काठमाडौं, १९ साउन–१५ जना चलचित्र पत्रकारको प्रत्यक्ष सहभागितामा चलचित्र सम्बन्धी नेपाली फिल्म अवार्ड नेफा–२०१९ आयोजना हुने भएको छ । राजधानीमा एक समारोहबीच अवार्डको घोषणा गर्दै उनीहरूले अवार्डमा सहभागिताका लागि २०७५ सालमा प्रदर्शन भएका नेपाली चलचित्रलाई आह्वान गरेका छन् ।

नेपालमा चलचित्र सम्बन्धी दर्जन अवार्ड पुगेको बेला नयाँ थपिकएको यो अवार्ड केही फरक गर्ने आयोजकको दाबी छ ।

आगामी कात्र्तिकमा नेफा अवार्डलाई बलामी फिल्म इनटरटेन्मेन्ट र नेफा मिडिया गु्रपले आयोजना गर्ने घोषणा गरेको छ । नेफाका लागि चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सहकार्य रहने आयोजक पक्षको भनाइ छ ।

२ करोड लागतमा अवार्ड समरोहलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने आयोजकको दाबी छ ।

यो अवार्ड ५ विधा दर्शकको मतको आधारमा र १४ वटा विधा निर्णायकको निर्णयको आधारमा प्रदान गरिने पनि आयोजक पक्षले जनाएको छ । यो अर्वाडको निर्णायकमा निर्माता आकाश अधिकारी, अभिनेत्री सरिता लामिछाने, अभिनेता अनुप बराल, सञ्चारकर्मी निर्देशक फुलमान बल र छायाँकार विष्णु कल्पित रहेका छन् ।

एक अग्रज सिनेकर्मीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहितको लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने पनि आयोजक पक्षले जनाएको छ ।

पाँच विधामा पपुलर अवार्ड प्रदान गरिने र यो अवार्ड अभिनेता, अभिनेत्री, फिल्म, चलचित्र गायक र चलचित्र गायिकालाई प्रदान गरिने भएको छ । यस्तै प्रतिस्पर्धी १४ विधाअन्तर्गत फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, नव अभिनेता, नव अभिनेत्री, सह अभिनेता, सह अभिनेत्री, छायाँकार, ध्वनि डिजाइन, पटकथा, छायांकन, संगीतकार र आदिवासी जनजाति फिल्मलाई प्रदान गरिनेछ ।