कविता अधिकारी
काठमाडौं, १७ मंसिर
– एसिया प्यासिफिक शिखर  सम्मेलमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितालाई लिएर नकारात्मक प्रचार भएपछि वास्तविकता बुझन मन लाग्यो । हल्ला थियो– सरकारले खुलेआम क्रिष्चियनधर्मको प्रचार गर्न सहयोग ग¥यो । कुनै एउटा धर्मलाई यसरी खुलेआम सपोर्ट गरेर प्रचारगर्नु सरकारको कमजोरी हो भन्ने लागेको थियो । 

ह्यात होटलमा भइरहेको कार्यक्रम स्थलमा शनिबार र आइतबारका केही झलक हेरिसकेपछि प्रष्ट पनि भयो जसरी बाहिर प्रचार गरिएको थियो वास्तविकता त्यस्तो थिएन । कार्यक्रमको अन्तिम दिन अर्थात हिजो केही सञ्चारमाध्यमहरुले विहानै समाचारका माध्यमबाट फुकिसकेका थिए । प्रधानमन्त्री केपीशर्मा ओली पत्नी सहित मेडम मुनको हातबाट आर्शिवाद थाप्दै छन् । 

चर्चित मिडियाबाट समाचार सम्प्रेषण भएपछि अन्य धेरै मिडियाकर्मीलाई पनि त्यस क्षणको कभरेज गर्ने उत्सुकता हुने नै भयो । ह्यात होटलको पूर्वपट्टी बनाइएको ठूलो हलमा प्रवेश गदै गर्दा अगाडीको पर्दामा ठूलो भिडियोमार्फत यसअघि नेपालमा भएका गतिविधिहरु देखाइरहेको रहेछ । भिडियोमा देखाइएको थियो तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला, डा. बाबुराम भट्टराई, परमानन्द झा, तत्कालिन सभामुख तारानाथ रानाभाट लगायतले प्रमुख आतिथ्यता गरेको । भिडियोमात्र हैन, तस्विरहरुमा पनि देखिन्थ्यो शेरवहादुर देउवा, रामचन्द्र पौडेल, सुजाता कोइराला, कमल थापा, विश्वप्रकाश शर्मा लगायत अधिकांश नेताहरुसमेत विदेशमा भएका यस्तै कार्यक्रममा सहभागी भइसकेका थिए ।

अनि यी सबै गतिविधि हेरिसकेपछि भन्न मन लाग्यो, त्यही संस्थाले विदेशमा आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुन जाँदा विवादित संस्था र व्यक्ति भन्ने भएन, आज नेपालमा आयोजना गरेको कार्यक्रम भने धर्मप्रचारक गर्न सहयोग गरेको भन्दै प्रधानमन्त्रीलाई मुछ्ने ?

आइतबार दिउँसो दुइबजे आर्शिवाद ग्रहण गर्ने भनिएको कार्यक्रममा मेयर उपमेयर लगायत धेरै अन्य समुदायको जोडी समयमै पुगिसकेका थिए तर त्यस कार्यक्रममा प्रधानमन्त्री भने देखिनुभएन । काठमाडांै बाहिरबाट आउने जोडीहरुलाई त्यहाँ आउनुको उदेश्यबारे बुझ्न खोज्दा धेरैले भने, परिवारमा सुख शान्तिभन्दा ठूलो उपलब्धि  अरु के नै छ र ? हो, त्यही विश्व शान्ति र परिवार शान्तिलाई महत्व दिएर विश्वभरिको अनुभव सुन्न मात्र हामी यहाँ परिवारसहित आएका हौ तर क्रिश्चिय धर्मको प्रचारका लागि सहभागि भयो भनेर नकारात्मक प्रचार गरियो । प्रचारमा आएको जस्तो प्रधानमन्त्री आर्शिवाद थाप्न ह्यात जानुभएको थिएन । दुईदिने एशिया प्यासिफिक समिटमा सहभागि भएका विदेशी पाहुनालाई विदाइ गर्न र पुनः नेपाल आउन निमन्त्रणा गर्न बेलुकी हलमा प्रवेश गर्नुभएको थियो  । 

समापन कार्यक्रममा सहभागि प्रधानमन्त्री ओलीलाई युनिफिकेसन चर्चकी प्रमुख हक जा मुनले १ लाख डलर राशिको सम्मान दिइन । तत्कालै प्रधानमन्त्री ओलीले बालबालिकाको भलाईका लागि खर्च गर्ने घोषणा गर्नुभयो ।

सम्मेलनमा सहभागी हुन विश्वका ७ मुलुकका सरकार तथा राष्ट्र प्रमुख नेपाल आएका थिए् । त्यस्तै ५ जना प्रथम महिला, १० जना पूर्व राष्ट्र÷सरकार प्रमुखहरू, १ जना वर्तमान उपप्रधानमन्त्री, ७ जना मन्त्री, ५ जना संसदका सभामुखहरू तथा उपसभामुखहरू सम्मेलनमा सहभागी थिए । कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सिलर नेतृ आङ सान सूची आफ्नै विमान लिएर आएका थिए । कम्बोडियाको टोलीसँग द्विपक्षीय छलफलपछि नयाँ समझदारीसमेत भयो । अन्य मुलुकसँग पनि द्विपक्षीय वार्ता भए । 

नेपाल सरकारलाई विना खर्च  संसारभरका राष्टप्रमुखहरुसँग साक्षत्कार गर्ने अवसर मिल्यो । त्यस्तो बेला सम्मेलनमा सहभागिता जनाउन आउने विभिन्न मुलुकका प्रतिनिधि मण्डलबाट कसरी फाइदा लिने भन्ने कार्यमा प्रतिपक्षी दल र मिडिया पनि सहयोगी हुँदा राम्रो हुन्थ्यो ।  

नेपाल सरकारको ‘समृद्ध नेपालः सुखी नेपाली’ को दूरदृष्टिलाई सहयोग गर्नु शिखर सम्मेलनको मुख्य एजेन्डा थियो । शिखर सम्मेलनको बेला हुने द्विपक्षीय तथा बहुपक्षीय भेटघाटले पारस्परिक लाभ नेपालले लिन सक्नु पर्ने हो । यसरी हुने वार्ता र छलफल नेपालको नयाँ कुटनीतिक अबसरको रुपमा लिनपनि सकिने थियो । सम्मेलनमा सहभागी हुन आउने राज्य र सरकार प्रमुखको प्रतिनिधिमण्डलमा विदेशी लगानीकर्ता, मिडियाकर्मी तथा उद्यमीहरूको ठूलो संख्यामा सहभागिता थियो । कतिपय राष्ट्रका प्रमुखहरु पहिलोपटक नेपाल भूमि टेक्न पाएका थिए । तिनीहरूले आपसी लाभप्रद ब्यापारिक अबसरहरूको खोजी गर्न छलफल पनि अगाडि बढाएका छन् । 

विभिन्न ४५ मुलुकका १५०० प्रतिनिधि एकै पटक नेपालमा भेला हुनु सामान्य थिएन । जनसंख्याको हिसावले सबैभन्दा कम जनसंख्या १६ सय १८ जना जनसंख्या भएको नियुयि देशदेखी ठूला जनसंख्या भएका देशको पनि सहभागिता थियो । उनीहरुले स्वदेश फर्केपछि नेपालका बारेमा आफ्नो मुलुकमा गर्ने सकारात्मक प्रबद्र्धनले नेपालको पर्यटन प्रचारमा पनि टेवा पुग्ने नै छ ।

त्यस्तो अबसर नेपालले आफ्नै खर्च गरेर गर्न जुटाउन प्राय असम्भवजस्तै हुन्छ । कार्यक्रममा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, नागरिक समाजको भूमिका, जलवायु परिवर्तन,संचारमाध्यमको भूमिकाबारे छलफल भए् । सञ्चारमाध्यमले उठाउनुपर्ने मुद्दा अनि विश्वमा यसको प्रभावका बारेमा विश्वका ४५ राष्टका समाचार दाताहरुसँग भएको छलफल झनै रोचक थियो । 
युनिभर्सल पिस फेडरेशन भन्ने संस्थामा क्रिस्चियनहरु होलान् तर सरकारले त्यसलाई प्राथमिकतामा राखेको थिएन । सरकार प्रमुखका रुपमा विदेशबाट आएका पाहुनालाई स्वागत र सम्मान गर्नु नेपालको कर्तब्य थियो । सरकारले नराम्रो गर्यो भने खवरदारी गर्र्नुपर्छ तर बास्तविकता बुझेर मात्रै । कागले कानलग्यो भन्दै त्यसको पछि दगुर्ने हैन, पहिला आफ्नो कान छाम्ने बानी बसाल्नुपर्छ ।