काठमाडौं, ६ बैशाख– प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको चुनाव दुई चरणमा गर्न राखेको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधवार जारी बैठकमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चालाई चुनावमा सहभागि गराउन बैशाख ३१ गतेका लागि घोषित चुनाव दुई चरणमा गर्ने कि भनी प्रश्न गरेका थिए । 

एमालेले भने मधेसी मोर्चाका गतिविधि चुनाव हुन नदिनका लागि भएको स्पष्ट हुँदै गएकाले दुई चराण्मा चुनाव गरे पनि मोर्चा सहभागि नहुने भन्दै घोषित चुनाव मितिमा  दायाँबायाँ नगर्न आग्रह गरेको छ । बैठकमा कार्यवाहक अध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवास नेम्वाङ, वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सहभागि छन् । 

प्रधानमन्त्री दाहालले दुई चरणमा चुनाव गर्नेबारे छलफल गर्न नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक फोरम नेपाललाई बैठकमा बोलाएका थिए । ‘दुई चरणमा चुनाव गर्दा मोर्चा आउँछ भन्ने के ग्यारेन्टी छ ?’ एमाले कार्यबाहक अध्यक्ष गौतमको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘संविधान संशोधन भए पनि स्थानीय तहको चुनाव प्रदेश मातहतमा गर्ने भनिरहेकाहरु चुनावमा कसरी आउलान् ?’ 

गौतमले गृहमन्त्री विमलेन्द्र निधि लगायत सत्तापक्षका नेताहरुका अभिब्यक्तिले निर्वाचनप्रति आशंका जन्माएको भन्दै गम्भीर आपत्ती जनाएका छन् । ५ दलको बैठक जारी छ ।