प्रा.शंकर प्रसाद भण्डारी

परिवेश 
शिक्षाको विकास विश्वव्यापी साझा मुद्दा हो । राष्ट्रलाई चाहिने उच्चस्तरीय जनशक्ति उच्च शिक्षाको माध्यमबाट उत्पादन गरिन्छ । उच्च शिक्षाको विकास बिना परिवर्तन सम्भव छैन् । जहाँ उच्च शिक्षा सबल र गुणस्तर छ त्यहाँको जनशक्ति पनि सक्षम छन् र देशको विकास पनि द्रुत गतिमा अघि बढेको छ । विश्वमा उच्च शिक्षाई आधुनिकीकरण र ज्ञानमा आधारित समाज निर्माणको मूल साधन मानिएको छ । उच्च शिक्षाको माध्यमबाट नयाँ नयाँ आविष्कार गर्दै आर्थिक प्राविधिक र प्राज्ञिक हिसाबले अब्वल बन्ने प्रतिस्पर्धामा अधिकांश देशहरु लम्किरहेका छन् । प्रति व्यक्ति कुल राष्ट्रिय आयको हिसाबले नेपाल एशियाको तेस्रो गरीब मुलुक हो । नेपाललाई उच्च आयको मुलुक बनाउन सकिन्छ कि सकिंदैन भन्ने बहसमा अल्झनु भन्दा के कस्ता नीति अपनाएर सो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने खोज तिर लाग्नु आजको आवश्यकता हो ।

समृद्ध नेपाल सुखी नेपाली, राष्ट्रले लिएको दीर्घकालीन सोचलाई पूर्णता दिन सामाजिक तथा आर्थिक श्रोतको विकास एवं सुधारको साथै देशको समग्र शिक्षा क्षेत्रको विकास अपरिहार्य छ । आवश्यक दक्ष जनशक्तिको आपूर्ति र उक्त जनशक्तिको परिचालनबाट नै देशको समग्र आर्थिक वृद्धि सम्भव हुन्छ । नेपालले उच्च शिक्षाको माध्यमबाट विश्वस्तरमा भएको नयाँ नयाँ आविष्कार तथा ज्ञानको अनुकरणसंगै आफूलाई रुपान्तरित गर्नु पर्नेछ, प्रतिस्पर्धामा उतार्नु पर्नेछ र विश्वस्तरको सक्षम नागरिक उत्पादन गर्नु पर्नेछ । राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने र प्रविधिलाई आत्मसाथ गर्न सक्ने विश्व नागरिक तयार गर्न शिक्षा आमूल परिवर्तनको आवश्यता छ । नेपालमा प्राविधिक उच्च शिक्षाको भारलाई सार्क मुलुक र अन्य विकसित तथा विकासोन्मुख देशसंग तुलना गर्दा निकै पछि परेको देखिन्छ ।

उच्च शिक्षामा देखिएका मुख्य चुनौतिहरु

१. हाल मुलुकमा आंगिक, सामुदायिक, निजी र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरु संचालनमा छन् । सम्बन्धन प्राप्त क्याम्पसहरु धेरै  छन्,  गुणस्तरीय शिक्षा प्रदान गर्ने, शिक्षालाई समतामूलक र समावेशी बनाउने कार्य जटिल छ ।
२. कमजोर केन्द्रीय व्यवस्थापन, स्वायत्तता, जिम्मेवारी र जवाफदेहिताको कमि
३. अनुसन्धान संस्कृतिमा कमि र यसको उपलब्धी न्यून हुनु, विश्वविद्यालयहरु शिक्षण विश्वविद्यालयको रुपमा मात्र प्रस्तुत हुनु, अनुसन्धानमा बजेटको  अभाव ।
४.प्रतिभाको पलायन, सुशासनमा कमि र सरोकारवालाहरुको कम सहभागिता ।
५.नियुक्तिमा उच्च राजनीति हस्तक्षेप, राजनीतिक पार्टी तथा भातृ संगठनहरुको दवाव र प्रभाव ।
६.दरवन्दीको आधारमा अनुदानको निकासा ।
७.उच्च शिक्षामा भर्ना दर कम, प्राविधिक शिक्षामा भन्दा साधारण शिक्षामा भर्ना बढी ।
८.विज्ञान, प्रविधि, इन्जिनियरि तथा गणित जस्ता विषयहरुमा कम अनुपातमा भर्नाको प्रावधान ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको अवधारणा
समृद्ध नेपाल र सुखी नेपाली आजको जनआकांक्षा हो । प्रविधिको कारणले उत्पादनमा आएको परिवर्तनले  अन्तराष्ट्रिय बजार निकै प्रतिस्पर्धी छ । नेपालबाट उत्पादित बस्तु तथा सेवाहरु अन्र्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न नसक्दा मुलुकको अर्थतन्त्र व्यापक धरापमा छ । समृद्ध नेपाल र सुखि नेपालीको परिकल्पना साकार पार्न नेपालले नयाँ ज्ञान र उत्पादनको प्रविधिलाई अंगाल्दै भईरहेको ज्ञान र प्रविधिलाई अध्यावधिक गर्न जरुरी छ । 

मानवीय मूल्य र मान्यताप्रति प्रतिवद्ध शिक्षित नागरिक समृद्धिका लागि पूर्वाधार हो । विश्वविद्यालयको अपेक्षित उपलब्धिहरु र देश विकासका आवश्यकताहरु बीच तालमेल हुनु अपरिहार्य छ । पछिल्लो समयमा ज्ञान र प्रविधिको विकास अभूतपूर्व गतिमा भइरहेको कारणबाट उच्च शिक्षा र आर्थिक विकास बीचको अन्तरसम्बन्धले एकातर्फ उच्च आयको मुलुक बन्न उत्कृष्ट विश्वविद्यालयहरु विकास गर्ने आवश्यकता तर्फ ईंकित गर्दछ भने अर्को तर्फ उच्च आयको मुलुकसंग प्रतिस्पर्धी हुनको लागि तुलनात्मक रुपमा कम समृद्ध मुलुकहरुले पनि उत्कृष्ट विश्वविद्यालयहरु विकास गर्नु पर्दछ भन्ने देखाउदछ । सिंगापुर, स्वीजरल्याण्ड, नेदरल्याण्ड्, ईजरायल आदि नेपाल भन्दा सानो क्षेत्रफल र कम जनसंख्या भएका देशहरु हुन् । ति देश प्राकृतिक श्रोतमा धनी समेत छैनन् । यी देशहरुको समृद्धिको मूल आधार ज्ञान र प्रविधि सिर्जना गर्ने उच्चतम क्षमता हो । यस अनुभवलाई आत्मसात गरेर नेपालले विश्वस्तरीय विश्वविद्यालय विकास गर्ने पहल तिब्र गतिमा गर्नु पर्छ भन्ने हाम्रो ठहर छ । मदन भण्डारी तथा प्रविधि विश्व विद्यालयलाई विश्वस्तरीय विश्वविद्यालय बनाउने अभियान यसैको उपज हो । यसलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रस्तावित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय अनुसन्धानमा आधारित हुने भएकोले यसले नयां ज्ञानको खोजी गर्न सक्ने जनशक्ति उत्पादन गर्ने छ । यसरी उत्पादित जनशक्तिवाट उत्पादनको प्रविधिलाई लागु गरी आधुनिक मुलुकको निर्माणमा महत्वपूर्ण भूमिका रहने छ । यो विश्व विद्यालय संचलनमा आएपछि देशको समृद्धिको लागि सारथिको रुपमा योगदान गर्ने परिकल्पना गरिएको छ । 

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको दुरदृष्टि, गन्तव्य र लक्ष्य

दुरदृष्टि :अनुसन्धानमुखी विश्वस्तरीय विश्वविद्यालयको रुपमा स्थापीत भई समृद्ध नेपाल र सुखी नेपालीको आधार निर्माण गर्न योगदान गर्ने 

गन्तव्यः नेपालको महत्वपूर्ण आर्थिक क्षेत्रहरुका विकासका लागी आवश्यक पर्ने जिवन उपयोगी ज्ञान र शिप प्रदान गर्नुको साथै मानविय मूल्य र मान्यतालाई आत्मसात गर्दै युवा जनशक्तिलाई अनुसन्धान र अन्वेषणका लागी शिप प्रदान गर्ने । 

लक्ष्यः दू्रत गतिमा भईरहेको नयाँ ज्ञान र प्रविधिको सिर्जनाले गर्दा किताबी ज्ञानको सान्दर्भिकता घट्दै गइरहेको छ । यसको लागि अध्ययन अध्यापन मौजुदा ज्ञान र सीपमा निपूणता हासिल गर्नमा भन्दा खोजीको माध्यमबाट समस्याहरु पहिचान र समाधान गर्ने क्षमता विकास गर्नमा केन्द्रीत हुनु पर्दछ । बजारको चर्को प्रतिस्पर्धा सामना गर्न सक्षम जनशक्ति उत्पादनको लागि प्र्राध्यापकले अरुले नजानेको ज्ञान र सीप अर्थात अनुसन्धानमा आधारित नयाँ ज्ञान र सीप सिकाउन सक्नु पर्दछ । अर्को शब्दमा उच्च शिक्षाका प्राध्यापक तथा विद्यार्थी अनुसन्धानमा सरिक हुनु अपरिहार्य छ । उच्चस्तरीय प्रविधिको प्रयोगबाट उत्पादनको गुणस्तर उच्च बनाउन सकिन्छ । उच्च प्रविधिमा आधारित बस्तु र सेवाको उत्पादनको माध्यमबाट चाडो समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने दृष्टान्त मनन गर्दै उच्च शिक्षण संस्थाहरुको अनुसन्धान क्षमता सुदुढीकरण गर्नु आजको प्राथमिकता हो । उपर्युक्त तीनबटा प्रवृत्तिले खडा गरेको चुनौती समाधानमा केन्द्रीत गर्दै नेपालको अर्थतन्त्रमा प्रयोग हुने ज्ञान र प्रविधिको स्तरोन्नति गर्न सघाउने हेतुले विश्वस्तरीय अनुसन्धानमुखी विश्वविद्यालयको रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई विकसित गर्ने लक्ष्य राखिएको छ । 

यस विश्वविद्यालयका मुख्य विशेषताहरु 
केही अपवाद बाहेक मुलुकमा विद्यमान सबै विश्वविद्यालयको शासकीय संरचना एकै प्रकारको रहेको छ । पटक पटक विद्यमान शासकीय संरचनाका कमजोरीबारे चर्चा भए पनि यसमा सुधार हुन सकेको छैन । विद्यमान विश्वविद्यालका ऐनमा व्यवस्था भएका शासकीय संरचनाका मूल वाधक  कमजोरीहरुलाई हटाएर विश्वस्तरीय विश्वविद्यालयको रुपमा विकास गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको प्रारुप तयार पारिएको छ । विश्वविद्यालयको प्रस्तावित विधेयक अनुसार यसका मुख्य विशेषताहरु निम्न छन् :

नेतृत्व चयन 
नेपालमा दलीय राजनीतिको लागि लाभहानीको आधारमा विश्वविद्यालयको नेतृत्व चयन गर्ने परिपाटीले गर्दा विश्वविद्यालयको नेतृत्वबाट महत्वपूर्ण निर्णयहरु प्राज्ञिक लाभहानीको सट्टा दलीय राजनीतिक लाभहानीको आधारमा हुने परम्परा बसेको छ । नेतृत्व चयन दलीय राजनीतिबाट टाढा राख्नु यस विश्वविद्यालयको पहिलो विशेषता हो । यस्तो भूमिका निभाउनको लागि संरक्षक समितिको व्यवस्था गरिएको छ । संरक्षकहरुले स्वयं सेवकको रुपमा काम गर्ने छन् । विश्वविद्यालयबाट संरक्षकहरुले सम्मान पाउँछन् भने संरक्षकहरुबाट विश्वविद्यालयहरुले निस्वार्थ सेवा ।

संरक्षक समिति 
मौजुदा विश्वविद्यालयहरुबाट अपेक्षित उपलब्धि नहुनाको प्रमुख कारण मध्ये एक व्यवस्थापनको रेखदेख र सुपरिवेक्षणका साथ साथै व्यवस्थापनलाई सहयोग गर्ने भरपर्दो व्यवस्था नहुनु हो । विश्वविद्यालयको विधेयकमा प्रस्तावित शासकीय संरचनाका तीन प्रमुख अंगहरु विश्वविद्यालय व्यवस्थापन, संरक्षक समिति र संघीय सरकार हुन् । विश्वविद्यालय व्यवस्थापन भित्र संरक्षक समिति बाहेकका विश्वविद्यालयका सबै ईकाइ, पदाधिकारीहरु तथा कर्मचारीहरु पर्दछन् । संरक्षक समिति १९ सदस्यीय हुनेछ । पहिलो पटकको लागि नेपाल सरकारले र तत्पश्चात संरक्षक समितिबाट मनोनित हुने व्यवस्था गरिएको छ । संरक्षकहरूले संरक्षकहरू मध्येबाट सभापतिको छनौट गर्नेछन् । 

व्यवस्थापनको जवाफदेहिताको संरचना 
विश्वविद्यालयको नेतृत्व नियुक्ति र नियम पारित गर्ने कार्यमा कुलपतिको हैसियतले प्रधानमन्त्रीे सहभागी हुने व्यवस्था भएकोले विश्वविद्यालयका महत्वपूर्ण निर्णयहरुमा हाल सरकारको सहभागिता   छ । यस संरचना अन्तर्गत नत सरकारले विश्वविद्यालय सभालाई जवाफदेहि बनाउन सक्दछ नत सभाले विश्वविद्यालय नेतृत्वलाई । प्रस्तावित विधेयकमा विश्वविद्यालय व्यवस्थापन स्पष्ट रुपमा संरक्षक समिति प्रति जवाफदेही बनाइएको छ । विश्वविद्यालय नेतृत्व, संरक्षक समिति र नेपाल सरकारको कार्य क्षेत्र छुट्याएर स्पष्ट जवाफदेहिताको संरचना स्थापित गर्ने व्यवस्था प्रस्तावित विधेयकको छ ।   

आन्तरीक शासकीय प्रणाली निर्धारण 
विश्वविद्यालय ऐनको मुख्य प्रयोजन सार्वजनिक जवाफदेहिता सुनिश्चित हुने गरी विश्वविद्यालय संचालनको लागि कानूनी व्यवस्था गर्ने हो । विद्यमान ऐनहरुमा सार्वजनिक जवाफदेहिता सुनिश्चित  गर्न आवश्यक भन्दा बढी विस्तृत रुपमा विश्वविद्यालयको आन्तरीक शासकीय प्रणाली तोकिएको  छ । विश्वविद्यालय व्यवस्थापन सुधारको लागि आन्तरीक शासकीय प्रणाली परिवर्तन गर्न पनि ऐन संसोधन गर्नु पर्ने विद्यमान शासकीय प्रणालीको कमजोरी हो । संरक्षक समितिलाई आन्तरिक शासकीय प्रणाली तोक्ने अधिकार प्रदान गरेर शासकीय सुधार सरल पार्ने प्रस्ताव विधेयकको अर्को विशेषता हो । 

सम्बन्धन प्रणाली हटाउने
सम्बन्धन प्रणालीले वहुसंख्यक प्राध्यापकहरुलाई पाठ्यक्रम निर्माण, पाठ्यसामग्री तयारी र विद्यार्थी मूल्यांकन कार्यमा सहभागी हुने अवसरबाट बञ्चित गर्दछ । यस्तो व्यवस्थाले प्राध्यापकलाई अनुसन्धानमा सरीक हुनु प्रेरित गर्दैन । नयाँ ज्ञान र प्रविधि विकास गर्ने विश्वविद्यालयको महत्वपूर्ण दायित्व भएको जमानामा सम्बन्धन प्रणालीले विश्वविद्यालयलाई यस्तो क्षमता विकासमा वाधा पु¥याउँछ । सम्बन्धन प्रणाली म्याद गुज्रेको प्रणाली हो । नेपालमा जस्तो प्रकारको सम्बन्धन प्रणाली भारत, बंगलादेश र पाकिस्तानमा मात्र छ । सम्बन्धन प्रणाली तथा सम्बन्धन प्रणाली जस्तै आंगिक क्याम्पसको व्यवस्था हटाउने प्रावधान प्रस्तावित विधेयकमा गरिएको छ ।  

नतिजाको आधारमा अनुदानको व्यवस्था 
हाल विश्वविद्यालयको लागि अनुदान नतिजाको आधारमा नभइ दरवन्दी र वार्तालापको आधारमा निर्धारण गर्ने परिपाटी छ । यस्तो व्यवस्थाले लगानीबाट उच्चतम प्रतिफल निकाल्न उत्साहित गर्दैन । त्यसकारण नतिजा समावेश भएको सूत्रको आधारमा विश्वविद्यालयलाई अनुदानको व्यवस्था गर्ने र विश्वविद्यालयलाई आय आर्जनमा संलग्न हुन छुट दिने प्रस्ताव विधेयकमा गरिएको छ ।

नियुक्ति वा मनोनयन गर्न सकिने
विश्वविद्यालयलाई उल्लेखनीय योगदान पु¥याउन सक्ने विदेशी नागरिक वा गैर आवासीय नेपाली नागरिकलाई विश्वविद्यालयका तोकिएका पदहरुमा, अध्यापक वा अनुसन्धानकर्ताको रुपमा काम गर्न नियुक्ति वा मनोनयन गर्न सकिने व्यवस्था प्रस्तावित विधेयकको अर्को महत्वपूर्ण विशेषता हो । 

कार्यक्रम तथा प्रगति
१.मदन भण्डारी विश्वविद्यालय नेपाल सरकारको मिति २०७५ बैशाख १० को विकास बोर्डको गठन आदेशबाट स्थापित भएको हो । यसको पुर्वाधार विकासका लागी अध्यक्ष सहित ६ सदस्यीय पुर्वाधार विकासवोर्डको गठन गरि कार्य प्रारम्भ गरिएको छ । विश्वविद्यालयको प्रस्तावित विधेयक हाल संसदमा पारितको प्रक्रियामा छ ।
२.विश्वविद्यालयको लागी नेपाल सरकारले मकवानपुर जिल्लाको चितलाङमा करिब १८० रोपनी र काभ्रेको पाँचखाल र नमोबुद्धमा गरी १०७८७ रोपनी जग्गा उपलब्ध गराएको छ । बाँकी केही जग्गाहरु पनि प्राप्तिको प्रक्रियामा छन् ।        
३. विश्वविद्यालयको केन्द्रीय कार्यालय हाल चितलाङमा रहने गरी कार्य प्रारम्भ गरिएको छ र यसको  नाम “मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय चितलाङ” रहनेछ ।
४.चितलाङमा वातावरणीय प्रभाव र त्यसको मूल्यांकनका लागि ठेकेदारसंग सम्झौता भैसकेको छ । काभे्रमा जग्गाको विस्तृत आंकडा लिन द्रोन सर्वेको प्रक्रिया अघि बढेको छ । 
५.चितलाङमा ८०० वर्ग मिटरकोे वहुउदेश्यियभवन बनाउन यस आर्थिक वर्ष २०७६/०७७ देखि निर्माण कार्य प्रारम्भ गरिंदै छ ।
६. पानीको व्यवस्थापनका लागि करीब रु ३५ लाखको लागतमा ट्यूवेलको निर्माण यस आर्थिक वर्षको कार्यक्रममा समावेश गरिएको छ ।
७.चितलाङमा करीब ४,००० विद्यार्थीका लागि गुरु योजनातयार भएकोमा पहिलो चरण अन्तर्गतको पहिलो प्याकेजमा करीब ३०० विद्यार्थीका लागि आवश्यक भवनहरुको विस्तृत डिजाईनको लागि यस आवमा परामर्शदाता छनौट गर्ने र काभ्रेमा आव २०७७/७८ मा पहिलो चरणमा करीब १,२०० विद्यार्थीका लागि भौतिक सुविधा तयार गर्ने कार्यक्रम रहेको छ ।
८.विद्यावारिधिकार्यक्रम आव २०७७/७८ को अन्त सम्ममा शुरु गर्ने र अनुसन्धानमा आधारित स्नात्तकोतर कार्यक्रम  आव २०७८/७९ को मध्य सम्ममा शुरु गर्ने । स्नात्तकोतर अन्तर्गतः पर्यटन पूर्वाधार, पहाडी पूर्वाधार, प्राङ्गानिक खाद्यपदार्थ, जलश्रोत तथा उर्जा र सूचना सञ्चार प्रविधि जस्ता आर्थिक क्षेत्रहरुको विकासलाई टेवा पु¥याउने  कार्यक्रमहरु प्रारम्भ गर्ने लक्ष्य छ ।
 
सारांश 
अन्तर्राष्ट्रिय विकासको अनुभवले म्याद गुजे्रका वा विकासलाई वाधक मूल्य मान्यता वा विचारधारालाई त्यागेर विकासको लागि साधक मूल्य मान्यता वा विचारधारा अंगाल्न सकेका देशहरुले प्रतिफलमा उच्चतम फड्को मार्न सकेको देखिन्छ । नेपाली समाजको समाजवाद रुपान्तरणका लागि मुलुकको शिक्षा प्रणाली श्रम र उत्पादनसंग जोडिएको, गुणात्मक र प्रतिस्पर्धी हुनु आवश्यक छ । समृद्ध नेपाल सुखी नेपालीको जनआकांक्षा साकार गर्न २०२१ साल सम्ममा नेपाललाई उच्च आयको मुलुक बनाउनुको विकल्प छैन । उच्च प्रविधिमा आधारित गुणस्तरीय सामानको उत्पादन र सेवा समृद्धिको आधार हो । यसको लागि विश्वस्तरीय अनुसन्धानमुखी विश्वविद्यालय विकास गर्न अपरिहार्य छ । यस्तो विश्वविद्यालय विकास गर्नु अत्यन्त चुनौतीपूर्ण कार्य हो । त्यसकारण मदन भण्डारी विश्वविद्यालयको विकासका लागि वाधक सबै मूल्य मान्यता त्याग्ने दृढ अठोट आवश्यक छ र यसको लागि नयाँ मूल्य मान्यतामा आधारित शासकीय संरचना प्रस्ताव गरिएको छ । यस्तो संरचना वेगर प्रस्तावित विश्वविद्यालयलाई विश्वस्तरीय विश्वविद्यालयको रुपमा विकास हुन सक्दैन । 

मदन भण्डारी विश्वविद्यालयलाई क्रम भंग गरी छलांग मार्ने प्रयोगको रुपमा लिनु पर्दछ । उपर्युक्त बमोजिमको विश्वास, प्रतिवद्धता र अठोटको आधारमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विधेयक तयार पारिएको छ । यसको सफलताले समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य हासिल गर्न मद्दत पुग्ने छ ।         

(लेखक: मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्य हुनुहुन्छ)