अव निर्णय नेकपा सचिवालय र वामदेवको हो । सचिवालयले वामदेवलाई निर्वाचन लड्ने अनुमति दिने निर्णय कुनै पनि हालतमा गर्नुहुँदैन । र, सबैभन्दा महत्वपूर्ण निर्णय स्वंयम वामदेवले गर्ने हो । बनाएको छबी कायम गर्ने कि समाप्त पार्ने ? जनमतको सम्मान गर्ने कि त्यसलाई बेवास्ता गर्ने ?



काठमाडौं, २४ असोज – रामविर मानन्धरले राजिनामा दिएर काठमाडौं ७ बाट वामदेव गौतम निर्वाचन लड्ने समाचार सार्वजनिक भएपछिका सवै प्रतिक्रिया नकरात्मक आएका छन् ।

सम्भवत यही नकारात्मक समाचारका बीचमा नेकपा सचिवालय वैठक समेत सारिएको छ । सचिवालय सदस्य तथा उपप्रधानमन्त्री÷रक्षामन्त्री इश्वर पोखरेल र भीम रावलले पनि असन्तुष्टी सार्वजनिक गरेका छन् ।

बर्दिया १ बाट पराजित गौतमलाई प्रतिनिधिसभामा लैजानका लागि भइरहेका यो चलखेलले सिंगो पार्टीको प्रतिष्ठा दाउमा लागेको छ ।  गौतम प्रतिनिधिसभा प्रवेश गर्दा र नगर्दाको भ्याकुम के हो भन्ने तार्किक जवाफ कसैले दिन सकेको छैन ।

नेकपाबिरुद्ध केही घरेलु र बाह्य शक्तिले षड्यन्त्र गरिरहेका बेला तिनै षड्यन्त्रलाई सहयोग पुग्ने गरी पार्टीभित्र किन बहस भइरहेका छन् भन्ने बुझिसक्नु छैन ।
बरिष्ठ नेता माधवकुमार नेपाल संसदमा ‘देश डुब्न लाग्यो, किनारा लगाइदेउ, माझी बचाइदेउ’ भन्छन् । नेकपाको मात्र होइन, नेपालकै समकालिन राजनीति हरेक दृष्टिकोणले संक्षम÷योग्य नेता प्रधानमन्त्री केपी ओली हुन् । तर बरिष्ठ नेता देश बचाउने माझी खोज्दछन् । अर्का, बरिष्ठ नेता झलनाथ खनाल आफूलाई पाखा लगाइएको भन्दै आक्रोसित छन् । 

पद बरिष्ठ नभएपनि सबैले बरिष्ठ मानेका वामदेव सांसदको सिट खोजिरहेका छन् । एकजना देश बचाउने माझी खोज्दछ्न, अर्का संसद छिर्ने टिकट खोज्दछन् ।
बैदेशिक सम्वन्धमा आएको ऐतिहासिक सुधार र दिर्घकालिन नीतिगत सुधारतर्फ चालिएका कदमवाहेक तत्काल जनकेन्द्रित काम अपेक्षित गतिमा हुन सकेका छैनन् । भएका सकारात्मक पनि केही नियुक्ति र बरिष्ठ नेताहरुका चर्का असन्तुष्टीले छायाँमा पारेको अवस्था छ ।

यस्तो बेलामा नेकपा र सरकारको चिन्ता देश र जनताका तर्फ हुनुपर्ने हो । सरकारले अपेक्षित गतिमा काम गर्न नसकेको निश्कर्षमा बरिष्ठ नेताहरु पुगेको हो भने पनि पार्टी र सरकार बचाउन सहयोगी भएर प्रस्तुत हुनुपर्ने हो ।

तर त्यस्तो देखिएन । उल्टै निहित व्यक्तिगत स्वार्थलाई प्रधान बनाएको देखिदैंछ । त्यसमा पनि वामदेवका लागि काठमाडौं ७ मात्र होइन, नेपालको कुनै पनि निर्वाचन क्षेत्र खाली गराउने विषय वहसमा समेत आउन योग्य छैन । तर यो अव निर्णायक तहमा पुग्दैछ । 

रामवीरले छोड्लान तर काठमाडौंका ७ का जनताले वामदेव नरोज्न सक्छन् । किनकी संसदीय राजनीतिमा परिणामलाई प्रभावित पार्ने फेक्टर धेरै हुन्छन् । आफ्नै जिल्लाबाट हार्ने नेताले अर्को जिल्लाको पयर्टक भएर निर्वाचन कसरी जित्छन् ?

अझ यो भन्दा पनि ठूलो बिषय नेकपा कस्तो राजनीति गर्न उद्यत छ भन्ने हो । नेकपाको अहिलेको राजनीतिले यसको भविश्य निर्माण गर्ने हो । बिश्वमानै समाजवादी आन्दोलन प्रतिरक्षात्मक भइरहेका बेला नेपालमा कम्युनिष्टको बलियो सरकार बन्नु उसको विगतको कार्य सम्पादन हो । तर जव राजनीतिक व्यवस्था ल्याउनेसम्मको सफल आन्दोलनपछि त्यसलाई टिकाउँदै थप बलियो बनाउनेतर्फको यात्रालाई यस्ता निर्णयले कस्तो असर पार्ला ? यो गम्भीर मुद्दा हो ।

एकछिनका लागि वामदेवले जित्लान्, त्यसपछि के हुन्छ ? के हुन्छ भने अलिक कमजोर सांसदले अलि वरिष्ठ र सम्पन्नलाई सांसद पद बेचिदिन सक्छ वा त्यस्तै कुनै अर्को बिसंगति आरम्भ हुन्छ ।  

त्यसैले अव मुल प्रश्न नेकपा सचिवालय र वामदेवको हो । सचिवालयले वामदेवलाई निर्वाचन लड्ने अनुमति दिने निर्णय कुनै पनि हालतमा गर्नुहुँदैन । र, सबैभन्दा महत्वपूर्ण स्वम वामदेव हुन् । उनले अलि अलि बचेको साख रसातलमा पुर्याउनु हुँदैन । सामाजिक सञ्जालमा आएका प्रतिक्रिया सम्भवत वामदेवले पनि पढेका होलान् ।

राजकीय पदमै जाने वामदेवको हो भने पनि त्यसका लागि अरु विकल्प हुनसक्छन् । बरु त्यसतर्फ उनी लाग्नुपर्छ । र, आफैंले घोषणा गर्नुपर्छ – आम नागरिकको चाहनाको सम्मान गर्दै म कहिंं कतैबाट पनि निर्वाचन लड्दिन । देश विकासमा अरु जुनसुकै हैसियतमा सक्रिय भूमिका खेल्छु ।’
आशा गरौं, वामदेवले यसो भन्नेछन् र इज्जत जोगाउने छन् ।