प्रा.डा. बद्रीविशाल पोखरेल 
   धेरैजसो नेकपाका नेताहरु चाडपर्वहरुको सर्वप्रांचीनता ,ऐतिहासिकता तथा मौलिकताका बारेमा न्यून चेतनाका रहेको यस लेखकको अनुभव रहेको छ । तिनले अहिले पनि दसैँलाई वडा दसैँ,विजया दशमी, तिहारलाई दीपावली आदि भनिरहन्छन् । तर तिनलाई चाडपर्वहरुको अन्तर्य,सार सौन्दर्य परिवर्तित भइरहन्छ । आरम्भिक कालमा दसैँ तिहार लगायत  सबै चाडपर्वहरु कृषि,पशु लगायत कठोर  श्रममय जीवनमा तन र मन दुवै रमाउनका लागि वा पुनर्ताजगी प्राप्त गर्न सुरु गरेका हुन् । 

कठोर परिश्रम पछि शारीरिक पुनर्ताजगीका लागि  पौष्टिक खाद्यान्न सेवन सहित आराम अपरिहार्य हुन्छ भने  थाकेको मनलाई उर्जा दिन नाच,गान र बजान अपरिहार्य हुन्छ ।  त्यसैले  चाडपर्वहरु आदिम मानवले शारीरिक र मानसिक थकानहरु  मेट्न सुरु गरेको देखिन्छ ।  यसरी पुर्खाहरुले अनेक संस्कार संस्कृति निर्माण गरेका हुन् । किनभने मानिस नग्न पशुवत् खुल्ला खुलस्त दैनिक जीवन व्यतीत गर्दैन र उसलाई यसो गर्न सुहाउँदैन । त्यसैले मानवको मात्र संस्कृति र संस्कार हुन्छ । शोकमा दुःखी हुनु र खुसीका क्षणमा सुखको अनुभूति गर्नुृ र तदनुसार अनेक खालका सामान्य र सरल संस्कार गर्नु मानवोचित छ र हुन्छ तर म समयानुकूल संक्षिप्त,सरल तथा वैज्ञानिक  क्रियाकर्म, श्राद्ध पनि  गर्दिन भन्नु संस्कृति नबुझ्नु हो । 

कृषि र पशु पालन लगायत श्रममय सबै कर्मका थकान मेट्नका लागि चाडपर्व  सुरु गरिएको हो ।  तथापि  तात्कालीन समाजको न्यून चेतनाका कारण  चाडपर्व सम्बन्धी कतिपय विषयमा ईश्वरीय अलौकिक शक्ति सम्मिश्रित हुनपुग्यो । जनताको यही कमजोरीलाई आधार बनाएर सामन्तवादले विभिन्न धार्मिक पौराणिक ग्रन्थहरु मार्फत् आफ्नो नायक राजा,राजतन्त्रलाई ईश्वरका अवतारका रुपमा प्रस्तुत गर्न थाल्यो ।  विगत  तीन हजार वर्षदेखि पूजा,पाठ र पुराण आदिका आधारमा जनतालाई प्रशिक्षित ग¥यो ।  यसको परिणाम चाडपर्वहरुमा सामन्तवादी चरम रुढीवादी चिन्तन,चेत र चरित्र हाबी र प्रभावी मात्र होइन जन मनमा जब्बर हुनगयो । विशेषतः सनातन, हिन्दू वा कथित आर्य धार्मिक चाडपर्वहरुको ऐतिहासिकता तथा मौलिकता समाप्त प्राय पारियो । यसले गणतान्त्रिक युगमा पनि वडा दसैँ छोटा छैट हुन्छ र ? 

सामन्तवाद र यसका नायकले अङ्गीकार गरेको धर्म संस्कृति तथा चाडवाडलाई वर्ग स्वार्थ अनुकूल परिचालित गराएको स्पष्ट देखिन्छ । शान्तिदूत बुद्ध जस्ता नेपाल र नेपालीको गौरव र गरिमा विश्व सामु बढाउने बौद्ध धर्मले राजालाई विष्णुको अवतार नमानेको हुँदा यस धर्मलाई सामन्तवादले काखी नच्यापेको स्पष्ट हुन्छ । त्यसैले राजाले मान्ने चाड दसैँलाई  चाहिँ वडा भन्न थालियो । किन भने राजाका पत्नी वडा,उनका घर दरवार,उनले भात खाँदैनन् भुजा ज्युनार गर्छन् । एबं रीतले वडा दसैँ भनिएको वास्तविकता बिर्सेर कतिपय कमरेडहरु वडा दसैँ भनिरहेको सुन्नुपर्छ । दसैँ लगायत चाड पर्व बालीनाली लगाउँदा,बाली हुकिँदा,बाली फल्दा र बाली घरमा ल्याएर थन्क्याई सकेपछिका अवसरहरुमा खुसियाली स्वरुप  मनाएको देखिन्छ ।

न्वाँगी यस्तै खालको पर्व हो । उभौली उधौली किराँत,सुनुवार,राई,याख्खा जातिको महान् चाड,वसन्त ऋतुमा बालीनाली राम्रो होस् सुस्वास्थ्य होस्,विपत्तिहरु नआउन् भनी साकेवा,साखेवाशिली गर्दै नाच्दै प्रकृति पूजा ,कृषियुग सुरु भएपछि प्रचलनमा आएको पर्व , बाली लगाउने बेलादेखि अन्न बाली पाकिसकेपछि खुसियाली मनाउँदै  वर्षमा दुई पटक बाली लगाउने र थन्क्याउने अवसरको यो चाड हो । यस पर्वमा खोरिया फाँडेको,अन्नबाली लगाएको र गोडमेल गरेको जस्ता कृषिकर्मजन्य नृत्य अभिनय गरिन्छ ।  दसैँ असोज शुल्क पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमा सम्म मनाइने पर्व हो । दसैँ कृषि कर्म र त्यसको समापन पछि उत्साह,खुसी र पुनर्ताजागी प्राप्त गर्न सुरु गरिएको पर्व हो ।

झलनाथ खनालले केही वर्ष अघि एक लेखमार्फत् रातो टीका र जमराको प्रयोग सम्बन्धमा लेखेको एक लेख अनुसार अनुसार रातो टीकाको प्रयोग  शिकार,कन्दमूल र आहारका लागि आपसमा दुई कबिला पक्षका बीच भिडन्त हुँदा विजित पक्षले खुसियाली स्वरुप हारेका, घाइते तथा मरेका कविलाको रगत टीका लगाउने उपक्रमसितै रातो टीका लगाउने उपक्रम सुरु भएको हो ।  खनालकै अनुसार सर्वप्राचीन अन्नबाली   अन्न जमरा हो र यो  बाली लगाएर त्यसको जमरा भरर उम्रिएको खुसीमा आदिम कृषकले जमरा टाउकोमा र शिरमा सिउरिने परिपाटीबाट सुरु भएको भन्ने पनि भनाइ रहेको छ । 

सामन्तवादी संस्कृति हाबी हुनाले गर्दा  स्वस्थ्य मनोरञ्जन सहित पुनर्ताजगी प्राप्त गर्न सुरु गरिएका पर्वमा अमुक एक धार्मिक,समाजिक,साम्प्रदायिक र तथा सांस्कृतिक एकछत्र प्रभाव पारियो ।   समय क्रममा दसैँ दुर्गा देवीले राक्षस राज महिषासुरलाई बध गरेको,रामले रावणमाथि विजय गरेको जस्ता एउटा खास धर्म र संस्कृतिकरण गरिएको देखिन्छ । दसैँमा मानव समाजका प्राचीनतम पक्षहरु समाविष्ट छन् । दसैँलाई आयुध वा अस्त्र  पूजाका रुपमा  पनि लिइन्छ । यो मानव जीवनको प्रकृति र हिंस्रक जनावर सित लड्ने साधन हो ।  त्यसैगरी यस पर्वमा मातृसत्ताको अवशेष स्वरुप दुर्गा पूजा रहेको मान्न सकिन्छ । तर आदि माता दुर्गा मात्र होइनन् र तिनको मात्र पूजा,भक्ति र श्रद्धा गरिने विषय एउटा अति हो,एक धर्म र संस्कृतिको प्रतीक हो । तर आदि माताको कुरा गर्दा हाम्रो जस्तो बहुसांस्कृतिक समाजमा धेरै समुदाय सित सम्बन्धित आदि माताहरु विद्यमान छन् । दुर्गा,युमा,सुम्निमा,पाथीभरा आदि  अनेक मातृशक्ति नेपालमा रहेका छन् । ती सबलाई एउटै थलोमा राखेर वा तिनका प्रतीक निर्माण गरेर सामूहिक शोभायात्रा र पूजा सहित  सबै नेपालीको चाडका रुपमा दसैँ मनाउन सकिन्छ ।  दसैँको रातो टीका विजय,शुभ र उत्साहको प्रतीक हो भने सेतो शुभ्रता र स्वच्छताको  प्रतीक हो ।

आदिवासी जनजातिले लगाउने दसैँको सेतो टीका यस्तै खालको प्रकृति पूजकहरुले लगाउने टीका हो । किनकि रङको आविष्कार,प्रयोग र व्यापकता धेरै पछि भएको हो । टीका त सौन्दर्य र शान्ति तथा समृद्धिको प्रतीक हो । अझ ऋषिमुनिहरुले लगाउने गरेको निधारमा चन्दनको टिका शीतलताको प्रतीक हो । राजतन्त्रात्मक मुलुक नेपालमा दसैँको पहिलो टिको राजालाई अर्पण गर्ने परम्परा समेत सुरु गरियो । राजालाई प्रदान गरिने टीका घरको मूल खाँबोमा पहिले लगाएर मात्र  परिवार जनले  टीका लगाउने लगाउने परम्परा थियो । त्यसैले दसैँ जस्ता पर्वहरुमा समयक्रमा भित्रिएका आजको समयका लागि अनुपयुक्त पक्षहरुलाई बिर्सिएर वा तिनलाई रुपान्तरण गरेर आम नेपालीको चाडका रुपमा विकसित गर्न जरुरी देखिन्छ । 
    
तिहार कात्र्तिक कृष्ण त्रयोदशीदेखि कात्र्तिक शुक्ल द्वितिया सम्म पाँच दिन मनाइने चाड हो । तिथिबार र त्यौहार हुँदै तिहार शब्द निर्मित तथा प्रचलित बनेको मानिन्छ । यो पर्व पनि कृषि कर्मको एउटा चरण पूरा गरेपछि पुनर्ताजगी प्राप्त गर्न मनाउन सुरु गरिएको चाड हो । तर यसको मूलमर्म यो संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा अझै ओझेल परेको छ । यो  युगान्तकारी पर्व हो ।  मातृ प्रधान समाजमा यौन सम्बन्ध स्वच्छन्द थियो । एउटै माताका सन्तानहरुका बीच विवाह हुन्थ्यो तर मानव त नरपशु हो अर्थात् पशुमध्येको श्रेष्ठ पशु हो   । त्यसैले मानव  र मानव समाजले ढिलै भए पनि पशुवत् वृत्ति,व्यवहार र बेहोरालाई नियन्त्रित तथा अनुशासित ग¥यो । 

 यही थिति बसाल्ने क्रममा विवाह परम्परामा विधि,पद्धति र अनुशासनको खोज ग¥यो । सर्व प्रचीन वेद वा ग्रन्थ  ऋग्वेदमा यम यमी नाम गरेका जुम्ल्याहा दाजु बहिनीको संवाद छ । त्यहाँ दाजुसित तरुनी भएकी बहिनी यमीले यौन सम्बन्ध गाँस्ने प्रस्ताव राख्छिन् तर दाजु यमले तिमी यसका कामका लागि अर्कै पुरुष खोज अब आइन्दा यस्तो काम गर्नु हुँदैन भनेका छन् । त्यसैगरी उद्दालक ऋषिकी आमालाई बाबुकै अगाडि अर्को एक ऋषिले यौन चाहनापूर्ति गर्न तत्कालीन मान्यता अनुसार हात समाएर तान्न खोज्दा उद्दालक ऋषिले प्रतिवाद गर्दै यस्ता  रीत र प्रथा  गर्न पाइन्न भनेको देखिन्छ । उनै ऋषिपुत्रले  हरेक नारीले आफ्नो सत्मा बस्नुपर्छ भनेको देखिन्छ । 

प्रसिद्ध संस्कृतिविद् डा. जगमान गुरुङले १८९६ सालमा मुख्तियार रङ्गलालले पश्चिम नेपालको भ्रमण गर्दा त्यहाँ जैसी बाहुनहरुमा भान्जी अर्थात् फुपूकी छोरीसित मामाका छोराहरुले विवाह गर्ने प्रचलन विरुद्ध रुक्का वा आदेश पत्र जारी गरेको उल्लेख गरेका छन् । यस्ता अवशेषहरु नेपालमा अझै पनि पाइन्छ । कुमाइ बाहुन समाजमा सगोत्री विवाहको प्रचलन पाइन्छ । दक्षिण भारतमा अझै पनि भान्जी विवाह अर्थात् मामा चेला र फुपूचेली दाम्पत्य सम्बन्ध गाँस्ने प्रचलन रहेका बताइन्छ । नेपालका कतिपय जातिहरुमा अहिले पनि मामा चेला फुपूचेला सम्बन्ध गास्ने परम्परा रहेको देखिन्छ  । तिहार जस्तै चेली माइती बीच  एक अर्कामा आत्मीय र अदरपूर्ण सम्बन्ध कायम गर्ने पर्व सामाचखेवा हो । यो चाड कात्र्तिक शुक्ल पञ्चमीदेखि ११ दिनसम्म मनाइन्छ  ।  यो पर्व  महोत्तरीलगायत मिथिला क्षेत्रमा मिथिला नारीले आफ्ना दाजुभाइको गुणगान गर्ने पर्व हो । समापनका दिन दाजुभाइलाई विभिन्न परिकार खुवाइन्छ । अनि दाजुभाइले दिदी बहिनी हरुलाई यथाशक्ति आर्थिक भौतिक जिन्सी उपहार स्वरुप प्रदान गरिन्छ ।  तिहार जस्तै दिदीबहिनी र दाजुभाइका बीचको आदर र सम्मानपूर्ण व्यवहार गर्ने पर्व  जितिया हो । 

यो पर्व पनि असोज कृष्ण पक्षको सप्तमीदेखि नवमी सम्म मनाइन्छ । राखी पर्व पनि तिहार वा भाइटीकाकै अर्को रुप हो । चासोक ताङनाम मंसीर १९,२० र २१ गते चासोक माने न्वागी र तङनाम माने चाड भनेर मनाइने चाड हो । हलसारो र हलेरो पर्व धान रोप्न सुरुगर्ने र कतै कतै भदौमा पनि मनाइन्छ । अर्थात् कृषि बाली लगाइसकेपछि यो चाड मनाइन्छ । मकर संक्रान्ति वा माघे सँग्राती पनि कृषि कर्मपछि खाद्यान्न घरमा थन्क्याइ सकेपछि माघ महिनामा मनाइने  पर्व हो । नेवार समुदायले मनाउने म्ह ह पूजा अर्थात् शरीरको पूजा भोलिका दिनमा विगतझैँ जोस र जाँगरका साथ श्रममय जीवनमा संघर्ष गर्ने शक्ति प्राप्त गर्न गरिने पुनर्ताजगी पर्व हो । यो पर्व पनि लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कात्र्तिकमा नै पर्छ ।  चाडपर्व अन्तर्गत रहेका सर्व प्राचीन यथार्थ पक्ष र  परम्परा शिक्षाका लागि बिर्सन हुँदैन । समयक्रममा भित्रिएका अतिवादी धार्मिक र सांस्कृतिक परम्पराहरु हुबहु अवलम्बन गरेर चाडपर्वहरु आम नेपालीका लागि स्वीकार्य हुँदैनन् तिनका समय सापेक्ष रुपान्तरण गर्दै जानुपर्छ । 

संस्कृतिमा तत्कालीन राजनीतिको कुप्रभाव परेको हुन्छ । यस्ता कुप्रभाव अक्षरशः पालना गरेर गणतन्त्र स्थपित र सुदृढ हुन सक्तैन । र यसको समुन्नत संस्कृति निर्माण गर्ने कुरो त धेरै परको कुरा हुन्छ ।   अहिले पनि तिहारका अवसरमा यमराज वा धर्मराज बहिनी यमुनाका घरमा गएर टीका लगाएको प्रसंगमात्र उल्लेख गरिन्छ । जब कि जगमान गुरुङले यम भनेको नियम पनि हो यो यौन सम्बन्धलाई थिति बसाल्ने विषयसित पनि सम्बन्धित छ भन्नु भएको छ । उहाँले बलि राज भनेको जुम्लाको काले गाउँका कल्याण वंशी एक बलशाली वा वलिष्ठ युवालाई चन्दननाथ नाम गरेका पण्डितले राजा घोषणा गरे । अनि तिनै राजका समयमा द्यौता र द्यौताका मन्दिरमा भाकल पूरा गर्न चढाएका केटा वा केटी देवदास वा देवदासीका रुपमा परिचित भए । तिनलाई बलि राजाले अब देखि तिमीहरुले मागेर खानु वा जीविका गर्नु भनेको विषय सित तिहारको द्यौसी भैलो प्रचलनामा आएको भनाइ रहेको छ  । 

हुन पनि यस्तो प्रचलन त्यहीँ भारतको कुनै पनि प्रान्तमा नहनुले पौराणिक कालको बली राजा नभएर नेपालको बलि राजाको प्रसंग औचित्ययुक्त देखिन्छ ।   तिहारमा कुकुर,काग,गाई र गोरुको पुजाले कृषि र पशु व्यवसायसित सम्बन्धित मर्म,महत्त्व र पक्षहरुलाई उजागर गरेको छ । उपर्युक्त सबै चाड र पर्वहरु आगामी दिनमा शारीरिक तथा मानसिक पुनर्ताजगी प्राप्त गर्न सुरु गरिएको स्पष्ट हुन्छ । यस मौलिकतालाई सामन्तीकरण गरी  धुमिल र ध्वस्त पार्ने परिपाटी उहिल्यैदेखि चलिआएको हुँदा यी पर्वहरुलाई परिवर्तित परिस्थिति अनुकूल बनाउनु अपरिहार्य देखिन्छ ।