कार्यकर्ता  निकै विलखमण्डलमा देखिन्छन्– पार्टी फुट्यो–फुट्यो रे , फुट्नै लाग्यो रे । फेरी मिल्ने पो भएछ भन्ने खवरवाट । कुनै समाचारले निकै तनावमा पर्ने नेता कार्यकर्तालाई फेरी अर्को समाचारले शीतलताको पनि काम गर्ने गर्छ । 

नेकपा भित्र देखिएको पछिल्लो विवाद र आन्तरिक संघर्षले पार्टी विभाजन हुने हो भन्ने आम नेता, कार्यकर्ता र शुभचिन्तकमा चिन्ता वढ्न पुगेको हो । हुन त सवैले बुझेको कुरा हो कि यो कुनै सैद्धान्तिक वा वैचारिक विवाद वहस नभएर स्वार्थ केन्द्रित व्यक्तिगत पद र प्रतिष्ठाका लागि मात्र हो भन्ने । एकातिर यसले आम जनतामा समेत निराशा पैदा गरेको छ भने अर्का तर्फ मझौला नेता र कार्यकर्तामा पनि व्यक्तिगत स्वार्थ र आकाक्षांको मात्रा पनि बढाई दिएको छ । साथै, वैचारिक स्खलनताको तस्विर पनि देखाएको छ । हिजोको क्रान्ति, आदर्श मुल्य मान्यता, विश्वास र समाजवादी, साम्यवादी एजेण्डाहरु के जनता र कार्यकर्तालाई झुक्याउन बाडिएका कोरा सपनाहरु मात्र थिए त भन्ने गम्भीर प्रश्न पनि उठाइदिएको छ । हिजोका दिनमा पार्टी, नेता र नेतृत्वलाई आर्दश व्यक्तिका रुपमा लिइन्थ्यो । विगतमा पार्टी, नेतृत्व र आन्दोलन सँग जीवन र भविष्य जोडिएको विश्वासमा कतिपय यही अभियान र आन्दोलनमा ज्यान गुमाए । जुन वेला पार्टीले भनेपछि ‘डु अर डाई’ अर्थात ‘गर वा मर’ भन्ने विश्वासका साथ काममा जुट्ने हुन्थ्यो । पार्टी र नेतृत्व जोगाउन जीवन नै अर्पने अवस्था थियो । तर अहिले यी सवै कुरामा स्खलनता आएको छ । अहिले मलाई के हुन्छ ? भन्ने मुख्य केन्द्र विन्दुमा राख्ने प्रवृत्ति ज्यादै वढेर गएको छ । यसकै प्रतिफलका रुपमा लिन सकिन्छ –नेकपाको अहिलेको विवाद । कतिपय मानिसहरु पार्टी एकता होइन विग्रह होस् भन्ने हेतुले काम पनि गरिरहेका छन् । एकातिर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने अर्कातर्फ पार्टी एक भएर अघि वढोस् भनेर दोहोरो चरित्र देखाउने केहि थान केन्द्रिय सदस्यहरुको नाटक मञ्चन पनि चलिरहेकै छ । त्यो समुह कहिले धुम्बाराही पुगेर यसले लेफ राईट गरेको देखिन्छ  त कहिले खुमलटार, कोटेश्वरको टोपी गुथेर हस्ताक्षर क्याम्पियनको नौटंकी । त्यसो त उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विवाद समाधानका लागि अघि सारेको प्रस्ताव च्यात्न भैसीपाटी पुगेर गरेको प्रहशनले धेरै कुराको पटाक्षेप गरेकै छ । पछिल्लो पटक करिव –करिव विभाजनको डिलमा पुगेको पार्टीलाई उपाध्यक्ष वामदेव गौतमको प्रस्तावले रोकिदिएको छ । र, कार्यकर्तामा गर्मीको धुपमा सिमसिमे पानीको काम गरेको छ भने नेकपा भित्रको विवादले ‘युटर्न’ लिन पुगेको छ । पार्टी विभाजनवाट रोक्न वा  विवाद साम्य पार्न उपाध्यक्ष गौतमको यो छ प्रस्ताव संजीवनी बुटी बन्न सक्छ कि सक्दैन त्यो त भविष्यमा निर्भर छ । तर यसले युद्ध विराम गरेको छ, नेकपाभित्र ।

गौतमको यो अस्त्रपछि नेकपाभित्र चुलिएको विवादका वीच सन्नाटा छाएको । त्यस्तै अत्याधिक नेता कार्यकर्ता, गौतमको यो प्रस्तावलाई विवाद अन्त्य गर्ने चाँबीका रुपमा लिदै आफ्नो समर्थन दर्शाइरहेका छन् । साथै पार्टीभित्र नयाँ समीकरण  देखा परेको छ । गौतमको प्रस्तावपछि पार्टी विवादले कुन रुप लिन्छ त्यो त भन्न सकिदैन तर गौतमको प्रस्ताव संगै सचिवालयमा नेताहरुवीचको गठवन्धन हेराफेरी हुन पुगेको छ । यससंगै पार्टी  अध्यक्ष समेत रहनु भएका  प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदवाट हटाउने प्रस्ताव अघि सार्दै अन्तमा एकपदवाट घुँडा टेकाउने पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनालहरुको रणनीतिको वेलुन फुटेको छ । गौतमको प्रस्तावपछि यो समुहमा चकमन्नता छाएको छ । वहुमतको डण्डा पनि भाच्चिएको छ । मंगलवारको भेलामा उपाध्यक्ष गौतमले खुलेरै दुवै पदवाट प्रधानमन्त्री ओलीलाई हटाउन नहुने वताएपछि नेकपा भित्रको विवादले युटर्न लिन पुगेको छ ।

केही समय यता नेकपा गम्भीर विवादको भुमरीमा फसेको थियो । देश विकासका लागि एउटा दह्रो मुटु भएका र राष्ट्रियताका लागि आफ्नो पदको पनि प्रवाह नगरी लड्ने एउटा राजनेता, नायकका रुपमा मुलुक र जनताले आत्मसात गरेको प्रधानमन्त्री ओलीलाई हठात् हटाउन खोजेपछि पार्टीभित्र विवाद वढ्दै गएर चरमोत्कर्षमा पुगेको  हो । अहिले नेकपा भित्रको लडाई वा विवाद न त कुनै विचारको देखिन्छ नत सिद्धान्तको नै, नत नीतिको नै । केबल पदका लागि हो, जँुगाको लडाई मात्रको हो भन्दै प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउने ग्राण्ड डिजाईन हो भनेर कतिपयहरुको वुझाई रहेको छ । कतिपय राजनीतिक विश्लेषकहरुको वुझाईमा प्रधानमन्त्री ओली अप्ठ्यारोमा नपर्दा सम्म उनले आफुलाई अध्यक्ष दिने छैनन् भन्ने आशंका अर्का अध्यक्ष दाहालसंग छ । त्यसैले यसको निवारण हुनुपर्ने दाहालको मनमा लुप्तरुपमा रहेको छ । त्यती मात्र होइन, प्रधानमन्त्री ओली विरामी हुँदासम्म अध्यक्ष दाहालले धैर्य गरेको र पदलोलुप नवनी उदार वन्दै पुर्व एमाले कार्यकर्ताको भावना तान्ने प्रयासमा रहेपनि दोश्रो पटक मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य झन् राम्रो बन्दै राष्ट्रनायकका रुपमा एकपछि अर्को गर्दै हाइट बढाउने गरी काम गर्दै झन् लोकप्रिय वन्न थालेपछि अर्को कार्यकाल अध्यक्ष र प्रधानमन्त्री पद पनि नछाड्ने हुन् कि भन्ने भयवाट त्रसित भएर प्रधानमन्त्री अप्ठ्यारोमा पर्ने गरी दवाव वढाउने नीति  अख्तियार गरेको  कतिपयको ठोस र वस्तुनिष्ठ वुझाई रहेको छ । यसैले प्रधानमन्त्री ओलीको सम्भावित आकांक्षा र परिस्थितिमा  व्रेक लगाउने भित्रि डिजाईनका साथ अहिले नेकपामा बेमौसमी वाजा वजाउदै हठात् सरकार परिवर्तनको डम्फु वजाउनु अत्यन्तै विडम्वनापुर्ण कुरा हो ।

अव नेकपाको विवाद यसअघि वैशाखमा सम्पन्न सचिवालय वैठकको सेरोफेरो मै रहेर टुङग्याउनुको विकल्प छैन । त्यसैगरी यही साउन ३ गते सचिवालय वैठकमा भएको सहमतिको जगमा टेकेर अघि वढ्न जरुरी देखिन्छ । जहाँ अध्यक्ष ओलीले राखेको अर्लि महाधिवेशन लगायतका विषयमा सहमति जनाउदै त्यस अनुसार विस्तृत प्रस्ताव ल्याउन  अध्यक्षद्धयलाई निर्देशन दिएको थियो । त्यसअनुसार भोलीपल्ट ४ गते सचिवालय वैठकवाट त्यो प्रस्ताव पारित गर्ने र त्यसैका आधारमा स्थायी समितिको वैठकमा लगेर विवाद साम्य पार्ने भनिएको थियो । अहिले नेकपामा देखिएको विधि , विधान, विचार, नीति र नेतृत्व सवै कुराको टुङगो महाधिवेशनले नै लगाउने हो । यसर्थ सवै कुराको निरुपण वा छिनोफानो महाधिवेशनले लगाउने गरी  सवै अघि वढ्नु पर्छ । यसमै सवैको हित निहित छ ।

सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने हो भने अहिले देखि नै सुरु गरिएका गुटका भेला वहश नियन्त्रण गर्न जरुरी देखिन्छ । चाहे अगेना रेस्टुरेन्टका भेला वा खुमलटारका वा कोटेश्वर वा वानेश्वरका होउन् । त्यसो त पार्टीकै कार्यकारी अध्यक्ष र शीर्ष नेताहरु नै गुटका भेला गर्ने, उनीहरुले गुटको भेला आयोजना गर्छन भने पार्टीमा यसले कस्तो संगठनात्मक पद्धतिको विकास गर्दैछ, कस्तो पार्टी संस्कार वस्दैछ वा मातहतका कमिटी र नेताहरुलाई के र कस्तो सिकाउदैछौं भन्ने कुरातर्फ गम्भीर ध्यान दिन जरुरी छ । होइन अव सवै निर्णय वहुमतकै आधारमा गर्ने हो पद्धतीको विकास गर्ने नै हो भने गुटका भेला वहश खुला गरेर धुव्रिकरणलाई वैधानिकता दिने वाटो तर्फलाग्नु पर्छ ।

नीति र नेतृत्व महाधिवेशनले टुंग्याउने कुरा गरिरहँदा त्यस अगाडी गनुपर्ने पार्टीका संगठनात्मक र प्राविधिक पक्ष छदैछन् । त्यससंगै जोडिएको एउटा महत्वपूर्ण पाटो भनेको आगामी एकता महाधिवेशनमा सहमतिका साथमा ग¥यो भने पार्टी एकताका वेला अध्यक्षद्धयले गरेको लिखित सहमतिको एउटा वुँदा हो । पार्टीलाई सहमतिकासाथ अघि वढाउने स्प्रिड र एकताको भावना विपरीत अहिले जुन बहुमतका नाममा डण्डा चलाउने प्रयत्न गरियो  यसले पार्टी एकताको भावना र स्प्रिड दुवैलाई प्रतिविम्ति गर्दैन । त्यसैले महाधिवेशनवाट  अव पार्टीको नीति र नेतृत्व सहमतीय ढंगले टुंग्याउने कि ? वहुमतीय ढंगले भन्ने विषयको पनि छिनोफानो हुन जरुरी छ । अहिले कतिपय शीर्ष नेता र कार्यकारी अध्यक्षको भनाईलाई विश्लेषण गर्ने हो भने अव वहुमतीय ढंगले निर्णय गर्नुपर्छ भन्ने लाइनमा रहेको पाइन्छ । यस अनुसार अघि वढ्ने हो भने महाधिवेशनको परिणाम कस्तो आउछ भन्ने हेक्का राख्न जरुरी छ । होइन सहमतीय रुपले जाने हो भने अहिले पनि त्यसै अनुसार चल्नुपर्छ । र, त्यही अनुसारको रोड म्याप र समझदारी हुनुपर्छ । सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने हो भने अहिले देखि नै सुरु गरिएका गुटका भेला वहश नियन्त्रण गर्न जरुरी देखिन्छ । चाहे अगेना रेस्टुरेन्टका भेला वा खुमलटारका वा कोटेश्वर वा वानेश्वरका होउन् । त्यसो त पार्टीकै कार्यकारी अध्यक्ष र शीर्ष नेताहरु नै गुटका भेला गर्ने, उनीहरुले गुटको भेला आयोजना गर्छन भने पार्टीमा यसले कस्तो संगठनात्मक पद्धतिको विकास गर्दैछ, कस्तो पार्टी संस्कार वस्दैछ वा मातहतका कमिटी र नेताहरुलाई के र कस्तो सिकाउदैछौं भन्ने कुरातर्फ गम्भीर ध्यान दिन जरुरी छ । होइन अव सवै निर्णय वहुमतकै आधारमा गर्ने हो पद्धतीको विकास गर्ने नै हो भने गुटका भेला वहश खुला गरेर धुव्रिकरणलाई वैधानिकता दिने वाटो तर्फलाग्नु पर्छ । लोकतन्त्र वा जनवादको कुरा गर्ने हो भने । तर अहिले नेकपाभित्र ‘कलम वलियो कि तरवार वलियो’ भनेजस्तो वादविवाद प्रतियोगिता जस्तै गरेर विवादलाई तन्काउने काम गरिएको छ । यसले पार्टीलाई फाइदा पु¥याउदैन । यो त केवल  ‘विस्कुन छर्न सजिलो हुन्छ, उठाउन १२ वज्छ’ भन्ने वुढापाकाहरुको भनाईलाई चरितार्थ गर्ने कुरा हो ।
 
अहिले नेकपाभित्रको विवादले राजनीति र नेताहरुप्रति वितृष्णा ल्याउने काम गरेको छ । राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि जनतासँग मागेको मत र गरेको अपिलको उल्लंघन गरेको छ । जनतामा निराशा पैदा गरेको छ । त्यति मात्र होईन वलिदानीपुर्ण संघर्षवाट स्थापित संघिय गणतन्त्रात्मक व्यवस्था, संघीयता, समावेशीता लगायतका प्रणालीमाथि नै यो विवादका कारण प्रकारन्तरमा प्रश्न उठाउने विन्दुमा पुग्न जानेछ । कार्यकर्ताको मनोभावना र जनमतको कदर गर्दै अव नेकपाको विवादको निकास आग्रहपुर्ण, संवेगात्मक र प्रतिक्रियात्मक सोचवाट होइन मुलुकको दीर्घकालीन हित र लोकतान्त्रिक मुल्य मान्यताको पक्षपोषण हुनेगरी जनताको बहुदलीय जनवादको आलोकमा रहेर गर्नु नै सवैका लागि श्रेष्यकर हुनेछ । अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्री ओलीको आगामी यात्रा आगामी महाधिवेशन र आमनिर्वाचनले फैसला गर्ने हो, कुनै भेला, लहड वा कुण्ठाले होइन । यो सवैले हेक्का राखौं । जे होस् सवैको चिन्ता र चासोका साथ हेरेको नेकपाको विवाद जनभावना र कार्यकर्तामा उत्साह ल्याउने गरी समाधान हुनेछ भन्ने सबैले अपेक्षा गरेका छन् ।

                                         (लेखक : न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष हुनुहुन्छ)